नेभिगेशन
सबै कुरा

न्यूरोडमा किन बखेडा झिकिरहेका छन् चिनीकाजी ?

काठमाडाैँ । चार दिन देखि अशान्त बनेको न्यूरोड क्षेत्र सोमबार साँझको सम्झौतापछि केही मत्थर भएको छ । यो बीचमा यहाँ कहिले नगरप्रहरी र स्थानीयबीच धकेलाधकेल भयो त कहिले महानगरका मेयर लगायत विरुद्ध मुर्दावादको नारा लाग्यो । 


Dish Home
Global Ime Bank

अचम्मको कुरा त के छ भने सोमबार अपरान्हसम्म त्यस क्षेत्रमा पत्रकारलाई भिडियो खिच्न समेत मनाही गरिएको थियो । आन्दोलनमा उत्रिएकाहरूले सञ्चारकर्मीहरू कसैको भिडियो डिलिट गरिदिए, केही सञ्चारकर्मीका क्यामेरा फुटाइदिएका छन् त  केहीमाथि हातपात समेत भएको छ ।  

न्यूरोडका स्थानीय सबैभन्दा बढी आक्रोशित छन्, काठमाडौँ महानगरका मेयर बालेन्द्र साहविरुद्ध र सञ्चार माध्यम विरुद्ध । २२ नम्बर वडाका स्थानीयहरु केही दिनदेखि मेयर विरुद्ध आगो ओकली रहे । उनीहरु महानगर, अदालत, प्रशासन कसैको पनि कुरा र आदेश सुन्ने पक्षमा देखिएनन् । देशभर र अन्तराष्ट्रिय मञ्चमा समेत ख्याति कमाइरहेका आफ्ना मेयर बालेन्द्र शाहको त उनीहरूले शुक्रबार पुत्ला नै जलाए । 

शुक्रबारदेखि न्यूरोडमा यस्तै रमिता चलिरहेको थियो । सोही दिनदेखि काठमाडौँ महानगरले फुटपाथ विस्तारको कार्य गर्न पाएको छैन । सोमबार न्यूरोड पुगेको महानगरको डोजर स्थानीयको आगो लगाइदिने धम्की पछि फिर्ता भएको छ । पैदलयात्रीको सहजताका लागि वैज्ञानिक तवरबाट फुटपाथ विस्तार कार्यको विरोधमा न्यूरोडमा यो सबै भइरहेको छ । 


न्यूरोडमा चलिरहेको यो सबै हर्कतको नेतृत्व काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले गरिरहेका छन् । चिनीकाजीको तितो यथार्थबारे केही बेरमा चर्चा गरौँला त्यो भन्दा पहिला न्यूरोडको फुटपाथ विस्तार विवादबारे चर्चा गरौँ । 

फुटपाथ योजना र विवाद 

काठमाडौँ महानगरपालिकाले गत जेठ १४ गतेदेखि काठमाडौँ महानगरको वडा नम्बर २४ र २२ मा फुटपाथ बिस्तारको कार्य सुरु गरेको थियो । काम सुरु गर्नुअघि महानगरपालिकाको सहरी योजना आयोग र सहरी यातायात तथा सडक सुरक्षा एकाइले नयाँ सडक क्षेत्रका पूर्वाधार, यसको उपयोगिता, समस्या र सम्भावित समाधानका उपायका विषयमा गएको जेठ महिनामा संयुक्त अध्ययन गरेको थियो । 

सो क्रममा स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत सङ्ख्या तथा घनत्व मापन गरिएको थियो । यसरी गरिएको गणनामा जुद्ध शालिकबाट न्यूरोड गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म (१ घण्टा अवधिमा) ८ हजार ७ सय ४५ जना यात्रुले पैदलयात्रा गरेको देखियो । इन्द्रचोकमा बेलुका ०७ः४५ देखि ०८ः४५ सम्म गणना गर्दा २ हजार ९ सय ३३ जनाले, धर्मपथमा बेलुका ०५ः१५ देखि ०६ः१५ सम्म गणना गर्दा ४ हजार ४ सय ३७ जनाले यात्रा गरेको देखियो । नयाँ सडक ताम्राकार हाउसतर्फबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ बजेदेखि ६ बजेसम्म १ घण्टाको अवधिमा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्यूरोड गेटतर्फ फर्काएर राखिएको क्यामेराबाट बेलुका ०५ः४५ देखि ०६ः४५ बजेसम्ममा ४ हजार १ सय २७ जना पैदल यात्रीले यात्रा गरेको देखियो ।  


यसरी हेर्दा पैदलयात्रुको लागि हिँड्ने बाटो कम भएको निष्कर्ष निकालियो । १३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र वायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १.५ मिटर र वायाँ १.५ मिटर पैदल मार्ग विस्तार गर्ने महानगरले योजना बनायो । 

यसरी पैदल मार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ् भए जत्तिकै ठाउँ मात्र उपयोग हुने महानगरले देख्यो । महानगरले टेण्डर आह्वान गर्यो र जेठ १४ गतेबाट काम थाल्यो । 


टेण्डर आह्वान गर्दा २२ नम्बर वडा र २४ नम्बरका जनप्रतिनिधिकै सहमतिमा सार्वजनिक खरिद प्रक्रियाबाट ठेक्का लागेर फुटपाथ चौडाको काम सुरु भएको महानगरको दाबी छ । तर, महानगरलाई काम गर्नबाट संघीय सरकार अन्तर्गतको सडक विभागले अवरोध गर्यो । 

चक्रपथ निर्माणको विषयमा महानगर र सडक विभागबिच विवाद थाती नै रहेको बेला महानगरको काममा भाँजो हालेपछि बालेनले सडक विभागको अगाडी लगेर एक ट्रक धुलो खन्याईदिए । चक्रपथ निर्माण नगरेर जनताले सधैँ धुलो खान परेको उनको आरोप थियो । 

त्यसपछि सडक डिभिजन कार्यालयले न्यूरोडको सडक सडक विभाग मातहतमा पर्ने भन्दै महानगरलाई काम रोक्न निर्देशन दियो । काम रोक्नका लागि असार १३ र १६ गते गरी २ वटा पत्र समेत पठाएको थियो । त्यसपछि महानगरपालिका सडक डिभिजन कार्यालयको पत्रविरुद्ध अदालत पुग्यो । उच्च अदालत पाटनले असार ३० गते सडक डिभिजन कार्यलयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । त्यसपछि महानगरलाई फुटपाथ विस्तार गर्न बाटो खुल्यो र काम सुरु गर्यो ।

तर,अहिले वडा नम्बर २२ का वडाअध्यक्षको नेतृत्वमा स्थानीयहरुले निरन्तर फुटपाथ विस्तार विरुद्ध आन्दोलन गरिरहेका छन् । शान्तीपुर्ण भनिएको आन्दोलन मुडभेटतर्फ सोझिएको थियो । भलै सोमबार बेलुकाको समझदारीले आन्दोलन केही पर धकेलिएको छ । तर, समस्या अझै सुल्झिएको छैन् । 

किन महानगरको योजनाको विरोध गरिरहेका छन् चिनीकाजी ?

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चिनीकाजी महर्जन मेयर बालेनविरुद्ध तितो ओकलिरहेका एक मात्र वडा अध्यक्ष हुन् । ३२ वटा वडाका फरक फरक जनप्रतिनिधिहरुसँग मेयरको फरक खालका असहमतिहरु कार्यपालिका बैठकमा देखिन्छन् । तर,सँधै जसो र जे विषयमा पनि चिनीकाजी मेयरविरुद्ध आधार र कारण बिनै आक्रोशित देखिन्छिन् । जसको सुरुवात भएको थियो २०८० माघदेखि, जतिबेला बालेनले न्यूरोड र दरमार्गमा पार्किङका नाममा हुँदै आएको लुटधन्दामा रोक लगाएका थिए ।

बालेनले पार्किङमा रोक लगाउनुअघि कसरी अरबौँ रुपैयाँको लुट चलिरहेको थियो भन्नेबारे हामीले यसअघि नै समाचार प्रकाशन गरिसकेका छौँ । 


बिद्यासुन्दर शाक्यको पालामा स्मार्ट पार्किङको नाममा अरबौँ रुपैयाँ असुली गर्न एक निजी कम्पनीलाई लाइसेन्स दिइएको थियो । उक्त निर्णय गर्ने विद्यासुन्दरको कार्यपालिकामा चिनीकाजी महर्जन पनि थिए । 

महर्जनलाई बालेनले न्यूरोडमा पार्किङ हटाएको विषय मन परेको थिएन । फागुन १ गते बसेको काठमाडौँ महानगरको २८ औँ कार्यपालिका बैठकमा यसबारे पनि चिनीकाजीले विरोध जनाएका थिए । 


आफ्नो निर्वाचन क्षेत्रमा सडकमा पार्किङ गरेर अवैध रकम उठाइएको विरुद्ध महानगरले चालेको कदमको विरोध उनले किन गरेका हुन अझै स्पष्ट छैन् । तर, बालेनले सो पार्किङ प्रकरण्को छानबिनका लागि अख्तियार, सम्पत्ति शुद्धिकरण, सीआईबी लगायतका निकायमा लेखि पठाएका छन् । यो छानबिनको घेरामा स्वयम वडा अध्यक्ष महर्जन पनि छन् । 

अनुसन्धानको घेरामा चिनीकाजी 

जेठको पहिलो साता काठमाडौँ महानगरपालिकाले सबै दस्तावेजहरुलाई व्यवस्थित र सिष्टमेटिक गर्ने भन्दै सबै वडाबाट फाइलहरु सङ्कलन गरेको थियो । सो क्रममा वडा नम्बर २२ बाट करिब ६/७ बोरा फाइल सङ्कलन गरेको थियो । ति फाइल लिने बेला वडाध्यक्ष चिनीकाजी महर्जन वडा कार्यालयमा थिएनन् । 

वडा नम्बर २२ भनेको सबैभन्दा धेरै आर्थिक गतिविधि हुने क्षेत्र हो । महानगर स्रोतका अनुसार उक्त फाइलको अध्ययन गर्दा वडाध्यक्ष महर्जनका थुप्रै कैफियत देखिएका छन् । जसको बारेमा थप अनुसन्धान भइरहेको छ । सोही कारण उनको मुटुमा ढ्याङ्ग्रो बजेको महानगरका एक कर्मचारीले बताए । 

स्थानीय जनप्रतिनिधिलाई व्यवसाय दर्तामा हस्ताक्षर गर्ने अनुमति कनुनले दिएको छैन् । तर, चिनीकाजीको वडाबाट जफत भएको फाइलमा यस्ता सयौँ फर्महरुलाई वितरण गरेको दस्ताबेजमा वडा अध्यक्ष मर्हजनको हस्ताक्षर भएको पाइएको छ । जसमाथि बिस्तृत अनुसन्धान भइरहेको महानगर स्रोतले जनाएको छ । 

फुटपाथ विस्तार विरुद्ध चिनीकाजीको एकोहोरो ढिपी

पार्किङ निषेध र फाइल सङ्कलनको विषयमा महानगरका ३२ मध्ये एक्लो अनुसन्धानको घेरामा परेका वडा अध्यक्ष हुन चिनीकाजी । तर, जसले उनीमाथि अनुसन्धान गरिरहेको छ उनैको विरुद्ध एक पछि अर्को प्रसङ्ग निकाल्दै उनी आन्दोलनको मोर्चामा छन् । उनी स्वयमले उचालेको मुद्दा जायज हो वा होइन भन्नेमै आशंका जन्माइदिएको छ । 

अहिले उनी फुटपाथ विस्तारको विषय उचालेर बालेनविरुद्ध खनिइरहेका छन् । यो जेठ १८ गते बसेको ३२ औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष चिनीकाजीबिच चर्काचर्की भएको थियो । 


चिनिकाजीले सडक विभागले पत्र काटेको भन्दै फुटपाथ विस्तारको कार्य रोक्नुपर्ने तर्क राखेका थिए । साथै गाडी गुड्ने भागलाई घटाउन नहुने उनको भनाई छ । तर  पहिलेको गाडी गुड्ने बाटो जस्ताको तस्तै राखेर पहिले पार्किङ बनाइएको सडकका भागमा मात्र फुटपाथ विस्तार गर्ने महानगरको योजना छ । 

त्यस्तै वडाध्यक्षको भनाइ छ, 'आफूसँग सल्लाह गरिएन' । यता महानगरले भने वडाध्यक्षहरु र स्थानीयसँग छलफल गरेरै फुटपाथ विस्तारको योजना सुरु गरिएको हो । वडाध्यक्ष महर्जनले अपारदर्शी ढंगले मेयरले टेण्डर आह्वान गरेको समेत आरोप लगाएका छन् । तर, त्यसको कानुनी उपचारको बाटोमा उनी किन छैनन् उनैमाथि प्रश्न उठेको छ । 

महानगरले एकै साथ एउटै सिमाना रहेको वडा २४ र २२ मा फुटपाथ विस्तारको कार्य अघि बढाएको छ । वडा २४ मा धमाधम फुटपाथ बिस्तारले गति लिइरहेको छ र त्यहाँका स्थानीयहरू महानगरको यो कदमको स्वागतमा सडकमै आएका छन् । तर, वडा २२ मा कुन शक्तिले फुटपाथ विस्तारमा भाँजो हालिरहेको हो त्यो चिनीकाजीले मात्रै भन्न सक्ने अवस्था छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...