नेभिगेशन
समाज

१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

काठमाडाैँ । केही दिनअघि कांग्रेस सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरेर भने– एक पैसाको पनि लेनदेन भएको छैन, कुनै अनियमितता गरेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गगन थापाले किन यसरी स्पष्टीकरण दिनुपर्यो ? यसको कारण हो–  अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको भनिएको अडियो । इनमले प्रहरीलाई दिएको बयान भन्दै सार्वजनिक भएको अडियोमा कांग्रेसको आधिकारिकता मुद्दा फैसलाको प्रसंग छ– जहाँ विशेष अधिवेशनमा निर्वाचित नेतृत्वलाई आधिकारिता दिलाउन सभापति थापा र सर्वोच्चका न्यायाधीशहरुका बीचमा अठार करोडको डिल भएको भनिएको छ । 

Marvel
Extreme Energy

शनिबार आफू पक्षीय कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै देउवाले पार्टीको आधिकारिकता किनबेच भएको र यसको स्पष्ट छानबिन हुनपर्ने बताए । त्यही सभामा देउवा पक्षीय अन्य नेताहरुले पनि अठार करोडको प्रसंग बारम्बार कोट्याए । 

गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा पन्ध्रौं महाधिवेशन गरेर नयाँ नेतृत्व पनि चयन गरिसकेको छ । उनै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति बनेको छ । 

गगन थापा नेतृत्वको कांग्रेसले पन्ध्रौं महाधिवेशन गरिसक्दा विशेष महाधिवेशनमा सहभागी नभएको र त्यसपछि भएको पन्ध्रौं महाधिवेशनमा पनि सहभागी नभएको पक्षले छुट्टै महाधिवेशन गर्दैछ । त्यो समूहको नेतृत्व स्वयं अपदस्थ सभापति शेरबहादुर देउवाले नै गरेका छन् । पूर्वमहामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन तयारी समिति संयोजक बनाइए पनि जे गर्न खोजिँदैछ, त्यो सबै देउवाकै नेतृत्व र निर्देशनमा गरिँदैछ । 

देउवा त्यतिबेला विशेष महाधिवेशनको पक्षमा थिएनन् । तत्कालीन केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यहरु पनि विशेष महाधिवेशनको पक्षमा थिएनन् । त्यहीबेला ५५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नेतृत्व परिवर्तनको प्रस्तावसहित विशेष महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिए । विशेष महाधिवेशन टार्न नियमित महाधिवेशनको मिति तोकियो । तर, केन्द्रीय समितिले तोकेको मितिमा महाधिवेशन सम्भव भएन, नयाँ मिति घोषणा गरियो । त्यही अवस्थामा तत्कालीन दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरिदिए । विशेष महाधिवेशनले नेतृत्व मात्रै परिवर्तन गरेन, केन्द्रीय समिति नै फेरिदियो । विवाद निर्वाचन आयोग हुँदै सर्वोच्चसम्म पुग्यो, पहिले आयोगले विशेष महाधिवेशनलाई आधिकारिक ठहर गर्यो, पछि सर्वोच्चले पनि त्यसैलाई सदर गरिदियो । 

कांग्रेसको खास विवाद यही हो । यही विवादमा, सर्वोच्च अदालतबाट विशेष महाधिवेशन पक्षलाई आधिकारिक हो भनेर फैसला हुनुमा पैसाको चलखेल भयो भनेर अहिले खलबली मच्चिएको छ । र, त्यो विवाद उप्काइदिएका छन्– इनम सापकोटाले । 
एकपटक टुंगिसकेको कांग्रेसको विवाद सर्वोच्च अदालतमा फेरि ब्युँतिएको छ । सर्वोच्चले फैसला पुनरबलोकनका लागि निस्सा दिएपछि कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दामा फेरि पूर्ण इजलासमा सुनुवाइ हुने छ । एकातिर मुद्दाको पुनः सुनुवाइ, अर्कातिर कांग्रेसका दुवै पक्ष आ आफ्नो समूहको महाधिवेशन अनि त्यही समयमा आएको इनमको अडियो– कांग्रेसका दुवै समूह तरंगित छन् । 

सँगै, यही प्रकरणका कारण उत्पन्न विवादका कारण आइतबार कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भए । यही प्रकरणमा उनले लेखेको फेसबुक स्टाटसका कारण पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई ब्युरोले बोलाएको हो । 

यति मात्रै होइन, बितेका केही दिन त सभापति गगन थापा नै पक्राउ पर्ने चर्चा चल्यो । बिचौलियासँग मिलेर मुद्दा प्रभावित पारेको आरोपमा सरकारले गगनलाई पक्राउ गर्दैछ भने हल्ला चल्यो । सरकारले सादा पोशाकका प्रहरी परिचालन गरेर गगनको निगरानी गरिरहेको विषय पनि उठ्यो । त्यही हल्ला फैलिएपछि त गगनले भिडियो सन्देश जारी गरेका थिए । 

त्यसअगावै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर आधिकारिकता विवादमा कुनै बदनियत नभएको स्पष्टीकरण दिएका थिए । उनले १८ करोड प्रकरणमा पार्टीमाथि उठेका जुनसुकै प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिनका लागि तयार रहेको बताउँदै यस प्रकरणसँग सम्बन्धित सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरे ।

त्यसयता कांग्रेसका हरेकजसो नेताहरुले सभापतिमाथि गलत आरोप लगाइएको र सरकार दबाबमा पर्दै गएपछि प्रश्न छेक्न गगनलाई आरोप लगाउन खोजिएको दाबी गरिरहेका छन् । 

स्वयं गगनले नै सार्वजनिक समारोह, पार्टीका बैठकदेखि सामाजिक सञ्जालसम्म, आफूलाई बारम्बार तर्साउन खोजिएको तर तर्सिने बानी नपरेको बताइरहेका छन् । आफ्नो हात सफा रहेको भन्दै समर्थकलाई विश्वस्त पार्न खोजिरहेका छन् भने सक्छौ भनेर छानबिन गरेर देखाऊ भन्दै सरकारलाई चुनौती पनि दिइरहेका छन् । 

तर, कतिपयले के शंका गरिरहेका छन् भने जुन दिन अठार करोडको प्रसंग सार्वजनिक भयो, त्यसैको भोलिपल्ट राति उनै गगन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगे । मधेश प्रदेश सरकारको समीकरणबारे छलफल गर्न गगन गुण्डु पुगेका थिए । तर, चर्चा अठार करोडसँग जोडेर भयो । एकातिर अठार करोडको आरोप, अर्कातिर जेनजी आन्दोलनबाट अपदस्थ प्रधानमन्त्री ओलीसँग भेट, यी दुई विषय कतै सम्बन्धित छैनन् ? कतिपयले आशंका पनि व्यक्त गरे । थापाका आलोचकहरुले के यो बाघ कराउनु र बाख्रो हराउनु जस्तै हो वा अरु केही भनेर प्रश्न गरिरहेका छन् । 

कांग्रेस र एमालेको यसअघिको हिमचिम देशका लागि लाभदायक देखिएन । नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दाको अनुसन्धानले कांग्रेसका केही उच्च नेताको ढोका ढकढक्याएपछि २०८१ असार १७ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता समीकरणको सम्झौता भयो । त्यही सम्झौताअनुसार ओली प्रधानमन्त्री बने । तर, ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्नुभन्दा केही महिनाअघि जेनजी आन्दोलन भयो, कांग्रेस एमालेको सत्ता ढल्यो, संसद विघटन भयो, नयाँ चुनाव भयो । 

कतिपयले त यस्तो पनि भनेका छन्, त्यतिबेला देउवा संकटमा परे र ओलीको साथ माग्न गए, अहिले गगन संकटमा परे र उनै ओलीको शरणमा गगन पुगे । 

गगन र ओलीबीच मधेश सरकारबारे छलफल भएको भनिए पनि मधेश सरकारबाट एमाले बाहिरिएको छ । यसको अर्थ स्पष्ट बुझ्न सकिन्छ– कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार अब संकटमा परेको छ । एमाले, नेकपा र जसपाबीच मधेशमा कांग्रेस नेतृत्वको सरकार हटाउने सहमति भइसकेको छ । गुण्डुमा भएको ओली–गगन भेट यो विषयमा पनि उपलब्धिमुलक बन्न सकेन । उल्टै गगनका आलोचकलाई आलोचना गर्ने विषय मात्रै बन्यो । 

गगन थापा पछिल्लो समयमा आशा गरिएकामध्येका एक नेता हुन् । परम्परागत राजनीतिमा पुस्तान्तरण र रुपान्तरणको नेतृत्व गर्ने नेता उनै गगन हुन् । उनी तार्किक छन्, भन्नुपर्ने कुरा सबैले बुझ्ने गरी स्पष्ट भन्छन् । संसदमा कांग्रेस प्रमुख प्रतिपक्षी छ । विपक्षी दलहरुको नेतृत्व कांग्रेसले नै गरेको छ । सरकार र विशेषगरी प्रधानमन्त्री बालेन शाहको काम कारबाही, निर्णय, कदम र कार्यशैलीको कांग्रेसले निरन्तर विरोध गरिरहेको छ । यसमा पनि गगन सबैभन्दा अगाडि छन् । सरकारको कडा आलोचकका रुपमा गगन चिनिएका छन् । त्यसैले पनि सरकारले उनलाई निशाना बनायो भन्नेहरु पनि उत्तिकै छन् । सरकारले आफ्नो विरोध रोक्न र आफूमाथि उब्जिने प्रश्न बन्द गर्न गगनमाथि चार्ज लगाएको कांग्रेस नेताहरुको दाबी छ । 

एउटा अप्रमाणित अडियोले कांग्रेस नेतृत्वमाथि नै प्रश्न उठिरहँदा कांग्रेसले भने प्रधानमन्त्री र उनको टिममाथि नै छानबिनको माग गरेको छ । केही अपारदर्शी र स्वेच्छाचारी निर्णय, प्रहरी प्रमुख हेरफेर, पत्रकारमाथिको धरपकड र संवैधानिक निकायमाथि नियन्त्रण जमाउने कदमविरुद्ध सबै एकजुट भएर प्रतिवादमा उत्रिनुपर्ने कांग्रेसको दाबी छ । 

कांग्रेस सभापति गगन थापामाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि जवाफ आउनुपर्छ । थापाले आफ्नोतर्फबाट जवाफ दिइसकेका छन् । अब जवाफ सरकारले दिनुपर्नेछ । कांग्रेसले छानबिन गर भनेको छ । कांग्रेसले भने पनि नभने पनि सार्वजनिक भएको विषयमा सरकारले छानबिन गर्नुपर्छ । छानबिन गगन थापामाथि पनि गरिनुपर्छ । योसँगै अनुसन्धानका क्रममा रहेका एक व्यक्तिको बयान भनिएको अडियो कसरी सार्वजनिक भयो, यसबारेमा पनि छानबिन गरिनुपर्छ । इनम प्रकरणले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन पनि विवादमा तानिएका छन् । यसमा पनि छानबिन गरेर सत्यतथ्य सार्वजनिक भएमा मात्र सरकारप्रति आम नागरिकको विश्वास बढ्ने छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

शिवाकोटीले फेसबुकमा पनि माफी मागेर लेख्छु भनेपछि लिखित सहमति र माफीपछि छाडिएको साइबर ब्युरोले जनाएको छ। ‘सामाजिक सञ्जालमा रोशन खड्कालाई मात्रै होइन, अरूबारे पनि म भ्रामक कुरा लेख्दिनँ’,...
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।
यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको...