नेभिगेशन
सबै कुरा

बुद्धको उपचार संघर्ष,‘डाक्टरले छोरीलाई निको हुँदैन भने, कविताको दोस्रो पटक डायलासिस भयो’

काठमाडाैँ । ‘मेरो नानीलाई त यस्तो भयो । म किन बाँच्ने । मलाई यो छुटाई दिनुस्’ वर्ष २५ कि कविता तामाङ डाँको छोडेर अस्पतालको बेडमै रोइन् । सोही बेला उनको फोनमा कसैले फोन गर्यो ।

उनले डाँको हालेर आफ्नो भाषामा रुँदै केही भनिन् । फोन काटिन फेरि घोप्टो परेर भक्कानिइन् । त्रिवि शिक्षण अस्पतालको ग्याष्ट्रो एनेक्स दोस्रो भवनको बेड नम्बर ६१८ ‘सी’ बेड उपचाररत कविताको चित्कार पछि अस्पतालमा रहेका नर्सहरू उनी भएको तिर दौडिए ।

Dish Home
Global Ime Bank

अन्य बिरामीका कुरुवाहरू पनि पुगे । ‘सबैले सोधे के भयो ?’ उनले भनिन् ‘मेरो नानी छैन’ एक जना नर्सले प्रश्न गरिन्, ‘के भयो नानीलाई ?’ उनले भनिन् ‘मेरो नानी यही अस्पतालको अर्को वार्डमा छ । उ रहेन रे...’ कविता भक्कानिइन् । 

नर्सहरूले उक्त बच्चा कुन वार्डमा रहेको खोजी सुरु गरे । एक जना भर्खरैका युवक एक हातले अर्को हात समाउँदै वार्डमा आइपुगे । उनको दायाँ हातको जोर्नीमा पिलो आएछ । पिप र रगत बगिरहेको हातलाई अर्को हातले समाउँदै आएका उनलाई अस्पतालका नर्स र अन्य बिरामीका कुरुवाहरुले सोधे, ‘तपाईं उहाँको आफन्त हो ?’  उनले जवाफ दिए, ‘म कविताको श्रीमान् हुँ ।

मेरो नाम बुद्ध तामाङ ।’ ‘के भएको हो ?’ सबैले प्रश्न गरे ‘आँखा रसिलो बनाउँदै उनले मसिनो स्वरमा जवाफ फर्काए ‘मेरो सर्वश्व सकियो । छोरीलाई बचाउन सकिएन झिकेर लैजाऊ भनेको छ डाक्टरले । यता श्रीमतीको दोस्रो डाइलासिस हिजो सकियो।’ अघिसम्म प्रश्न गरिरहेकाहरू निःशब्द बने, बुद्ध भक्कानिए ।

छोरीको रुघा जचाउँन अस्पताल आएका बुद्ध र कविता

ललितपुर गोदावरी नगरपालिका २ त्रिवेणीका बुद्ध तामाङ २९ वर्षका भए । पेशाले कुक उनी नयाँ बानेश्वरको एक रेष्टुरामा काम गर्थे । श्रीमती कविता पाटनको डेरामा दुई छोरीको हेरचाह  गर्थिन् । ११ र ५ वर्षका छोरीहरूको पालन पोषण र विद्यालय पुर्याउनु उनको दैनिकी थियो । 

गोदावरी टीका भैरवकी कविता र बुद्ध एक अर्कामा प्रेममा बाँधिएर विवाह गरेका थिए । गत असार अन्तिम साता कान्छी छोरी प्रतीक्षा (५ वर्ष) लाई रुघाखोकी लाग्यो । घरमै घरेलु उपचारले ठिक होला भन्दै उनीहरु केही दिन घरेलु उपचारमा लागे । छाती घ्यारघ्यार हुने र ज्वरो कम नभएपछि साउन ३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छोरीलाई जचाउन ल्याए ।

‘अस्पतालले छोरीलाई भर्ना गर्नु पर्ने भन्यो,’ बुद्धले भने,‘छोरीलाई टिबी देखिएको छ । टिबीका कारण टाउकोमा पानी जमेको छ । त्यो पानी निकाल्नु पर्छ भन्नुभयो ।’ डाक्टरको सल्लाहअनुसार छोरी प्रतिक्षालाई उनीहरुले भर्ना गरे । केही दिनको अब्जरभेसनपछि चिकित्सकले टाउकोको अप्रेशन गर्नुपर्ने बुद्ध दम्पतीलाई बताए । 

‘पानी निकाल्न टाउको अप्रेशन गर्नुपर्छ भन्नुभयो । हामीले डाक्टरलाई सोध्यौँ । उनलाई केही हुन्न नी,’ बुबा बुद्ध भन्छन्,‘ केही हुन्न भन्नु भएको थियो । तर, आज भर्ना भएको डेढ महिनापछि अब बचाउन सकेनौँ झिकेर लैजाऊ भनेको छ । उनी बाल वार्डको आइसीटीयू ९०५ नम्बरमा छिन् ।’ 

पछिल्लो डेढ महिनामा छोरीको जीवन र श्रीमतीको मृगौलासँगै जिन्दगीको सबै खुसी लुटिएको बुद्धले बताए । 

छोरीको उपचार गर्दागर्दै आमाको मृगौलामा समस्या  

चिकित्सको सल्लाहपछि बुद्ध दम्पतीले छोरीको अप्रेसन गरे । स्वास्थ्य अवस्था सुधार हुने आशमा बस्दा बस्दै महिना दिन बित्यो । छोरीको कुरुवाका रुपमा शिक्षण अस्पतालको गणेशमान भवनको बाहिर दिन रात बिताइरहेकी आमा कविताको स्वास्थ्य  साउनको ३१ गते एक्कासी बिग्रियो । 

पखाला र उल्टीले शिथिल भएकी उनलाई बुद्धले त्यही अस्पताल भर्ना गरे । स्वास्थ्य परीक्षणकै क्रममा उनको मृगौलामा खराबी देखिएको पत्ता लाग्यो । चिकित्सकले भर्ना नै गरेर उपचार गर्नुपर्ने भन्दै कवितालाई भर्ना गरिदिए । उपचारकै क्रममा उनको डायलाईसीस गर्नु र्ने भन्दै बुद्धलाई आवश्यक प्रबन्ध गर्न अस्पतालले भन्यो ।

‘म माथि आकाश खस्यो सर । आमा यो वार्डमा, छोरी अर्को वार्डमा,’ आँसु भरिएका आँखा पुछ्दै बुद्धले भने । उनका अनुसार कबितालाई केही नहुँदासम्म उनी काम गर्ने रेष्टुराँमा बिदा मिलाएर अस्पताल बस्थे । कविता बिरामी भएपछि उनी रेष्टुरेन्ट जान सकेनन् । 

लामो बिदा नपाए पछि जागिर पनि गएको उनले बताए । छोरीको सघन उपचारमा करिब ६ लाख रुपैयाँ खर्च भएको उनले बताए । श्रीमतीको उपचार भर्खरै सुरु भएको र अस्पतालमा भन्दा पनि बाहिर लगेर गरिने टेष्ट र औषधीमा खर्च बढी रहेको बुद्धले सुनाए ।

‘कमाएको पनि सकियो, मेरो परिवार पनि सकियो,’ बुद्ध भन्छन्,‘कविता पनि मलाई अस्पतालबाट झिकेर लैजाऊ भन्छिन् ।,’ एक पछि अर्को समस्याले घेरिएपछि जर्जर बनेको आर्थिक अवस्थालाई टेको लगाउन आफन्तहरुले सहयोग गरिराखेको तर पर्यप्त नभएको बुद्धले सिधाकुरालाई बताए ।

चिकित्सकले निको नहुने घोषणा गरेका छोरी र गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी श्रीमती बचाउन शिक्षण अस्पतालमा भक्कानिरहेका उनले मनकारीबाट सहयोगको अपेक्षासमेत गरेका छन् । बुद्धको परिवारलाई सहयोग गर्न उनको फोन नम्बर ९८६१३३३४९८ र उनको नबिल बैंकमा रहेको खाता नाम बुद्ध तामाङ, खाता नम्बर ०८३१००१७५०३६४३ प्रयोग गर्न सकिन्छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation