काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राँको झोसिरहन्छन् ।
पार्टीभित्र आफूमाथि उठेको प्रश्नहरूको तेजोबध गरिरहेका ओली अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को घरमा पनि कलह निम्त्याउन लागिपरेका छन् ।
पार्टी पुनर्गठन पक्षधरहरूलाई ओलीले ‘आवारा’, ‘लोभीपापी’, ‘कीर्ना’ र ‘उरन्ठेउला’भन्दै मानमर्दन गरेपछि उनीहरू अहिले त्यसैलाई शक्तिको स्रोत बनाइरहेका छन् ।
दिनहुँ पार्टी कार्यालयमा भेला भएर अभियानलाई फरक तरिकाले संगठित गर्ने ध्याउन्नमा छन् ।
यता ओलीलाई भने आफ्नै घरमा आगो झोसेर पुगेको छैन, अरू पार्टीतिर पनि आँखा लगाइरहेका छन् ।
एमाले नेतृत्वमा बागमती प्रदेश सरकार गठन गर्न अध्यक्ष ओलीले राप्रपामा कलह मच्चाउन पुगेका छन् । संस्थागतरूपमा राप्रपासँग सहायता नलिई दल नेता फकाएर एमालेको पक्षमा उभ्याउँदा त्यसले राप्रपाभित्र विग्रह निम्त्याएको छ । राप्रपा संसदीय दल विभाजित भएको छ । उद्धव थापाले गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
तीन सांसदहरू मन्त्री बन्ने तरखर गरिरहँदा उद्धव थापा आफै भने संकटमा छन् । पार्टी केन्द्रले बागमती प्रदेश संसदीय दलको पत्र कार्यान्वयन नगर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको छ । बागमती प्रदेशकी प्रमुख सचेतक कुमारी तामाङले सोही अनुरोध गर्दै दलमा अविश्वासको प्रस्तावसमेत अगाडि बढाएकी छन् ।
थापा भने प्रदेशमा कसलाई समर्थन गर्ने भन्ने प्रदेश संसदीय दलकै क्षेत्राधिकारभन्दै आफ्नो निर्णयमा अडिग देखिन्छन् ।
यो कलह निम्त्याएको ओलीले नै हो ।
केही समयअघि ओलीले आफ्नै पार्टीको प्रदेश संसदीय दलमा पनि यसैगरी कलह निम्त्याएका थिए । किरण थापामगरलाई मुख्यमन्त्री बनाउने योजनामा रहेका ओलीले जगन्नाथ थपलियालाई दल नेता हटाउन आफै मैदानमा ओर्लिएका थिए । आफ्नै निवासमा मध्यरातसम्म राखेर सांसदहरूको बीचमा थपलियाको हुर्मत लिएका थिए ।
एमाले प्रदेश संसदीय दलको विवाद अहिले मत्थर भएको छ । ओलीले आफ्नो पूर्वउद्देश्यअनुरूप थापामगरलाई मुख्यमन्त्रीमा अघि सार्न सफल भए ।
थपलियालाई ‘दलको नेता तपाईं नै हो’ भन्दै अहिलेलाई चुप लाग्न बाध्य बनाए ।
जुन ओलीले यसअघि पनि भनिसकेका थिए ।
थपलियाको चाहना मुख्यमन्त्री थियो ।
तर पार्टी अध्यक्ष नै लागेर बहुमत सांसद थापामगरको पक्षमा उभ्याएपछि उनी दलले दिएको स्थानमै रहन बाध्य भए ।
एमालेभित्र कलह रोपिरहने ओलीले राप्रपातिर आँखा लगाएकोबारे सार्वजनिक आलोचना सुरू भएको छ ।
किनभने राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै प्रदेश सरकार गठन र विघटनमा सामेल नहुने निर्णय गरिसकेको थियो । त्यो पनि कार्यसम्पादन समितिको बैठकबाट । गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनबारे नयाँ सहमति भएको थियो । सहमतिमा तीन प्रदेश एमालेलाई, दुई प्रदेश नेकपालाई भाग लगाइएको थियो ।
एमालेको भागमा परेको बागमतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार थियो । नयाँ सरकार बनाउन नेकपाको २६ र एमालेको उपसभामुखबाहेक २४ मतले पुग्दैनथ्यो ।
राप्रपासमेतको साथ चाहिन्थ्यो ।
त्यसका लागि आफ्ना सांसदहरूलाई अध्यक्ष ओलीले निवासमै बोलाएर छलफल गरिरहेको चाल पाएको राप्रपाले त्यसमा रोक लगाउने गरी साउन २० गते कार्यसम्पादन समितिबाट निर्णय गरेको थियो ।
तर ओलीले चलखेल गरिछाडे ।
राप्रपाका केही सांसदलाई पार्टी केन्द्रको निर्देशनविपरीत एमालेको पक्षमा उभ्याए ।
जसको अहिले आलोचना भइरहेको छ ।
राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले कटु आलोचना गर्दै लेखेका छन्– ‘२०५४ दोहोर्याउने हो र !’
उनले २०५४ सालको घटना स्मरण गर्नुको कारण छ ।
२०५१ सालको अल्पमतको सरकार ढलेपछि तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । २०५२ देखि २०५३ सालसम्म देउवा प्रधानमन्त्री भए ।
एमाले पनि के कम ? उसले राप्रपामा खेलेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो।
त्यसको बदला कांग्रेसले राप्रपाकै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर लियो ।
फुयालले सम्झिएको यही घटना हो ।
एमाले र कांग्रेसले पालैपालो खेल्दा राप्रपा दुई टुक्रा भयो ।
त्यही घटना सम्झाउँदै फुयालले लेखेका छन्– ‘संसदीय व्यवस्थामा सांसदहरूले दलको अनुशासन पालना गर्नुपर्छ । सानो होस् वा ठूलो, कुनै पनि दलमा हुने विभाजनले प्रकारान्तरले प्रणालीलाई क्षति गर्छ ।
उनले अगाडि लेखेका छन्– ‘२०५४ सालमा कांग्रेस र एमालेले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई पालैपालो प्रधानमन्त्री बनाएर राप्रपा विभाजित गरेका थिए । प्रकारान्तरले त्यसले एमाले र कांग्रेस दुवैलाई विभाजित गर्यो ।’
अहिले फेरि बागमती प्रदेशमा नयाँ सरकार बनाउने नाममा राप्रपा फुटाउन खोजेको फुयालको बुझाइ छ ।
‘अर्काको दल फुटाउन लाग्दा आफू नै विभाजित भएको इतिहास नबिर्से हुने । अन्तिम भोजकै तयारी हो भने कसलाई के पो भन्नु र ?,’ उनले भनेका छन् ।
बागमती प्रदेश सरकार गठनमा एमालेको भूमिकाका कारण राप्रपा तनाबमा छ ।
पार्टी निर्णय उल्लंघन भएकाले दल नेतालाई कारबाही गर्ने तयारी पनि छ ।
केही समयअघि मात्रै विभाजनको मार खेपेको राप्रपा पुनः विग्रहको दिशामा जाने त होइन भन्ने चिन्ता पार्टीभित्र छ ।
यही चिन्ता र संशयबीच राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । जारी बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा भएका घटनाक्रमको गम्भीर समीक्षा भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
***