काठमाडौँ । २०७९ जेठ १६ गते दिउँसो काठमाडौँ महानगर प्रमुखको शपथ लिए लगत्तै वालेन्द्र शाह (बालेन) सिधै जंगी अड्डा हानिए र प्रधानसेनापति प्रभुराम शर्मासँग करिब एक घण्टा भेटवार्ता गरे ।
काठमाडौँका तत्कालीन नवनिर्वाचित मेयर बालेन र तत्कालीन सेनापति शर्माका बीचमा के के कुरा भए, त्यो त कसैले खुलाएनन् । मात्र भनियो– सेनापति शर्माले ‘बालेनलाई सफल कार्यकालका लागि शुभकामना दिए,’ बालेनले ‘सेनाले विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरे’ ।
Watch On
शपथ लगत्तै, महानगरको बैठकसमेत नबस्दै बालेन किन जंगी अड्डा पुगे भनेर उतिबेलै निकै चर्चा भयो ।
एकथरिको दाबी थियो– बालेन र नेपाली सेनाबीच घनिष्ठ सम्बन्ध छ । त्यसलाई देखाउन बालेन सेनापतिलाई भेट्न पुगेका हुन् ।
अर्काथरिको दाबी थियो– काठमाडौँलाई सुन्दर बनाउन सेनाको साथ चाहिन्छ, त्यसैको वातावरण बनाउने काम गरे ।
जब बालेनले स्थानीय सरकार प्रमुखको कार्यभार सम्हाले, उनी संघीय सरकार र पुराना राजनीतिक दल तथा तिनका नेताप्रति असहिष्णु देखिए, असहिष्णु सुनिए ।
बालेनले तत्कालीन सरकारहरूविरुद्ध सामाजिक सञ्जालमार्फ जे जस्ता ‘फायर’ खोले, त्यसमा सेनाको आड रहेको भनेर पनि टिप्पणी गरिए ।
तर, सेनाले बालेनसँगको सम्बन्ध र उनका भनाइबारे कुनै टिप्पणी गरेन, प्रतिक्रिया जनाएन ।
२०७९ जेठ १६ गते मेयर शपथ लिएपछि बालेन र तत्कालीन सेनापति प्रभुराम शर्मा ।
साढे तीन वर्ष बित्दा नबित्दै २०८२ भदौ २३ आयो ।
जेनजी पुस्ताले काठमाडौँसहित देशैभर प्रदर्शन गर्यो । नयाँ बानेश्वरमा मात्रै १९ जनाको ज्यान गयो ।
भदौ २४ त थेगिनसक्नु भयो । समग्रमा ७६ जनाको ज्यान गयो । संसद् जल्यो, सिंहदरबार जल्यो, अड्डा–अदालत जले ।
दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । प्रधानमन्त्री ओलीदेखि सबै उच्च पदस्थलाई आर्मीले ‘रेस्क्यु’ गर्नुप र्यो ।
ओलीले राजीनामा दिएपछि मुलुक सरकारविहीनताको अवस्थामा थियो । अब के हुन्छ, के गर्ने ? सबै अनिश्चित थियो । साँझदेखि नेपाली सेनाले कमाण्ड सम्हाल्यो, आगो निभ्न थाल्यो ।
भदौ २४ दिउँसो काठमाडौँका तत्कालीन मेयर बालेनले फेसबुकबाट एउटा सन्देश प्रवाह गरे । आन्दोलन गरिरहेका युवाहरूलाई उनले भने– ‘सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुहोला ।’ त्यही उनले थपे– ‘वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’
बालेनले भनेझैं जंगी अड्डामा सेना प्रमुखले वार्ता सुरु गरे । आन्दोलनकारी र राष्ट्रपतिका बीचमा सेनापतिले नै सहजीकरण गरे । बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनिन्, संसद् विघटन पनि भयो ।
१६ जेठ २०७९ देखि २७ भदौ २०८२ सम्मको राजनीतिक अवस्था, उथलपुथल, आन्दोलन हेर्दा लाग्छ– देश बालेनकै रोडम्यापमा अघि बढिरहेको छ ।
काठमाडौँका तत्कालीन मेयर बालेन २१ फागुन २०८२ को चुनामा सांसद चुनिए । १३ चैतमा प्रधानमन्त्री बने । बालेनको परिचय र हैसियत फेरियो ।
बालेन मेयर हुँदा प्रधानसेनापति थिए– प्रभुराम शर्मा । उनै बालेन प्रधानमन्त्री बन्दा प्रधानसेनापति थिए– अशोक सिग्देल ।
जेनजी आन्दोलनको ठीक १ वर्षअघि २४ भदौ २०८१ मा सिग्देलले नेपाली सेनाको कमाण्ड सम्हालेका थिए ।
मेयर बनेपछि बालेनको पहिलो भेट प्रभुराम शर्मासँग भएको थियो, जतिबेला उनी सेनापति थिए । त्यहीबीचमा सेनाको कमाण्ड फेरियो, अशोक सिग्देल आए ।
त्यसै पनि सरकार र सेनापतिबीच सम्बन्ध सुमधुर नै हुनुपर्छ । व्यावसायिक हुन्छ । यसमा दुईमत छैन । प्रधानमन्त्री बालेन र सेनापति अशोक सिग्देलका बीचमा त अतिरिक्त सुमधुर सम्बन्ध थियो भनेर चर्चा पनि चल्यो ।
तर, १८ साउन २०८३ को एउटा घटनाले भने प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीचको सुमधुर सम्बन्ध तिक्ततामा परिणत गराएको र सरकार–सेना सम्बन्धमा चिसोपना सतहमा आएको छ ।
सरकार–सेनाबीचको सम्बन्धमा तिक्तता ल्याउने घटना हो– गोकर्णेश्वरमा रास्वपा सांसद राजु पाण्डेको कमाण्डमा एउटा पर्खाल भत्काइनु ।
पर्खाल भत्कियो, बागमती करिडोर खुल्यो, स्थानीयको वर्षौंदेखिको माग पूरा भयो ।
तर, त्यो पर्खाल जसरी भत्काइयो त्यसले भने सरकार र सेनाका बीचमा नयाँ पर्खाल ठडियो ।
प्रधानसेनापति अशोक सिग्देलले आज ‘अकस्मात’ प्रधानमन्त्री बालेनलाई भेट्नुको मुख्य कारण त्यही पर्खाल थियो ।
अकस्मात सेनापतिले प्रधानमन्त्रीलाई किन भेटे ? सेनाको जवाफ छ– यो नियमित भेट हो, प्रधानमन्त्री नै रक्षामन्त्री हुनुहुन्छ ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने– ‘यो नियमित भेट हो, प्रधानमन्त्री नै रक्षामन्त्रीसमेत हुनुहुन्छ, यस्तो नियमित भेट भइरहन्छ।’
गोकर्णको पर्खाल भत्काउने विषयमा पनि कुरा भयो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए– ‘त्यो विषयमा थाहा भएन।’
सैनिक प्रवक्ताले नियमित भेट भने पनि भेटका एजेण्डा केही खुलाएनन् । र, रक्षा मन्त्रालय स्रोतले पनि प्रधानसेनापतिले सिधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुको कारण नखुलेको बतायो ।
स्रोतका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानसेनापतिले गोकर्णमा जसरी पर्खाल भत्काइयो, त्यसले सेनाको अवमूल्यन गरेको बताएका थिए । ‘हरेक कामको प्रक्रिया हुन्छ, प्रक्रिया पूरा नगरी नेपाली सेनाले पहरा दिइरहेको ठाउँमा अकस्मात डोजर लगेर पर्खाल भत्काइनु राम्रो भएन’ सेनापतिले असहमति व्यक्त गरे । पर्खाल भत्केपछि संरक्षित क्षेत्रभित्र जो पनि प्रवेश गर्न सक्ने र त्यसलाई रोक्न अतिरिक्त प्रबन्धको तयारी गर्नुपर्ने सेनापतिको भनाइ थियो ।
त्यसो त नेपाली सेना सरकारका पछिल्ला काम कारबाहीप्रति सन्तुष्ट छैन । सेनाका उच्च अधिकारीहरूले अनौपचारिक रुपमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउने गरेका छन् ।
पछिल्लो समय स्वयं सेनापति अशोक सिग्देल पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् ।
उनले निकटस्थहरूसँग भन्ने गरेका छन्– ‘सरकारप्रति हामी नेगेटिभ पनि छैनौं, पोजिटिभ पनि छैनौं।’
पुराना दलहरूको अकर्मण्यताका कारण अहिलेको अवस्था आएको हो । सेनाको बुझाइ पनि यही छ । आम सर्वसाधारणको बुझाइ पनि यही हो ।
तर, सरकारले जे जसरी काम गरिरहेको छ र प्रधानमन्त्री मन्त्रीहरूले जे जस्ता अभिव्यक्ति दिइरहेका छन्, त्यसले पनि सेनाको चित्त बुझेको छैन ।
वर्तमान सरकारप्रति सेना सकारात्मक बन्न नसक्नुको अर्को कारण हो– हालै पूर्वी तराईमा भएको दंगा । सुनसरीको दंगा वीरगञ्जसम्म आइपुग्दा सरकारले खासै चासो देखाएन ।
स्रोतका अनुसार, सेनापति सिग्देलले निकटस्थहरूलाई भनेका छन्– ‘सरकारले जस्तै सेनाले पनि संयमता गुमाएको भए परिस्थिति बेग्लै हुन्थ्यो ।’ सुनसरी, सिरहा, सप्तरी, धनुषा र पर्सामा कर्फ्यु लागेपछि सेना परिचालन गरिएको थियो । सडकमा सेना परिचालन भएपछि प्रदर्शन भएका थिए । तर, सेनाको गोली लागेर कोही कसैको मृत्यु भएन ।
प्रदर्शनका कारण अहिलेसम्म चार जनाको मृत्यु भएको छ । ‘स्थिति नियन्त्रणमा लिने नाममा सेनाले पनि गोली चलाएको भए के हुन्थ्यो ?’ अहिले सेनाका अधिकारीहरूले भन्ने गरेका छन् ।
उहिल्यै तत्कालीन सेनापति रुक्मांगद कटवालले भन्थे– सेनाले राजनीति गर्दैन तर, राजनीति बुझ्छ । कटवालले भने झै अहिले पनि सेनाले राजनीति बुझिरहेको हो कि ?
सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।
र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।मंगलबार, साउन १९, २०८३
असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...मंगलबार, साउन १९, २०८३
पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।मंगलबार, साउन १९, २०८३