नेभिगेशन
समाज

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बिमा

काठमाडौँ । यस वर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइएको हो । 

Ncell
Extreme Energy

राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना संलग्न रहने गर्छन् । “तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने करिब १०० जनालाई एकदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्न लागेका हौँ”, संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुँवरले जानकारी दिए । 

यसवर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेर सुरु भई २६ गते बेलुका १०ः३० बजे समापन हुँदैछ । यसका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायबीच समन्वय गुठी संस्थानले गरिरहेको छ । जात्रा सम्पन्न गर्न हनुमानढोका दरबार कार्यालय, काठमाडौँ महानगर, नेपाली सेनादेखि नेपाल विद्युत् प्राधिकरणसम्मका निकाय संलग्न छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही भदौ ९ गते सूर्यविनायक नगरपालिकाको चित्तपोल वनबाट लिङ्गालाको रुख काटेर सुरु भएको यसवर्षको जात्रामा १५ गते उक्त लिङ्गोलाई हनुमानढोका पुर्‍याउने काम भएको छ । अब १९ गते ध्वजापताकासहितको उक्त लिङ्गो उठाएपछि राजधानीमा इन्द्रजात्रा सुरु हुन्छन् । 

त्यसैगरी २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा भएपछि २६ गते राति १०ः३० बजे इन्द्रध्वज पतन गरी जात्राको औपचारिक समापन गरिन्छ । 

जात्रा अवधिभर आकाश भैरवको मूर्तिलाई खटमा राखी पूजा गर्ने, महाकाली, एरावत नाचहरु, त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरवको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्नेजस्ता क्रियाकलाप हुन्छन् । 

यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र नेवार समुदायमा पाहुनापासालाई निम्ता गरी ‘समय बजि’ (चिउरा, राँगाको छोइलासहितको र कालो भटमाससहितको परिकार) खुवाउने काम हुन्छ । 

हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्लराजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।