नेभिगेशन
समाज

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ पार्वतीकुण्ड

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो । चारैतिर हरियाली वन, पृष्ठभूमिमा उभिएका हिमशृङ्खला र बीचमा शान्त भएर बसेको पवित्र जलाशय । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र यो स्थल प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभवले पनि उत्तिकै सम्पन्न छ । तर, यति धेरै सम्भावना बोकेको पार्वतीकुण्ड अझै राष्ट्रिय पर्यटनको नक्सामा अपेक्षित रूपमा चिनिन सकेको छैन । आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावमा यो हिमाली तीर्थ ओझेलमा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको गन्तव्य हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिन्छ । यही मौलिक भाषिक तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नामसमेत आमाछोदिङ्मो राखिएको हो ।

Marvel
Extreme Energy

कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ अवस्थित यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो । पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहार मात्र होइन, हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो । यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ छ ।

“यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ”, उनले भनिन्, “गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको छ । यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।”

आस्था र किंवदन्तीको संगम

पार्वतीकुण्डको उत्पत्ति र महत्त्वबारे हिन्दू तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दू धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिन्छ ।

समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सिर्जना गरेको धार्मिक विश्वास छ । शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान भएको स्थानीय जनश्रुति छ । यही विश्वासका आधारमा पार्वतीकुण्डलाई पवित्र तीर्थस्थलका रूपमा पुजिँदै आएको छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवरको तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्रीसमेत यहाँ स्नान गर्न आउने गरेका छन् । भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।

बौद्ध धर्मावलम्बीका लागि पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण छ । गुरु पद्मसम्भव अर्थात् गुरु रिम्पोछेले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गरेको धार्मिक विश्वास छ । तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास रहेको स्थानीय अविनाश तामाङ बताउँछन् ।

यसरी एउटै जलाशय हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थासँग जोडिनुले पार्वतीकुण्डको धार्मिक विशिष्टता झल्काउँछ ।

हिमालको दृश्य र तामाङ संस्कृतिको वैभव

स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो । यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ समुदायको संस्कृति, परम्परागत वेशभूषा, खानपान र रैथाने जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पाउँछन् ।

कुण्ड वरपरका गुराँस, खस्रु, लालीगुराँस र अन्य प्रजातिका रूखले यहाँको वातावरणलाई थप शान्त र मनमोहक बनाएका छन् । वनस्पति, हिमाली हावा र प्राकृतिक शान्तिको अनुभव लिन चाहनेका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ ।

कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’ यहाँको अर्को आकर्षण हो । त्यहाँबाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगुलगायत हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । मौसम सफा भएका बेला चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीका रूपमा लिइन्छ । यस क्षेत्रको ऐतिहासिक महत्त्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक पनि आसपासमै छन् ।

सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ हुँदै धादिङका विभिन्न बस्ती पुग्ने पदमार्गका रूपमा समेत यो क्षेत्र परिचित छ । यसले पार्वतीकुण्डलाई धार्मिक तीर्थस्थलसँगै पदयात्रा र हिमाली पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएको छ ।

संस्कृति नै पर्यटनको अर्को आकर्षण

पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटक आकर्षित गर्न स्थानीय तामाङ समुदायको मौलिक सांस्कृतिक झाँकी प्रस्तुत गर्दै आएको छ । म्हेन्दोमाया, सेलो र अन्य परम्परागत नृत्यले यहाँ पुग्ने पर्यटकलाई स्थानीय संस्कृति र जीवनशैलीसँग परिचित गराउँछन् ।

धार्मिक आख्यान, प्राकृतिक सम्पदा, हिमाली दृश्य र जीवन्त तामाङ संस्कृतिलाई एकै ठाउँमा अनुभव गर्न सकिने भएकाले पार्वतीकुण्डमा धार्मिक तथा सांस्कृतिक पर्यटनको विशिष्ट सम्भावना छ । तर, त्यसअनुसार पर्यटकीय पूर्वाधारको विकास र प्रचारप्रसार हुन सकेको छैन ।

स्थानीयको अपेक्षा छ, पार्वतीकुण्डको धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सकियोस्, पदमार्ग व्यवस्थित बनोस्, पर्यटकका लागि आवश्यक आवास, खानेपानी, शौचालय र सूचना केन्द्रको व्यवस्था होस् । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै योजनाबद्ध पर्यटन विकास गर्न सके यस क्षेत्रलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनीहरूको विश्वास छ । त्यसबाट स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र गाउँवासीको आर्थिक जीवनस्तर सुधारमा समेत योगदान पुग्नेछ ।

तर, गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्‍याएपछि यो क्षेत्रको पहुँच थप प्रभावित भएको छ । सडक सम्पर्कमा आएको अवरोधले पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसायमा समेत असर पारेको छ ।

प्रकृतिले सौन्दर्य दिएको छ, इतिहासले पहिचान दिएको छ, धर्मले आस्थाको केन्द्र बनाएको छ र संस्कृतिले आफ्नै मौलिकता दिएको छ । अब पार्वतीकुण्डलाई चाहिएको छ– व्यवस्थित पूर्वाधार, संरक्षणको प्रतिबद्धता र देशविदेशसम्म पुग्ने प्रचारको उज्यालो । सम्भावनाले भरिएको यो हिमाली तीर्थ कहिलेसम्म ओझेलमा रहने भन्ने प्रश्नको जवाफ राज्यको पर्यटन नीति र लगानीले दिनुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
यी स्थानमा आज हल्का वर्षाको सम्भावना

यी स्थानमा आज हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
फूलैफूलको मौसम तिमीलाई....

फूलैफूलको मौसम तिमीलाई....

तिहार नजिकिँदै गर्दा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ ।