नेभिगेशन
सबै कुरा

प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्

नेपालमा एउटा यस्तो सहर छ, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । त्यो सहर हो प्राचीन सहर बनेपा ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काभ्रेपलाञ्चोकको बनेपा सहरले ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी बराबरी’ ।

Ncell
Extreme Energy

बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । विसं १९५९ देखि यहाँका स्थानीयले यस परम्परालाई विशेष तामझाम, रमझमसहित सामूहिक संलग्नतामा मनाउँदै आएका छन् । अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्यापूजाले गत वर्षदेखि पुनःनिरन्तरता पाएको छ । यस अवधिमा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्याको पूजा गरिएको छ ।

सनातन कन्यापूजा प्रबन्ध समितिमार्फत रजस्वला नभएका (दश वर्षमुनिका कन्या)को पूजा गर्ने गरिएको छ । यस वर्ष भदौ २० गते कन्यापूजा गरिने समितिले जनाएको छ । 

रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहेको स्थानीय लम्बोदर कायष्थले बताए । 

यही मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्दै आएको उनको भनाई छ । उनका अनुसार विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा यस प्रथा धुमधामका साथ आयोजना गरी मनाउने गरिएको छ ।

घाम र हावाको सन्तुलन मिलाउन चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो बनेपा । यहाँ नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार छन् । यस नगरमा एक सय २१ वर्ष पुरानो इतिहास बोकेको कन्यापूजाको प्रचलन पछिल्ला केही वर्षदेखि जिल्लाका अन्य बजार तथा बस्तीमा पनि गर्न थालिएको स्थानीय बताउँछन् । 

बिना टिकट स्वतःस्फूर्त गरिने यस पूजामा प्रत्येक वर्ष करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । 

दश वर्षमुनिका कन्यालाई पूजा गर्दा उनीहरुको स्वास्थ्य राम्रो हुनुका साथै पूजा गर्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिए । उनका अनुसार यही कारणले कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गर्ने र गराउनेको ठूलो भीड हुने गर्छ ।

त्यस दिन कन्यालाई पूजा गर्नका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य कायष्थले जानकारी दिए । उनका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा, प्रसाद, स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्छन् । 

पूजामा सहभागी प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाएर पूजा गर्ने प्रचलन रहेको कायष्थले बताए । 

स्थानीयसमेत रहेका लम्बोदर कायष्थले यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने जाने प्रक्रिया चलिरहने बताए । 

किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्या मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको लम्बोदरले जानकारी गराए। 

बनेपाका सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवी ‘कन्या’ भएकाले कन्यालाई पूजा गरे राक्षसको दुष्प्रभावबाट पनि बच्न सकिने हुँदा कन्यापूजाको प्रचलन रहिआएको उनले बताए।

पूजामा सहभागी कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी तथा बाजाको व्यवस्थापनसमेत गर्छन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति वा वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । 

यहाँ हुने कन्यापूजामा प्रतिकन्या रू चार सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष आठ हजार कन्याका लागि रू तीन करोड २० लाख खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए। उनका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् । 

‘नेवाः कन्या–पूजाका नाममा टिकट दिएर गरिने कन्यापूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना हुने भएको छ’, वैद्यले भने, ‘कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा प्रत्येक वर्ष दुई हजार कन्या सहभागी हुन्छन् ।’ उनका अनुसार जन्माष्टमीको दिन र जन्माष्टमीभन्दा दुई दिन अघि गरी वर्षमा दुईपटक कन्यापूजाको आयोजना गरिन्छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा पूजाको अघिल्लो दिन बुधबार सुनसरीका कालिगढलाई विश्वकर्मा बाबाको मूर्ति सजाउन चटारो छ।
कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरुले महाधिवेशन गुमाउनेछन्।’
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित...