नेभिगेशन
सबै कुरा

गर्मीमा चिसो पेय पदार्थलाई महीको चुनौती

काठमाडौँ । एक महिना अघि चितवनको इच्छाकामना गाउँपालिकामा कार्यपालिका बैठक चलिरहेको थियो । गर्मी मौसमले अधिकांशका अनुहार राता देखिन्थे । अन्य समयमा कोल्ड ड्रिङ्क्स अर्थात बजारमा पाइने चिसो पेय पदार्थले गर्मी मेटाउने बानी परेका कार्यपालिका सदस्यहरू त्यो दिन पनि चिसो पेय पदार्थको पर्खाइमा थिए । तर, त्यसो भएन ।

चिसोको पर्खाइमा रहेका सदस्यहरूले कोल्ड ड्रिङ्क्सको सट्टा चिसो मही पाए । अचम्मित हुँदै वडा नँ ७ का वडा अध्यक्ष बम बहादुर थापा मगरले सिधाकुरासँग भने, ‘सँधै चिसो खुवाइन्थ्यो । मही बाँडिन्छ भन्ने त भेउसम्म थिएन । तर त्यो दिन नौलो भयो,’ चिसो पेय पदार्थको सट्टा गाउँपालिकाले औपचारिक रुपमा महीको वितरण गर्ने कुनै निर्णय नभएको सुनाउँदै वडाध्यक्ष मगरले भने, ‘हामी बसेर मही प्रयोग गर्ने कुनै औपचारिक निर्णय त गरेका थिएनौँ तर चिसो पेय पदार्थको सट्टा महीको प्रयोग हुनु सकारात्मक हो ।’

Global Ime Bank


गर्मी याममा चिसो पेय पदार्थका.सट्टा मही बाँड्ने गाउँपालिकाको कदम सकारात्मक रहेको वडाध्यक्ष मगरको भनाई छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार किसानको उत्पादनलाई प्रोत्साहन गर्नका लागि महीको प्रयोग गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष गुरुङले पालिकाभित्र हुने कार्यक्रममा महीको प्रयोग गर्न सबै वडामा सर्कुलर गरिएको बताए । ‘स्वास्थ्यको दृष्टिकोण र किसानलाई पनि फाइदा हुने विषयलाई मध्यनजर गरेर चिसो पेय पदार्थको सट्टा महीको प्रयोग गर्ने निर्णय गरेका हौँ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने । 

०००

ओखलढुङ्गाको एक आमा समूहले चिसो पेय पदार्थको प्रयोगमा रोक लगाएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ३ अँधेरीस्थित पवित्र आमा समुहले गत वर्षदेखि नै चिसो पेय पदार्थ प्रयोगमा रोक लगाएको हो । 

उक्त समूहले २०८० जेठ १ गतेदेखि नै विवाह, व्रतबन्ध, जन्मोत्सव जस्ता कुनैपनि भोजकार्यहरुमा चिसो पेय पदार्थ प्रयोगमा रोक लगाएको हो । 

चिसो पेय पदार्थले बजारमा एक छत्र राज गरेका कारण ओझेलमा परेको स्थानीय उत्पादन मही पछिल्लो समय सबैतिर लोकप्रिय बन्दैछ । पछिल्लो समय देशभरीका डेरीमा तुलनात्मक रुपमा दही र महीको बिक्री समेत उकासिएको व्यवसायीहरुको भनाई छ ।

एक दशकयता डेरी सञ्चालन गर्दै आएका भैँसेपाटी डेरीका सञ्चालक दीपक सञ्जेलपनि एक वर्षयता मानिसहरूको महीप्रतिको आकर्षण बढेको बताउँछन् । एक वर्ष पहिलाको तुलनामा अहिले महीको माग दोब्बरले बढेको उनी बताउँछन् । ‘पहिला सकीनसकी डेढ सय लिटर मही बिक्री हुन्थ्यो अहिले ३ सय लिटरले पनि भ्याइनभ्याई हुन्छ,’ उनी भन्छन्, ‘मानिसहरूले मही खान खुबै रुचि देखाइरहेका छन् ।’

महीको खपतबारे बुझ्न हामी कागेश्वरी मनोहराको कागेश्वरी दूध डेरीमा पुगेका थियौँ । बिहान ८ बजेको समयमा हामी डेरीमा पुग्दा सञ्चालक रविशरण थापा दही र मही बेच्न व्यस्त थिए । बिहानीको समयमा भ्याइनभ्याई व्यापार गरिरहेका उनीसँग कुराकानी गर्न हामीले झण्डै एक घण्टा कुर्न पर्यो । 
लामो पर्खाइपछि हस्याङफस्याङ गर्दै हामीसँग गफिन आएका थापा हाँस्दै भन्छन्, ‘के गर्नु हजुर, धेरै व्यापार हुने बेला हो यो । बेच्नै पर्यो, ग्राहक खुसी नपारे भोलिबाट व्यापार बन्द गर्नुपर्ला ।’
उनको क्षेत्रमा तामाङ, मगर जातीको बाहुल्यता रहेका कारण उनीहरूले कोल्ड ड्रिङ्क्स प्रयोगमा पूर्णरुपमा बन्द लगाएका कारण महीको माग बढेको उनले बताए । ‘हामी आफैँ मही बनाउँछौँ । तर त्यो महीको मागले नपुगेका कारण अन्य स्थानबाट पनि मही मगाएर बेच्नुपर्ने अवस्था छ,’ थापाले भने । 

त्यस्तै कोरोनाको लकडाउनपछि व्यवसायबाट उठ्न नसकेर विदेश जान भनेर पासपोर्टसमेत बनाएको बताउने उनले व्यवसायमा देखिएको सकारात्मकताले पुनः व्यवसायलाई निरन्तरता दिएको बताउँछन् । ‘ऋण गरेर सञ्चालन गरेको डेरी झनझन घाटामा गएपछि बाँच्ने अवस्था नभएर मलेसिया नै भएपनि जान्छु भनेर पासपोर्ट बनाएको थिएँ,’ उनी सम्झिन्छन्, ‘जे होस त्यसपछि क्रमिक रुपमा भएको सुधारले अहिले धेरै सुधार भएको छ । खुसी छु ।’, उनी पुनः हाँस्दै मही लिन आएका ग्राहकलाई मही दिन पुग्छन् ।

दैनिक साढे २ लाख लिटर मही खपत 
पछिल्लो २ वर्षयता महीको खपत उच्च भएको डेरी व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएशनका अनुसार पछिल्लो दुई वर्षमा महीको खपत दोब्बर भएर साढे २ लाख लिटर नाघेको छ । एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार पहिले दैनिक सवा लाख लिटर हाराहारी मही खपत हुने गरेकामा अहिले  दैनिक खपत साँढे २ लाख लिटर हाराहारी पुगेको छ । 
‘पछिल्लो डेढ वर्षयता महीको बिक्री वितरण सन्तोषजनक रहेको छ,’ अध्यक्ष दाहालले भने, ‘व्यवसायीले पछाडि फर्कनुपरेको छैन । देशभर १ लाख देखि डेढ लाख लिटर बिक्री हुँदै आएको महीको माग बढेर अहिले साढे २ लाख लिटर माथि पुगेको छ ।’ 

अहिले त विभिन्न विद्यालयले आफ्नो परिसरमा चिसो पेय पदार्थ बेच्न बन्देज लगाएको, होटल, पार्टी प्यालेसले पनि मही अनिवार्य राखेका जस्ता कुराले सकारात्मक सन्देश गएको अध्यक्ष दाहाल बताउँछन् । 

महीलाई ब्रान्डिङ गर्न ‘मही अभियान’ 
नेपाल डेरी एसोसिएसनले महीको महत्व बुझाउन ‘मही अभियान’ सञ्चालन गरिरहेको छ । रैथाने हाट बजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएशनले करिब एक वर्षअघिदेखि नै रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रालिसँग सम्झौता गरेर महीको महत्व बुझाउन ‘मही अभियान’ कार्यक्रम सञ्चालन गरेको छ । 
सोही अभियानस्वरूप एसोसिएशनको सहयोगमा प्रत्येक शनिबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना हुने हाट बजारमा प्रत्यक्ष ठेकीमा मही बनाएर निःशुल्क खुवाउने गरिन्छ । ‘सन्ततिले अब रैथाने उत्पादन र संस्कृति बिर्सिंदै गएका बेला सोको जगेर्नामा आफूहरूले ठेकीमा मही बनाएर पिलाउने गरेका हौँ ।’, एसोसिएशनका अध्यक्ष दाहालले भने । 

त्यस्तै, एसोसिएशनले काठमाडौँमा मात्र नभएर देशैभरी मही अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत एसोसिएशनले विभिन्न विद्यालयमा गएर विद्यार्थीहरूलाई मही पियाएर महीको महत्व बुझाउने देखि विभिन्न कार्यक्रममा समेत त्यसको उपयोगिता झल्काउने प्रयास गरिएको एसोसिएशनले जनाएको छ । जसको फलस्वरुप विभिन्न होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरुले सामूहिक कार्यक्रममा महीको प्रयोगलाई अनिवार्य गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...

भर्खरै