काठमाडौं । देशले समवेत स्वरमा सन्देश दिएको छ– नेपाल सद्भावको विशिष्ट भूमि हो ।
विविध जाति, भाषा र धर्मावलम्बिको साझा अँगेनोमा साम्प्रदायिकताको आगो जाग्दैन ।
देवानगञ्जको धार्मिक यात्राको डिजेध्वनिमा गोली मिसिएर तीन युवा अस्ताएपछि यसले डढेलोको रूप धारण गर्ने हो कि भन्ने शंका थियो ।
अब यो शंका क्रमशः निवारण हुँदैछ । तराई–मधेसमा फैलिएको अशान्तिको धुवाँ क्रमशः साम्य हुँदैछ । भयमा बाँचेको समाज क्रमशः लयमा फर्कंदैछ ।
अघिल्लो आइतबार रातिबाट सुरू भएको विवाद बिहीबारसम्म आइपुग्दा आगाको लप्काको रूप धारण गरिसकेको थियो ।
थाहा छैन, यो लप्कामा परेर केके स्वाहा भयो ? व्यक्तिगत सम्पत्ति एवम् सामुदायिक निधि, सम्पत्ति के कति खरानी भए ?
यसको विवरण विस्तारै आउला । घटनाको पाटो उघ्रँदै पनि जाला ।
अहिले यति भन्न सकिन्छ–
कप्तानगञ्ज र गोलबजारका तीन घरमा मृत्युको शोकधुन बज्यो । काखका कलिला सन्तान अस्ताए । आमाबाबु एवम् परिवारजनको छातीमा कहिल्यै निको नहुने वियोगको घाउ बस्यो । देवानगञ्ज र सिराहामा गरी २० भन्दा बढी कर्मठ युवा गोलीले आहत छन् । तिनका घरपरिवार पीडाले मर्माहत छन् । घाइते कतिपय जीवन र मृत्युको दसगजामा होलान् ।
कतिपय निको भएर घर फर्कने उपक्रममा रहे पनि उनीलाई यो घाउले धेरैपछिसम्म पछ्याइरहने छ । पिरोलिरहने छ ।
विद्वेशको आगाको चरित्र यस्तै हुन्छ । कलहको आगाको ज्वाला आफैतिर पनि फर्किन्छ । र, यसले वर्तमान, सपना र भविष्यलाई एकैपटक अँगार बनाइदिन्छ ।
घर, परिवार र समाजको पोल्टामा निको नहुने घाउ थमाइदिन्छ ।
सुनसरीदेखि पर्सासम्मै फैलिएको ६ दिने आगोले बेहिसाब संरचना र सम्पत्तिमा क्षति पुर्याए पनि हाम्रो सद्भावको भित्री तन्तुमा भने डढेलो पस्न पाएन । यसको सेतुमा आँखा लगाउन सकेन ।
एउटै गाउँमा कतै घण्टध्वनि, कतै शंखनाद, कतै ॐ मणिपद्मे हूँ, कतै नमाजको ध्वनि गुञ्जन्छ । जयमसी, सेवारो, झोर्ले/झोर्लेबा, ल्हासो, फ्याफुल्ला, ज्वजलपाको भिन्नभिन्न सुरतालमा गुञ्जने अभिभादनको संगीत ! आत्मियता र सद्भावको छुट्टाछुट्टै र ठाउँपिच्छेको लय ! यिनै त हुन्, हाम्रो समाजको बहुमूल्य गाडधन । यिनै त हुन्, हाम्रा परिचायक ।
यो विविधता हाम्रो समाजको सदियौंदेखिको खाँबो बनेको छ ।
पटकपटक सद्भाव यो खाँबोलाई क्षीण बनाउन नखोजिएको होइन । कुत्सित एवम् कलुषित चाहना मिसाएर समाजको आपसी सद्भाव, भाइचारामा आगो झोस्न नखोजिएको पनि होइन ।
तर समाजकै संयम्, सहिष्णु भावना, आपसी प्रेमले त्यसलाई निष्तेज तुल्याउँदै आएको छ ।
यसपटक पनि समाजका अगुवाहरूले आफनो सामूहिक विवेकलाई पुनः प्रमाणित गरेका छन् । आकार लिनै लागेको सामाजिक विद्वेषको आगालाई निष्तेज तुल्याउन सफल भएका छन् ।
यसको पहिलो श्रेय जान्छ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ।
सुनसरी अशान्त बनेदेखि नै उनी चिन्तित थिए । त्यसको प्रभाव अन्यत्र विस्तारित भएर मोरङ, सप्तरी र पर्सासम्म आइपुगेपछि उनले तुरून्तै अग्रसरता देखाए ।
भूकम्प होस् या देशले व्यहोरेको सातमहिना लामो नाकाबन्दी, संविधान निर्माणको प्रसव होस् या कोभिडको कहर नै किन नहोस्, यी सबै घटनाक्रममा हाम्रो राजनीतिले हातेमालो गरेको छ । एकताबद्धरूपमा सामना गरेको छ ।
सभापति लामिछानेले यही राजनीतिक सद्भावको सूत्र पहिल्याउँदै अशान्त तराई–मधेसलाई शान्त बनाउन अग्रसरता लिए । उनले संसदमा प्रतिनिधित्व गर्नेदेखि संसदबाहिरका शक्तिहरूसँग संवाद गरे । छलफलको शृंखला बढाउँदै सद्भावको आह्वान गरे ।
त्यसमा अरू राजनीतिक दलको साथ र भूमिका पनि प्रशंसनीय थियो । संवेदनशील सामाजिक बनोट र संरचनामाथि झोस्न खोजिएको विद्वेशको आगाबारे सबै राजनीतिक दल सचेत थिए । लामिछानेको अग्रसरतालाई उनीहरूले पनि मुक्तकण्ठले प्रशंसा गरे ।
पछिल्लो राजनीतिक घटनाक्रममा सत्तापक्ष र प्रतिपक्षको भेद देखिएन । सबैले एक स्वरमा सद्भावको अपिल गरे । आआफ्ना तहगत संरचनालाई पनि त्यसका निम्ति आग्रह गरे ।
इतिहासमा पटकपटक देखिँदै आएको राजनीतिक मेल यसपटक पनि प्रकट भयो । जसले आगो निभाउन भूमिका खेल्यो ।
यति मात्र होइन ।
सभापति रवि लामिछानेले धार्मिक अगुवाहरूसँग पनि छलफल गरे । देश यसै पनि धार्मिक सहिष्णुताको परिचायक छँदै थियो । एकले अर्कोजातिको धर्म, परम्परा र मूल्यको जगेर्ना गर्ने सदियौंदेखिको परम्पराको उत्तराधिकारी हुनुको नाताले सभापति लामिछानेले मौलाना एवम् विश्व हिन्दु महासंघका पदाधिकारीसँग छलफल गरे । सद्भावको अपिल गरे ।
भेटमा अगुवाहरूले अगाडि बढाएको सद्भावको हातले सहिष्णुताको सन्देश मात्रै दिएन, अन्यत्र सद्भाव र्याली निकाल्न उत्प्रेरित पनि गर्यो ।
क्रमशः देशभरि सद्भावको विगुल बज्न थाल्यो ।
जुन विद्वेषको आगो चिस्याउन पर्याप्त थियो ।
भनिरहनुपरेन–
देवानगञ्ज घटनामा सुरूमा प्रशासनको तदारूकता देखिएन । मोहर्रम पर्वमा टाँगिएको झण्डाले भुसको आगो बनिरहेको कलह निभाउन प्रहरी, स्थानीय निकायलेसमेत सुरूमै अग्रसरता देखाउनुपथ्र्यो । चुक त्यहीँ भयो ।
भुसको आगातुल्य त्यही कलहमा बोलबम यात्रामा बजाइएको डिजेको ध्वनि मिसिँदा उग्ररूप लिएको थियो ।
दुई पक्ष विवादमा उत्रिइसक्दा पनि प्रहरी प्रशासनले वार्ता, संवादको विधि अवलम्बन गरेको देखिएन । बलात् अघि बढ्दा दुई युवाको अनाहकमा ज्यान गयो । एकजना अझै गम्भीर अवस्थामा छन् । मध्यम अवस्थाका सात जनाको पनि उपचार जारी नै छ ।
देवानगञ्जबाट फैलिएको आगो सुनसरीभरि फैलिसक्दा र त्यसको प्रभाव अन्यत्र पनि विस्तार भइसक्दा घटनाले व्यापक रूप लिनसक्छ भन्ने हेक्का प्रशासनले गरेको देखिएन । सरकार पनि सुरूमा अलमलमै देखियो ।
बिथोलिन खोजेको सद्भावको उपचार राजनीतिक विधिबाट सम्भव छ भन्ने मान्यताप्रति सरकारले त्यति भर गरेको देखिएन । सुरक्षाकर्मीलाई सडकमा उतारेर र तैनाथी बढाएर समाधान गर्न सकिन्छ भन्नेजस्तो पनि देखियो ।
बिथोलिन खोजेको सद्भावको समाधान राजनीतिक तवरबाट सम्भव छ । फौज परिचालनले समाधान दिँदैनथ्यो ।
र त, आक्रोशलाई झनै बढाउँदै गयो ।
विद्वेषको ज्वाला सिराहा पुगेर मृत्युमा बदलिन थालेपछि सरकारले राजनीतिक संवाद बढायो । त्यसोसँगै गृहमन्त्री गुरूङ घाइते र मृतक परिवार भेट्न मोरङहुँदै सुनसरी र सिराहा हानिए । मृतक परिवार, घाइते र तिनका आफन्तसँग संवाद बढाए । प्रदर्शनकारीका अगुवासँग पनि छलफल गरे ।
यसले सुखद परिणामतर्फ अग्रसर गरायो ।
यसबाट हरेक घटनामा सुरक्षाकर्मीको मात्र भर गर्नुहुन्न, राजनीतिक अग्रसरता देखाउनुपर्छ भन्ने पाठ सरकारलाई मिलेकै हुनुपर्छ ।
अहिले गृहमन्त्री गुरूङ तराई–मधेसमै छन् । फैलाउन खोजिएको आगो निमिट्यान्न नहुँदासम्म नफर्कने बताएका छन् । उनी अहिले मधेसका धार्मिक संघ–संस्था र धार्मिक समूहसँग पपनि संवादमा छन् । वार्तामार्फत् सहमति गरेको खबर आइरहेको छ ।
यसले सुरक्षाकर्मीको मनोबल उकासेको मात्र छैन, पीडित परिवारलाई सान्त्वना, दुःखका बेला सरकार मेरो दैलैमा आयो भन्ने अनुभूति र नागरिक तहमा राज्य भएको आभास भएको छ ।
कतिपय अवस्थामा सरकार छ भन्ने अनुभूति दिलाउनु नै राज्यको सफलता मानिन्छ । यो काम अहिले सरकारले गरिरहेको छ ।
प्रधानमन्त्री बालेन शाहको पछिल्लो सक्रियता पनि प्रशंसायोग्य देखियो । सुनसरीको लप्का अन्यत्र फिँजिइसक्दा मौन बसेको भन्दै उनको आलोचना चुलिएको थियो । फेसबुक स्ट्याटसमार्फत उनले परिस्थिति साम्य बनाउन खोजे पनि डढेलोले निभ्ने लक्षण देखाएको थिएन ।
उनले राष्ट्रका नाममा सम्बोधन गर्दै सद्भाव कायम राख्न अपिल गरे । मानवीय मूल्यको जगेर्ना नै मानिसको मूल धर्म रहेको भन्दै शान्ति, सद्भाव कायम राख्न आग्रह गरे ।
लगत्तै उनले राजनीतिक संवादमा जोड दिए ।
सत्तारूढ दल र सरकारको समान र छुट्टाछुट्टै पहलले समस्याको हल खोज्न मद्दत गर्यो ।
विविधतायुक्त समाज, रहनसहन, परम्परा, मूल्य हाम्रो गाडधन त हुँदै हो, कतिपय स्थानमा यो संवेदनशील इन्धनतुल्य पनि छ । सानै कलहले विद्वेश लहलहाउन सक्छ ।
६० को दशक र त्यसअघि पनि यसखासका प्रयत्न नभएका होइनन् ।
धार्मिक अनुष्ठान एवम् पर्वका बेलासमेत बेमेलका घटना छिटपुट हुने गरेका छन् ।
समाजमा बस्ने हामी सबैले ठाउँ विशेषको यो संवेदनशीलता बुझ्नुपर्छ । सरकार पनि चनाखो हुनुपर्छ । घटना भइसकेपछि निभाउन पानी बोकेर दौडनेभन्दा सामान्य कलह, बेमेलमै संवादबाट समाधान गर्ने बानीको विकास गर्नुपर्छ ।
सुनसरी घटनापछि प्रशासन चनाखो भएर तराई–मधेसमा अनुष्ठान या पर्व–महोत्सवमा डिजेमा रोक लगाउन थालेको छ । तर यो नै समाधान होइन । संवेदनशील स्थानमा प्रशासनले सक्रियता बढाउने, स्थानीय जनप्रतिनिधि, धार्मिक एवम् सामाजिक–सांस्कृतिक अगुवा, राजनीतिक नेतृत्वसँग बेलाबखत संवाद गरिरहने, ठाउँ विशेषमा देखिने गरेका समस्याप्रति चनाखो रहने गर्नुपर्छ ।
सीमावर्ती इलाकामा अवाञ्छित तत्त्वले खुला सीमाको फाइदा लिएको पनि हुनसक्छ । यसमा पनि चनाखो रहने हो भने पनि कतिपय घटना समयमै मत्थर तुल्याउन सकिन्छ ।
यसमा सरकारले आफ्ना संरचना र निकायलाई तदारूकतामा राख्नैपर्छ ।
सुनसरी घटनाले हामीलाई दिएको सन्देश यही हो ।