नेभिगेशन
समाज

कसले फुटाउँदैछ कांग्रेस ?

काठमाडौँ । कांग्रेसका संस्थापक नेता, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर– गणेशमान सिंह । जसको नेतृत्वमा जनआन्दोलन भयो र मुलुकमा प्रजातन्त्र पुनर्बहाली भयो, उनै नेताले केही वर्षमै कांग्रेस छाडे । २०५१ साल भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै गणेशमानले भनेका थिए, ‘गिरिजाप्रसाद कोइरालाबाट भएका जति पनि गलत कार्य छन्, त्यसमा पार्टी सभापति कृष्णप्रसाद भट्टराईले मतियारको भूमिका निर्वाह गर्नुभयो ।’ 

गणेशमानले तत्कालीन प्रधानमन्त्री एवम् पार्टीका महामन्त्री गिरिजाप्रसाद कोइरालासँगको मनमुटावका कारण कांग्रेस छाडेका थिए । र, कृष्णप्रसाद भट्टराईप्रति असन्तुष्टि व्यक्त गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०६४ सालमा कृष्णप्रसाद भट्टराईले पनि कांग्रेस छाडे । भट्टराईले कांग्रेस छाड्दा सभापति थिए– गिरिजाप्रसाद कोइराला । यसको अर्थ– गणेशमान र कृष्णप्रसाद कांग्रेसमा नअटाउनुको एकमात्र कारक थिए– गिरिजाप्रसाद कोइराला । २०४८ सालको चुनावपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसादले, सरकार र पार्टी एकलौटी रुपमा सञ्चालन गर्न खोजे । त्यसको पहिलो झट्कामा परे, गणेशमान । पछि गिरिजाप्रसाद नै सभापति बने । गिरिजाप्रसादकै कार्यकालमा कांग्रेस फुट्यो । २०५९ सालमा शेरबहादुर देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । 

Ncell
Extreme Energy

दोस्रो जनआन्दोलनपछि कांग्रेस र कांग्रेस प्रजातान्त्रिक त मिले । तर, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको मन मिलेन । जब कांग्रेसले तत्कालीन माओवादीसँग बाह्र बुँदे सहमति गर्दै गणतन्त्रमा जाने निधो गर्यो, त्यो भट्टराईलाई मन परेन । पार्टी नै छाडिदिए । एउटै व्यक्ति गिरिजाप्रसाद कोइरालाका कारण दुई संस्थापक नेता गणेशमान र कृष्णप्रसादले पार्टी छाडे । 

अहिले कांग्रेसका सबैभन्दा पाका नेता शेरबहादुर देउवाको जीवनमा त्यस्तै अवस्था आएको छ र त्यसको कारण बनेका छन्– कांग्रेस सभापति गगनकुमार थापा । 

व्यक्तिगत क्षतिका हिसाबले भन्ने हो भने जेनजी आन्दोलनको सबैभन्दा ठूलो असर देउवाको जीवनमा पर्यो । आन्दोलनका क्रममा घर जल्यो, कुटाइ खाए, सत्ताको पहुँचबाट टाढिए । आन्दोलनपछि– पार्टी सभापतिबाट अपदस्थ भए । तेह्रौं र चौधौं महाधिवेशनबाट सभापति चुनिएका देउवाको फोटो त केन्द्रीय कार्यालयमा छ, तर, उनको नाम कांग्रेसको क्रियाशील सदस्यको सूचीमा अद्यावधिक गरिएको छैन । 
देउवा पछिल्लो पटक सभापति चुनिँदा महामन्त्री चुनिएका थिए– गगन थापा र विश्वप्रकाश शर्मा । उनै गगन र विश्वप्रकाशले देउवालाई पार्टी नेतृत्वबाट अपदस्थ गरिदिए । 

देउवासँगै उनी पक्षधर अधिकांश नेता पनि अहिले कांग्रेसको ‘अपडेटेड मेम्बर लिस्ट’मा छैनन् । विशेष महाधिवेशनको पक्षमा नलागेका अर्का नेता शेखर कोइराला र उनी पक्षका केही नेताहरु पनि कांग्रेसको ‘लिस्ट’ भन्दा बाहिरै छन् । 

शेरबहादुर र शेखरसहितका नेताहरु सानेपा गएका छैनन् । फागुन दोस्रो सातादेखि विदेशमा रहेका देउवाको प्रतिनिधित्व निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । अहिले उनै पूर्णबहादुर र शेखर मिलेर कांग्रेसमा बेग्लै भेला र बहस चलाइरहेका छन्, जसले फरक पार्टीको छनक दिएको छ । 
केही दिनअघि विराटनगरमा भएको खड्का–शेखर समूहको भेलामा सहभागी नेताहरुले त पार्टी फुट्नै लागेको दाबी गरे । के कांग्रेस फुट्नै लागेको हो ? अहिले मुलुकको राजनीतिक वृत्तमा यो प्रश्न निकै पेचिलो बनिरहेको छ ।  

आफ्नै वडामा गएर आफ्नो क्रियाशील सदस्यता आफैंले अद्यावधिक गर्नुपर्ने एक पक्षको निर्णय र यसअघि गरेकै नवीकरणलाई स्वीकार्नुपर्ने अर्को पक्षको अडानका कारण कांग्रेस अहिले इतिहासकै एक ‘गम्भीर मोड’मा पुगेको छ । अवस्था यस्तो आएको छ कि, दुवै पक्ष आ आफ्नै निर्णय र अडानमा अडिग रहने हो भने कांग्रेसमा नेताहरुको एउटा तप्का आगामी १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैन । यसो हुँदा कांग्रेस सग्लो रहँदैन । 

कांग्रेस पार्टीमा गुट, फुट र विवाद नौलो छैन । पार्टीको विचार भन्दा व्यक्ति, नीति भन्दा नेता हाबी हुँदा कांग्रेसले यी सबै अवस्था भोगिसकेको छ । 

कांग्रेसले सबै क्रियाशील सदस्यलाई आफ्नो सदस्यता डिजिटल अद्यावधिक गर्न जेठ २८ गते बिहीबार राति १२ बजेसम्मका लागि समयसीमा तोकेको थियो । उक्त समयावधिभित्र ५ लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराए । कांग्रेसले सदस्यता अद्यावधिक गराउनेलाई परिचयपत्र दिने गरेको छ र त्यसलाई ‘एनसी आइडी’ भनेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, अहिलेसम्म ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसी आइडी’ पाएका छन् । थप एक लाख ४९ हजार ३०९ जनाले अद्यावधिकका लागि पेश गरेको फाराम प्रक्रियामा छ । अद्यावधिक भइसकेका र प्रक्रियामा रहेका समेत जोड्दा ६ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ । जबकि, महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार ७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिक गर्न योग्य थिए । हालसम्मको अवस्थामा करिव १ लाख सदस्यले आफ्नो सदस्यता अद्यावधिक गराएका छैनन् । सदस्यता अद्यावधिक नगर्नेहरु आगामी असोजमा हुने महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
अचम्म लाग्ला, दुई दुई पटक पार्टीको नेतृत्व गरिसकेका र बारम्बार पदाधिकारी भइसकेका थुप्रै नेताहरुले सदस्यता अद्यावधिक गरेका छैनन् । 

सदस्यता अद्यावधिक नगर्नेमा निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का, चौधौं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइराला, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला छन् । अघिल्लो कार्यसमितिमा रहेका पदाधिकारीहरु महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, प्रकाशशरण महत, मीन विश्वकर्मासहितका नेताहरुले पनि आफ्नो सदस्यता अपडेट गरेका छैनन् ।

उनीहरु किन यो प्रक्रियामा सहभागी भएनन् ? यसको मुख्य कारण हो, यी नेताहरुले विशेष महाधिवेशनलाई अझै ‘मनैदेखि’स्वीकार गर्न सकेका छैनन् । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिए पनि देउवा–कोइराला समूहले विभिन्न बाहनामा वैधता दिन आनकानी गरिरहेको छ । 

फागुन २१ को चुनावमा गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवार बनेका नेताहरु समेत चुनावपछि गगनलाई सभापति मान्न तयार देखिएनन् । विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशशरण महत लगायत नेताहरु पनि छन्, जो गएको चुनावमा कांग्रेसका उम्मेदवार थिए । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुले भनिरहेका छन्– ‘हामी एकताका लागि तयार छौं तर, नेतृत्वले विभाजन गराउन खोज्यो।’ खड्का–शेखर समूहले एकताका लागि केही शर्त अघि सारेको छ । 

यसअघि गरिएको नवीकरण अनुसार नै सदस्यता अद्यावधिक गरिनुपर्ने, अहिलेको केन्द्रीय समिति र चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई समायोजन गरिनुपर्ने, निर्वाचन समिति र अनुशासन समिति पनि सहमतिमा बनाइनुपर्ने लगायतका सर्त असन्तुष्ट पक्षको छ । तर, वर्तमान नेतृत्वले यसलाई स्वीकार गरेको छैन । 

पछिल्लो पटक, गएको पुसदेखिको असहमति अहिले सदस्यता अद्यावधिकसम्म आइपुगेको हो । यसले संस्थापन र इतर पक्ष(खड्का–शेखर)का बीचमा थप दरार सिर्जना गरेको छ । सँगै, नेतृत्वले एकता र समायोजनमा ध्यान नदिएको टिप्पणी हुन थालेको छ । नेतृत्वको आलोचना बढ्न थालेपछि उपसभापति विश्वप्रकाश शर्माले खड्का–शेखर पक्षलाई सहमतिका लागि बुझाएको ७ बुँदे प्रस्ताव नै सार्वजनिक गरे । उपसभापति शर्माका अनुसार, जेठ १६ गते नै उनले असन्तुष्ट नेताहरुलाई ७ बुँदे प्रस्ताव पठाएका थिए र उनीहरुबाट कुनै जवाफ नआएपछि सार्वजनिक गरिएको हो ।

असन्तुष्ट पक्षले ‘सर्त स्वीकारे एकता नभए पार्टी विभाजन’को चेतावनी दिइरहे पनि गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले भने त्यो चेतावनीलाई गम्भीर रुपमा लिएकै छैन । अवस्था यस्तो देखिएको छ– आफूलाई ‘सिनियर’ भन्ने थुप्रै नेताले गगनको नेतृत्व स्वीकार गर्नै नचाहने अनि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफूलाई नै सर्वेसर्वा ठान्ने । हो, यही दुई चरित्रका कारण कांग्रेस अहिले विभाजनको सम्मुखमा छ । 

अहिले कांग्रेसका नेताहरु विभाजित छन् । कांग्रेसमा नेतापिच्छेका समर्थक र कार्यकर्ता छन् । समर्थक र कार्यकर्ताका कारण केन्द्रको दरार तल्लो तहसम्म पुगेको छ । तल्लो तहसम्मै विवाद पुगेको छ भन्ने कुरा त सदस्यता अद्यावधिक सूचीले नै देखाइसकेको छ । खड्का र शेखरसहितका दर्जनौं नेताहरुले ‘गगन नेतृत्वको कांग्रेसमा रहन सकिएन र नयाँ पार्टी बनाइयो’ भनेमा अहिले सदस्यता अद्यावधिक गरेकाहरुले पार्टी छाड्न सक्छन् । यस्तो अभ्यास २०५९ सालमा पनि भएको थियो । पार्टीको निर्णयविपरीत संसद विघटन गरेपछि त्यतिबेला कांग्रेसले शेरबहादुर देउवालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । 

देउवालाई कारबाही गरेपछि उनी पक्षका नेताहरुले छुट्टै पार्टी बनाएका थिए । अहिलेको अवस्था पनि उस्तै उस्तै छ । देउवा आफैंले सदस्यता अद्यावधिक गरेका छैनन्, उनी पक्षका नेताहरुले वर्तमान नेतृत्वविरुद्ध खुलेआम भेला गरिरहेका छन् । त्यहीँ मिसिएका छन् शेखर कोइराला पनि । यदि यही क्रम बढ्दै गयो भने नेतृत्वले खड्का–शेखर समूहलाई कारबाही गर्न सक्छ, त्यसैको आधारमा नयाँ पार्टी बन्न सक्छ । पहिले गिरिजाप्रसाद कोइरालाका कारण संस्थापक नेताहरु नै कांग्रेसमा टिक्न सकेनन् । गिरिजाप्रसादकै कारण कांग्रेस फुट्यो । अहिले गगन थापाका कारण कांग्रेसका ‘सिनियर’ नेताहरु पार्टीको मूलधारमा छैनन् । वातावरण यस्तै रहिरह्यो भने पार्टी फुट्न सक्छ । के, आफूलाई बदलिएको कांग्रेसको सभापति भन्ने गगन थापाले चाहेको यही हो ? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेकाे ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले

बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले किसानलाई मल, बीउ, सिँचाइ र मूल्य शृङ्खलामा प्रदान गरिएको...
सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी संस्थाको नामावली तयार गरी विस्तृत विवरण संकलन गर्नसमेत निर्देशन दिएको छ। यसबाट निष्क्रिय...
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धनसहितका कार्यलाई प्राथमिकता दिएका छौँः मन्त्री खनाल

आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धनसहितका कार्यलाई प्राथमिकता दिएका छौँः मन्त्री खनाल

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत परराष्ट्र मन्त्रायलयका शीर्षकउपर उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन प्राथमिकतामा राखिएको जानकारी दिएका हुन्।