नेभिगेशन
समाज

रवि–मोदी ‘डिप्लोम्याटिक डिपार्चर’

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा रहँदा धेरैको चासो थियो– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन्छ वा हुँदैन । भेट निश्चित थियो, पूर्वनिर्धारित थियो। भ्रमणको तेस्रो दिन आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछानेलाई हैदरावाद हाउसमा स्वागत गरे । 

जब रवि र मोदीबीच भेटवार्ता भयो भन्ने समाचार सार्वजनिक भयो– आम चासो देखियो– उनीहरुका बीचमा के कुरा भयो ? 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका हुन्–नेपालको सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने । 

Ncell
Extreme Energy

नेपाली प्रतिनिधिमण्डललाई मोदीले आफ्नो कार्यालयमा स्वागत गरे । दुवै देशका प्रतिनिधिमण्डललाई सँगै राखेर रवि र मोदीबीच भेटवार्ता भयो । भेटवार्तामा भारतीय पक्षबाट सहभागी प्रतिनिधिहरुलाई हेर्दा पनि थाहा हुन्छ कि, भारतले रविको भ्रमणलाई कति महत्व दिएको थियो भनेर । मोदीसँगै भेटवार्तामा सहभागी थिए– भारतीय विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल अनि भारतीय विदेश सचिव बिक्रम मिश्री । 

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । सँगै उनले साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने रविको इच्छालाई पनि उनले स्वागत र समर्थन गरेका छन् । 

नेपाली भाषामै ट्विट गर्दै मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । 

उनले लेखेका छन् – नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । 

हाम्रो ‘नेबरहुड फस्र्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ ।

नेपालमा नयाँ चुनावपछि अहिले रास्वपाको एकल बहुमतको सरकार छ । भारतमा भाजपाको सरकार छ । भाजपाकै निमन्त्रणामा रवि नयाँ दिल्ली गएका हुन् । यस कारण पनि रविको यो भ्रमण महत्वपूर्ण छ । रविको यो भ्रमण यसकारण पनि महत्वपूर्ण छ कि, चुनावपछि रविको यो पहिलो विदेश भ्रमण हो । रविले नयाँ दिल्लीमा जो जसँग भेटवार्ता गरे, त्यसले पनि यो भ्रमणको महत्व प्रष्ट पार्छ । 

भारतका प्रधानमन्त्री मोदीसँगको भेटपछि रास्वपा सभापति रवि लामिछानेले पनि मोदीसँग उपलब्धीमूलक छलफल भएको बताएका छन् । मोदीको ट्विलाई कोट गर्दै उनले अब दुई देशका बीचमा विकास कूटनीति अर्थात ‘डेभलप्मेन्ट डिप्लोमेसी’ सुरु हुने उल्लेख गरेका छन् । 

यी दुवै नेताहरुको भनाइबाट स्पष्ट हुन्छ कि– हैदरावादमा अत्यन्त सौहार्दपूर्ण र उपलब्धिमूलक छलफल भएको छ । 

यति मात्रै होइन, करिव एक घण्टा लामो भेटवार्ताले नेपाल र भारतका बीचमा नयाँ सम्बन्ध, नयाँ सहकार्य र नयाँ यात्राका लागि मार्ग प्रशस्त गरेको छ । 

‘डेभलप्मेन्ट डिप्लोमेसी’ के हो ? यसको परिभाषा रविले भारत पुगेको दोस्रो दिन नै हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत दिइसकेका छन् । विकासको बाटोमा बामे सरिरहेको नेपाल र विश्व अर्थतन्त्रकै उदियमान भारतका बीचमा अब विकास कूटनीति सुरु हुनुपर्ने रविको तर्क छ । 

रविले भनिसकेका छन्– भारतसँग नेपाल तिनतिरबाट जोडिएको छ । तर, भारतले जुन गतिमा आर्थिक विकास गरिरहेको छ, त्यसमा भने नेपाल अझै जोडिन सकेको छैन । त्यसैले नेपाल केवल सिमाना मात्र जोड्न चाहँदैन, सिङ्गो अर्थतन्त्रसँग जोडिन चाहन्छ– रविको भनाइ छ । त्यसका लागि नेपालबाट भारतीय सहरमा सिधा उडान, डिजिटल करिडोर स्थापना, सिमानामा रासायनिक मल कारखाना स्थापना जस्ता महत्वपूर्ण विषय रविले उजागर गरेका छन् । ऊर्जा, सूचना प्रविधि, डिजिटल भुक्तानी, फिनटेक र क्रस बोर्डर  प्लेटफर्महरूमा सहकार्य गर्न नेपालले चाहेको पनि रविले स्पष्ट पारेका छन् । हिमालयका चुचुराहरूदेखि जनकपुर, लुम्बिनी र बोधगयाका पवित्र सर्किटहरूसम्म निर्भर दुवै देशको पर्यटनलाई पर्यटन सर्किटमार्फत जोड्न सकियो भने त्यसबाट दुवै देशले लाभ लिन सक्ने रविको बुझाइ छ । 

भेटमा सहभागी नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुका अनुसार, यी सबै विषयमा खुलेर वार्ता भएको छ । अविश्वासको अन्त्य गर्दै सम्बन्ध सुधार गर्न दुवै देशका नेता तयार देखिएका छन् । रविको प्रस्तावलाई मोदीले स्वागत र समर्थन गरेका छन् । 

रवि र मोदीबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । 

हो, रविको यो भ्रमणमा कुनै सहमति वा सम्झौता हुने तालिका नै थिएन । त्यसैले लिखित रुपमा कुनै सहमति हुने कुरै भएन । मोदीसँगको वार्तामा पनि कुनै लिखित सहमति भएन । तर, यो वार्ताले अविश्वास हटाउन र आत्मीयता बढाउन यति ठूलो सहयोग गरेको छ कि, त्यसको नतिजा छिट्टै देखिने छ र कालान्तरसम्म रहिरहने छ ।  

रवि नेपालको रुलिङ पार्टीका सभापति हुन् । त्यसैले पनि भारतले रविलाई उच्च महत्व दिएको हो । रविले हिजो नै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, भारतीय गृहमन्त्री अमित शाह र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे । सबै भेटमा रविको एजेण्डा थियो– दुई देशका बीचमा रहेको अविश्वास हट्नुपर्छ, आर्थिक विकासमा सहकार्य हुनुपर्छ । भेटपछि उनीहरुबाट जुन धारणा सार्वजनिक भयो– त्यसले पनि दर्शाउँछ कि, भारतीय नेतृत्व नेपालको पछिल्लो परिवर्तनप्रति खुसी छ, नेपाल सरकारसँग मिलेर काम गर्न तयार छ, सहकार्य गर्न तयार छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका छन्– विकास साझेदारी र जनस्तरमै बलियो सम्बन्ध कायम गर्नेमा छलफल केन्द्रित भयो । 

भाजपा अध्यक्ष नितिन नवीनले नेपाली भाषामै एक्समा लेखेका छन्– भाजपा र रास्वपा बीच पार्टी–टु–पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो । भारतको गृहमन्त्रालयले पनि रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री अमित शाहका बीचमा आपसी सहकार्य र सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण छलफल भएको बताएको छ । 

नयाँ दिल्ली भ्रमणका क्रममा भाजपाले रास्वपा सभापति रवि लामिछानेलाई जुन स्वागत, सम्मान र महत्व दिएको छ, उत्तिकै महत्वपूर्ण वार्ता र छलफल भएका छन् । पार्टी–पार्टीका बीचमा मात्रै नभई सरकार–सरकारका बीचमा हुने सहकार्य र साझेदारीका विषयमा पनि संवाद भएका छन् । 

एउटा कुरा के स्वीकार गर्नुपर्छ पछिल्लो समय नेपाल र भारतका बीचमा अविश्वास बढेको छ । अविश्वास बढाउने मुख्य कारण सीमामा भएको भारतीय हस्तक्षेप र अतिक्रमण हो । मुख्यगरी लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तामा नेपाल र भारतका बीचमा विवाद छ । सीमा क्षेत्रकै विवादका कारण कहिलेकाहीँ खटपट देखिने गरेको छ, त्यसैले अविश्वास बढाएको छ । 

सीमा सम्बन्धी समस्या सुल्झाउनै नसकिने समस्या होइन । वार्ता र संवादबाट यो समस्या सुल्झाउन सकिन्छ । केही स्थापित मापदण्ड छन्, ऐतिहासिक दस्तावेज छन्, विगतका सन्धी र सम्झौताहरु छन् । त्यसैका कारण समस्या समाधान गर्न सकिन्छ र समाधानको बाटो भनेको कूटनीतिक संवाद नै हो । यसपालिको दिल्ली भ्रमणमा रास्वपा सभापति रवि लामिछानेले यसैमा  जोड दिएका छन्, भारतीय नेतृत्वले पनि समर्थन जनाएको छ । 

भारतले हिजो मात्रै भनेको छ– नेपाल–भारत सीमामा धेरै समस्या छैन । ९८ प्रतिशत विवाद सुल्झिसकेको छ, अब २ प्रतिशत मात्रै बाँकी छ । त्यसलाई पनि संवादबाट सुल्झाउन सकिन्छ । 

नेपाल जतिसक्दो छिटो समस्या समाधान गर्न चाहन्छ । विवाद समाधानमा भारतको पनि चाहना देखिन्छ । चाहना मिलेको छ । अब खाँचो संवादको हो । नियत सफा राख्ने हो भने विवाद समाधानमा समय लाग्ने छैन । 

जेनजी आन्दोलनले नेपाली राजनीतिको ‘प्याराडाइम सिफ्ट’ गरिदियो । फागुन २१ को चुनावी नतिजा त्यसैको प्रमाण हो । स्थापनाको चार वर्ष पनि नपुग्दै रास्वपाले सत्ता सन्चालनको अवसर पाएको छ । रास्वपा सरकारले विकास र सुशासनलाई प्राथमिकतामा राखेको छ । परम्पराका नाममा चल्दै आएका केही अभ्यासलाई रास्वपा सरकारले क्रम भंग गरिदिएको छ । आन्तरिक राजनीतिमा जसरी क्रमभंगको शृंखला सुरु भएको छ, कूटनीतिमा पनि त्यसको संकेत देखिएको छ । र, त्यसको सुरुवात गरिदिएका गरिदिएका छन्– रास्वपा सभापति रवि लामिछानेले । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकाले प्रमाण देखाउनु पर्ने

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकाले प्रमाण देखाउनु पर्ने

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको...
बजेटको मुखमा २ सय विद्युतीय गाडीको भन्सार पासमा चलखेल, रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ६ जनामाथि कारबाही सुरु

बजेटको मुखमा २ सय विद्युतीय गाडीको भन्सार पासमा चलखेल, रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ६ जनामाथि कारबाही सुरु

बजेट घोषणा लगत्तै विद्युतीय "गाडीमा लाग्दै आएको करका दरमा हेरफेर हुन सक्ने भएकाले आयातकर्ताको प्रलोभनमा परी कर्मचारीले गैह्र कानुनी काम गरेको आशङ्कामा उनीहरूमाथि छानबिन सुरु भएको छ," भन्सार...
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।
साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन

साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई बुधबार प्रहरी  प्रधान कार्यालयमा निर्देशन दिँदै उनले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी...