गण्डकी । तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । कतै सयपत्रीका पहेँला र सुन्तला रङ, कतै गोदावरीका अनेक थरी फूल । फूल हेर्न, तस्बिर खिच्न र आफूलाई मनपर्ने फूल किन्न आउनेको चहलपहल बढ्दो छ । कोही फूलसँग ‘सेल्फी’ खिचिरहेका छन् भने कोही मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् ।
तारादेवीको स्वरमा रहेको लोकप्रिय गीत ‘फूलैफूलको मौसम तिमीलाई...’ को झझल्को दिने गरी पोखरा रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूलको अवलोकनसँगै किनमेल गर्नेको भीड पनि बढ्दै गएको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एउटै थलोमा जोडेको छ । प्रदर्शनीमा सयपत्री, गोदावरीलगायत विभिन्न प्रजातिका फूल र बिरुवा बिक्री तथा अवलोकनका लागि राखिएका छन् ।
तिहारमा फूलको माग र खपत बढी हुने भएकाले प्रदर्शनी आयोजना गरिएको हो । पोखराका फूल उत्पादक काशीराम गुरुङले दुई दिनमै अपेक्षाभन्दा राम्रो व्यापार भएको बताए । “यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैनन्, दिनभरि मानिस आउनेजाने गरिरहेका छन्”, उनले भने, “फूल उत्पादक किसान र व्यापारी हामी सबै खुसी छौँ ।”
तिहारका लागि आवश्यक सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको उनले बताए ।
प्रदर्शनी अवलोकन गर्न आएकी पोखरा महानगरपालिका–१० अमरसिंहचोककी शान्ता थापाले आफूलाई मनपर्ने फूल रोजेर किन्न पाउनु प्रदर्शनीको विशेषता भएको बताइन् । “प्रदर्शनीमा आउँदा आफूलाई मनपर्ने फूल छनोट गर्न पाइन्छ । यहाँको वातावरणले पनि किनूँकिनूँ लाग्छ”, उनले भनिन्, “म फूलमा सौखिन छु । यहाँ आएर रु सात हजार ५०० बराबरका विभिन्न फूल किनेँ ।”
फूल किन्दा धेरै मोलमोलाइ गर्नुनपर्ने उनको अनुभव छ । प्रदर्शनीले फूल उत्पादक किसान तथा व्यवसायीलाई प्रोत्साहन मिलेको पनि उनले बताइन् ।
पोखरा–१२ स्थित गार्डेन नर्सरीकी सञ्चालक रुपा श्रेष्ठले प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक रहेको बताइन् । उनले आफ्नो स्टलमा ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीका लागि राखेकी छन् । “रुचि र चासो लिएर धेरै जना प्रदर्शनी अवलोकन गर्न आइरहनुभएको छ । सबै स्टलमा व्यापार भइरहेको छ, चहलपहल अझै बढ्दै जान्छ”, उनले भनिन् ।
स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा खरिद गर्ने वातावरण बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । उनका अनुसार एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्रीवितरणमा संलग्न छन् ।
पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवर्द्धनमा जोड दिनुपर्ने अध्यक्ष सुवेदीको भनाइ छ । प्रदर्शनीले पुष्प व्यवसायको विस्तार, स्थानीय उत्पादनको बजारीकरण, किसानलाई प्रोत्साहन र आमनागरिकमा फूलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
पोखरा महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । यहाँ वार्षिक झन्डै तीन करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान छ ।
प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा प्रदर्शनीकक्ष राखिएका छन् । गोदावरी फूललाई केन्द्रमा राखेर आयोजना गरिएको मेलामा सयपत्रीलगायत अन्य प्रजातिका फूल र बिरुवा पनि बिक्रीका लागि उपलब्ध छन् । यसबाट पुष्प व्यवसाय गर्न चाहने किसान र फूलप्रेमी उपभोक्ता दुवैले प्रत्यक्ष लाभ लिइरहेको अध्यक्ष सुवेदीले बताए ।
कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । पुष्प व्यवसायको विस्तार र बजार प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा विगत केही वर्षदेखि यस्ता प्रदर्शनी आयोजना हुँदै आएका छन् ।
पुष्प व्यवसायीका अनुसार पछिल्लो समय पोखरा र आसपासका क्षेत्रमा फूलखेतीप्रति आकर्षण बढ्दै गएको छ । नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसानको सङ्ख्या पनि उल्लेख्य छ । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिको उपलब्धताले किसानलाई यस व्यवसायमा आकर्षित गरेको उनीहरूको भनाइ छ । पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूलखेती गर्ने किसानलाई अनुदान तथा प्रविधिगत सहयोग गर्दै आएका छन् ।
प्रदर्शनीको प्रवर्द्धक पोखरा महानगरपालिका रहेको छ । महानगरको आर्थिक विकास महाशाखा, कृषि शाखा, व्यवसाय प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय, जिल्ला कृषि विकास कार्यालय र पोखरा उद्योग वाणिज्य सङ्घले सहयोग गरेका छन् ।