नेभिगेशन
सबै कुरा

नदीमा जलसतह बढेसँगै भारतमा निर्यात हुने विद्युतको मात्रामा पनि वृद्धि

काठमाडाैँ । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) देखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

Extreme Energy
Everest cinsult

खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा चार सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए । 

“खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ । विगत सात/आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार/साढे चार करोड युनिट पुगेको छ”, कार्यकारी निर्देशक घिसिङले भने।

आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ ।  निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेको उनले बताए ।

द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्री गर्न पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम एनभिभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे ।

केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित छ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । कुल छ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुनदेखि अक्टोबरसम्म पाँच वर्षका लागि एक सय १० मेगावाट विद्युत् एनभिभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको हो ।

एनभिभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ । छ सय ५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट पाँच ८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेशनबाट परवानीपुर सबस्टेशनसम्मको करिब १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार गर्न एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।

पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटीएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ । एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरूमा आपूर्तिको समस्या छ ।

कन्डक्टर बदल्ने काम केही दिनमा सकिने विद्युत् प्राधिकरणले जनाएको छ ।  त्यसपछि हालको समस्या समाधान हुनेछ । दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर एक सय ३२ केभी प्रसारण लाइनका क्षमता दुई गुणा बढ्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ ।

हिउँदमा १५ अर्बको विद्युत् आयात

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न रु १५ अर्ब २१ करोडको विद्युत् भारतबाट आयात गरेको छ । सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो । यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्षको जेठदेखि यस वर्षको हालसम्म रु १५ अर्ब ६२ करोड बराबरको विद्युत् प्राधिकरणले भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म रु १३ अर्ब ४७ करोडको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आवमा निर्यातभन्दा रु एक अर्ब ७४ करोडको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो । 

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आवमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए। 

“केही वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो । पछिल्ला तीन वर्षदेखि भने विद्युत्को निर्यात सुरु गरेता पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “चालु आवमा निर्यातभन्दा आयात रु एक अर्ब ७४ करोडले बढी देखिएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

इरानलाई ट्रम्पको चेतावनीः ‘आज रात एउटा सम्पूर्ण सभ्यता समाप्त हुनेछ’

उनले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका हुन् ।
सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।
एउटा विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन पाइने, अग्रिम शुल्क तत्काल फिर्ता गर्नुपर्ने

एउटा विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन पाइने, अग्रिम शुल्क तत्काल फिर्ता गर्नुपर्ने

शिक्षा मन्त्रालयले केहि विद्यालयहरुले शैक्षिक सत्र शुरु नहुदै विद्यार्थी भर्ना गरेको र विद्यार्थी भर्ना बापत अग्रिम शुल्क असुल गरेको भनि विभिन्न माध्यमबाट आएका सूचना एंवं गुनासोहरु प्रति मन्त्रालयको...
मन्त्री रावलको कर्मचारीलाई निर्देशन: 'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्'

मन्त्री रावलको कर्मचारीलाई निर्देशन: 'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्'

सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नु पर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी...

भर्खरै