नेभिगेशन
सबै कुरा

गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।

सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले लागुऔषध दुर्व्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

Dish Home
Global Ime Bank

लागुऔषध दुर्व्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले दुर्व्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडाकारबाही हुने स्पष्ट पारे । उनले लागुऔषध दुर्व्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुर्व्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताए । 

लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुर्व्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनःस्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले पुनःस्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिए । “उपचार व्यापार नबनोस्, सुधार केन्द्रमा अमानवीय क्रियाकलाप नहोस्, लागुऔषधको नसामा डुबेका नागरिकलाई उपचारका नाममा महँगो शुल्क लिन पाइँदैन”, उनले भने । 

उपप्रधानमन्त्री लामिछानेले लागुऔषधको अवैध ओसारपसार नियन्त्रण तथा सेवनकर्तालाई समाजमा पुनःस्थापना गराउन क्रियाशील सङ्घसंस्थालाई सम्मान गरेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्दै यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताए । लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि गृह मन्त्रलायसँग समन्वय गरेर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको उनको भनाइ थियो । 

“नेपालका युवालाई लागुऔषधको दुष्चक्रबाट बाहिर निकाल्न नेपाल सरकार सक्षम रहेको छ”, मन्त्री यादवले भने, “सरकारको भूमिकालाई वेवास्ता गरेर गैरसरकारी संस्था अघि बढ्न मिल्दैन, गैससले सरकारसँग समन्वय  गर्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भावनात्मक रिक्तताको अवस्था परिपूर्ति गर्न युवा विद्यार्थी लागुऔषधको शरणमा पुग्ने गरेकातर्फ आमअभिभावक र साथीसङ्गी सचेत हुनुपर्ने बताए। उनले लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिलाई समाजमा पुनःस्थापित गराउन सिङ्गो राष्ट्र, समाज र परिवारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समाज, संस्कृति र परिवारबाट टाढिएका युवा दुर्व्यसनमा फस्ने गरेका उल्लेख गर्दै युवालाई समाजका विभिन्न पक्षसँग जोडिराख्नुपर्ने बताए । उनले लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्धको अभियानलाई राष्ट्रिय मुद्धा बनाई सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । 

त्यस अवसरमा लागुऔषधको सेवनबाट राष्ट्र, समाज र परिवारलाई पर्ने असरबारे जनचेतना जगाउने विभिन्न नाटक, प्रहसन तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो । समारोहमा मन्त्रालयद्वारा प्रकाशित लागुऔषध दुरुपयोग नियन्त्रणका विविध आयाम समेटिएको ‘सुरक्षित जीवन’ पत्रिका विमोचन गरिएको थियो ।  

कार्यक्रमअघि भृकुटीमण्डपबाट लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालिएको थियो । 

‘प्रमाण स्पष्ट छः रोकथाममा लागनी गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । नेपालमा विविध कार्यक्रमका साथ साताव्यापी रूपमा दिवस मनाइएको छ । यसवर्षको राष्ट्रिय नारा ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौँः रोकथाममा जोड दिऔँ’ तय गरिएको छ । 

विश्वव्यापी रूपमा फैलिएको लागुऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ मा नेपालमा करिब एक लाख ३० हजार चार सय २४ लागुऔषध प्रयोगकर्ता रहेका उल्लेख छ । यीमध्ये एक लाख २१ हजार छ सय ९२ पुरुष र आठ हजार सात सय ३२ महिला छन् । 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार गत जेठ मसान्तसम्ममा लागुऔषध अपराधमा पाँच हजार तीन सय ३९ जना पक्राउ तथा तीन हजार पाँच सय एक वटा लागुऔषध मुद्दा दायर भएका छन् । सन् १९५४ देखि नै विश्व स्वास्थ्य सङ्गठनले लागुऔषध सेवन गर्ने कुलतलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ । लागुऔषध नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वमा १५ देखि ६४ वर्ष उमेर समूहका प्रत्येक १७ जनामा एक जना लागुऔषध सेवन गर्छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु : प्रचण्ड

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको बताएका छन् । मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेर...
स्वतन्त्र मेयरले नेतृत्व सम्हालेका धरान र काठमाडौँको बजेट अनिश्चित, आज आएन बजेट

स्वतन्त्र मेयरले नेतृत्व सम्हालेका धरान र काठमाडौँको बजेट अनिश्चित, आज आएन बजेट

स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म पेश गर्नुपर्ने कानुनी म्याद पुग्दा पनि सुनसरीको धरान उपमहानगरपालिका र देशकै ठूलो काठमाडौं महानगरपालिकाले समयमै बजेट ल्याउन असफल भएका...
सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि...
आफूहरुसँगको सहमति कार्यान्वयन गरेको भन्दै माओवादीको सरकारलाई धन्यवाद

आफूहरुसँगको सहमति कार्यान्वयन गरेको भन्दै माओवादीको सरकारलाई धन्यवाद

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले जेठ ३० गते माओवादीसंग भएको...