नेभिगेशन
सबै कुरा

अधुरो पढाईमै एसईईमा सहभागी हुँदै मुगुका बिद्यार्थी

मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ का हिम्मत बुढा यही साल एसईईमा सहभागी हुँदैछन् । उनी सोही गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित विजय माविमा अध्ययनरत छन् । हिम्मतको गाउँबाट उनी पढ्ने विद्यालय पुग्न दैनिक साढे २ घण्टा हिड्नुपर्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दैनिक ५ घण्टा विद्यालय आवत जावतमै वित्छ । यति दुख गरेर विद्यालय पुग्ने हिम्मतको एसईई परीक्षा मुखैमा आईसकेको छ । तर हिम्मतसँग एसईईमा पास हुने दृढताका साथ सामेल हुने हिम्मत छैन । कारण हो अपुरो पढाई । 

Ncell
Extreme Energy

हिम्मत ५ घण्टा समय खर्चिएर विद्यालय आवत जावत त गर्थे तर विद्यालयमा ३ ओटा विषयभन्दा बढी पढाई कहिल्यै हुँदैनथ्यो । हिम्मत भन्छन्, ‘अंग्रेजी, विज्ञान र गणित विषयको ६, ७ पाठ मात्र पढाइ भएको छ । दसै अगाडि पढाइ नै भएन ।

दसैँ पछि थोरै थोरै  पढाइ भयो तर बिषयको आधासम्म  पनि  राम्रोसँग पढ्न पाएका छैनौं । नेपाली , समाजिक, अर्थशास्त्र र शिक्षाको झनै कम पढाइ भएको छ ।’

हिम्मतसँगै एसईईमा सहभागी हुन लागेका सोही गाउँका सर्जन भुमीको पनि गुनासो उस्तै छ । उनी भन्छन्, ‘बिद्यालयमा पूरा कोर्ष पढ्न पाएका छैनौँ । विज्ञान र गणित पढाउने  शिक्षक बिद्यालयमा आएर पढाउन लागेको दुई महिना मात्र भयो पूरा कोर्ष भएको छैन ।’

कुनै पनि विषयको पुरा पाठ पढ्न नपाएका उनलाई कसरी पास हुने भन्ने चिन्ताले सताईरकेको छ । ‘घण्टौ हिँडेर पढ्न जान्छौँ तर पढाइ नै हुँदैन । पूरा पढाई नहँुदा अब फेल हुन्छौँ कि भन्ने डर छ । घरमा पनि तयारी गर्ने वातावरण छैन ।’ सर्जन आफ्नो सुनाउँछन् । 

हिम्मत र सर्जनजस्तै सिप गाउँबाट विजय मावीमा पढ्ने ८ जना छन् । त्यस्तै उनीहरु पढ्ने विजय माविबाट यसपाली एसईई परीक्षामा ७२ जना सहभागी हुँदैछन् । सबैलाई डर एउटै कुराको छ, ‘पुरै पाठ पढ्नै पाएका छेनौँ, कसरी पास भईएला ?’

बिद्यार्थीले पूरा पाठ्क्रम पढ्न नपाएको शिक्षक गुड्डु प्रसाद न्यौपाने स्वीकार्छन् । “म यस बिद्यालयमा आएको दुई महिना मात्रै भयो । कोर्ष पूरा गर्न मलाई धेरै हम्मेहम्मे भएको छ । विद्यार्थीले पूरा कोर्ष पढ्नै पाएका छैनन । विद्यालयको हालत बिग्रिएको छ ।’ 


किन भएन पढाई ? 

शिक्षक न्यौपानेले बिद्यालयको हालत विग्रिएको बताएपछि हामीले पूरा पाठ पढाई नहुनुको कारण खोज्यौँ । बुझ्दै जाँदा, गत बर्ष गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गरेको रहेछ ।  धेरै शिक्षकहरु गाउँपालिकाको निर्णय चित्त नबुझाएर उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका रहेछन् । मुद्दाको टुंगो नभएसम्म शिक्षकहरु विद्यालयमा उपस्थित भएनन् । दसैँताका सर्वोच्चको फैसला आएपछि पनि शिक्षकहरुको पहिलेको स्थानबाट अन्यत्र सरुवा भयो । त्यसले पढाईमा झन असर गरेको बिद्यालयका प्रअ सिताराम थारु बताउँछन् । 

प्रधानाध्यापक नियुक्तिमा उस्तै किचलो

विजय माविमा यसअघि बिर बहादुर बम प्रधानाध्यापक थिए । उनको पुस महिनामा अन्यत्र सरुवा भयो । त्यस्तै सोरु गाउँपालिकाले वडा नम्बर ८ मा रहेको रारा माविमा प्रधानाध्यापक रहेका सिताराम थारुको सरुवा विजय माविमा गर्छ । थारुले शिक्षा नियमावली अनुसार प्रधानाध्यापक बन्नको लागि आफ्नो योग्यता पुग्ने बताउँदै आफूलाई प्रधानाध्यापक नियुक्त गर्न बिद्यालय व्यवस्थापन समितिमा निवेदन दिन्छन् । तर समिति सहमत हुँदैन । 

पौष २३ गते बिद्यालय व्यवस्थापन समितिले शिक्षा नियमावली विपरित प्रावि  शिक्षक रामबहादुर शाहीलाई प्रअ बनाउछन् । त्यसपछि सिताराम थारु उक्त निर्णयविरुद्ध उजुरी लिएर गाउँपालिका कार्यालय पुग्छन् । पौष २४ गते गाउँपालिकाले सीता राम थारूको निवेदनको पक्ष लिई व्यवस्थापन समितिको निर्णय उल्ट्याउँदै थारुलाई गाउँपालिकाले प्रअको जिम्मेवारी तोक्छ । 


गाउँपालिकाले दिएपनि थारूलाई बिद्यालय व्यवस्थापन समितिले  प्रअको जिम्मेवारी दिँदैन । एक महिनासम्म किचलोरहिरन्छ । फागुनको पहिलो साता बल्ल बिद्यालय व्यवसथापन समितिले थारुलाई प्रअको जिम्मेवार दिने निर्णय गर्छ । तर थारुले प्रअको जिम्मेवमरी सम्हमलेको १ महिना नबित्दै गाउँपालिकाले थारुलाई फागुन २४ गते जगत माला मावि धैनमा सरूवा गरिसकेको छ । अहिले विजय मावि निमित्त प्रअको भरमा चलेको छ । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बिटालुले आफुहरुबाट गल्ती भएको स्वीकार गर्छन्, ‘पहिला हामीले नियमविपरीत प्रअ बनाउन खोज्दा हाम्रो गल्ती भएको हो ।’ बिटालु भन्छन्, ‘गल्ती सच्याउँदै फागुनको पहिलो साता सिताराम थारूलाई प्रअको जिम्मेवारी दिएका हौँ” । तर अहिले गाउँपालिकाले बिद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई अन्यत्र सरूवा गरेको छ ।’ 

बिद्यालयमा भएको किचलोबारे शिक्षा विकास तथा समन्वय इकाई पनि जानकार छ । गत बर्ष दरबन्दी मिलानका नाममा धेरै शिक्षकको सरूवा गर्दा समस्या आए पनि त्यो समस्या समाधान भयो तर प्रअको दरबन्दी मिलानमा भन्ने पालिकाले आफूखुसी गर्दा धेरै समस्या आइरहेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्यबहादुर खत्री बताउँछन् । सरी पालिकाले शिक्षा नियमावली मिच्दा बिद्यालयमा काम गर्ने वातावरण नहुने, बिद्यालय शैक्षिक वातावरण धमिलो हुने र शैक्षिक गुणस्तरमा असर पर्ने उनको भनाई छ । 

भवनमा तालाबन्दी हुँदा पढाइ प्रभावित

विधालयको नयाँ भवनमा फागुन २० गतेदेखि तालाबन्दी हुँदा विद्यार्थीहरु जीर्ण भएको भवनमा बसेर पढ्दै आउका छन् । नयाँ भवनमा ताला बन्दी गरेर आफुहरुलाई बाख्रा समान गोठ जस्तो ठाँउमा राखेको कक्षा ८ मा अध्ययनरत छात्रा उब्जा लक्ष्मी मल्ल बताउँछिन् ।  कक्षा कोठा व्यवस्थित नभएको कारण सरहरूले पनि पढाउन आनाकानी गर्ने गरेको बिद्यार्थीहरु बताउँछन् । तलाबन्दीमा गाउँपालिका नै जोडिएको छ । 


भवन मर्मतका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गर्यो । से बजेटमा दुई तले ४ कोठाको भवन मर्मत गरियो । मर्मत पश्चात गाउँपालिकाले ३ लाख ३० हजार दियो तर ६ लाख ७० हजार भुक्तानी गर्न ढिलाई गर्यो । रकम नपाएपछि ८० जना कामदारसहित निर्माण समितीले ताला बन्दी गरेको निर्माण समितिका अध्यक्ष पार्वती योगीले बताईन् । ‘गाउँपालिकालाई पटक पटक भुक्तानीको लागि अनुरोध गरियो । तर हामीले भनेको कुरा जिम्मेवार निकायबाट सुनुवाई नै भएन ।’ रकम भुक्तानी र विद्यालयको भवनमा तालबन्दी सम्बन्धमा प्रश्न गर्दा सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले आफुलाई बिद्यालय भवन तालाबन्दी गरेकाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

एसईईमा सामेल हुनुअघि विद्यालयहरुले बिद्यार्थीलाई पाठ्यक्रम दोहोर्याएर, तेहेर्याएर पढाउने गर्छन् । ताकी उनीहरुले राम्रो अंक ल्यउन सकुन् । तर मुगुको विजय माविका बिधार्थीले आधा पनि पढ्न पाएका छेनन् । शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको किचलोमा बिद्याथीहरु किचिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...