नेभिगेशन
सबै कुरा
कुशे औँसी :

छोरा कुरिरहेका बा !

बाग्लुङ - आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्य दृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनी चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन् । अहिले उनी मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिने पाठक आफ्ना छोराहरू लिन आउँछन् भन्ने आशमा हुन्छन् । 

Extreme Energy

उनको निन्याउरो अनुहारमा धेरै निराश र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन् । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका छन् । उनी घरीघरी छोराहरूलाई सम्झन्छन् । तर छोराहरू भने उनलाई सम्झँदैनन् ।

पाठकका तीन भाइ छोरा छन् । जेठो र माइलो भारतको वनरासमा छन् भने कान्छो छोरा कुवेतमा । पाठकका दुई बुहारी र छ नाती नातिना पनि छन् तर उनलाई कसैले पनि सम्झिन्न । तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठकले कान्छी बुहारीसँग केही महिना बिताए । 

पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरूले सानो छँदा बाबा भनेर आङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए । 

छोराहरू हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको पाठकले सुनाए । अझै पनि छोराहरूले आफूलाई साथैमा लिएर पाल्ने आश उनीमा छ । तर जेठो र माइलो छोरासँग चार वर्षदेखि र कान्छो छोरासँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन ।

‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरूले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरूलाई हुर्काइन्, उनीहरूले पढ्न चाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरूले मलाई हेर्न छोडे’, पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरूले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्‍याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।’

पाठकले छोराहरू पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरूले आफूलाई हेला गरेको बताउँछन् । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरूले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे ।

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निराश हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताइन्। परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाठकले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताइन् ।

‘बुबाले आफ्नो छोराहरूलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरू कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरू बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ’, तामाङ भन्छिन्, ‘यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरूलाई हेर्ने, अरू काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्यो, छोराहरू आए जानुहुन्छ ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...