नेभिगेशन
मुख्य समाचार

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा । मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेरेका छन् । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याइएको छ । उनले भने, “गाउँमा हात्तीका हुल पस्छन्प । परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं ।” उनी मात्र होइन, जंगल छेउका अधिकांश गाउँमा घरको सुरक्षाका लागि यस्तै तारबार लगाएको पाइन्छ । 

काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ ।  विद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ । हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ । “राति प्रवाह गरेको विद्युतको स्वीच अफ गर्न बिर्सदा गाउँघरमा मानिस नै दुर्घटनामा नपरेका होइनन्,” शन्तिराम भन्छन् । “हात्ती आइहाल्छ, धपाउने अरु उपाय नहुँदा किसानहरु जोखिम मोलेर भए पनि करेन्ट लगाउन बाध्य भएका हुन् ।”

स्थानीयले तारमा करेन्ट नलगाई पोलिथिनका झोला झुण्ड्याउने उपाय पनि लगाएका छन् । तारमा सेता झोला लहरै झुण्ड्याउँदा करेन्ट लगाएको ठानेर हात्ती घर र बारीतिर नपस्ने विश्वास रहेको चिमरिया बताउनुहुन्छ । तर बुद्धिमानी मानिएको हात्तीले स्थानीयबासीको हरेक अवरोध पार गर्न जुक्ति लगाउने गरेको छ । नजिकैको सुकेको रुखको दाउरा वा काँचो हाँगो भाँचेर करेन्ट प्रवाह भएको तारलाई भुइँमा लतार्ने नयाँ जुक्ति हात्तीले लगाउँदै आएको चिमरियाले बताए । एकपटक करेन्टको झड्का लागेको स्थानमा हात्ती दोहोर्याएर नआउने हुँदा सर्वसाधारणले यही विद्युतीय असुरक्षित घेराबेराको सहारा लिदै आएका छन् ।

मेचीनगर नगरपालिका–४ की ६८ वर्षीया नरमाया कोइरालाले तीन हात्तीको हुलले घर भत्काएर भताभुङ्ग बनाएको बताए । घर भत्किएपछि हात्तीबाट असुरक्षित भएको पीडा वडाध्यक्ष अर्जुन कार्कीलाई सुनाउन उनी वडा कार्यालयसम्म पुगेका थिए । भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा डेढ दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २५  हात्ती मारिएका छन् ।

हात्ती धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर सर्वसाधारण, हात्ती र गाईबस्तु मारिने गरेका छन् । तर, विद्युतीय तारमा परेर मरेका व्यक्ति र हात्तीको यकिन तथ्यांक राखेको पाइएको छैन ।
मानव–हात्ती द्वन्द्वको विषयमा जानकार गोविन्द न्यौपानेले सुरक्षाका लागि भन्दै विद्युतीय तार बिछ्याउने कार्य एकदमै जोखिमपूर्ण रहेको बताए । यसबाट मानवीय क्षति समेत भइरहेको उनले बताए । “हात्ती प्रभावित बाहुनडाँगीमा अहिले चाहिँ यस्तो तार विछ्याउने गतिविधि हट्यो,” । उनले भने, “बिगतमा धेरै मानिस र हात्तीले घर वरिपरि बिछ्याइएको विद्युतीय तारमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका छन् ।”

झापाको जंगल छेउछाउका बासिन्दाले तार या डोरीमा प्लास्टिकका पोकापोकी राखेर हात्ती तर्साउने गरेको जनाउँदै यसबाट पनि हात्ती नियन्त्रण प्रभावकारी नभएको उनको धारणा छ ।
“करेन्ट लगाएको ठानेर हात्ती तर्सेला कि भन्ने सर्वसाधारणको भ्रम मात्र हो,” । उनले भने, “दशकौंदेखि मानिससँग संघर्ष गर्दै आएको हात्तीले कहाँ करेन्ट छ र छैन भन्ने सजिलै थाहा पाउँछ । मनको सन्तोष मात्र हो यो ।” जोखिम निम्त्याउने गरी गाउँभरि बिछ्याइएका विद्युतीय तारको बारेमा डिभिजन बन कार्यालय, जनप्रतिनिधि र संरक्षणकर्मीहरु बेखबर छैनन् । तर, हात्तीबाट जोगिने दीर्घकालीन उपाय कसैले दिन नसकेका कारण यसलाई निरुत्साहित गर्न कुनै निकायले सकेका छैनन् । “मानिसहरु आफू बाँच्न र आफ्नो धनसम्पत्ति जोगाउन जोखिम मोल्न बाध्य छन्,” न्यौपाने भन्छन्  । “यस्तो कार्यलाई निरुत्साहित गर्ने काम सरकारी निकायको हो । जनचेतना पनि जगाउन आवश्यक छ । तर, दीर्घकालीन रुपमा समाधान दिन नसक्नेहरु गाउँमा गएर घेराबारा नगर भन्नै सक्दैनन् ।” 

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले सीमा क्षेत्र र जंगल बाहिर हात्ती छेक्न सरकारले नै विद्युतीय घेराबारा गरेको जनाउँदै निजी घरमा तार बिछ्याएर घेराबारा गर्ने कार्य बारे कुनै जानकारी नभएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...