नेभिगेशन
सबै कुरा

मेघराज पोखरेलः सहकारीको किर्तेले सडकमा पुगेका एक व्यवसायिक कृषक

काठमाडाैँ । ‘आहा १ मेघराजजी तपाईंले त कति राम्ररी व्यवसायिक कृषि गर्नु भएको ? तपाईं त यो समाजकै उदाहरणीय पात्र हुनुहुन्छ, तपाईँबाट नेपालीले सिक्नुपर्छ । तपाईंको कामको भिडियो बनाएर नेपालभर देखाउनु पर्छ,’ धादिङ निलकण्ठ नगरपालिका-७ का मेघराज पोखरेललाई गाउँकै स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले फुरुङ्ग बनाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले नै एक जना पत्रकार बोलाएर मेघराजको सफलताको कथाको भिडियो बनाए । सो भिडियोमा सहकारीकै कारण आफूले सफलताको शिखर चुमेको पनि भन्न लगाए । सो भिडियो नेपाल टेलिभिजनबाट प्रसारण पनि गरे । 

Extreme Energy
citizen life

२०६९ सालदेखि सातमुले कृषि तथा पशुपालन फर्म सञ्चालन गरेका मेघराज २०७६/७७ सम्म आइपुग्दा साँच्चै उदाहरणीय कृषकको रुपमा स्थापित भइसकेका थिए । जिल्लाकै एक गैह्र सरकारी संस्थामा काम गर्दा गर्दै ५ सय लेयर्स कुखुरा र ५० ओटा बाख्राबाट सुरु भएको व्यवसायिक कृषि २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसीमा फैलिइसकेको थियो ।


लाखको लगानीलाई करोडौँको बनाएका मेघराज जिल्लामै उदाहरणीय कृषकको रुपमा स्थापित हुँदै गर्दा सहकारीले पनि उनलाई बेला बेला सम्मान गरिरहेको थियो । तर, एक दिन उनलाई सहकारीले सदस्य बन्न आग्रह गर्यो । उनी सहकारीको सदस्य भए  । सहकारीले ऋण लिन भन्यो, उनले सहकारीबाट ऋण लिए र तिनै सहकारीका कारण आज उनी सबै व्यवसाय गुमाएर सडकमा पुगेका छन् । 

सहकारीको किर्तेका कारण सबैथोक गुमाएका उनलाई अहिले दैनिक गुजारा चलाउन र बालबच्चा पठन पाठनमा समेत समस्या भएको छ । आफूविरुद्ध भएको बेइमानीको कतैबाट न्याय नपाएको पोखरेलले सिधाकुरालाई बताए । 

सहकारीको ऋणको पासो 

६/७ वर्षको मेहनतपछि २०७५ सालसम्म आइपुग्दा पोखरेलको फर्ममा २ सय बाख्रा, ३५ सय लेयर्स कुखुरा र १० ओटा गाईभैँसी थिए । उनले व्यवसाय विस्तारका लागि सहकारीको सदस्य बने । ‘अण्डा, कुखुरा र खसीबोका जिल्ला सदरमुकाम लैजान गाडी सहित मलाई व्यवसाय विस्तारका लागि पनि लगानी चाहिएको थियो,’ मेघराज भन्छन्  ,‘म सहकारीको सेयर सदस्य बनेँ । सदस्य बनेपछि उनीहरूले बेलाबेलामा मलाई पुरस्कृतसमेत गरे । त्यतिबेलासम्म मेरो व्यवसाय विस्तार गर्न मलाई पैसा आवश्यक परिरहेको थियो । मैले बैँकबाट पैसा निकाल्ने तयारीमा थिएँ । तर सोही सहकारीका पदाधिकारीहरूले आफूलाई सहुलियत ब्याजदरमा सहकारीले नै ब्याज उपलब्ध गराउने भन्दै रकम यतैबाट झिक्न भने । ’  

उनले विभिन्न तीन शीर्षकमा २०७५ असोज १५ गते जग्गाको लागि १५ लाख, २०७५ साल मंसिर १८ गते गाडी खरिदका लागि भनेर १५ लाख र मंसिर १९ गते कृषि लोन भनेर ५ लाख गरेर जम्मा ३५ लाख ३३ हजार ऋण लिए । ‘सहकारी भनेको त आफ्नै हो, सहकार्य गरेर सँगै अघि बढ्ने हो भन्ने बुझेको थिएँ । त्यही सोचेर मैले लोन लिएँ । त्यो ऋण लिनु नै मेरो दुर्दशा भयो,’ उनले भने । 

कोभिड र सहकारी महामारी एकैसाथ 

राम्रो कृषि व्यवसायमा जमेका पोखरेलले फर्म चलाएको जमिन निकै आकर्षक ठाउँमा थियो । जिल्ला सदरमुकाम देखि मनास्लु हिम शृङ्खलासमेत देखिने उक्त फार्म कृषिसँगै पर्यटनका लागि पनि राम्रो थियो । सो जग्गामा धेरैको आँखा परेको पोखरेल बताउँछन् ।

ऋण लिएको डेढ वर्षसम्म सहकारीको ऋणको किस्ता तिर्दै काम गरिरहेका उनी कोभिड महामारीको सिकार भए । कुखुरा,  अण्डा र खसीबोका बढ्दै गए,  बजार बन्द हुँदै गयो । बढेको कृषि उपजका लागि लगानी पनि बढ्दै गयो तर बजार नभएपछि उनी ऋण तिर्न नसक्ने समस्यामा परे । तर, पनि सहकारीमा १० लाख किस्ता बुझाइसकेको उनी बताउँछन् । 

त्यति हुँदै गर्दापनि एक दिन किस्ता नतिरेको भन्दै सहकारीका तत्कालीन अध्यक्ष प्रदिप अधिकारीले जिल्लाकै एकजना हार्डवेयर पसले प्रयोग गरेर उनको गाडी समाउन लगाए । गणेश कुमार श्रेष्ठ नाम गरेको व्यक्तिलाई अधिकारीले उचालेर गाडी समात्न लगाएको उनी बताउँछन् । ‘हार्डवेयरसँग मेरो जम्मा १ लाखको पनि कारोबार थिएन । तर पनि उसले गाडी समात्यो । गणेशले किन गाडी समायो भनेको त एकैवर्ष पछि मात्र थाहा भयो कि त्यो गाडी सहकारीले समाउन लगाएको रहेछ,’ मेघराज भन्छन् । 

सहकारीले गाडी जफत गरेको २ वर्षपछि पोखरेलका ४० लाख मूल्य बराबरको लेयर्स कुखुरा पनि रोगले मरे । कोरोना महामारीले थलिएको उनको व्यवसायमा रोग पनि थपियो । सबै व्यवसाय चौपट बन्यो । एकपछि अर्को महामारी आइलागे पछि १७ महिना किस्ता तिर्न नसकेको उनी बताउँछन् । त्यसपछि सहकारीले ऋण तिर्न नसकेको भन्दै उनको फार्मको लिलामीको प्रक्रिया अघि बढायो । 

लिलामीमा किर्ते 

व्यवसायमा पतन सुरु भएपछि अत्तालिएका पोखरेलको फार्म नै लिलामीमा चढ्यो । गाउँकै सहकारीले नुवाकोटबाट प्रकाशित हुने उत्तरगया राष्ट्रिय दैनिकमा कर्जा तिर्न आउने भन्दै ३५ दिने सूचना निकालेपछि उनले ऋण तिर्न र सम्पत्ति जोगाउन सबै बल लगाएको दाबी गर्छन् । ‘त्यतिबेलासम्म पनि म सहकारीसँग नियमित सम्पर्कमै छु । लाखौँको जग्गा, गाडी छन्, सम्पत्ति छ, म कर्जा तिर्छु भनिरहेको थिएँ,’ पोखरेल भन्छन् ।  

लिलामीको सूचना उनले २०७८ असोज ६ गते पाए । असोज ११ गते सहकारी गएर ३५ लाखको हरजनासहित किस्ता र साँवा घटाएको उनको दाबी छ । त्यति घटाएपछि सहकारीले पोखरेललाई फेरी २०८५ सालसम्मका लागि ऋणको पुनर्तालिकीकरण गर्यो । 

त्यसको करिब १ महिनापछि मेघराजले पुनः सहकारी गएर गाडीको १३ लाख रुपैयाँ ऋण चुक्ता गरेको बताउँछन् । ‘जुन बेला मैले गाडी चलाएकै थिइनँ, मसँग गाडी नै थिएन । तैपनि मैले २८ दिनमा गाडीको २३ लाख १७ हजार रुपैयाँ तिरेँ,’ उनी भन्छन्, ‘ऋण पुनर्तालिकीकरण गरेपछि जग्गाको ऋणको लागि मेरो चुक्ता अवधि ७ वर्ष बाँकी थियो तर सहकारीले मलाई थाहै नदिई जग्गा लिलाम प्रक्रिया अगाडि बढाएछ । मङ्सिरमा किस्ता बुझाउन जाँदा त ५१ लाखमा जग्गा नै पास गरिदिएछ ।’ 

पोखरेलका अनुसार ५१ लाखमा जग्गा बिक्री भएको भनिएको जग्गाको मूल्य एक करोड रुपैयाँ भन्दा धेरै पर्ने थियो । ५१ लाखमै सो जग्गा पास गरिदिएको हो भने बाँकी पैसा स्रोत परिचालनका अध्यक्ष प्रदीप अधिकारी र कोषाध्यक्ष रुद्र खत्रीलगायतले घोटला गरेको हुनसक्ने उनको आरोप छ । 

वडा, मालपोत, प्रहरी प्रशासन सबैको मिलेमतो 

ऋण पुनर्तालिकीकरण गरेर ढुक्क भएका पोखरेलको जग्गा नै अन्तै पास भएको पाइएपछि उनले आफ्नो जग्गा पास भएकोबारे मालपोत र सहकारीबाट जानकारी लिन खोजे तर मालपोतले उनलाई कुनै सूचना दिन मानेन । सूचनाको हक अन्तर्गत सूचना माग गर्दा समेत उनीहरूले बेवास्ता गरेको र डकुमेन्ट लुकाएको पोखरेलको आरोप छ । 

सूचना लुकाएको भन्दै जिल्ला प्रशासनमा निवेदन हालेपछि मालपोत र सहकारीले किर्ते लुकाएर अस्पष्ट डकुमेन्ट दिएको उनी बताउँछन् । उपलब्ध डकुमेन्टमा सहकारीदेखि वडा र बैंकले समेत बदमासी गरेको उनी बताउँछन् । 

उपलब्ध कागजातअनुसार मालपोतले जनता बैँक खडा गरेर बैँकको २२ सय ८७ दर्ता चलानी नम्बरमा जनता बैँक  र स्रोत सहकारी एकीकरण भएर जग्गा लिलाम गर्न बाध्य भएको भनी लेखिएको छ । तर, पोखरेलले जनता बैँकसँग कुनै कारोबार नगरेको बताउँछन् ।  ‘मैले १५ लाख बाहेक अरु त तिरिसकेको थिएँ । त्यो मेरो नाममा भएको ऋण थियो । म बैंक चिन्दा पनि चिन्दिनँ,’ उनले भने, ‘तर लिलाम गर्ने बेला मेरी श्रीमती सावित्री पोखरेललाई ऋणी बनाएर पेश गरिएको कागजात छ ।'

 उनका अनुसार सावित्री पोखरेलले नै जग्गा बेचेको हो भन्ने देखाउन उनकै नामबाट लाभकर समेत किर्ते गरेर तिरिएको  पाइएको छ तर डकुमेन्टमा सावित्रीको हस्ताक्षर भने छैन । त्यसो त ऋणको किस्ता तिरिरहेकै अवस्थामा नागरिक दैनिकमा १५ दिने र ७ दिने सूचना निकालिएको पाइएको उनी बताउँछन् । ‘मेघराज पोखरेल सम्पर्कमा नआएको भन्ने सूचना निकालेर मालपोतमा पेश गरिएको रहेछ । यदि सम्पर्कमा नआएको भए त्यो २३ लाख मैले कसरी तिरेँ ? मालपोतको टिप्पणीमा भूमिगत भएको भनिएको छ, म भूमिगत भएको भए त्यो किस्ता कसरी तिरेँ ? यसरी झुटा र किर्ते गरेर जग्गा हडप्ने काम भएको छ ।’ उनी भन्छन् ।  

यता सहकारीका व्यवस्थापक दयानिधि नेपालले भने सहकारी ऐन नियम बमोजिम  नै मेघराजको जग्गा सहकारीले लिलाम गरेको दाबी गरे । मेघराज सहकारीका शेयर सदस्य भएकाले उनलाई अन्य शेयर सदस्य सरहनै व्यवहार गरिएको दाबी गर्दै 'सहकारीले कुनै किर्ते नगरेको, मेघराजले ऋण चुक्ता गर्न नसकेपछि लिलाम प्रक्रिया अघि बढेको' दाबी गरे ।

एउटा व्यवसायिक कृषकविरुद्ध यति ठूलो षड्यन्त्र हुँदापनि जिल्ला प्रशासन कार्यालय धादिङले उजुरी लिन नमानेको उनको भनाई छ । जाहेरी दिन जिल्ला प्रहरीमा पुगेँ जाहेरी दर्ता गर्न मानिएको थिएन । तर प्रहरी कार्यालयमा छलफल भने भएको थियो । सहकारीविरुद्ध किर्ते मुद्दा अघि बढ्ने संकेत पाएपछि भने सहकारीका अधिकारीहरूले मेघराजले तिर्न बाँकी ऋण भुक्तानी गरे जग्गा फिर्ता गर्ने निर्णय भएको भन्दै किर्तेबाट जोगिन खोजेका छन् । तर प्रहरी कार्यालयमा निर्णयको कपी भने दिन सकेनन् । मेघराजलाई समेत अहिलेसम्म नदिएको बताएका छन् । 

सहकारीका व्यवस्थापक नेपालले हामीसँग पनि सहकारीको सञ्चालक समितिले निर्णय गरेको दाबी गरेपनि कहिलेको निर्णय हो भन्न सकेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

कसरी फिर्ता हुन्छ सहकारी पीडितको पैसा ?

सरकारले जारी गरेको कार्यसूचीको ९९औं बुँदामा ‘सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया एक सय दिनभित्रै सुरु गर्ने’ उल्लेख छ । यही बुँदालाई कार्यान्वयन गर्न अहिले मन्त्रालयले यो कार्यविधि...
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...
काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

तर, केही भने सरकारले आफूहरुमाथि अन्याय गरेको गुनासो पनि  गर्दै थिए । हो, सरकारले अतिक्रमित काठमाडौंका नदी किनारका सार्वजनिक जग्गा खाली गराउने अभियान थालेको छ । सरकारको यो...
काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

थापाथलीकै सुकुम्बासी बस्तीमा बस्ने लालिमाया तामाङको रामेछाप गागलमा १४५.०७ वर्गमिटर जग्गा छ। उनको नाममा काठमाडौंको सतुंगलमा समेत जग्गा भएकामा त्यहाँको जग्गा बेचबिखन गरिसकेको खुलेको छ।