नेभिगेशन
सबै कुरा

नेपालमा भएका ६ दर्जन हवाई जहाजको नालीबेली, कुन जहाज कति पुराना ?

काठमाडौँ । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हातामै सौर्य एयरलाइन्सको हवाई जहाज दुर्घटना भयो ।

काठमाडौँबाट पोखरामा नियमित मर्मतका लागि जान लागेको सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइनको जहाज धावनमार्ग छोडेको ११ सेकेन्डमै दुर्घटनामा परेको थियो । 

Dish Home
Global Ime Bank


विमानस्थल हातामै भएको भयानक दुर्घटनामा विमानका चालकबाहेक कोही बाँचेनन् । १८ जनाको ज्यान गएको दुर्घटनामा विमानका पाइलट मनिष शाक्यको भने सकुशल उद्धार भयो । 

मर्मतका लागि आफ्नै एयरलाइन्सको प्राविधिक र कर्मचारीसहित उडान भरेको विमान दुर्घटनामा परेपछि विमानको सुरक्षा अवस्था र नियामकको भूमिकाबारे सर्वत्र आलोचना भइरहेको छ ।

कतिपयले नेपालमा भएका विमानहरू सेकेन्ड ह्यान्ड र पुरानो भएको भन्दै हवाई यात्राको विश्वसनियतामाथि गम्भिर प्रश्न गरेका छन् । तर, नेपाल एयरलाइन्सका पूर्व वरिष्ठ क्याप्टेन केबी लिम्बू भने जहाज पुरानो भएर दुर्घटना नहुने तर्क गर्छन् । ‘जहाज कहिल्यै पुरानो हुँदैनन् बरु यसको जेनेरेसन पुरानो हुन्छन् । जेनेरेसन पुरानो हुँदै गएपछि यसको मर्मत खर्च बढ्दै जान्छ । मर्मतकै क्रममा एलएफपी (लाइफ लिमिटेड पार्टस्) हरू यति घण्टा उडेपछि वा यति दिन उडेपछि त्यो बदल्नै पर्छ । ति परिवर्तन भएनन् भने त्यसले जहाजका अन्य पार्टपुर्जामा असर गर्छन् तर दुर्घटना नै हुन्छ भन्ने हुँदैन ।’, लिम्बू भन्छन् ।

नेपाली आकाशमा उडिरहेको जहाज कुन कति पुराना हुन् ?

नागरिक उड्यन प्राधिकरणका अनुसार  नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स लगायत १० वटा कम्पनीका ७१ वटा विमान अहिले नेपाली आकाशमा उड्न योग्य रहेका छन् । बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेसँगै यो सङ्ख्या ७० मा झरेको छ । नेपाली आकाशमा ४० वर्ष पुरानो विमान पनि उडिरहेको छ भने नयाँ भनिएको विमान पनि ६ वर्षको भइसकेको छ । आउनुहोस्, हामीले नेपालमा दर्ता भएका र भएकामध्ये पनि सञ्चालनमा रहेका सबै विमान कस्ता छन् भनी इतिहास खोतलेका छौँ ।

नेपाल एयरलाइन्सका १३ जहाज, उमेर ६ देखि ४० वर्षसम्मका 

नेपाल एयरलाइन्ससँग १३ वटा जहाजहरू छन् । नेपाल नागरिक उड्यन प्राधिकरणसँग उडान अनुमति पाएका ति जहाजमध्ये सबै भने नियमित उडानमा छैन् । सिधाकुरालाई प्राप्त पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय ध्वजावाहक उक्त एयरलाइन्ससँग ६ देखि ४० वर्ष उमेरका जहाजहरू छन् । भएकामध्ये ४ वटा अन्तराष्ट्रिय लामो गन्तव्यका लागि उडान भर्छन भने ९ वटा जहाज आन्तरिकतर्फको उडानका लागि योग्य छन् तर ९ वटै जहाज पूर्णरुपमा सञ्चालनमा भने छैनन । 

नेपाल एयरलाइन्स 9N-ABU

सन् १९८४ मा निर्माण सम्पन्न भएको यो जहाज पहिलो पटक नै नेपाल वायुसेवा निगमले खरिद गरि संचालनमा ल्याएको हो । हालसम्म यो विमान ३९ वर्ष देखि उडिरहेको विवरण छ ।  

नेपाल एयरलाइन्स 9N-ABT

सन १९८४ मा निर्माण सम्पन्न भएको यो जहाज पनि पहिलोपटक नेपाल वायुसेवा निगमले नै खरिद गरि संचालनमा ल्याएको हो । यो विमानको आयु ४० वर्षको भयो । 

नेपाल एयरलाइन्स 9N-ABX

सन १९८५ मा निर्माण सम्पन्न भएको यो जहाज पनि पहिलोपटक नेपाल वायुसेवा निगमले सन् १९८६ मा खरिद गरि संचालनमा ल्याएको हो । यो विमानको आयु ३८ वर्षको भयो । 

नेपाल एयरलाइन्स वाइडबडी 9N-ACB

यो जहाज नेपाल एयरलाइन्सलेको पुरानो र ठूलो जहाज हो । यो जहाज पहिलोपटक सन् १९८८ मा नेपाल एयरलाइन्सले खरिद गरेर संचालनमा ल्याएको थियो । यो जहाज सन् २०१८ यता सञ्चालनमा नभएपछि उडानका लागि भने योग्य रहेको नागरिक उड्ययन प्राधिकरणे जनाएको छ । यो नेपाल एयरलाइन्सले बिक्रिका लागि राखेको जहाज हो । यो जहाजको उमेर ३३ वर्ष पुगेको छ । 

नेपाल एयरलाइन्स न्यारोवडी 9N-AKX

यो जहाज पहिलोपटक नेपाल एयरलाइन्सले नै २०७२ सालमा खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाजको उमेर ९ वर्ष भयो । यो अन्तराष्ट्रिय उडानका लागि प्रयोग हुँदै आएको जहाज हो । 

नेपाल एयरलाइन्स न्यारोवडी  9N-AKW

यो जहाज पनि पहिलोपटक नेपाल एयरलाइन्सले नै खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाज नेपाल एयरलाइन्सले २०७२ साल मै खरिद गरेको हो । यो जहाजको उमेर पनि ९ वर्ष भयो । यसले पनि अन्तराष्ट्रिय उडान भर्छ । 

नेपाल एयरलाइन्स वाइडबडी 9N-ALY

यो जहाज नेपाल एयरलाइन्सले किनेको नयाँ जहाज हो । बि।स २०७५ सालमा यो जहाज खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाज सञ्चालन भएको ६ वर्ष भयो ।

नेपाल एयरलाइन्स वाइडबडी 9N-ALZ

यो जहाज पनि नेपाल एयरलाइन्सले नै पहिलोपटक बि।स २०७५ मा खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाज पनि सञ्चालन भएको ६ वर्ष भयो ।

नागरिक उड्यन प्राधिकरणका अनुसार यसका अलवा नेपाल एयरलाइन्ससँग 9N-AKQ, 9N-AKR, 9N-AKS, 9N-AKT, 9N-AKV कलसाइन भएका जहाज दर्ता छन् । 

हिमालय एयरलाइन्स

चिनियाँ र नेपाली लगानीकर्ताको यो एयरलाइन्स कम्पनीले काठमाडौँलाई आधार बनाएर खासगरी चीन र अन्य केही गन्तव्यहरुमा उडान भरिरहेको छ । यो कम्पनीसँग ४ वटा न्यारोवडी जहाजहरु छन् ।

यि मध्ये २ वटा जहाज दोस्रो एयरलाइन्सबाट खरिद गरिएका हुन् भने २ जहाज निर्माण कम्पनीबाटै एयरलाइन्स आफैले खरिद गरेको हो । यस्ता छन् हिमालयन एयरलाइन्सका जहाजहरुः

हिमालय एयरलाइन्स 9N-ALM  

यो जहाज पहिलोपटक सन् २०१५ जुलाईमा चीनको तिब्बत एयरलाइन्सले संचालनमा ल्याएको थियो भने दोस्रोपटक उक्त जहाज सन् २०१६ मार्चदेखि नेपालको हिमालय एयरलाइन्सले संचालनमा ल्याएको थियो । हिमालय एयरलाइन्सले पुन उक्त जहाज भियतनामको बेम्बो एयरलाइन्सलाई सन् २०१९ मा बेचेको थियो । तर सन् २०१९ को नोभेम्बरबाट पुन  नेपालको हिमालय एयरलाइन्सले खरिद गरेर उडाइरहेको छ ।  यो जहाज हालसमम्म ९ वर्ष उडिसकेको छ । 

हिमालय एयरलाइन्स 9N-ALV

यो जहाज पहिलोपटक नेपालकै हिमालय एयरलाइन्सले सन २०१७ मा खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाज हालसम्म ७ वर्ष चलिसकेको छ । 

हिमालय एयरलाइन्स 9N-ALW

यो जहाज पनि पहिलोपटक नेपालकै हिमालय एयरलाइन्सले सन २०१७ मा खरिद गरेर संचालनमा ल्याएको हो । यो जहाजले पनि ७ वर्षयता उडान भरिरहेको छ । 

हिमालय एयरलाइन्स 9N-AJK

यो जहाज पहिलोपटक सन् २०१९ जुनमा चिनको तिब्बत एयरलाइन्सले खरिद गरेर संचालनमा ल्याएको थियो । सोही जहाज नेपालको हिमालय एयरलाइन्सले खरिद गरेर सन् २०२० को मार्चदेखि संचालनमा ल्याएको हो । यो जहाज ५ वर्ष मात्र पुरानो हो । 

बुद्ध एयर

नेपालको आन्तरिक उडानमा सबै भन्दा ठूलो विमान कम्पनीको हो बुद्ध एयर । यो कम्पनीसँग १८ वटा जहाज देशका विभिन्न स्थानमा उडान भर्न योग्न छन् तर सबै जहाज पूर्ण रुपमा भने सञ्चालनमा छैनन् । बुद्ध एयरका जहाज एयरलाइन्स कम्पनी आफैंले पहिलो पटक किनेर चलाएको उपलब्ध रेकर्डमा देखिन्न ।

निर्माता कम्पनीबाट अन्य कम्पनी चलाइसकेको जहाज मात्रै बुद्ध एयरले किनेको अभिलेखा उल्लेख छ । यस्ता छन् बुद्ध एयरका जहाज र तिनका उमेर :

बुद्ध एयर 9N-AJX

यो जहाज सन् १९९९ मे ८ मा पहिलोपटक स्पेनको एयर नोस्ट्रम एयरलाइन्सले सञ्चालनमा ल्याएको थियो । सो जहाज सन् २०१२ अगस्टसम्म सोही कम्पनीले उडाएको थियो । त्यसपश्चात उक्त जहाज सन २०१२ सेप्टेम्बरमा बुद्ध एयरले किनेर हालसम्म चलाइरहेको छ । यो विमानले २५ वर्षदेखि उडान भरिरहेको छ । 

बुद्ध एयर 9N-AJS

सन् १९९७ नोभेम्बर ७ मा पहिलोपटक चीनको चाइना सिन्जियाङ् एयरलाइन्सले किनेको यो जहाज सन् २००३ मार्च १ मा चिनकै चाइना साउथर्न एयरलाइन्सले चलाएको थियो । त्यसपछि सन २०११ मा नेपालको बुद्ध एयरलाइन्सले किनेर उक्त जहाज चलाइरहेको छ । १३ वर्षदेखि नेपाली आकाशमा उडिरहेको यो विमानको उमेर २६ वर्षको भएको छ ।

बुद्ध एयर 9N-AJO

सन १९९७ नोभेम्बरमा फ्रान्सको एयर तहिटिले पहिलोपटक सञ्चालनमा ल्याएको यो जहाज सन् २००६ फेब्रुअरीमा इन्डियाको एयर डेकान नामक एयरलाइन्स कम्पनीले किनेर चलाएको थियो । 

सोही जहाज सन् २०१० जुनमा नेपालको बुद्ध एयरले किनेर सञ्चालनमा ल्याएको हो । १४ वर्षदेखि नेपाली आकाशमा उडिरहेको यो विमानले उडान सुरु गरेको भने २७ वर्ष बढी भएको छ ।

बुद्ध एयर 9N-AMD

सन २००६ नोभेम्बरमा फ्रान्सको एयर क्यालिडोनिया एयरलाइन्स कम्पनीले पहिलोपटक खरिद गरेर सन्चालनमा ल्याएको थियो । यो विमान सन् २०१७ फेब्रुअरीमा नेपालको बुद्ध एयरले खरिद गरेको थियो । ७ वर्षदेखि नेपालमा उडिरहेको यो विमान १८ वर्षदेखि सञ्चालनमा छ । 

बुद्ध एयर 9N-AMF

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १७ वर्षदेखि निरन्तर उडिरहेको छ । 

बुद्ध एयर 9N-AMU

पहिलोपटक सन २००७ सेप्टेम्बरदेखि इन्डियाको किङ्फिसर एयरलाइन्सले संचालन गरेको यो जहाज उडान भरेको ७ वर्षपछि सन् २०१४ मा फ्रान्सको एयर क्यालिडोनी एयरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । सोही जहाज ४ वर्षपछि अर्थात सन् २०१८ जुनदेखि नेपालको बुद्ध एयरले संचालनमा ल्याएको छ । हालसम्म यो जहाज करिब १७ वर्ष उडिसकेको छ ।

बुद्ध एयर 9N-AMY

सन् २००७ जुनमा फ्रान्सको एयर तहिटीले पहिलोपटक सञ्चालनमा ल्याएको यो जहाजले सन् २०१९ मार्च देखि बुद्ध एयरमार्फबाट उडान भरिरहेको छ । यो जहाजको आयु १७ वर्ष भइसकेको छ । 

बुद्ध एयर 9N-AIT

मौरिटानियाको एयर मौरिटानियाले पहिलोपटक सन् १९९६ जुनदेखि संचालनमा ल्याएको यो सन् १९९९ जुनदेखि चेक रिपब्लिकको सिएसए एयरलाइन्सले सञ्चालनमा ल्यायो । 

यो जहाज तेस्रो पटक सन् २००६ अप्रिल देखि पोल्याण्डको ह्वाइट इगल एभिएसनले चलाया भने चौथो पटक सन् २००९ मे देखि नेपालको बुद्ध एयरले उडाइरहेको छ । यो जहाज हालसम्म २८ वर्ष बढी सञ्चालनमा आइसकेको छ । 

बुद्ध एयर 9N-AIN

पहिलोपटक सन् १९९७ नोभेम्बरदेखि फ्रान्सको एयर क्यालेडोनियाले संचालनमा ल्याएको यो जहाज सन् २००८ सेप्टेम्बरदेखि बुद्ध एयरले नेपालमा उडाइरहेको छ । हालसम्म यो जहाज करिब २९ वर्ष उडिसकेको छ । 

बुद्ध एयर 9N-AIM

यो जहाज पाँचौ पटक बिक्रि भएर नेपाल आइपुगेको हो । पछिल्लो १३ वर्ष देखी बुद्ध एयरले यो जहाज नेपालमा उडाइरहेको छ । यो विमान हालसम्म २९ वर्ष चलिसकेको छ ।

बुद्ध एयर 9N-AJL

सुरुमा इन्डियाको जेट एयरवेजले सन् २०१० डिसेम्बरदेखि संचालनमा ल्याएको सो जहाज उक्त कम्पनीले सन् २०१९ देखि थन्क्याएर राखेको थियो । जेट एयरवेजले २ वर्ष थन्काएको सो विमान सन् २०२१ मा बुद्ध एयरले खरिद गरि नेपाली आकाशमा उडाइरहेको छ ।

बुद्ध एयर 9N-ANI

पहिलोपटक सन् २००७ डिसेम्बरमा इन्डियाको किङ्फिसर एयरलाइन्सले संचालनमा ल्याएको उक्त जहाज २०१३ इन्डियाकै जेटकनेक्ट एयरलाइन्सले संचालन गरेको थियो । सोही जहाज तेस्रोपटक बुद्ध एयरले सन २०१९ सेप्टेम्बरदेखि सञ्चालनमा ल्याएको हो । यो जहाजको आयु साढे सोह्र वर्ष भएको छ । 

बुद्ध एयर 9N-ANH

यो जहाज पहिलोपटक सन् २०१० नोभेम्बरदेखि इन्डियाको जेट एयरवेज नामक कम्पनीले सञ्चालनमा ल्याएको हो । सोही जहाज सन् २०२१ मा बुद्ध एयरले खरिद गरेर सञ्चालनमा ल्याएको छ । यो विमानले उडान सुरु गरेको करिब १४ वर्ष भएको छ ।

बुद्ध एयर 9N-ANP

यो जहाज पहिलोपटक सन् २००८ डिसेम्बरदेखि इन्डियाको जेट एयरवेजले सञ्चालनमा ल्याएको थियो । त्यही विमान बुद्ध एयरले सन् २०२२ मा खरिद गरि नेपाली आकाशमा उडाइरहेको छ । यो विमान साढे १५ वर्षदेखि उडान भरिरहेको छ । 

बुद्ध एयर 9N-ANQ

सन् २००८ डिसेम्बरदेखि इन्डियाको जेट एयरवेजले सञ्चालनमा ल्याएको यो जहाजको सन २०१९ मा सबै उडान रोकिएको थियो । त्यसको करिब ८ महिनापछि इन्डियाकै ट्रुजेटले खरिद गरेर २०२१ सम्म सञ्चालन गर्यो । उक्त जहाज सन २०२३ मा नेपालको बुद्ध एयरले खरिद गरेर सञ्चालनमा ल्याएको छ । यो जहाजको उमेर करिब १६ वर्ष भइसकेको छ । 

बुद्ध एयर 9N-ANW

सन् २०१० मा ब्राजिलको ट्रिप एयरलाइन्सले सञ्चालनमा ल्याएको यो जहाज सन २०१७ मा स्पेनको एरोनोभा कम्पनीले खरिद गरेर स्पेनकै एयर युरोपा एक्स्प्रेसलाई बिक्रि गर्यो । उक्त कम्पनीले यो जहाज २०२१ जुलाई सम्म सञ्चालन गर्यो र स्टोर्ड गर्यो । त्यहि जहाज बुद्ध एयरले सनु २०२३ सेप्टेम्बरमा खरिद गरेर सञ्चालनमा ल्याएको थियो । यो जहाज विगत एक महिनादेखि पार्किङ गरेर राखिएको छ । यो जहाज हालसम्म १४ वर्ष सञ्चालनमा आएको छ । 

बुद्ध एयर 9N-AOC

सन् २०११ मा अष्ट्रेलियाको स्काइवेस्ट एयरलाइन्स अष्ट्रेलियाले पहिलोपटक सञ्चालनमा ल्याएको यो जहाज सन् २०१३ देखि अष्ट्रेलियाकै भर्जिन अष्ट्रेलिया रिजनल एयरलाइन्सले उडान सुरु गरेको थियो । पछि सन् २०१७ मा स्टोर गरेर राखेको यो जहाज इन्डियाको फ्लाइबिग एयरलाइन्सले सन् २०२१ देखि सञ्चालनमा ल्याएको थियो । त्यसको करिब २ महिनापछि पुनः स्टोरमा राखिएको यो जहाज सन् २०२३ मा बुद्ध एयरले खरिद गरेर नियमित उडान भरिरहेको छ ।  यो जहाजको उमेर १३ वर्ष पुगेको छ । 

बुद्ध एयर 9N-ANZ

यो जहाज पहिलोपटक स्पेनको नेसा एयरलाइन्सले सन् २०१० देखि २०१८ सम्म सञ्चालनमा ल्याएको थियो । उक्त जहाज २०१८ मा स्पेनकै बिन्टर क्यानारियास एयरलाइन्सले खरिद गरेर २०२३ अक्टोबरसम्म सञ्चालन गर्यो र स्टोर गर्यो । त्यसको करिब ८ महिनापछि सन् २०२४ मा उक्त जहाज बुद्ध एयरले खरिद गरेर नेपालको आकाशमा उडाइरहेको छ । यो जहाजले करिब १४ वर्ष उडान भरिसकेको छ । 

यति एयरलाइन्स

आन्तरिकतर्फको हवाई उडानमा दोस्रो स्थानमा रहेको यति एयरलाइन्ससँग ७ वटा जहाजहरू छन् । यतिको जहाज पनि कम्पनी आफैँले नयाँ किनेको भने देखिएन । विभिन्न कम्पनी चलाइसकेको जहाज दोस्रो,तेस्रो पटकमा किनेर कम्पनीको सञ्चालनमा ल्याएको देखिएको छ । यतिसँग भएका जहाजहरुको आयु १२ वर्ष भन्दा माथि र साढे १७ वर्ष भन्दा कमका छन् । 

यति एयरलाइन्स 9N-AMM

यति एयरलाइन्सले अहिले उडान भरिरहेको यो जहाज पहिलोपटक सन २००७ को मे बाट ताइवानको ट्रान्ससिया एयरवेजले सञ्चालनमा ल्याएको थियो । उक्त विमानलाई सन २०१६ को नोभेम्बरबाट चलाउनका लागि रोकिएको थियो । तर, सोही जहाज सन २०१७ को सेप्टेम्बरबाट नेपालको यति एयरलाइन्सले खरिद गरेर उडाइरहेको छ । यो विमान १७ वर्षदेखि उडिरहेको छ । 

यति एयरलाइन्स 9N-AMN

सन् २००९ को अक्टोबरमा वानुअतुको एयर वानुअतुले सञ्चालनमा ल्याएको उक्त जहाज सन २०१७ देखि स्टोरमा थन्काएर राखिएको थियो । तर, सोही जहाज थन्काएको ५ महिना पछि नेपालको यति एयरलाइन्सले खरिद गरेर नेपाली आकाशमा उडाइरहेको छ । यो विमानले उडान सुरु गरेको पनि १५ वर्ष भएको छ ।

यति एयरलाइन्स 9N-ANG

यो जहाजको उमेर १७ वर्ष ३ महिनाको भयो । यति एयरलाइन्सले पाँचौ पटकमा किनेको सो जहाज अहिले पार्किङमा थन्क्याइएको छ ।

यति एयरलाइन्स 9N-ALN

यति एयरलाइन्सले संचालन गरिरहेको यो जहाज पहिलोपटक सन २००८ मा इन्डियाको किङ्फिसर एयरलाइन्सले सञ्चालनमा ल्याएको थियो । तर २०१२ को अक्टोबरमा उक्त जहाजलाई सबै उडानबाट रोक लगाइएको थियो । त्यसको करिब ६ वर्षपछि सोही विमान नेपालको यति एयरलाइन्सले सन २०१८ मा खरिद गरेर उडाइरहेको छ । यो विमानले उडान सुरु गरेको पनि साढे १६ वर्ष भएको छ ।

यति एयरलाइन्स 9N-AMZ

यो जहाज पहिलोपटक सन २०१२ को मे मा अष्ट्रेलियाको स्काइवेस्ट एयरलाइन्सले सञ्चालनमा ल्याएको हो । २०१३ को मे देखि अष्ट्रेलियाकै भर्जिन अष्ट्रेलिया रिजनल एयरलाइन्सले संचालन गरेको उक्त जहाज २०१७ को डिसेम्बरदेखि स्टोरमा थन्क्याएर राखिएको थियो । थन्क्याएको ५ वर्ष पछि अर्थात सन २०२२ को सेप्टेम्बरमा उक्त जहाज नेपालको यति एयरलान्सले खरिद गरेर संचानलनमा ल्याएको हो । यो विमानले उडान सुरु गरेको पनि साढे १२ वर्ष बढी भयो । 

यति एयरलाइन्स 9N-AOF

यो जहाज पहिलो पटक सन् २०१० मा उरुग्वेको बिक्यूबि लिनेआस एरियास एयरलाइन्सले सञ्चालन गरेर २०१५ मा स्टोर्ड गरेको थियो । सोही जहाज ८ महिनापछि बङ्गालदेशको नोभो एयरले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । उक्त जहाज सन् २०२४ मै यति एयरलाइन्सले खरिद गरेर नियमित उडान भरिरहेको छ । हालसम्म यो जहाजले करिब १४ वर्ष उडान भरिसकेको छ । 

यति एयरलाइन्स 9N-AOH

यो जहाज पनि सन् २०१० मा उरुग्वेको बिक्यूबि लिनेआस एरियास एयरलाइन्सले सञ्चालन गरेर २०१६ मा स्टोर्ड गरेको थियो । त्यसको करिब एक महिनापछि उक्त जहाज बङ्गालदेशको नोभो एयरले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । उक्त जहाज सन् २०२४ मै यति एयरलाइन्सले खरिद गरेर नियमित उडान भरिरहेको छ । यो जहाजले पनि करिब १४ वर्ष उडान भरिसकेको छ । 

श्री एयरलाइन्स

आन्तरिक हवाई उडानमा तेस्रो ठूलो प्लेयरको रुपमा श्री एयरलाइन्सलाई चिनिन्छ । प्राधिकरणका अनुसार कम्पनीसँग १० वटा जहाज छन् तर ति मध्ये ३ वटा जहाज नियमित उडानमा छैनन् । श्री एयरलाइन्सले पनि विमान निर्माता कम्पनीबाट जहाज किनेको देखिन्न । विभिन्न कम्पनीहरुले किनेर केही वर्ष चलाइसकेका चहाजहरु श्रीले नेपाल भित्र्याएको देखिन्छ । यो कम्पनीमा सञ्चालनमा रहेका जहाजहरू १३ देखि २२ वर्ष उमेरका छन् ।  

श्री एयरलाइन्स  9N-AMC

यो जहाज पहिलोपटक सन २००२ मा जापानको जे एयरले सञ्चालनमा ल्याएको थियो । करिब १५ वर्ष संचालनपछि उक्त जहाज स्टोरमा राखिएको थियो । त्यहि जहाज नेपालको श्री एयरलाइन्सले सन २०१७ देखि खरिद गरेर सञ्चालनमा ल्याएको छ । हालसम्म यो जहाजले २२ वर्ष उडान भरिसकेको छ । 

श्री एयरलाइन्स 9N-ANE

सन् २००७ देखि अमेरिकाको होराइजन एयरले सञ्चालनमा ल्याएको यो विमान सन २०१७ देखि स्टोरमा थन्क्याएर राखिएको थियो । त्यहि जहाज नेपालको श्री एयरलाइन्सले सन २०१९ यता सञ्चालन गरेको थियो तर एक महिनादेखि यो जहाज पार्किङ राखिएको छ । यो जहाजले हालसम्म १७ वर्ष उडान भरिसकेको छ ।  

श्री एयरलाइन्स 9N-ANF

सन् २००७ देखि अमेरिकाको होराइजन एयरले सञ्चालनमा ल्याएको यो विमान सन २०१८ देखि स्टोरमा थन्क्याएर राखिएको थियो । त्यहि जहाज नेपालको श्री एयरलाइन्सले सन २०१९ मा खरिद गरेर सञ्चालनमा ल्याएको छ । यो विमान पनि १७ वर्षदेखि उडिरहेको छ । 

श्री एयरलाइन्स 9N-AOK

सन् २०११ मा अमेरिकाको होराइजन एयरले सञ्चालनमा ल्याएको यो जहाज सन २०२२ देखि स्टोरमा राखिएको थियो । सोही जहाज श्री एयरलाइन्सले २०२४ मा खरिद गरेर नियमित सञ्चालन गरिरहेको छ । यो जहाजले १३ वर्ष देखि उडान भरिरहेको छ । 

श्री एयरलाइन्स 9N-AOL

सन् २०११ मा अमेरिकाको होराइजन एयरले नै सञ्चालनमा ल्याएको यो जहाज सन २०२३ देखि स्टोरमा राखिएको थियो । सोही जहाज श्री एयरलाइन्सले २०२४ मा खरिद गरेर नियमित सञ्चालन गरिरहेको छ । 

श्री एयरलाइन्स 9N-ANR

यो जहाज पहिलोपटक सन २००९ मा अष्ट्रियाको अष्ट्रियन एरोज नामक कम्पनीले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । सोही जहाज सन २०१२ मा अष्ट्रियाको अष्ट्रियन एयरलाइन्स नामक कम्पनीले खरिद गरेर संचालन गरेको थियो तर उक्त विमान सन २०२१ देखि स्टोरमा थन्क्याएर राखिएको थियो । थन्क्याएको ९ महिनामै उक्त विमान नेपालको श्री एयरलाइन्सले खरिद गरेर हाल उडाइरहेको छ । यो विमानले उडान सुरु गरेको १५ वर्ष भयो । 

श्री एयरलाइन्स 9N-ANS

सन २००९ को डिसेम्बरदेखि जर्मनीको अग्सबर्ग एयरवेजले सञ्चालनमा आएको उक्त विमान सन २०१३ को अक्टोबरदेखि सबै उडामा रोक लगाइएको थियो । सोही विमान सन २०१४ मा क्यानडाको नर्थ क्यारिबो एयरले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । तर उक्त विमान सन २०१४ मा अष्ट्रियाको अष्ट्रियन एयरलाइन्सले उडायो  । उक्त कम्पनीले पनि उक्त विमान उडान रोकेर स्टोरमा राखेको थियो । त्यही विमान सन २०२२ मा खरिद गरेर नेपालको श्री एयरलाइन्सले सञ्चालनमा ल्याएको छ।

श्री एयरलाइन्स 9N-AMB

सन् २००२ मा डेनमार्कको मसर््क एयरले सञ्चालनमा ल्याएको यो जहाज सन् २००३ देखि युकेको डुवो एयरवेजले सञ्चालनमा ल्याएको थियो । १ वर्ष सञ्चालनपछि स्टोरमा राखिएको सो जहाज सन् २००९ मा इन्डियाको एयर इन्डिया रिजनलले सञ्चालनमा ल्याएको थियो । २०१६ मा स्टोरमा राखिएको सो जहाज सन् २०१७ यता श्री एयरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो तर २०२२ यता यो जहाज स्टोर गरिएको छ । यो जहाजले करिब २२ वर्षदेखि उडान भरिरहेको छ । 

श्री एयरलाइन्स 9N-AMA

सन् २००४ मा जापानको आइबेक्स एयरलाइन्सले सञ्चालनमा ल्याएको यो जहाज सन् २०१६ मा स्टोर गरिएको थियो । सो जहाज सन् २०१७ मा श्री एयरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको थियो । तर यो जहाज सन् २०२२ यता स्टोरमा राखिएको छ । यो जहाजले करिब २० वर्ष उडान भरेको छ । 

श्री एयरलाइन्स 9N-AMO

सन् २००६ मा अमेरिकाको होराइजन एयरले सञ्चालनमा ल्याएको यो जहाज सन् २०११ देखि अमेरिकाकै स्काईवेस्ट एयरलाइन्सले सञ्चालन गरेको थियो । सन् २०१६ मा स्टोर गरिएको जहाज किनेर २०१८ मा सञ्चालन गरेको श्री एयरलाइन्सले पुन २०२१ देखि स्टोरमा राखेको छ । 

सौर्य एयरलाइन्स

साउन  ९ गते दुर्घटनामा परेपछि सैर्य एयरलाइन्ससँग अब २ वटा मात्रै जहाज बाँकी छन् । २१ वर्ष देखि सञ्चालनमा आएको सौर्य ढल्९ब्ःभ्, ऋच्व्९द्दण्ण् जहाज बुधबार दुर्घटनामा परेको थियो । यो कम्पनीसँग १९ र २३ वर्ष देखि सञ्चालनमा रहेका जहाजहरू छन् । 

सौर्य एयरलाइन्स 9N-ANM

सन् २००५ अक्टोबरमा जापानको जे एयरले सञ्चालनमा ल्याएको सन् २०१८ यता स्टोर गरिएको थियो । सोही जहाज सन् २०२० मा सौर्य एयरलाइन्सले खरिद गरेर सञ्चालनमा ल्याएको छ । यो जहाजले पनि १९ वर्षदेखि उडान भरिरहेको छ । 

सन् २००१ मा क्यानडाको बम्बार्डिअर एयरलाइन्सले सञ्चालनमा ल्याएको यो जहाज त्यसको २ महिनापछि स्पेनको एयर नोस्ट्रमले उडाएको थियो । त्यसको १३ वर्षपछि अर्थात सन २०१४ मा यो जहाज सौर्य एयरलाइन्सले उडान भर्दै आएको छ । यो जहाजको उमेर २३ वर्ष भइसकेको छ । 

तारा एयरलाइन्स

तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो । यो कम्पनीले दुर्गम क्षेत्रमा मात्रै यात्रु र कार्गो उडान भर्ने गरेको छ । यो कम्पनीसँग ३ वटा यस्ता साना जहाजहरू छन् । 

तारा एयर 9N-AEV

यो जहाज ३४ वर्ष पुरानो भयो । सन् १९९० मा अमेरिकाको मार्कएयर एक्सप्रेसले चलाएको यो जहाज सन् १९९८ मा नेपाल भित्रिएको थियो । सन् २००९ यता तारा एयरलाइन्सले यो जहाज उडाई रहेको छ ।

तारा एयर 9N-AKL

सन् २०१५ मा निर्माण भएको उक्त जहाज क्यानडाको भाइकिङ् एयरले सन २०१५ मै खरिद गरेर ५ महिनापछि नेपालको तारा एयरलाई बिक्रि गरेको हो । हाल यो नेपालमै सञ्चालनरत छ । यो विमानले उडान सुरु गरेको बल्ल ९ वर्ष भयो । 

तारा एयर 9N-ALO

सन २००८ मा निर्माण भएको यो विमान सन २०१० मा एयर सेसेलसले खरिद गरेर सञ्चालनमा ल्यायो । संचालनको करिब ८ वर्षपछि तारा यअरले सन् २०१८ मा खरिद गरेको यो विमान हालसम्म उडाइरहेको छ । यो विमानले पनि १६ वर्षदेखि उडान भरिरहेको छ । 

समिट एयर

हिमाली क्षेत्रमा पर्यटक र तथा चार्टर्ड उडानमा समिट एयरलाइन्स अग्रणी छ । निजी क्षेत्रबाट नेपालमा कम्पनीबाट सिधै विमान किनेर ल्याएर सञ्चालन गर्ने कम्पनीमा समिट पर्दछ । एयरलाइन्समा हालसम्म ४ वटा जहाज सञ्चालमा छ । ति सबै निर्माण कम्पनीबाट सिधै नेपाल ल्याइएका हुन् । 

समिट एयर 9N- AKZ

२०१४ मा निर्माण भएको यो जहाज सन २०१५ मा नेपालले ल्याएर निरन्तर सञ्चालनमा छ । 

समिट एयर 9N- AMG

२०१४ मा निर्माण भएको यो जहाज सन २०१७ मा नेपालको समिट एयरले ल्याएर निरन्तर सञ्चालनमा छ । 

समिट एयर 9N- AMP

२०१४ मा निर्माण भएको यो जहाज सन २०१७ मा नेपालको समिट एयरले ल्याएर निरन्तर सञ्चालनमा छ । 

समिट एयर 9N- AND

२०१४ मा निर्माण भएको यो जहाज सन २०१७ मा नेपालको समिट एयरले ल्याएर निरन्तर सञ्चालनमा छ । 

सिता एयर

नेपालमा सबै भन्दा बुढा जहाज चलाउने एयरलाइन्स कम्पनीमा पर्छ सिता एयर । नेपालको हिमाली गन्तब्यमा उडान भर्ने यी जहाजहरू ३९ वर्षसम्म उडान भरिसकेका छन् । 

सिता एयर 9N-AHB

सन् १९९० मा फ्रान्सको एयर ग्वाडेलोपले खरिद गरेर संचालन गरेको यो जहाज सन् २००० मा एयर कराइबेसले खरिद गरि संचालन गर्यो । त्यहि जहाज सन् २००३ यत सिता एयरलाइन्सले सञ्चालन गर्दै आएको छ । यो जहाज पनि ३४ वर्षदेखि उडिरहेको छ ।

सिता एयर 9N-AHR

सन् १९८८ मा अमेरिकाको मिडवे कम्युटर एयरलाइन्स ले पहिलोपटक खरिद गरेर संचालन गरेको उक्त जहाज सन् १९९४ मा मिल्ने बे एयरले सञ्चालन गर्यो । त्यसपछि सन् २००५ मा नेपाल भित्रिएको उक्त जहाज समिट एयर, गोर्खा एयर हुँदै अहिले सिता एयरले उडाइरहेको छ । यो विमान पनि ३६ वर्षदेखि उडिरहेको  छ ।

सिता एयर 9N-AJH

सन् १९९० मा एयर मोरिया एयरलाइन्सले सञ्चालनमा ल्याएको यो जहाज सन् २००६ मा एयरलाइन्स अफ तास्मानिया प्रालिले उडान भर्न सुरु गरेको थियो । सोही जहाज सन् २०१० मा अग्नि एयरले खरिद गरेर सञ्चालनमा ल्याएको यो जहाज २०१३ यता सिता यअरले चलाइरहेको छ । यो जहाजले ३४ वर्षयता उडान भरिरहेको छ ।

सिता एयर 9N-AIE

सन् १९८५ देखि सञ्चालनमा आएको यो जहाज १२ वर्षको अव विभिन्न ८ कम्पनीले उडान भरे । यो जहाज सन् २०१३ मा सिम्रिक एयरले ल्याएको यो जहाज सिता एयरले खरिद गरेर निरन्तर सञ्चालनमा ल्याएको छ । यो जहाजले हालसम्म ३९ वर्ष उडान भरिसकेको छ । 

गुण यअरलाइन्स

त्यस्तै गुण एयरलाइन्ससँग पनि आन्तरिक उडान भर्नका लागि ७ जहाजहरू रहेको प्राधिकरणले जनाएको छ । तर १ वर्षदेखि उडान नभरेको उक्त कम्पनीले जनाएको छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...