नेभिगेशन
समाज

जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्

काठमाडौँ । पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौँ ग्राण्डी चोक बस्दै आएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो ।
 
राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर सहिद भए । राजनीतिमा चासो नराख्ने भए पनि उनलाई त्यस दिन भएको आन्दोलनप्रति भने चासो लिएका थिए । त्यसैले महाराजगञ्ज पुगेर आन्दोलनको भीडमा उनी मिसिए । भिडमा मिसिएका केही समयमै पन्तको छाती र पेटमा गोली लाग्यो । त्यसको क्षणभरमै उनको निधन भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्छिन्, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर आउनुभएन, २४ घण्टासम्म अत्तोपत्तो भएन, उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन ।” 

Ncell
Extreme Energy

त्यो घटना...

मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, राजनीतिमा पुस्तान्तरण, सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवाको माग गर्दै भदौ २३ गते काठमाडौँ नयाँ बानेश्वरमा उत्रिएका युवापुस्तामाथि गरिएको दमनको विरोधमा त्यो दिन देशभर नै आन्दोलन उत्कर्षमा थियो । 
 
धापासीका कीर्तिवल्भब पन्तका ५० वर्षीय जेठा छोरा निरजको हात्तीगौडामा पतन्जलीका उत्पादन बिक्री गर्ने पसल थियो । त्यो दिन निरज खाना खाएर पसल निस्के ।  

त्यति नै बेला महाराजगञ्ज चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेकै थियो । आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्नुका साथै केही प्रहरीलाई सडकमा ल्याएर कुटिरहेका थिए । त्यो घटनाले चोक रणमैदान जस्तै थियो ।
 
सहयोगी भावनाका निरजले लामो समयसम्म त्यस क्षेत्रमा पसल चलाएकाले धेरैजसो स्थानीयले चिन्थे । आन्दोलनलाई नजिकबाट नियाल्ने क्रममा पन्तले आफू चढेको मोटरसाइकल महाराजगञ्जस्थित ‘टिपटप’मा राखे । अनि उनी महाराजगञ्ज चोक पुगे । एक्कासी गोली चल्यो । उनलाई छाती र पेटमा दुई वटा गोली लाग्यो अनि त्यही ढले ।
 
गोली लागेपछि पन्तलाई मेट्रो अस्पताल पु¥याइएकामा त्यहाँबाट पनि सिधै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरियो । 
 
बाहिर आन्दोलन रहेको तथा घरबाट हिँडेका निरजले पसल पुगेको खबर नगरेपछि परिवारजनमा छटपटी भयो । उनको मोबाइलमा निरन्तर फोन  सम्पर्कका लागि कोसिस भए पनि सम्भव भएन । आफन्तहरुसँग सोधपुछ भए पनि कहीँकतै फेला परेन । घटना भएको भोलिपल्ट महाराजगञ्ज क्षेत्रमा सोधपुछ हुँदा चार जनालाई गोली लागेको परिवारले खबर पाए ।
 
त्यही आधारमा मेट्रो अस्पताल हुँदै टिचिङ अस्पतालमा पुगेर जानकारी लिइयो । टिचिङमा कार्यरत पन्त परिवारका आफन्तले शव घरमा गएर हेरेपछि निरजको महाराजगञ्ज घटनामा गोली लागेर निधन भएको यकिन भयो ।

शव गृहमा सेतो कपडाले बेरिएको शव देख्दा परिवारजन भक्कानिए अनि सन्नाटा छायो । परिवारजनले उनको मृत्यु भएको २४ घण्टापछि थाहा पाएका थिए ।
 
निरज महाराजगञ्ज घटनामा पर्दा उनका बुबा र आमा सीता महेन्द्रनगरमै थिए । निरजले त्यसदिन बिहान बुबाआमालाई अघिल्लो दिन बानेश्वरमा भएको प्रदर्शन र मानवीय क्षतिको घटनाबारे सुनाएका थिए ।
 
त्यसलगत्तै उनीहरुले आन्दोलनमा नजान निरजलाई सुझाएका थिए । निरजका बुबा कीर्तिबल्लव भदौ २६ गते महेन्द्रनगरबाट काठमाडौँ आए । छोराको शव बुझेर सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरे  ।
 
बुबा कीर्तिबल्लवले सुने अनुसार छोरा निरजले महाराजगञ्ज चौकीमा  प्रहरीमाथि कुटपिट गरेको देखेपछि त्यसलाई रोक्न अघि बढेका थिए रे । त्यसघटनामा परेपछि घरबाट पसल हिँडेका निरज न पसल पुगे, न त घर नै फर्किए ।
 
निरजका पत्नी कमला भन्छिन्, “घरमा हामीबीच कुनै राजनीतिक कुराकानी हुँदैन थियो, साथीभाइसँग गर्नुहुन्थ्यो कि थाहा भएन । आन्दोलनका कुरा घरमा गर्नुभएन । कसरी त्यहाँ आन्दोलनमा जानुभयो र पर्नुभयो त्यो हामीलाई थाहा भएन ।”
 
निरजकी छोरी कानुन सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् भने छोरो सूचना प्रविधिसम्बन्धी विषयमा अमेरिकाको टेक्सासमा अध्ययनरत छन् ।
 
साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक निरज योग गुरु र आयुर्वेदको जानकार थिए । सोही सन्दर्भमा निरजले पतञ्जलीको डिलर लिएर पसल चलाएका थिए । सुरुमा महाराजगञ्जमा चलाएको पसल भाडा महँगो भएपछि हात्तीगौडामा सारेका थिए ।
 
निरजका साथी रमेश पौडेलको पनि हात्तीगौडामा फेन्सी पसल सञ्चालनमा छ । रमेश भन्छन्, “हामी छ वर्षदेखि सँगै छौँ । उहाँको पतञ्जलीका उत्पादन बिक्री गर्नुहुन्थ्यो । उहाँको पसल नजिकै मेरो पनि पसल छ ।” उनका अनुसार निरज सबैलाई सहयोग गर्ने स्वभावको थिए ।
 
रमेशका अनुसार निरजले परम्परागत राजनीतिमा खासै चासो राख्दैनथे। “बुबा र आमाको कुरालाई बेवास्ता गरी निस्कनुभएछ, उहाँ त्यहाँ पुग्नु र गोली लाग्नु एकै समयजस्तै भयो । नसोचेको कुरा भयो । घटनाले आन्दोलनमा लागेजस्तै भयो”, उनले भने ।
    
जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गरेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...