काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवा नेतृत्वले देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले युवा नेतृत्व प्राप्त हुनु मात्रै उपलब्धि नभएको भन्दै अब त्यसलाई परिणाममा बदल्नुपर्ने चुनौती रहेको बताए ।
‘हामी फ्रेस मात्र हौं, तगडा हुन बाँकी छौं,’ उनले भने, ‘हामी नयाँ छौं, भर्खरै आएका छौं । फरक देखिएका छौं । तर अब काम गरेर प्रमाणित गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।’
उनले युवा नेतृत्व असफल भए भविष्यमा ‘युवाबाट राजनीति सम्भव हुँदैन, अनुभव नभएका मानिसबाट देश चल्दैन’ भन्ने भाष्य निर्माण हुन सक्ने भन्दै ध्यानाकर्षण गराए ।
‘यदि कुनै कारणले हामी आफ्नो जिम्मेवारीबाट पन्छियौं, राम्रोसँग पूरा गर्न सकेनौं भने केही वर्षभित्रै युवाहरू भनेर रहर गर्न नहुने रहेछ, अनुभव नभएका मानिसबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य बन्न सक्छ,’ लामिछानेले भने, ‘त्यसको सबैभन्दा ठूलो सिकार हामी हुनेछौं, जसले यो परिवर्तन सम्भव गरायौं ।’
उनले युवा सांसद र मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीमा रमाउनेभन्दा गम्भीर भएर काम गर्न आग्रह गरे ।
‘तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, त्यसलाई इन्जोय गरेर पदमा रमाउने बेला होइन । यो जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने, ‘यसपटक छुट्यो, बिग्रियो वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पुस्ताले हामीले जस्तो अवसर र विश्वास प्राप्त गर्ने छैन ।’
‘युवा प्रधानमन्त्री र संसदमा धेरै युवा हुनु ऐतिहासिक अवसर’
सभापति लामिछानेले नेपालले अहिले प्राप्त गरेको युवा नेतृत्वको अवसरलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए ।
‘हाम्रो देशका प्रधानमन्त्री संसारकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा मुलुक हाँकिरहनुभएको छ,’ उनले भने, ‘३५–३६ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री हुने सौभाग्य व्यक्तिको मात्र होइन, देशको पनि सौभाग्य हो ।’
संसदमा ठूलो संख्यामा युवाको प्रतिनिधित्व हुनु पनि महत्वपूर्ण राजनीतिक घटना भएको उनको भनाइ थियो ।
‘कुनै पनि देशको संसदमा यति धेरै संख्यामा युवा हुनु एउटा ठूलो ऐतिहासिक राजनीतिक घटनाक्रम हो । आज हामी त्यसको अभ्यास गर्न सुरु गरेका छौं,’ उनले भने ।
तर निर्वाचनको परिणाम, संसदमा युवाको संख्या र मन्त्रिपरिषदमा युवा नेतृत्व हुँदैमा आफूहरूले वर्षौंदेखि देखेको सपना पूरा नहुने उनले बताए ।
‘चुनावको नतिजाले मात्रै, संसदको संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले वर्षौंदेखि देखेको सपना पूरा हुँदैन । त्यसका लागि काम गर्नुपर्छ,’ सभापति लामिछानेले भने ।
‘रोजगारी सिर्जना गर्नु सबैभन्दा ठूलो चुनौती’
सभापति लामिछानेले अहिलेको सरकार र युवा नेतृत्वसामु सबैभन्दा ठूलो चुनौती रोजगारी सिर्जना गर्नु रहेको बताए ।
उनले देशले हुर्काएको र शिक्षादीक्षा दिएको युवा जनशक्ति अवसर नपाएर विदेशिनुपर्ने अवस्था मुलुकका लागि ठूलो घाटा भएको बताए ।
‘देशले यत्रो ठूलो लगानी गरेको युवा जनशक्तिले प्रतिफल दिने बेला अवसर नपाएर परिवार पाल्न विदेश जानुपर्छ भने त्यो देशका लागि निकै ठूलो घाटा हो,’ उनले भने, ‘यो घाटालाई हामीले परिपूर्ति गर्नुपर्नेछ ।’
चुनावी सभामा आफूहरूले रोजगारी सिर्जना गर्ने, उद्योग खोल्ने, कलकारखाना सञ्चालन गर्ने र उद्यमशीलतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाइसकेको भन्दै उनले अब भाषण होइन परिणाम देखाउने समय आएको बताए ।
‘भाषणमा मैले धेरैचोटि भनिसकेको छु । चुनावी सभामा पनि धेरै पटक भनेका छौं– रोजगारी दिन्छौं, कलकारखाना खोल्छौं, उद्योग गर्छौं, युवालाई स्वरोजगार बनाउँछौं,’ उनले भने, ‘अब त्यसलाई परिणाममा बदल्ने बेला आएको छ ।’
‘सरकार चार महिनामै परिणाम देखाउने होइन, जग बनाउँदैछ’
सरकारले चार–पाँच महिनामै सबै परिणाम देखाउन नसक्ने भन्दै लामिछानेले सरकार अहिले बलियो जग निर्माणमा केन्द्रित रहेको दाबी गरे ।
‘सरकार जग खन्दैछ । यस्तो बलियो जग खन्दैछ कि कम्तीमा अबको २०–२३ वर्ष त्यो जगमा राम्रो संरचना खडा हुन सकोस्,’ उनले भने ।
उनले सरकारको नीति, कार्यक्रम र बजेटलाई आफूहरूले जनतासँग गरेको प्रतिबद्धतासँग जोडिएको दाबी गरे ।
‘जनताका घरमा गएर मागेको भोट, त्यही वाचापत्र हेरेर जनताले दिएको भोट, त्यसैका आधारमा बनाएको सरकार, सरकारले बनाएको नीति तथा कार्यक्रम र त्यसैलाई कार्यान्वयन गर्न बनाएको बजेट हेर्नुभयो भने सबै अलाइन भएको देख्नुहुनेछ,’ उनले भने ।
‘विकल्प खोज्ने होइन, विकल्प बन्न आएका हौं’
लामिछानेले रास्वपा ‘वैकल्पिक शक्ति’ मात्र नभई निर्विकल्प शक्ति बन्नुपर्ने बताए ।
‘विकल्प खोज्न आएका होइनौं, विकल्प बन्न आएका हौं,’ उनले भने, ‘वैकल्पिक शक्ति होइन, रास्वपा निर्विकल्प शक्ति भन्नुपर्छ ।’
तर त्यसका लागि निरन्तर काम र परिणाम आवश्यक रहेको उनको भनाइ थियो ।
‘सही बाटोमा हिँड्न छोड्यो, आम मानिसको कुरा सुन्न छोड्यो र यसबाट केही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नुपर्छ । तर विकल्प खोजिरहने चिज विकल्प होइन,’ उनले भने ।
‘युवा नेतृत्व असफल भयो भने ठूलो आरोप लाग्नेछ’
नेपालको करिब ४० प्रतिशत जनसंख्या युवा रहेको उल्लेख गर्दै लामिछानेले यस्तो अवसर विश्वका कमै मुलुकले पाउने बताए ।
‘यदि हामीले यो परिवर्तनलाई, यो युवा नेतृत्वलाई परिणाममा बदल्न सकेनौं भने हामीमाथि ठूलो आरोप लाग्नेछ,’ उनले भने, ‘अब अल्लारेहरूबाट हुँदैन, युवा–युवा भनेर हुने रहेनछ, परिपक्व नै चाहिने रहेछ, उमेर र अनुभव नै चाहिने रहेछ भन्ने जबर्जस्त भाष्य सिर्जना हुनेछ । त्यो भविष्यका लागि घातक हुन्छ ।’
उनले युवामा जोश र होस दुवै रहेको दाबी गर्दै अग्रजको सम्मानसहित ज्ञान, सीप र प्रविधिको प्रयोग गरेर युवाले देशलाई परिणाम दिन सक्ने बताए ।
‘युवामा जोश र होस दुवै हुन्छ । आजका युवाहरू सक्षम छन्, देशलाई माया गर्छन्, परिवर्तनकामी छन्,’ उनले भने, ‘उनीहरूले आफ्नो कर्मबाट यो कुरा प्रमाणित गर्नुपर्छ ।’
‘चार महिनामै निराश हुने बानी बसाल्नु हुँदैन’
लामिछानेले सरकार गठन भएको चार महिनामै परिणाम खोजेर निराश हुने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए ।
‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन थाल्दा कसरी सकिएला?’
उनले युवा पुस्तामा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै धैर्य गर्न आग्रह गरे ।
‘हामीमा धैर्यको कमी देखिएको छ । लामो कुरा पढ्ने, सुन्ने र केही समय लिएर व्याख्या गरिएका कुरामा चासो दिने स्वभाव घट्दै गएको छ,’ उनले भने, ‘परिणाम अत्यन्त छिटो चाहिएको छ । परिणाम खोज्दा छिट्टै निराश हुने समाजमा हामी छौं कि भन्ने लाग्छ ।’
उनले सरकारलाई चार महिनामै मूल्यांकन नगर्न आग्रह गर्दै अहिलेको समय जग निर्माणको भएको दोहोर्याए ।
‘युवा र महिलाको नेतृत्व अब्बल हुने प्रमाणित गर्नुपर्छ’
लामिछानेले निजी क्षेत्रका युवा उद्यमी र महिलाको नेतृत्वमा रहेका संस्था तथा कम्पनीहरूले राम्रो परिणाम दिइरहेको उदाहरण दिँदै राजनीतिक नेतृत्वमा पनि त्यसलाई प्रमाणित गर्नुपर्ने बताए ।
‘महिलाले नेतृत्व गरेका इन्स्टिच्युसनहरू अब्बल ठहरिएका छन् । त्यसलाई समर्थन गर्ने डाटा उपलब्ध छन्,’ उनले भने, ‘निजी क्षेत्रमा युवा उद्यमीहरूले संसारलाई चकित पारेका छन् । आजका धेरै मिलेनियर र बिलेनियर युवा छन्, इनोभेटिभ छन् ।’
उनले अब युवा र महिला नेतृत्वले राजनीति तथा शासनमा पनि उत्कृष्ट परिणाम दिन सक्छ भन्ने प्रमाणित गर्ने समय आएको बताए ।
‘राजनीतिबाहेक धेरै क्षेत्र छन्, जहाँ युवाको नेतृत्व र महिलाको नेतृत्व भएका कम्पनी, इन्स्टिच्युसन र संस्थाहरू संसारमै अब्बल प्रमाणित भइसकेका छन्,’ उनले भने, ‘संसारमा राजनीति मात्रै बाँकी छ ।’
लामिछानेले आफूहरूको पुस्ताले ‘युवाले चाहे परिवर्तन गर्न सकिन्छ’ भन्ने प्रमाणित गरिसकेको भन्दै अब ‘युवाले परिणाम दिन सक्छन्’ भन्ने कुरा प्रमाणित गर्न बाँकी रहेको बताए ।