नेभिगेशन
समाज

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

काठमाडौँ । असोज ८ गतेदेखि १२ गतेसम्म भीषण वर्षाको पूर्वानुमानले देशैभर त्रास बढाएको छ । कुन ठाउँमा कति पानी पर्छ ? त्यो पानीले कहाँ कहाँ बाढी, पहिरो ल्याउँछ ? कुन ठाउँ बढी सुरक्षित छ ? भनेर आम मानिसले चासो राख्दै सोधपुछ र छलफल गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले बिर्सेका छैनौं । भनिन्छ– जमिनमा फैलिएको समुद्रभन्दा आकाशबाट फैलँदै, हुरीझैं हुर्रिंदै आउने समुद्र अझ डरलाग्दो हुन्छ।

Ncell
Extreme Energy

आकाशबाट फैलँदै आउने समुद्र अर्थात् हावाले बोकेर ल्याउने पानी। मनसुन बाहिरिने बेला आउने यस्तो आकाशे पानीले ठूलो विध्वंश निम्त्याउने गरेको छ। मौसमविद्हरूले यसपटक पनि ठूलो वर्षाको प्रक्षेपण गरेका छन्। असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो पानी पार्ने मौसमी प्रणाली भित्रने प्रक्षेपण मौसमविद्हरूले गरेका छन्।

हामीलाई थाहा छ, अहिले मनसुन बाहिरिने बेला हो। नेपालमा सरदर रूपमा हेर्दा अक्टोबर २ तारिखबाट मनसुन बाहिरिने गर्छ। भारतका केही प्रान्तबाट मनसुन बाहिरिन थालेका छन्। भारतका केही प्रान्त तथा नेपालको पश्चिमी भूभागमा अहिले पश्चिमी वायुको समेत प्रभाव छ।

मनसुन याममा बंगालको खाडी हुँदै मनसुनी वायु नेपाल प्रवेश गर्छ। नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गर्ने यस्तो वायुले मनसुनभरि पानी पार्छ। जुनदेखि अक्टोबरसम्म अर्थात जेठको पुछारदेखि असोज मध्यदेखि अन्तिमसम्म यो वायु सक्रिय हुन्छ। 

हिउँदयाममा भने पश्चिमी वायु सक्रिय हुन्छ। यो तुलनात्मक रूपमा सुख्खा हुन्छ। चिसो गराउने प्रकृतिको हुन्छ। हामीलाई जाडो महसुस गराउने, हिउँ पर्ने त्यही भएर हो। यहाँहरूलाई चासो हुन सक्छ– उसो भए अहिले ठूलो पानी पार्ने प्रणाली के हो? 

मौसमविदहरूका अनुसार बंगालको खाडीमा एउटा मौसमी न्यूनचापीय प्रणाली विकास भइरहेको छ। नेपालीमा यसलाई चक्रवात वा सामुद्रिक आँधी पनि भनिन्छ। मौसमविदहरूका अनुसार यो मौसमी प्रणालीलाई ‘अर्णब’ नाम दिने तयारी छ। अहिले यो प्रणाली बंगालको खाडीबाट उत्तर–पश्चिमतर्फ बढिरहेको छ।

यो भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी उडीसाको तटीय क्षेत्रतर्फ गइरहेको छ। यो अहिले न्यूनचापीय प्रणालीको स्वरूपमा रहेको छ। मौसमविद्हरूका अनुसार यो प्रणाली अझ सशक्त भई चक्रवातको रूप लिन सक्ने वा गहिरो न्यूनचापीय प्रणालीका रूपमा आन्ध्र प्रदेशको विशाखापट्टनम र उडीसाको गोपालपुरबीचको क्षेत्रबाट तटमा ठोक्किन सक्ने सम्भावना छ।

नेपालका मौसमविदहरूले यो प्रणाली विशाखापट्टनमबाट जमिनमा प्रवेश गरिसकेको बताएका छन्। यसको नाम अर्णब नै किन रह्यो भन्ने पनि प्रश्न उठ्न सक्छ। यस चक्रवातको नाम ‘अर्णब’ राखिनुको पछाडि विश्व मौसम विज्ञान संगठन र इस्क्यापका सदस्य राष्ट्रहरूले तय गरेको विशेष प्रक्रिया छ। 

अहिलेको नाम म्यानमारले प्रस्ताव गरेको हो। बर्मेली भाषा र संस्कृतको प्रभावअनुसार ‘अर्णब’ को अर्थ समुद्र वा महासागर हुन्छ। उत्तरी हिन्द महासागर क्षेत्रका १३ देशहरू– नेपाल, भारत, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, इरान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स–ले उत्तरी हिन्द महासागर, अरब सागर र बंगालको खाडीमा आउने चक्रवातहरूको नाम पालैपालो राख्छन्।

सन् २०२० मा यी १३ देशहरूले १६९ वटा नामको सूची, प्रत्येक देशका १३–१३ वटा नाम, तयार पारेका थिए। चक्रवात उत्पन्न भएपछि सूचीमा रहेको पालोअनुसार क्रमबद्ध रूपमा नाम दिइन्छ। म्यानमारको पालो आएकाले उसले पहिले नै बुझाएको सूचीबाट ‘अर्णब’ नाम चयन गरिएको हो।

अहिले विकास हुन लागेको प्रणाली कत्तिको शक्तिशाली छ भनेर हामीले मौसमविद् मीनकुमार अर्याललाई सोध्यौं। उनले अहिले विकास भइरहेको प्रणाली चक्रवातकै तहमा नरहेको बताए। अहिले यो गहिरो न्यूनचापीय प्रणालीको तहमा रहेको उनको भनाइ छ। उनले यसलाई सशक्त न्यूनचापीय प्रणालीका रूपमा विकास भइरहेको बताएका छन्।

यो प्रणालीले नेपालको मौसममा ९, १० र ११ गते प्रभाव पार्नेछ। यो प्रणालीले देशको मध्य तथा पूर्वी क्षेत्रमा भन्दा पनि बागमतीदेखि पश्चिम क्षेत्रमा बढी प्रभाव पार्नेछ। त्यसमा पनि गण्डकी र लुम्बिनी प्रदेशमा बढी प्रभाव पार्ने सम्भावना छ।

उनका अनुसार गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। यो भनेको २४ घण्टामा दुई सय मिलिमिटर वर्षा र त्योभन्दा बढी पानी पर्ने सम्भावना हो। २४ घण्टामा १५० मिलिमिटर आसपास र त्यसभन्दा बढी पानी परे ठूलो बाढी र पहिरोसमेतको जोखिम हुन्छ।

यस आधारमा लुम्बिनी र गण्डकीका केही भागमा बाढी, पहिरोको जोखिम अनुमान गर्न सकिन्छ।

अहिलेको प्रणालीले हिमाली तथा उच्च हिमाली भेगमा सघन हिमपातको सम्भावना पनि छ। मनास्लु, धवलागिरि क्षेत्रमा त केही दिनयता हिमपात भइरहेकै छ। शरद याममा हिमाल आरोहण गर्न गएकाहरू फर्कन थालेका छन्। केही दिनअघि मनास्लु क्षेत्रमा दुर्घटना भएर दुई आरोहीको निधनसमेत भएको थियो।

यस हिसाबले पर्यटन तथा आरोहण क्षेत्र अझ बढी सतर्क हुनुपर्ने देखिन्छ। मौसमविद् विनोद पोखरेलले पछिल्लो मौसम विश्लेषणअनुसार असोज ७ गते साँझदेखि कोशी र बागमतीबाट वर्षाको गतिविधि बढ्दै जाने र क्रमशः अन्य प्रदेशमा फैलिने देखिएको बताएका छन्।

मौसम पूर्वानुमानअनुसार कोशी र बागमती प्रदेशमा असोज ७ गते साँझदेखि १० गतेसम्म, मधेशमा असोज ८ र ९ गते, गण्डकी र लुम्बिनीमा असोज ८ देखि ११ गतेसम्म तथा कर्णाली र सुदूरपश्चिममा असोज ९ देखि ११ गतेसम्म वर्षाको प्रभाव रहने सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पछिल्लो समय भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा थप वर्षाले जोखिम बढाउन सक्ने भएकाले पूर्वतयारीमा जोड दिइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव आउनुका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन भनेको छ।

प्राधिकरणले अत्यन्त जरुरी नभई नदी तथा खोलाको किनारमा यात्रा नगर्न, सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, टोल विकास संस्था, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आमसर्वसाधारणलाई सूचित गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

त्यस्तै जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचना तथा चेतावनीअनुसार पहिरोको नजिक तथा खोला किनारामा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत भनिएको छ।

हालसम्मको अवस्था विश्लेषण गरी मौसम पूर्वानुमान महाशाखाले १६ जिल्लामा रेड अलर्ट जारी गरेको छ। जसमा १४ हिमाली जिल्ला; जसमा दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ छन्। त्यस्तै बाजुरामा पनि रेड अलर्ट जारी छ।

सोमबार विशेष बुलेटिन निकाल्दै ४० भन्दा बढी जिल्लामा सतर्कता अपनाउनुपर्ने स्थिति दर्शाएको थियो। आज मौसम पूर्वानुमानले थप स्थिति विश्लेषण गरी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै रेड अलर्ट जारी गरेको हो।

मनसुनको उत्तरार्धमा हुने मौसमी घटनाले हामीलाई अत्याएको छ। २०७८ सालमा कात्तिकमा आएको बेमौसमी बाढीले सुदूरपश्चिम र लुम्बिनीलाई आक्रान्त तुल्यायो। ३ हजार किसानको खेतमा लगाइएको र मुखमुख आइसकेको धानबाली बाढीमा डुब्यो। कतिपयको त काटेकै ठाउँमा भिजेर उम्रियो पनि।

२०८१ असोज १० देखि १२ गतेसम्म आएको भीषण वर्षाले रोशी क्षेत्र तहसनहस भयो। बीपी राजमार्ग बाढीमा बग्यो। हालसम्म उक्त राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। पुरानै अवस्थामा फर्काउन १० अर्ब रुपैयाँ खर्च लाग्ने भएको छ। रोशीको बाढीले पनौती–कोलाती क्षेत्र, नार्के बजार खण्डहर भयो। अहिले पनि त्यहाँ गेग्रान बहावको जोखिम छ। त्यही बाढीले काठमाडौं उपत्यका डुबानमा प¥यो। बागमती, विष्णुमतीका तटीय क्षेत्र जलमय भए। ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाउने अवस्था बन्यो। घरको छानामाथि चढेर गुहार मागिरहेकाहरूलाई भिजिबिलिटी पुगेन भनेर सरकारले उद्धार गर्न सकेन।

बाढी पहिरोले आम नागरिकलाई आहत पारिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त मौसम विभागको पूर्वानुमानलाई धज्जी उडाउने गरी अभिव्यक्ति दिए। ‘पानी पर्छ भनिएको थियो, तर कहाँ पहिरो जान्छ भनिएको थियो र!’ भन्दै उनले पूर्वानुमानप्रति नै प्रश्न उठाए।

जबकि मौसम पूर्वानुमान महाशाखाले तीन दिनअघि नै रेड अलर्ट जारी गर्दै राजमार्गमा राति सवारी नचलाउन, लामो दूरीको यात्रा नगर्न भनेको थियो। तर प्रशासनले बेवास्ता गर्दा झ्याप्ले खोलामा तीनवटा यात्रुवाहक बस पहिरोमा पुरिए। ३५ जना यात्रुको ज्यान गयो। एक किलोमिटर पर रहेको नागढुंगा चेकपोस्टलाई दुई दिनपछि मात्र थाहा भयो।

राजमार्गको सुरक्षामा भएको गम्भीर लापरवाहीको दृष्टान्त थियो, त्यो। पूर्वचेतावनी पालना नगर्दा राज्यले ठूलो मूल्य चुकाउनुप¥यो। गत वर्ष पनि असोजको १७–१८ गते ठूलो वर्षा प्रक्षेपण गरिएको थियो।

सरकारले मौसम विभागको चेतावनी पालना गर्दै राजमार्गमा सवारीसाधन चल्न दिएन। नागढुंगामा प्रहरी परिचालन गरेर माइकिङ गर्दै लामो दूरीको यात्रा नगर्न चेतावनी दियो। मौसम विभागको चेतावनी गृह प्रशासनले पूर्णतः पालना ग¥यो।

यसपटक पनि भीषण वर्षाको पूर्वानुमान भएकाले सबै सचेत हुन जरुरी छ । आफूसँगै पाक्नै लागेको बाली जोगाउनुपर्ने अवस्था रहेकाले उच्च सतर्कताको खाँचो छ। यस वर्ष अहिलेसम्म औसतभन्दा कम वर्षा भएको छ। अर्थात् सरदरको ७८.५ प्रतिशत मात्रै वर्षा भएको छ। यो भनेको १,१६१.८० मिलिमिटर वर्षा हो।

तर पनि जमिन गलेको छ। गलेको जमिनमा लगातार अथवा केही बेर ठूलो पानी परे बाढीपहिरोको जोखिम हुन्छ। हाम्रा राजमार्ग निर्माणाधीन छन्। विस्तारको क्रममा छन्। सडकमा काम भइरहेकै छ। यस्तो अवस्थामा नयाँ पहिरो चल्ने, कृष्णभीर, तुइनखोला, परेवाभीरजस्ता ठाउँमा पुनः पहिरो चल्न सक्छ। कर्णाली करिडोर, बेनी–जोमसोम, कान्ति लोकपथ, हेटौँडा–कुलेखानी, सिद्धार्थ राजमार्ग खण्ड पनि ठाउँठाउँमा चुनौतीपूर्ण छन्। डाँडापाखामा बिनाइन्जिनियरिङ जथाभावी खनिएका, पानीको बहाव नमिलाइ, नाला नतर्काइ, निकास व्यवस्थित नगरी खनिएका माटे सडकले गेग्रान बहावको जोखिम निम्त्याउन सक्छन्। सिमलताल भेलबाढी त्यसैको उदाहरण हो। जहाँ दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए। जसमा सवार ६२ यात्रु अझैसम्म बेपत्ता छन्।

भोटेकोशी बाढीले हाम्रो राज्य संयन्त्र र पूर्वतयारीको अवस्था देखाएकै छ। गत भदौ १० गते ल्हेन्देको जलाधार क्षेत्रबाट ठूलो भेलबाढी आयो। ८ः४३ बजे आएको भेलबाढीको सूचना राज्यका निकायले ८ः५५ बजे नै पाइसकेको थियो।

टिमुरेबाट तल झरेको बाढी बेत्रावती पुग्न लाग्ने समयभित्रै त्यहाँका नागरिकलाई बचाउन सक्ने अवस्था थियो। बेत्रावतीबाट तल झर्ने अवधिसम्म त राज्यले आवश्यक तयारी गर्न र सूचना पु¥याउन नभ्याउने अवस्था थिएन।

तर सामान्य चेतावनीयुक्त मोबाइल सन्देश र माइकिङको मात्रै भर पर्दा ठूलो जनधनको क्षति हुन पुग्यो। यस घटनाबाट पनि हामीले गम्भीरतापूर्वक पाठ सिक्नैपर्नेछ। हामी सबैले यसपटक वर्षाको चेतावनीको पालना गर्नैपर्छ।

वर्षाको बदलिँदो स्वरूप र प्रणालीले हाम्रो भिजिबिलिटीको ख्याल गर्दैन। राज्यका निकाय र हामी आफैँ पनि चनाखो हुनैपर्छ। चेतावनी पालना गर्नैपर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।