काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सकिएको छ । उक्त मुद्दाको आजै आदेश आउने सम्भावना छ । सो क्रममा उनले प्रहरीले आफूमाथि अनुसन्धान गर्न केही बाँकी नरहेको बताएका छन् । उनले इजलासमा न्यायधीशसामु प्रहरीले आफ्नो छाति चिरेर मुटु हेर्न मात्र रहेको बताएका हुन् । उनले ५० औँ दिनसम्म प्रहरीलाई सहयाेग गरेर बन्दी प्रत्यक्षीकरणका लागि आएकाे बताएका छन् । यस्तो छ मिश्रले इजलासमा न्यायाधीश समक्ष राखेको भनाईको सम्पादित अंश:
किन म आज ५० औँ दिनमा बन्दी प्रत्यक्षीकरणका लागि आएँ ?
मैले सुरु देखिनै प्रहरीलाई सहयोग गर्छु भनेर तेस्रो पटक म्याद थप हुँदाको दिन पनि मलाई जत्ति दिन अनुसन्धान गर्नुपर्छ गर्नुस् भन्दा श्रीमानले मलाई एक चोटि १५ दिनको म्याद थप गरिदिनु भयो । त्यो म्यादको अवधिमै चैत ३१ गते र वैशाख २ गते मेरो बयान सकियो ।
त्यसपछि फेरी चौथो पटक म्याद थप भयो अनि ४२ औँ दिनमा आएर मलाई आपराधीक उपद्रोको पुर्जी थमाइयो, जबरजस्ती । फेरी त्यसमा बयान लिने भन्दै ५ दिनको म्याद थप गरियो तर बयान लिइएन । मैले बल गरेपछि बिहिबार साँझ मात्रै बयान लिइयो । मेरो आठौँ पटक सम्मको म्याद थपसम्म आउँदा मलाई के महसुस भयो भने यो देशमा राजनीतिक हुकुमबाट यो सबै भइरहेको छ भन्ने अनुभुती भयो । राज्यको अधिकार हुने भने म नागरिकको अधिकार नहुने महसुस भएपछि म अन्तिम घडीमा भए पनि बन्दी प्रत्यक्षीकरणका लागि आए । उहाँहरुले अब त १० दिन त हो नि भन्दा भन्दै मैले १० दिन हैन अन्यायपूर्ण तरिकाले म एक घण्टा पनि हिरासतमा बस्दिन भन्दै म सर्वोच्च आएको हुँ श्रीमान् ।
यहाँ आइसकेपछि पनि मलाई उहाँहरूले बयान बाँकी छ भन्नुभयो, मेरो बयान सकियो । मेरो फोन सिज गरिएको छ, मेरो बैंक खाता रोक्का छ, फेसबुकमा लेखेर उहाँहरूले विस्तृत सूचना माग्नुभएको छ । अब म जान्छु कहाँ श्रीमान? अब उहाँहरूले मलाई हिरासतमा राखेर के मेरो छाती चिरेर मुटु हेर्नु हुन्छ ? हैन भने उहाँहरूले मेरो हेर्न बाँकी के छ श्रीमान् ? म आजसम्म यो नाक ठाडो पारेर यो देशको कानुन र नियम पालन गरिरहेको नागरिक हुँ म । म आज पनि मान्छु ।
मैले चौँथो बहसमा पनि भनेको थिएँ श्रीमान्, यो देशमा जनता र ईश्वरको नाममा कसम खानेहरूले धेरै फट्याईँ गरे । धेरै हानी पुर्याए । यो मेरो मनोगत टिप्पणी होइन प्रमाणित कुरा हो । आज म मेरी ८२ वर्षकी डिमेन्सिया भएकी, डाइपर अरूले लगाइदिनु पर्ने, खाना अरूले खुवाइदिनु पर्ने, सुताइदिनु पर्ने, उठाइदिनु पर्ने गम्भिर बिरामी मेरी आमाको कसम खाएर भन्छु, मैले यो देशमा राज्य विरुद्धको कसुरजन्य, सङ्गठित अपराधजन्य, र अहिले थपिएको आपराधिक उपद्रोजन्य कुनै पनि काम गरेको छैन । त्यो छ भने तपाईँहरू प्रमाणित गरेर देखाउनुस् ।
हुनसक्छ, मैले यो देश चाहिँ यस्तो यस्तो गरेन भने विफल राष्ट्र (फेल्ड स्टेट) हुन सक्छ, यो देश ग्रे लिस्टमा पर्न सक्छ भन्नु र त्यो बन्छ बनाइदिन्छु भन्नुमा, There is a huge difference। त्यति फरक पनि उहाँले विचार नगरिदिने ।
मलाई छोड्दा उहाँहरुले अनुसन्धानमा ब्रेक लाग्छ भन्नुभयो। म यहाँबाट छुटेर अनुसन्धानमा कसरी ब्रेक लाग्छ श्रीमान ? अघि बोल्दाबोल्दै त्यति सिनियर अथोरिटीहरूले यति धेरै पटक निवेदक रवीन्द्र मिश्र भन्नुभयो । म त्यो दिनको निवेदक हो ? म सदस्य सचिव हुँ। सदस्य सचिव भनेको मूलत प्रशासनिक काम गर्ने व्यक्ति हो। नेतृत्वकर्ता भनेर कसरी भन्नुभयो उहाँहरुले ? हरेक कुरामा ठाँटेर बयान लिएर अनुसन्धान गर्ने निकायले दिनुभएको केसमा चाहिँ ढाँट्यो, हामीले ढाँटेको छैन भन्न मिल्छ श्रीमान ?
म पीडित पक्ष भएको हुनाले मलाई अलिकति चित्त दुखेका कारण मैले अलिकति यसरी बोलेँ होला । त्यो दिन पनि जब मेरो नाकै अगाडि अश्रु ग्यास खस्यो, म आवेगमा आएँ । मेरो जिन्दगीमा मैले त्यति आवेगमा आएर कहिल्यै बोलेको छैन। तर त्यति आवेगमा आएर बोल्दाखेरि पनि मैले हिंसाजन्य एक शब्द काहीँ बोलेको छैन। काहीँ बोलेको छ भने लिएर आएर देखाउनुस्। काहीँ बोलेको छु ? सबै म आफैंले पेश गरेको छु, मेरो सामाजिक सञ्जालमा ।
अनि मलाई राजनीतिक प्रतिशोध साध्नका लागि छोडिँदैन । नवराजजीलाई छोडिसक्यो, हाउस एरेस्टबाट । धवलजी बिरामी हुनुहुन्थ्यो छुट्नुभयो, अर्का एकजनालाई म्याद थप भएको छ र पनि छोडिसकिएको छ। अनि मलाई चाहिँ राखेको राख्यै, राखेको राख्यै गर्नुपर्ने ? जबकि बयान लगायत सबै कुरा भइसक्यो।
त्यसकारणले श्रीमान मैले काहीँ नपाएर केही नभएर, राज्यको जति नै अधिकार म एउटा नागरिकको पनि छ। त्यही अधिकारका लागि म यो सर्वोच्चको ढोका ढकढकाउन आएँ। बन्दी प्रत्यक्षीकरणलाई चाहिँ मान्छेले अलि सहज रूपमा प्रयोग गरिदिए । बन्दी हुने बित्तिकै आए भने त्यो हलुका हुन्छ भनेर मैले त सघाउनुसम्म सघाएर केही नलागेपछि यो ढोका ढकढकाउन आइपुगेको हुँ । मलाई न्याय दिनुस् श्रीमान ।