नेभिगेशन
सबै कुरा

नेम्वाङको राति १ बजे हृदयघातबाट निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको राति १ बजे हृदयघातबाट निधन भएको हो।

Dish Home
Global Ime Bank

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। 

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद भए।

२०५६ सालपछि उनी इलामबाटै निरन्तर पाँच पटक विजयी भएका थिए।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी ७ महिना  जेल परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन्।

पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक(पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङको शव अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation