नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

५ भदौ, काठमाडौं । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिके भण्डारी नामक अकाउन्टबाट दावा छिरिङलाई एउटा पीडीएफ फाइल वीच्याट म्यासेन्जरमा सेण्ड हुन्छ ।

Everest cinsult

त्यस लगत्तै दावा छिरिङले बिके भण्डारीलाई म्यासेज लेख्छन्–‘इफ आइ सेण्ड मनी टू योर सिङ्गापुर अकाउन्ट एचएसबीसी, क्यान यू गिभ नेपाली मनी ?’  

दावा फेरि लेख्छन्, ‘ओन टाइम ओन मिलियन यूएसडी ।’

दावा फेरि तेस्रो म्यासेजमा सोध्छन् ‘टक वीथ योर पार्टनर !’ 

यस लगत्तै बिके भण्डारीले दावालाई कल गरेको सिधाकुरालाई प्राप्त वीच्याट कुराकानीको एउटा अंशमा देखिन्छ ।


बिके भण्डारीले पठाएको पीडिएफ फाइलमा के थियो खुलेको छैन । यद्यपी दावा र बिके भण्डारीबीच भएको सो कुराकानी नेपालीमा जस्ताको त्यस्तै उतार्दा भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ । च्याट लगत्तै फोनमा कुराकानी भएका कारण यसको सम्पूर्ण डील फोनमा भएको देखिन्छ ।


विदेशी खातामा विदेशी रकम जम्मा गर्ने र त्यसको नेपाली भुक्तानी नेपालमा गराउने कार्य कानूनतः अवैध हो । यसलाई विदेशी विनिमय अपचलन अर्थात ‘हुण्डी’ भनिन्छ । राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारबाट जाँच पास भइसकेको अवस्थामा १ सय ५५ किलो ब्रेकशुमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो ।

सोही सुनको अनुसन्धानका क्रममा तस्करीको नाइके रहेको प्रमाण भेटिएपछि १४ साउनमा दावा छिरीङलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको ज्याठास्थित होटल भियानाका सञ्चालक उनी तिब्बती मुलका बेल्जियम नागरिक हुन् । यद्यपी उनीसँग नेपाली नागरिकता र पासपोर्ट समेत भेटिएको छ ।

दावासँग बिके भण्डारी नामको एउटा वीच्याटसँगै ‘बिध’ नाममा सेभ रहेको अर्को एक नम्बरबाट पनि ह्वाट्सएपमा निरन्तर संवाद भएको विवरणहरु सिधाकुरालाई प्राप्त भएको छ । ति संवादमा केही बहुमूल्य वस्तु खरिदका लागि रकमको बन्दोबस्त गर्न पटक–पटक दावा र बिके भण्डारी तथा ‘बिध’बीच कुराकानी भएको देखिन्छ ।

केही निकै व्यक्तिगत सम्बन्धका कुराहरु पनि च्याटमा छन् । एउटा कन्भरसेसनमा दावाले महिलाहरुलाई व्यासायिक यौन कर्ममा लगाउने गरेको समेत देखिएको छ । त्यसका लागि भण्डारीलाई प्रस्ताव गरेको पनि देखिन्छ । ‘आजका लागि तीन मुलका केटीहरु तयार छन्, कुन चाहीँ मन पर्छ ? कतिबेला आउने ?’ दावाले भण्डारीलाई प्रश्न गरेका छन् । जवाफमा भण्डारीले ‘ए हो ३० मिनेट मै आइपुग्छु’ भन्ने जवाफ दिएका छन् ।

दावाको मोबाइलकाे फरेन्सिक रिर्पोटमा भण्डारीसँगका सयौँ अन्तरङ्ग सम्वादसँगै ठूलो रकम हुण्डी कारोबारको विवरण छ । उक्त कारोबार अवैध सुन तस्करीसँग सम्बन्धित रहेको भन्दै सीआईबीले बिस्तृत अनुसन्धान अघि बढाएको छ भने भण्डारीलाई संदिग्ध सुन तस्कारको घेरामा राखेर पक्राउको तयारी गरेको छ ।

बिके’ भण्डारी उर्फ ‘भिमकान्त भण्डारी’ !

गुल्मीको मालिका गाउँपालिका ५ स्थायी घर भएका बिके भण्डारीको खास नाम भिमकान्त भण्डारी हो । उनी नेपालमा कोरोना भाइरसको परीक्षण गर्न खोलिएको कुपोण्डलमा अवस्थित चर्चित ‘बिध ल्याव’का सञ्चालक हुन् । माओवादी नेता वर्षमान पुनको निकै निकट मानिने उनी कुनै बेला माओवादी अध्यक्ष प्रचण्डसँग पनि नजिक थिए । तर, भण्डारीको बदमासीका कारण यस पटक दाहाल प्रधानमन्त्री भएपछि उनलाई बालुवाटार निषेध छ । यद्यपी उनी बुवा भन्दै प्रधानमन्त्रीसँग निकट रहेको दाबी गर्दै सरुवा, बढुवा, ठेक्का जस्ता कार्यको प्रचार गर्छन् ।

खोज पत्रकारिता केन्द्रका लागि पत्रकार रामु सापकोटाले गरेको खोजमा उनी २०७३ असोज १९ मा ग्रामिण विकास प्रशिक्षण केन्द्र झापामा नासु सरहको सरकारी नियुक्ती पाएका सरकारी कर्मचारी हुन् ।

तर, माओवादी नेता हितराज पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा भण्डारी निजी सचिवालयमा बसे । त्यसपछि अर्थ मन्त्रालयमा समेत मन्त्रीको सचिवालयमा बसेका उनी २०७४ चैत ८ देखि २०७७ असार ३० सम्म तत्कालिन उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको सचिवालयमा बसेर काम गरे । वर्षमानको सचिवालयमा बसेकै बेला २०७६ मा उनले ‘बिध ल्याव’ नामक कम्पनी खोलेका भण्डारीले वर्षमानको सचिवालयमा रहेकै बेला स्वैच्छिक अवकाश लिएको ‘हिमाल खबर’मा प्रकाशित खोज पत्रकारिता केन्द्रको रिपोर्टमा उल्लेख छ ।

राजनीतिक लाभका कारण उनले ‘बिध’बाट अवैध कोरोना जाँच सामग्री आयात र कोरोना जाँचका कारण एकलौटी करोडौँ नाफा कमाएका थिए । भण्डारीले त्यसपछि जनक शिक्षाको किताब छपाई र चीनबाट रासायनिक मल आयातको ठेक्का समेत हत्याएका थिए । तर, किताब समयमै छाप्न र मल ल्याउन नसकेका भण्डारीले माओवादीको आर्शिवादमा एक पछि अर्को लाभको ठेक्कामा कारबाहीबाट बच्न सफल भए ।

जनक शिक्षाको किताबको ठेक्का र कृषि सामग्री कम्पनीसँगको दुवै ठेक्कामा भण्डारीले अदालतको सहारा लिएर सरकारी रकमको दोहन गरेका थिए । पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा २०७९ असार ३ गते अख्तियारले तत्कालिन नासु भण्डारीले अकुत आर्जन गरेको भन्दै ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना साथै स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करीमा भिमकान्तको भूमीका

माओवादी उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन र उनकी श्रीमती तथा माओवादी नेता एवम् पूर्वसभामुख ओनसरी घर्ती र सुन तस्करीका ‘नेपाल नाइके’ दावा छिरिङबीचको घनिष्ट सम्बन्ध लुकेको छैन । माओवादी कार्यकर्ता एवम् वर्षमान पुनको गाउँले चेली (पुनकै शब्दमा) अमला रोकासँग विवाह गरेका दावालाई गाउँले ज्वाईँको रुपमा चिनेको वर्षमान पुनले फेसबुकबाटै स्पष्टीकरण दिएका थिए ।


तर, उनै पुनको सचिवालयमा २ वर्ष बढी काम गरेका, त्यहीँ काम गर्दा गर्दै बिध ल्याव खोलेका, त्यस लगत्तै स्रोत नखुलेकाे अरबौँ सम्पत्तिका मालिक बनेका भण्डारी र दावाको कारोबार विवरणले सुन तस्कारीको अनुसन्धानमा नयाँ मोड पहिल्याएको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार भन्सार मेसिनमा एक्सरे नहुने स्वास्थ्य सामाग्रीमा समेत सुन तस्करी भएको संकेतहरु कुराकानीमा भेटिएको छ ।

‘माओवादी नेता पुनले दावासँगको सम्बन्धबारे दिएको स्पष्टीकरणलाई खण्डन गर्ने गरी कारोबार विवरण देखिएकाले अनुसन्धान पेचिलो बनेको छ,’ अनुसन्धान अधिकारीहरु भन्छन्, ‘संवेदनशिल स्वास्थ्य सामाग्रीमा समेत सुन तस्करी भएको हुनसक्ने देखिएको छ ।’

दावाले पनि आफ्नो प्रारम्भिक बयानमा भण्डारी संलग्न बिध ल्याव र एमाले उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलसँग व्यवसायिक सम्बन्ध रहेको बताएका थिए । भण्डारीसँग प्रत्यक्ष जोडिएका दावा स्वराजसँग भने रामेछापका किशोर बस्नेतसँग जोडिएको बयानमा उल्लेख छ ।

के भन्छन भण्डारी ?  


भिमकान्त भण्डारीले सुरुमा दावालाई आफूले नचिन्ने दावी गर्दै किन चिन्ने भन्दै प्रतिप्रश्न गरे । तर पछि भने तीन वर्षअघि चिनेको बताए । ‘तीन वर्षअघि दावाले ल्यावका लागि स्वास्थ्य सामग्री खरिदको प्रस्ताव ल्याएर आएको थियो, त्यो बेला सामान लिइएन् त्यस्तै भयो, भण्डारीले भने ।’ भण्डारीले दावासँग कुनै पनि माध्यमबाट सम्पर्क नभएको दाबी गर्दै, आफ्नो वीच्याट कसैले दुरुपयोग गरेर संवाद गरेको भए आफूलाई थाहा नभएको तर्क गरे । 

संवादको अंश यस्तो छ । 

प्रश्नः सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई चिन्नु हुन्छ ?

भण्डारीः चिन्दिन, किन चिन्ने ?

प्रश्नः चिन्नु हुन्न ? 

भण्डारीः हो । 

प्रश्नः अनुसन्धान गर्नेहरुका अनुसार त सुन प्रकरणमा तपाईं र दावा छिरिङको कनेक्सन देखियो नि ? 

भण्डारीः कसरी देखियो कनेक्सन ल....... भन्नु त ?

प्रश्नः तपाईं र दावाको वीच्याटमा म्यासेज आदान प्रदान भएको स्क्रिनसट भेटियो, त्यो के हो ?

भण्डारीः  कसरी वीच्याटमा कनेक्नसन हुन्छ, वीच्याटमा कनेक्सन हुन त उसँग पहिला सम्पर्क हुनु पर्ला, ऊ सँग चिनजान हुनु पर्ला ।

प्रश्नः तपाईं र दावाको सम्पर्कै छैन, चिनजानै छैन ?

भण्डारीः छैन छैन, वीच्याट–स्वीच्याटमा च्याटिङ–स्याटिङ फोन–सोन  केहि छैन 

प्रश्नः तपाईं र दावाको चिनजान नभएको हो कि सम्पर्क मात्रै नभएको ?

भण्डारीः चिनजान त छ , तीन साढे तीन वर्षअघि ल्यावको सामान किन्न प¥यो भन्दै आएको थियो त्यही बेला भएको थियो । अस्ति सुन प्रकरणमा पक्राउ परेको फोटो देखेपछि यो मान्छे भन्ने याद भयो ।

प्रश्नः तपाईंलाई दावाले अरु कुनै माध्यमबाट उसको पैसाको कारोबार गरिदिनुप¥यो, सिंगापुरको बैंकमा हालिदिन्छु नेपालमा भुक्तानी देउ भनेको छैन ?

भण्डारीः छैन–छैन, तीन वर्षअघि ल्यावको सामान बेच्न आएको थियो, त्यो बेला वास्तै गरिएन । 

प्रश्नः तीन वर्षदेखि कुरा नै भएको छैन ?

भण्डारीः छैन–छैन, कसैले मेरो नाम लिएर दुरुपयोग गरेको भए मलाई थाहा छैन । नेपालमा व्यापार गर्ने मलाई बाहिरको कारोबारबारे थाहा छैन, विदेशमा कारोबार गर्ने भए सम्बन्ध हुन्थ्यो, मेरो सम्बन्ध नै नभएकोमा कुरा नै छैन ।

प्रश्नः तपाईंलाई राजश्व अनुसन्धान विभाग वा प्रहरीको केन्द्रीय अनुसन्धान विभागबाट केही सोधपुछ भएको छ ?

भण्डारीः छैन, मलाई यो कुरा सोध्ने तपाईँनै पहिलो हो । 

सुन तस्करीका नेपाल नाइके भनिएका दावाको कनेक्सन भिमकान्त भण्डारीसँग मात्र होइन ‘प्रहरी प्रमुख’सँग पनि थियो । सुन तस्करी नाइके किन र कसरी प्रहरी प्रमुखको सम्पर्कमा रहे ? 

सिधाकुरा इन्भेष्टिगेसनः द सेक्रेट्स अफ गोल्ड माफियाको तेस्रो श्रृङ्खलाको प्रतिक्षा गर्नुहोला । - सम्पादक



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...