नेभिगेशन
सबै कुरा

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

काठमाडाैँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 

बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

Global Ime Bank

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ । 

यस्तै सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ । 

दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने,  सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकको निर्णय छ । 

बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका  अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका कार्यक्रमसमेत स्वीकृत गरेको छ । विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समूचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाउने बैठकको निर्णय छ । 

बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशबासीलाई अनुरोध गरेको छ । 

दिवसको सन्दर्भ पारेर फागुन ६, ७ र ८ गते प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गर्ने र सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...