चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्। चुनाव जितेपछि मात्तिने, आफूभन्दा माथिल्लो पदमा पुग्ने आकांक्षा राख्ने तर वडा तहको जिम्मेवारी लिन नचाहने प्रवृत्ति देखिएको भन्दै उनले पार्टीमा त्याग, अनुशासन र विधिप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताए।
चितवनमा पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको १८२ सिटको जनमतलाई सेवा गर्ने जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। ठूलो पार्टी बनेपछि नेता–कार्यकर्तामा अहंकार बढेको र सर्वसाधारणलाई हेप्ने व्यवहार देखिन थालेको भन्दै उनले त्यसले पार्टीलाई सही दिशामा नलैजाने चेतावनी दिए।
‘जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो,’ उनले भने, ‘हामीले मान्छेलाई मान्छे नै गन्न छाडेका छौँ। यसरी हुँदैन।’
लामिछानेले रास्वपाले पार्टी निर्माण र प्रशिक्षणका सबै चरण पूरा नगर्दै जनताको ठूलो विश्वास पाएको बताए। सामान्यतः पार्टीले लामो समय संघर्ष गरेपछि मात्रै जनताले त्यसका सिद्धान्त, विचार र नेतृत्वलाई विश्वास गरेर मत दिने भए पनि रास्वपाको हकमा त्यसको उल्टो भएको उनको भनाइ थियो।
‘बन्दै गरेको राजनीतिक दललाई नेपाली जनताले अपार बहुमत दिएर, लगभग दुई तिहाइको जनमत दिएर पठाएका छन्,’ उनले भने, ‘पार्टी बन्नुभन्दा पहिला बलियो सरकार बनाउन सक्ने जनमत र विश्वास हामीलाई प्राप्त भयो।’
उनले पार्टीले आफ्नै प्रशिक्षण सञ्चालन गर्न नपाउँदा नेता–कार्यकर्ताले राजनीतिक अनुशासन र संगठनका केही आधारभूत पाठ छुटाएको स्वीकार गरे। विभिन्न राजनीतिक दल र सामाजिक पृष्ठभूमिबाट आएका नेता–कार्यकर्तालाई रास्वपाको आफ्नै राजनीतिक प्रशिक्षण आवश्यक रहेको उनको भनाइ थियो।
समाजले पार्टीका गतिविधि र व्यवहारमाथि गरेको आलोचनालाई विरोधका रूपमा मात्रै लिन नहुने उनले बताए। पार्टीको सफलता देखेर अरूले उपहास गरेको वा होच्याएको महसुस भए पनि त्यसको दोष अरूलाई दिनुभन्दा आफ्नै व्यवहार सुधार्नुपर्ने उनले बताए।
‘समाजले हामीलाई ऐना देखाएको छ। ऐनाले हाम्रो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने राजनीतिक चरित्र होइन,’ उनले भने, ‘हाम्रो व्यवहार र गतिविधिले समाजले विश्लेषण गर्छ। त्यसैले समाजमाथि जाइलाग्नु सही बाटो होइन।’
उनले पार्टीका नेता–कार्यकर्ताले प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने वा विगतमा आफूहरूमाथि भएको व्यवहारको बदला लिन खोज्ने प्रवृत्ति देखाउन नहुने बताए। विगतमा पार्टीमा लागेकै कारण कतिपयले मुद्दा खेप्नुपरेको, व्यवसायमा समस्या भोग्नुपरेको र प्रशासनिक दुःख पाएको उल्लेख गर्दै उनले अहिले शक्ति प्राप्त भएपछि त्यही व्यवहार अरूमाथि दोहोर्याउन नहुने बताए।
‘आज हामी ठूला पार्टी भयौँ, हाम्रै हातमा प्रहरी छन्, सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने।
लामिछानेले पार्टीभित्रै पुराना सहयात्रीबीच ईर्ष्या र दूरी बढ्न थालेको पनि बताए। सँगै संघर्ष गरेको साथी सांसद वा अन्य जिम्मेवारीमा पुगेपछि आरिस गर्ने र आफूभन्दा तल्लो जिम्मेवारीमा रहेको साथीलाई हेप्ने दुवै प्रवृत्ति गलत भएको उनको भनाइ थियो। पार्टीभित्र एकता कायम गर्न दुवै पक्षले आफ्नो व्यवहार सुधार्नुपर्ने उनले बताए।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लामिछानेले वडा तहको जिम्मेवारी लिन नचाहने तर एकैपटक पालिका प्रमुख, प्रदेश सांसद वा पार्टीको माथिल्लो पद खोज्ने प्रवृत्तिमाथि प्रश्न उठाए।
‘हाम्रा साथीलाई वडा अध्यक्ष हुन मन छैन। एकैचोटि मेयर हुनुपर्ने, प्रदेशमा माननीय हुनुपर्ने,’ उनले भने, ‘यसले हामी अवसरको राजनीतितिर गइरहेका छौँ भन्ने देखाउँछ।’
उनले राजनीतिमा पद र टिकट नपाउँदा पार्टी छाड्ने वा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। राजनीति एउटा चुनाव जित्नका लागि नभई पुस्ताका लागि काम गर्ने विषय भएको उनको भनाइ थियो।
यस क्रममा उनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले विगतमा गरेको संघर्षको उदाहरण दिए। लामो समय सत्ताबाहिर रहँदा पनि उनीहरूले राजनीतिक निष्ठा र प्रतिबद्धता नछाडेको उल्लेख गर्दै लामिछानेले टिकट नपाए पार्टी छाड्ने सोचले राजनीति अघि नबढ्ने बताए।
‘निष्ठामा अडिनु छैन भने राजनीतिमा लाग्नु हुँदैन,’ उनले भने, ‘आज हामी १८२ सिटमा छौँ, भोलि दुई सिटमा हुँदा पनि राजनीति जित्नुपर्छ। चुनाव जित्नु मात्रै ठूलो कुरा होइन।’
उनले स्थानीय तहको उम्मेदवार छनोटका लागि पार्टीले अपनाएको ‘क्यान्डिडेट क्लब’ विधि पारदर्शी र विधिसम्मत हुने दाबी गरे। उम्मेदवार छनोटमा नेतासँगको निकटता, व्यक्तिगत सम्बन्ध वा भेटघाटका आधारमा नभई पार्टीले बनाएको प्रक्रियाअनुसार निर्णय हुने उनले बताए।
आन्तरिक प्रक्रियामा आफूले टिकट नपाए पनि पार्टीबाट छनोट भएको अर्को उम्मेदवारलाई जिताउन लाग्ने प्रतिबद्धता नेता–कार्यकर्तामा हुनुपर्ने उनको भनाइ थियो।
‘सकेसम्म म योग्य भएर लड्छु, आफ्नो सम्पूर्ण क्षमता लगाउँछु। तर मैले जित्न सकिनँ र मेरै पार्टीको अर्को साथीले आन्तरिक चुनाव जित्यो भने एक–दुई दिन रुन्छु होला, तेस्रो दिनदेखि त्यही साथी जिन्दावाद भन्दै उसका लागि भोट माग्नुपर्छ,’ उनले भने।
लामिछानेले चितवनका जगन्नाथ पौडेलको उदाहरण दिँदै चुनाव हार्दैमा राजनीतिक निष्ठा र योगदान समाप्त नहुने बताए। पौडेलले चुनाव हारे पनि राजनीति नहारेको भन्दै उनले उनको राजनीतिक प्रतिबद्धताबाट पार्टीका नेता–कार्यकर्ताले सिक्नुपर्ने बताए।
पार्टीमा एउटा पदका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भए पनि छनोट प्रक्रियामा असन्तुष्ट भएर पार्टीलाई नै धोका दिने प्रवृत्तिले संगठन कमजोर बनाउने उनले बताए। नेताको निकटता, व्यक्तिगत सम्बन्ध वा भेटघाटका आधारमा टिकट पाउने व्यवस्था नभएको उल्लेख गर्दै उनले पार्टीको विधि र निर्णय स्वीकार गर्न आग्रह गरे।
‘परिवर्तनको यात्रा चुनावले मात्रै निर्णय गर्दैन। राजनीति एउटा चुनावका लागि होइन, एउटा पुस्ताका लागि काम गर्ने हो,’ लामिछानेले भने।