नेभिगेशन
नेताका कुरा

कप्तानगञ्जबाट सल्किएको आगो निभाउनेहरू

काठमाडौं । देशले समवेत स्वरमा सन्देश दिएको छ– नेपाल सद्भावको विशिष्ट भूमि हो ।

विविध जाति, भाषा र धर्मावलम्बिको साझा अँगेनोमा साम्प्रदायिकताको आगो जाग्दैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देवानगञ्जको धार्मिक यात्राको डिजेध्वनिमा गोली मिसिएर तीन युवा अस्ताएपछि यसले डढेलोको रूप धारण गर्ने हो कि भन्ने शंका थियो । 

Ncell
Extreme Energy

अब यो शंका क्रमशः निवारण हुँदैछ । तराई–मधेसमा फैलिएको अशान्तिको धुवाँ क्रमशः साम्य हुँदैछ । भयमा बाँचेको समाज क्रमशः लयमा फर्कंदैछ ।

अघिल्लो आइतबार रातिबाट सुरू भएको विवाद बिहीबारसम्म आइपुग्दा आगाको लप्काको रूप धारण गरिसकेको थियो ।

थाहा छैन, यो लप्कामा परेर केके स्वाहा भयो ? व्यक्तिगत सम्पत्ति एवम् सामुदायिक निधि, सम्पत्ति के कति खरानी भए ?

यसको विवरण विस्तारै आउला । घटनाको पाटो उघ्रँदै पनि जाला ।

अहिले यति भन्न सकिन्छ–

कप्तानगञ्ज र गोलबजारका तीन घरमा मृत्युको शोकधुन बज्यो । काखका कलिला सन्तान अस्ताए । आमाबाबु एवम् परिवारजनको छातीमा कहिल्यै निको नहुने वियोगको घाउ बस्यो । देवानगञ्ज र सिराहामा गरी २० भन्दा बढी कर्मठ युवा गोलीले आहत छन् । तिनका घरपरिवार पीडाले मर्माहत छन् । घाइते कतिपय जीवन र मृत्युको दसगजामा होलान् ।

कतिपय निको भएर घर फर्कने उपक्रममा रहे पनि उनीलाई यो घाउले धेरैपछिसम्म पछ्याइरहने छ । पिरोलिरहने छ ।

विद्वेशको आगाको चरित्र यस्तै हुन्छ । कलहको आगाको ज्वाला आफैतिर पनि फर्किन्छ । र, यसले वर्तमान, सपना र भविष्यलाई एकैपटक अँगार बनाइदिन्छ । 

घर, परिवार र समाजको पोल्टामा निको नहुने घाउ थमाइदिन्छ ।

सुनसरीदेखि पर्सासम्मै फैलिएको ६ दिने आगोले बेहिसाब संरचना र सम्पत्तिमा क्षति पुर्‍याए पनि हाम्रो सद्भावको भित्री तन्तुमा भने डढेलो पस्न पाएन । यसको सेतुमा आँखा लगाउन सकेन ।

एउटै गाउँमा कतै घण्टध्वनि, कतै शंखनाद, कतै ॐ मणिपद्मे हूँ, कतै नमाजको ध्वनि गुञ्जन्छ । जयमसी, सेवारो, झोर्ले/झोर्लेबा, ल्हासो, फ्याफुल्ला, ज्वजलपाको भिन्नभिन्न सुरतालमा गुञ्जने अभिभादनको संगीत ! आत्मियता र सद्भावको छुट्टाछुट्टै र ठाउँपिच्छेको लय ! यिनै त हुन्, हाम्रो समाजको बहुमूल्य गाडधन । यिनै त हुन्, हाम्रा परिचायक ।

यो विविधता हाम्रो समाजको सदियौंदेखिको खाँबो बनेको छ । 

पटकपटक सद्भाव यो खाँबोलाई क्षीण बनाउन नखोजिएको होइन । कुत्सित एवम् कलुषित चाहना मिसाएर समाजको आपसी सद्भाव, भाइचारामा आगो झोस्न नखोजिएको पनि होइन ।

तर समाजकै संयम्, सहिष्णु भावना, आपसी प्रेमले त्यसलाई निष्तेज तुल्याउँदै आएको छ ।

यसपटक पनि समाजका अगुवाहरूले आफनो सामूहिक विवेकलाई पुनः प्रमाणित गरेका छन् । आकार लिनै लागेको सामाजिक विद्वेषको आगालाई निष्तेज तुल्याउन सफल भएका छन् ।

यसको पहिलो श्रेय जान्छ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ।

सुनसरी अशान्त बनेदेखि नै उनी चिन्तित थिए । त्यसको प्रभाव अन्यत्र विस्तारित भएर मोरङ, सप्तरी र पर्सासम्म आइपुगेपछि उनले तुरून्तै अग्रसरता देखाए । 

भूकम्प होस् या देशले व्यहोरेको सातमहिना लामो नाकाबन्दी, संविधान निर्माणको प्रसव होस् या कोभिडको कहर नै किन नहोस्, यी सबै घटनाक्रममा हाम्रो राजनीतिले हातेमालो गरेको छ । एकताबद्धरूपमा सामना गरेको छ ।

सभापति लामिछानेले यही राजनीतिक सद्भावको सूत्र पहिल्याउँदै अशान्त तराई–मधेसलाई शान्त बनाउन अग्रसरता लिए । उनले संसदमा प्रतिनिधित्व गर्नेदेखि संसदबाहिरका शक्तिहरूसँग संवाद गरे । छलफलको शृंखला बढाउँदै सद्भावको आह्वान गरे ।

त्यसमा अरू राजनीतिक दलको साथ र भूमिका पनि प्रशंसनीय थियो । संवेदनशील सामाजिक बनोट र संरचनामाथि झोस्न खोजिएको विद्वेशको आगाबारे सबै राजनीतिक दल सचेत थिए । लामिछानेको अग्रसरतालाई उनीहरूले पनि मुक्तकण्ठले प्रशंसा गरे ।

पछिल्लो राजनीतिक घटनाक्रममा सत्तापक्ष र प्रतिपक्षको भेद देखिएन । सबैले एक स्वरमा सद्भावको अपिल गरे । आआफ्ना तहगत संरचनालाई पनि त्यसका निम्ति आग्रह गरे ।

इतिहासमा पटकपटक देखिँदै आएको राजनीतिक मेल यसपटक पनि प्रकट भयो । जसले आगो निभाउन भूमिका खेल्यो ।

यति मात्र होइन ।

सभापति रवि लामिछानेले धार्मिक अगुवाहरूसँग पनि छलफल गरे । देश यसै पनि धार्मिक सहिष्णुताको परिचायक छँदै थियो । एकले अर्कोजातिको धर्म, परम्परा र मूल्यको जगेर्ना गर्ने सदियौंदेखिको परम्पराको उत्तराधिकारी हुनुको नाताले सभापति लामिछानेले मौलाना एवम् विश्व हिन्दु महासंघका पदाधिकारीसँग छलफल गरे । सद्भावको अपिल गरे ।

भेटमा अगुवाहरूले अगाडि बढाएको सद्भावको हातले सहिष्णुताको सन्देश मात्रै दिएन, अन्यत्र सद्भाव र्‍याली निकाल्न उत्प्रेरित पनि गर्‍यो ।

क्रमशः देशभरि सद्भावको विगुल बज्न थाल्यो ।

जुन विद्वेषको आगो चिस्याउन पर्याप्त थियो ।

भनिरहनुपरेन–

देवानगञ्ज घटनामा सुरूमा प्रशासनको तदारूकता देखिएन । मोहर्रम पर्वमा टाँगिएको झण्डाले भुसको आगो बनिरहेको कलह निभाउन प्रहरी, स्थानीय निकायलेसमेत सुरूमै अग्रसरता देखाउनुपथ्र्यो । चुक त्यहीँ भयो ।
भुसको आगातुल्य त्यही कलहमा बोलबम यात्रामा बजाइएको डिजेको ध्वनि मिसिँदा उग्ररूप लिएको थियो ।

दुई पक्ष विवादमा उत्रिइसक्दा पनि प्रहरी प्रशासनले वार्ता, संवादको विधि अवलम्बन गरेको देखिएन । बलात् अघि बढ्दा दुई युवाको अनाहकमा ज्यान गयो । एकजना अझै गम्भीर अवस्थामा छन् । मध्यम अवस्थाका सात जनाको पनि उपचार जारी नै छ ।

देवानगञ्जबाट फैलिएको आगो सुनसरीभरि फैलिसक्दा र त्यसको प्रभाव अन्यत्र पनि विस्तार भइसक्दा घटनाले व्यापक रूप लिनसक्छ भन्ने हेक्का प्रशासनले गरेको देखिएन । सरकार पनि सुरूमा अलमलमै देखियो ।

बिथोलिन खोजेको सद्भावको उपचार राजनीतिक विधिबाट सम्भव छ भन्ने मान्यताप्रति सरकारले त्यति भर गरेको देखिएन । सुरक्षाकर्मीलाई सडकमा उतारेर र तैनाथी बढाएर समाधान गर्न सकिन्छ भन्नेजस्तो पनि देखियो ।

बिथोलिन खोजेको सद्भावको समाधान राजनीतिक तवरबाट सम्भव छ । फौज परिचालनले समाधान दिँदैनथ्यो ।

र त, आक्रोशलाई झनै बढाउँदै गयो ।

विद्वेषको ज्वाला सिराहा पुगेर मृत्युमा बदलिन थालेपछि सरकारले राजनीतिक संवाद बढायो । त्यसोसँगै गृहमन्त्री गुरूङ घाइते र मृतक परिवार भेट्न मोरङहुँदै सुनसरी र सिराहा हानिए । मृतक परिवार, घाइते र तिनका आफन्तसँग संवाद बढाए । प्रदर्शनकारीका अगुवासँग पनि छलफल गरे ।

यसले सुखद परिणामतर्फ अग्रसर गरायो ।

यसबाट हरेक घटनामा सुरक्षाकर्मीको मात्र भर गर्नुहुन्न, राजनीतिक अग्रसरता देखाउनुपर्छ भन्ने पाठ सरकारलाई मिलेकै हुनुपर्छ ।

अहिले गृहमन्त्री गुरूङ तराई–मधेसमै छन् । फैलाउन खोजिएको आगो निमिट्यान्न नहुँदासम्म नफर्कने बताएका छन् । उनी अहिले मधेसका धार्मिक संघ–संस्था र धार्मिक समूहसँग पपनि संवादमा छन् । वार्तामार्फत् सहमति गरेको खबर आइरहेको छ ।

यसले सुरक्षाकर्मीको मनोबल उकासेको मात्र छैन, पीडित परिवारलाई सान्त्वना, दुःखका बेला सरकार मेरो दैलैमा आयो भन्ने अनुभूति र नागरिक तहमा राज्य भएको आभास भएको छ ।

कतिपय अवस्थामा सरकार छ भन्ने अनुभूति दिलाउनु नै राज्यको सफलता मानिन्छ । यो काम अहिले सरकारले गरिरहेको छ ।

प्रधानमन्त्री बालेन शाहको पछिल्लो सक्रियता पनि प्रशंसायोग्य देखियो । सुनसरीको लप्का अन्यत्र फिँजिइसक्दा मौन बसेको भन्दै उनको आलोचना चुलिएको थियो । फेसबुक स्ट्याटसमार्फत उनले परिस्थिति साम्य बनाउन खोजे पनि डढेलोले निभ्ने लक्षण देखाएको थिएन ।

उनले राष्ट्रका नाममा सम्बोधन गर्दै सद्भाव कायम राख्न अपिल गरे । मानवीय मूल्यको जगेर्ना नै मानिसको मूल धर्म रहेको भन्दै शान्ति, सद्भाव कायम राख्न आग्रह गरे ।
लगत्तै उनले राजनीतिक संवादमा जोड दिए ।

सत्तारूढ दल र सरकारको समान र छुट्टाछुट्टै पहलले समस्याको हल खोज्न मद्दत गर्‍यो ।

विविधतायुक्त समाज, रहनसहन, परम्परा, मूल्य हाम्रो गाडधन त हुँदै हो, कतिपय स्थानमा यो संवेदनशील इन्धनतुल्य पनि छ । सानै कलहले विद्वेश लहलहाउन सक्छ ।

६० को दशक र त्यसअघि पनि यसखासका प्रयत्न नभएका होइनन् ।

धार्मिक अनुष्ठान एवम् पर्वका बेलासमेत बेमेलका घटना छिटपुट हुने गरेका छन् ।

समाजमा बस्ने हामी सबैले ठाउँ विशेषको यो संवेदनशीलता बुझ्नुपर्छ । सरकार पनि चनाखो हुनुपर्छ । घटना भइसकेपछि निभाउन पानी बोकेर दौडनेभन्दा सामान्य कलह, बेमेलमै संवादबाट समाधान गर्ने बानीको विकास गर्नुपर्छ ।

सुनसरी घटनापछि प्रशासन चनाखो भएर तराई–मधेसमा अनुष्ठान या पर्व–महोत्सवमा डिजेमा रोक लगाउन थालेको छ । तर यो नै समाधान होइन । संवेदनशील स्थानमा प्रशासनले सक्रियता बढाउने, स्थानीय जनप्रतिनिधि, धार्मिक एवम् सामाजिक–सांस्कृतिक अगुवा, राजनीतिक नेतृत्वसँग बेलाबखत संवाद गरिरहने, ठाउँ विशेषमा देखिने गरेका समस्याप्रति चनाखो रहने गर्नुपर्छ ।

सीमावर्ती इलाकामा अवाञ्छित तत्त्वले खुला सीमाको फाइदा लिएको पनि हुनसक्छ । यसमा पनि चनाखो रहने हो भने पनि कतिपय घटना समयमै मत्थर तुल्याउन सकिन्छ ।

यसमा सरकारले आफ्ना संरचना र निकायलाई तदारूकतामा राख्नैपर्छ ।

सुनसरी घटनाले हामीलाई दिएको सन्देश यही हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै