नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो । कायम भएको नयाँ मूल्यअनुसार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेकाे छ । तेजावी सुनको मूल्य एक लाख २९ हजार ४ सय र चाँदीको मूल्य एक हजार ५ सय २५ रुपैयाँ प्रतितोला कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अघिल्लो दिनको तुलनामा एकै दिन तोलामा २ हजार एक सय रुपैयाँले मूल्य बढेपछि सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । पछिल्लो ४५ दिनयता उकालो लागिरहेको सुनको मूल्य अझै बढ्न सक्ने अनुमान अन्तराष्ट्रिय बजारमा गरिएको छ । 

नेपाली बजारमा फागुन एक गते यता ४५ दिनको मूल्य हेर्ने हो भने सुनको मूल्य तोलामा १२ हजार ३ सय रुपैयाँले बढेको छ । पछिल्लो एक महिना (१६ फागुन देखि चैत १६ सम्म) को मूल्य तुलना गर्दा तोलामै सुनको मूल्य ११ हजार ८ सय रुपैयाँले बढेको छ । 

एकै दिन तोलामा २१ सय रुपैयाँले मूल्य बढेर सुनको बिक्रि मूल्य एक लाख ३० हजार रुपैयाँ पुग्दा विवाह जस्ता शुभ कार्यको तयारी गरिरहेकाहरु महँगीले खुत्रुक्कै भएका छन् । सुन किन्न नसक्ने अवस्थामा उपभोक्ता पुग्नुको अर्थ सुनको बजार शिथिल हुनु हो । 

नेपालमा झण्डै २० हजार भन्दा बढीको संख्यामा रहेको सुन पसलमा यतिबेला सुनको कारोबार ओरालो लागेको सुन व्यवसायी किसान सुनुवार बताउँछन् । मूल्य बढेको बेला छिटफुट पुरानो सुन बिक्रि गर्न आउने बाहेक नयाँ गहनका लागि सुन किन्न त परको कुरा सुनको भाउ सोध्न समेत मानिसहरु नआएको व्यापारीहरुले बताएका छन् । काँचो सुनको मूल्यमा भएको बृद्धिले नै महँगो बनेको सुनमा ज्याला र जर्तीसमेत जोडिँदा सुन थप बहुमूल्य बनेको छ । 

सुन चाँदी व्यवसायी महासंघकाअनुसार एक तोला छापावाल सुनको गहना बनाउन ज्याल र जर्ती गरेर १८ हजार रुपैयाँ थप शुल्क लाग्छ भने तेजावी सुनको एक तोलाको गहना बनाउँदा २१ हजार ५ सय रुपैयाँ सुनमा थप गर्नुपर्छ । 

मानौँ तपाईंले एक तोलाको छापावाल सुनको सिक्रि किन्दै हुनुहुन्छ भने त्यसको आजको दिनको मूल्य एक लाख ४८ हजार रुपैयाँ पर्छ । तेजावी सुनको सिक्रि किन्दै हुनुहुन्छ भने त्यसको तयारी गहनको मूल्य एक लाख ५० हजार ९ सय रुपैयाँ पर्छ ।

कारोबार प्रभावित 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा भएको बृद्धिका कारण नयाँ सुनको बिक्रि प्रभावित भएको छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार पुरानो गहना बिक्रि गर्ने छिटफुट बाहेक नयाँ गहना किन्न मानिसहरुले रुची देखाइरहेका छैनन् । 

अत्यवश्यक परेकाहरु बाहेकले सुनको गहना नकिनेको उनले बताए । यसै नै अफ सिजनको बेला बढेको मूल्यले व्यवसायीहरु थप समस्यामा परेको महासचिव बज्राचार्य बताउँछन् । 

बजारमा सुनको बिक्रि नहुँदा औपचारिक प्रणालीबाट आयात भएको सुन,  बैंकमा थन्किएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघकाअनुसार शुक्रबारसम्म नेपालका सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुमा ४ सय किलो सुन बिक्रि नभएर बसेको छ ।

किन बढीरहेको छ मूल्य ?

नेपालमा औपचारिक रुपमा उत्खनन्् र प्रशोधन नभएको बहुमूल्य धातु सुनको मूल्यको सबै कारण अन्तराष्ट्रिय बजार नै हो । अन्तराष्ट्रिय बजारमा मूल्य जे जस्तो हुन्छ त्यसैका आधारमा नेपालमा सुनको मूल्य तय हुने भएकाले यसमा नेपाली व्यवसायीहरुको खास भूमिका हुँदैन । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य विश्वका ठूला फेडरल बैंकहरुले कटौती गरेको बैंक निक्षेपको ब्याज र रुसी राष्ट्रपतिमा भ्लादीमिर पुटिनको पुनः विजय सुनको मूल्य बृद्धिको प्रमुख कारण भएको बताउँछन् । 

फेडरल बैंकहरुले निक्षेपको ब्याज कटौती गर्दा लगानीकर्ताहरु बैंकमा पैसा राख्दा भन्दा सुन खरिद गर्दा राम्रो प्रतिफल पाइने भन्दै सुनमा आक्रामक लगानी बृद्धि गरिरहेका छन् । जसका कारण सुनको माग अन्तराष्ट्रिय बजारमा बढेको छ । अर्कोतर्फ पुटिनले राष्ट्रपति निर्वाचन लगत्तै रुसलाई एक्ल्याउने प्रयास गरे घातक हतियारको प्रयोग हुनसंक्ने संकेत गरेपछि कतिपयले त्यसलाई परमाणु युद्धको संकेत भनी ब्याख्या गर्दा विश्व अर्थतन्त्र तरंगित भएको अनुमान गरिएको छ । 

कुनै कारणबस ठूलो युद्ध भएमा पैसाको मूल्य नहुने भन्दै  मानिसहरु सुनमा लगानी गर्न थालेको विश्लेषण गरिएको छ । पछिल्लो एक वर्षमा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔँस २६०.७८ डलरले बढेको छ । पछिल्लो एक महिनामा मात्रै प्रतिऔंस १९७.६४ अमेरिकी डलरले सुनको मूल्य बढेको छ । 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान भइरहेका कारण नेपाली बजार यसबाट थप प्रभावित हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।