नेभिगेशन
पर्यटन

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

काठमाडौं  । असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका उनी अब इतिहासका पानामा मात्र भेटिने भएका छन् । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी अस्ताएसँगै विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ । 

उदय र अस्त हिमालमै बनाएका पुर्जा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका थिए  । बेलायती गोरखा सैनिक र त्यसपछि बेलायतको विशेष सैन्य इकाई एसबीएसमा आबद्ध थिए । सैन्य जीवन छाडेर पर्वतारोहणको दुःसाध्य एवम् कष्टकर बाटो रोजेका उनले छोटो समयमै विश्वकै उत्कृष्ट आरोहीमध्ये आफ्नो स्थान बनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०१९ मा उनले ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि करिब आठ वर्ष लागेको उपलब्धिलाई उनले अभूतपूर्व रूपमा तोड्दै नयाँ इतिहास रचे ।

Ncell
Extreme Energy

उनको यही यात्रामाथि बनेको नेटफ्लिक्सको वृत्तचित्र ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ ले विश्वभर करोडौँ दर्शकलाई प्रेरित गर्‍यो । त्यसपछि उनले जाडो याममा पहिलो पटक के–टु हिमाल सफलतापूर्वक आरोहण गर्ने ऐतिहासिक नेपाली टोलीको नेतृत्व गर्दै अर्को असम्भव उपलब्धि पनि हासिल गरे ।

निम्स दाइ कीर्तिमानका लागि मात्र होइन, मानवीयताका लागि पनि परिचित थिए । हिमालमा जोखिममा परेका स्वदेशी तथा विदेशी आरोहीहरूको उद्धारमा उनी सधैँ अग्रभागमा देखिन्थे । नेपाली शेर्पा र पर्वतीय समुदायको क्षमता विश्वमाझ चिनाउन उनले निरन्तर भूमिका खेले । उनको परिचयलाई यसैले उदात्त तुल्यायो ।

हिमालका पोटरका लागि सुविधासम्पन्न आवास निमार्ण गरिरहेका, हिमालसँगै बाँच्ने साहसका गरेका, हिमाल बचाउन लागे र हिमालमा जोडिनेहरुको जीवन उकास्न लागेका निम्स दाई । 

तर, उनकी साहसको यही यात्राले अन्ततः दुःखद मोड लियो ।

२०८३ साउन १४ गते, पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा क्याम्प–२ र क्याम्प–३ बीच आएको हिमपहिरोमा परी उनीसहित नेपाली आरोहीहरूको टोली दुर्घटनामा पर्‍यो । उद्धारका प्रयास भए पनि उनी जीवित फर्किन सकेनन् ।

निम्स दाइको निधनले नेपालले विश्वस्तरको एक कीर्तिमानी पर्वतारोही मात्र होइन, साहस, नेतृत्व र सेवाभावका अद्वितीय प्रतीक गुमाएको छ ।

निर्मल पुर्जाले बनाएका कीर्तिमान समयसँगै अझ चहकिलो बन्दै जानेछन् । असम्भवलाई सम्भव बनाउने उनको प्रेरणादायी जीवन र नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा पुर्‍याउने योगदान चीरस्मरणीय रहनेछ ।
० ० ० 

पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरूङ ‘युक्त’ को दुःखद् अवसान भयो ।

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मिएका युक्तको बाल्यकाल हिमालकै काखमा बित्यो । ब्रिटिस सेनामा भर्ती हुने सपना बोकेका उनी सशस्त्र द्वन्द्वका कारण उनको त्यो सपना अधुरै थियो । त्यसपछि मनाङमा होटलमा काम गर्न थालेका उनी, ट्रेकिङ गाइडहरूसँगको संगत र सामिप्यता बढेसँगै पर्वतारोहण क्षेत्रतर्फ पाइला सोझ्याएका थिए ।

सन् २००९ मा पोर्टरबाट यात्रा सुरु गरेका उनी किचन हेल्पर, सहयोगी गाइड, ट्रेकिङ गाइड हुँदै अन्तर्राष्ट्रिय माउन्टेन गाइड बने । गत डिसेम्बरमै उनले अन्तर्राष्ट्रिय माउन्टेन गाइडको प्रमाणपत्र प्राप्त गरेका थिए ।

गुरूङ समुदायबाट सबैभन्दा धेरै, १० पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान पनि युक्तकै नाममा छ । उनले हालसम्म ८ हजार मिटरभन्दा अग्ला १४ मध्ये १२ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए । पाकिस्तानको केटू हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले अर्को कीर्तिमान पनि बनाएका थिए । उनी हिमालमा फसेका आरोहीहरूको उद्धारमा पनि उत्तिकै सक्रिय रहन्थे ।

तीन साताअघि ब्रोड पिक आरोहणका लागि पाकिस्तान पुगेका युक्त अन्ततः आफ्नै प्रिय हिमालको काखमै सदाका लागि अस्ताएका छन् । ३७ वर्षको उमेरमै एक अनुभवी, साहसी र समर्पित नेपाली पर्वतारोहीको यात्रा दुःखद रूपमा टुंगिएको छ ।

युक्त गुरूङको निधनसँगै नेपालले एक कुशल पर्वतारोही मात्र होइन, उद्धार र पर्वत पर्यटन क्षेत्रमा समर्पित एक अनुभवी हिमालकर्मी पनि गुमाएको छ । ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने नेपालीहरूको शव उद्धारको प्रयास भने अझै जारी छ ।

० ० ०

ब्रड पिक दुर्घटनाले नेपालले अर्को प्रतिभाशाली पर्वतारोही पनि गुमाएको छ । सङ्खुवासभाको दुर्गम बस्तीबाट हिमाललाई जीवन बनाएका निमा शेर्पाको यात्रा अब सम्झनामा मात्रै सीमित भएको छ । मेहनत, अनुशासन र साहसका पर्याय बनेका ३६ वर्षीय निमा यसै वर्ष चार वटा आठ हजारे हिमाल चढिसकेका थिए । तर पाँचौँ चुनौती नै उनको अन्तिम यात्रा बन्यो । 

सङ्खुवासभाको मकालु गाउँपालिका–२, च्याक्से बोडामा जन्मिएका निमा शेर्पाको जीवन हिमालसँगै सुरु भयो र हिमालमै अन्त्य भयो ।

सामान्य किसान परिवारमा हुर्किएका उनले कठिन संघर्षबाट पर्वतारोहण क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएका थिए । ट्रेकिङबाट यात्रा सुरु गरेका निमा लगन, अनुशासन र अथक मेहनतका कारण छोटो समयमै अनुभवी उच्च हिमाली आरोहीका रूपमा स्थापित भए ।

यस वर्ष मात्रै उनले ८ हजार मिटरभन्दा अग्ला चार वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए । त्यसपछि एलिट एक्स्पिडिसनमार्फत पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका लागि प्रस्थान गरेका थिए । तर, यही अभियान उनको जीवनको अन्तिम यात्रा बन्यो ।

ब्रड पिकमा आएको हिमपहिरोमा परी उनको ज्यान गएको शनिबार पुष्टि भयो । दुर्घटनाको खबरसँगै श्रीमती पेम्बी शेर्पा, परिवार र सिंगो गाउँ शोकमा डुबेको छ ।

मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी छिरिङ शेर्पाका अनुसार निमा हिमाल आरोहणलाई केवल पेशा होइन, जीवनको लक्ष्यका रूपमा अघि बढाइरहेका थिए । अन्तर्राष्ट्रिय हिमाल आरोहणमार्फत उनले गाउँपालिका र नेपालको नाम विश्वमञ्चमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

अध्यक्ष शेर्पा भन्छन्, “निमा शेर्पाको निधनले गाउँपालिकाले एक साहसी, इमान्दार र सम्भावनाशील युवा गुमाएको छ । यो क्षति एउटा परिवारको मात्र होइन, समग्र नेपाली पर्वतारोहण क्षेत्रकै हो ।“

सपना बोकेर हिमालतर्फ उक्लिएका निमा अन्ततः आफ्नै प्रिय हिमालको काखमै सधैँका लागि बिलाए । तर उनको साहस, समर्पण र संघर्षको कथा भने नेपाली पर्वतारोहण इतिहासमा सधैँ जीवित रहनेछ ।

हिमाललाई कर्मभूमि बनाएका निमा शेर्पाको निधनले नेपाली पर्वतारोहण क्षेत्रले अर्को आशालाग्दो युवा गुमाएको छ । तर उनले छाडेको साहस र समर्पणको पदचिह्न भने आउने पुस्ताका आरोहीका लागि प्रेरणाको शिखर बनेर रहनेछ ।

० ० ०

भरियाबाट सुरु भएको यात्रा विश्वकीर्तिमानसम्म पुग्यो । तर, विश्वका सबै आठहजारे हिमाल चढेका नेपाली पर्वतारोही किलि पेम्बा शेर्पाको जीवनयात्रा पाकिस्तानको ब्रोड पिकमै टुंगिएको छ । दोलखाको सानो गाउँबाट विश्व पर्वतारोहणको शिखरसम्म पुगेका उनी अब इतिहासका प्रेरणादायी पात्र बनेका छन् । 

१८ वर्षको उमेरमा भरियाका रूपमा हिमाल उक्लिएका दोलखाको गौरीशंकर गाउँपालिका–९, बेदिङका किलि पेम्बा शेर्पा ‘किलु’ ले संघर्षलाई नै सफलताको आधार बनाए ।

कडा मेहनत, साहस र समर्पणका बलमा उनले विश्व पर्वतारोहणमा आफ्नो छुट्टै पहिचान स्थापित गरे । गाइडका रूपमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्दै उनले विश्वकीर्तिमान कायम गरेका थिए ।

सन् २०२१ मा विश्वकै दोस्रो अग्लो हिमाल के–टुको पहिलो सफल शीतकालीन आरोहण गर्ने ऐतिहासिक नेपाली टोलीका उनी महत्वपूर्ण सदस्य थिए । त्यति मात्र होइन, उनले १५ पटक सगरमाथाको सफल आरोहण गरेर नेपाली पर्वतारोहणमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाए ।

तर, साहसले भरिएको यही यात्रा पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा आएर रोकियो ।

निर्मल पुर्जा ‘निम्स दाइ’ को नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीसँगै शिखरतर्फ अघि बढिरहेका बेला आएको हिमपहिरोमा परेर किलि पेम्बाले ज्यान गुमाए । शुक्रबार उनको शव फेला परेको जानकारी उनका काका तथा वरिष्ठ हिमआरोही दावाछिरी शेर्पाले दिएका छन् ।

किलि पेम्बाको निधनको खबरसँगै दोलखाको बेदिङ गाउँ शोकमा डुबेको छ । गाउँका धेरै युवाका लागि उनी केवल सफल आरोही थिएनन्, सपनालाई संघर्षले जित्न सकिन्छ भन्ने जीवित उदाहरण पनि थिए ।

परिवारले सरकारले उनको पार्थिव शरीर यथाशीघ्र स्वदेश ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । काका दावाछिरी शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल पर्वतारोहण संघसँग छिटो पहल गर्न अनुरोध गरेका छन् ।

भरियाको भारी बोकेर सुरु भएको एउटा सपना विश्वकीर्तिमानसम्म पुग्यो । तर अन्ततः हिमालकै काखमा सदाका लागि विश्राम लिएको किलि पेम्बाले नेपाली पर्वतारोहणलाई अमूल्य गौरव र प्रेरणाको विरासत छाडेर गएका छन् ।
किलि पेम्बा शेर्पाको जीवनले देखाएको बाटो स्पष्ट छ—संघर्षले असम्भवलाई पनि सम्भव बनाउन सक्छ । उनको योगदान र कीर्तिमानले नेपाली पर्वतारोहणको इतिहासमा सधैँ उज्यालो अध्यायका रूपमा स्थान पाउनेछ ।

 ० ० ०

विश्वका अग्ला हिमाल चुम्ने धेरै आरोहीहरूको सफलतापछाडि केही यस्ता मौन र शान्त नायक हुन्छन्, जसको नाम सधैं चर्चामा आउँदैन । त्यस्तै एक समर्पित उच्च हिमाली मार्गदर्शक थिए– ग्यालु शेर्पा । ब्रोड पिक दुर्घटनामा उनको जीवन टुंगिए पनि उनले छाडेको समर्पण र मानवीयताको कथा भने हिमालसँगै जीवित रहनेछ । 

ग्यालु शेर्पाका लागि हिमाल केवल रोजगारी थिएन, जीवन थियो । हिमालसँगै हुर्किएका उनले आफ्नो सम्पूर्ण जीवन पर्वतारोहण र आरोहीहरूको सुरक्षामा समर्पित गरे ।

वर्षौंसम्म उनी एक कुशल, भरपर्दो र विनम्र उच्च हिमाली गाइडका रूपमा परिचित रहे । विश्वका चर्चित आरोहीहरूसँग उनले अनेकौँ हिमाली अभियानमा सहकार्य गरे । विशेषगरी निर्मल पुर्जा ‘निम्स दाइ’ सँग उनको सहयात्रा धेरै अभियानमा देखिन्थ्यो ।

उनलाई चिन्नेहरू भन्छन्– ग्यालु कहिल्यै आफूलाई अगाडि राख्दैनथे, सधैं टोली र क्लाइन्टको सफलतालाई प्राथमिकता दिन्थे ।

यही अनुभव साझा गरेकी छन् अन्तर्राष्ट्रिय पर्वतारोही क्रिस्टिन हारिला ।

उनका अनुसार, न्यूयोर्क टाइम्स मा प्रकाशित एउटा समाचारपछि आफू नेपाल फर्किन हिच्किचाइरहेका बेला ग्यालुसँग चोलात्से अभियानमा भेट भएको थियो । आधार शिविरसम्मको यात्रादेखि हिमालको उकालोसम्म ग्यालुले दिएको साथ र सुरक्षाको अनुभूतिले आफूलाई फेरि नेपालका हिमालप्रति विश्वास दिलाएको हारिलाले स्मरण गरेकी छन् ।

हारिलाका शब्दमा, ग्यालु हिमालमा पुगेपछि आफ्नै संसारमा रमाउँथे । उनी आफ्ना क्लाइन्टका लागि सधैं अपेक्षाभन्दा धेरै गर्ने गाइड थिए । ‘तिमीले मलाई फेरि नेपालका हिमालमा फर्किने आत्मविश्वास दियौ,’ भन्दै उनले ग्यालुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

तर, जुलाई ३० मा पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोले ग्यालुको त्यो यात्रा सधैंका लागि रोकिदियो । क्याम्प–२ र क्याम्प–३ बीच आएको हिमपहिरोमा उनीसहित १० सदस्यीय टोली नै दुर्घटनामा पर्‍यो ।

ग्यालुको नाम धेरैका लागि अपरिचित हुन सक्छ । तर विश्वका थुप्रै सफल हिमाली अभियानका पछाडि उभिएका पर्दा पछाडिका नायकमध्ये उनी पनि एक थिए । उनको साहस, व्यावसायिकता, नम्रता र सेवाभावले नेपाली उच्च हिमाली गाइडहरूको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा अझ उँचो बनाएको थियो ।

हिमाल चढ्नेहरू प्रायः शिखरमा देखिन्छन्, तर शिखरसम्म पुर्‍याउने हातहरू धेरैजसो ओझेलमै रहन्छन् । ग्यालु शेर्पा त्यस्तै एक मौन नायक थिए, जसले अरूको सपना पूरा गराउँदै आफ्नै जीवन हिमालको काखमा समर्पण गरे । उनको योगदान नेपाली पर्वतारोहणको इतिहासमा सधैं सम्मानका साथ सम्झिइरहनेछ ।

० ० ०

पर्वतारोहण उनको पेशा मात्र थिएन, पुस्तौंदेखि बग्दै आएको पारिवारिक विरासत पनि थियो । २९ वर्षकै उमेरमा विश्वका अग्ला हिमालहरूमा आफ्नो क्षमता प्रमाणित गरिसकेका युवा गाइड न्वाङ थिन्डु शेर्पाको यात्रा भने ब्रोड पिकमै टुंगिएको छ । साहस, समर्पण र सेवाभावले भरिएको उनको जीवन अब प्रेरणाको कथा बनेको छ । 

सङ्खुवासभाको मकालु गाउँपालिका–१, तालखर्कमा जन्मिएका न्वाङ थिन्डु शेर्पाका लागि हिमाल कुनै नयाँ संसार थिएन । हिमाल नै उनको घर थियो, हिमाल नै उनको जीवन ।

पुस्तौंदेखि पर्वतारोहणमा समर्पित परिवारमा हुर्किएका न्वाङका बुबा र तीनै जना दाजुहरू पनि आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका अनुभवी पर्वतारोही हुन् । त्यही विरासतलाई उनले पनि गर्वका साथ अघि बढाए ।

केवल २९ वर्षको उमेरमै न्वाङले विश्वका धेरै प्रतिष्ठित हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका थिए । सन् २०२२ मा पहिलो पटक सगरमाथा चढेका उनले त्यसपछि कञ्चनजङ्घा, मनास्लु, मकालु, ल्होत्से र आमादब्लमजस्ता चुनौतीपूर्ण हिमालमा सफलता हासिल गरे । छोटो समयमै उनी सक्षम हाई–अल्टिच्युड गाइडका रूपमा परिचित बने ।

तर न्वाङको परिचय केवल सफल आरोहीको मात्र थिएन । जोखिमको क्षणमा अरूको जीवन बचाउन सधैं अग्रपंक्तिमा उभिने साहसी उद्धारकर्मी पनि थिए उनी ।

सन् २०२५ मा अन्नपूर्ण हिमालमा गएको हिमपहिरोपछि हराइरहेका शेर्पाहरूको खोजी तथा उद्धार अभियानमा उनले उच्च जोखिम मोलेर काम गरे । त्यसपछि मकालु–२ हिमालको करिब ७ हजार ३ सय मिटर उचाइबाट एक विदेशी आरोहीको शव सुरक्षित रूपमा तल झार्ने कठिन अभियानमा पनि उनी सक्रिय सदस्य बने ।

यही साहस र अनुभवका साथ उनी सेवन समिट ट्रेक्समार्फत पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणमा सहभागी भएका थिए ।

तर, जुलाई ३० मा क्याम्प–२ र क्याम्प–३ बीच आएको भीषण हिमपहिरोले उनको जीवन सधैंका लागि रोकिदियो । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको टोलीसँगै रहेका न्वाङ पनि हिमपहिरोमा परेर फर्किन सकेनन् ।

मकालु गाउँपालिकाले उनको निधनलाई गाउँ र देशकै ठूलो क्षति भनेको छ । गाउँपालिका अध्यक्ष वाङ्दी छिरिङ शेर्पाका अनुसार न्वाङ एक साहसी, इमानदार र अत्यन्तै जेहेन्दार युवा थिए, जसले नेपाली पर्वतारोहणको भविष्यप्रति ठूलो आशा जगाएका थिए ।

२९ वर्षको छोटो जीवनमा न्वाङ थिन्डु शेर्पाले धेरै हिमाल चढे, धेरै जीवन जोगाए, र धेरै सपना बोके । अन्ततः उनी आफैंले सबैभन्दा धेरै माया गरेको हिमालकै काखमा सदाका लागि विश्राम लिए ।

न्वाङ थिन्डु शेर्पाको यात्रा छोटो रह्यो, तर उनले छाडेको साहस, सेवा र समर्पणको विरासत निकै ठूलो छ । नेपाली पर्वतारोहणले एक होनहार युवा गाइड गुमाएको छ, तर उनको योगदान र प्रेरणा हिमालजस्तै अग्लो भएर सधैं स्मरणीय रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पर्यटन
सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री  रावल

सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री रावल

मन्त्री रावलले थप भनिन् ,'लालपूर्जा वितरण गर्नुपर्छ भनेर जरुरी महत्त्वको प्रस्ताव जुन विपक्षी दलहरुले ल्याउनुभयो, त्यो महसुस उहाँहरुले पालिकामा पनि गर्नुपर्यो । त्यही भएर सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ...
सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।