नेभिगेशन
सबै कुरा

७ घण्टादेखि पेट्रोलको लाइन बसेका नागरिकको आक्रोश ‘हामीलाई दुःख दिएर सरकारले के पाउँछ ? ’ (भिडियाे)

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको लापरबाहीका कारण दुई दिनदेखि उपभोक्ताहरू इन्धनको लामो लाइनमा बस्नु पर्यो ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर मजदुरहरूले गरेको आकस्मिक हड्ताल र त्यसलाई तालुकको मन्त्रालय र आयल निगमले  बेलैमा पहल नगर्दा जनताहरू समस्यामा परे । राजधानी देखि देशैभर अत्यावश्यक वस्तु इन्धनको ढुवानीमा प्रभावित बनाइँदा काठमाडौँमा मात्रै कम्तीमा ४ देखि बढीमा ७ घण्टासम्म उपभोक्ताहरू लाइनमा लाग्नु पर्यो । 

Dish Home
Global Ime Bank


अत्यावश्यक इन्धनको ढुवानीमा हड्ताल गर्दा न सरकारले हड्ताल गर्नेलाई कारबाहीको दायरामा ल्यायो न त उपभोक्तालाई सहज रुपमा इन्धन वितरण नै । उल्टै प्रमुख राजनीतिक दलका भातृ मजदुर संगठनको लहैलहैमा भएको आन्दोलनमा संलग्नलाई वार्तामा बोलाएर माग पुरा गर्ने भन्दै समझदारी गर्यो । निगमले ढुवानी व्यावसायीबाट करारमा लिएर चलाएको ट्याङ्करका चालक र सहचालकको सेवा सुविधा तिनै व्यवसायीको जिम्मेवारी हो । तर, मन्त्रालय  र  निगमले उक्त समस्यालाई आफ्नै ठानेर हड्ताल गर्नेलाई संरक्षणको नीति लिएको छ । 


हड्ताल गर्नेलाई बोक्ने सरकारले नीति लिँदा पेट्रोलका लागि दिनभर घाममा लाइन बसेका उपभोक्ताहरू आफूलाई दुःख दिएर सरकारले के पाउँछ भन्दै प्रश्न गरिरहेका छन् । 

सन्देश चरण सैँजु बिहान ७ बजेदेखि नक्सालको नेपाल प्रहरीको पम्पमा लाइनमा बसेको भेटिए । चर्को घाममा पसिनाले निथ्रुक्क भएका उनले सरकारसँग आक्रोश पोखे । 

‘बिहान ७ बजे लाइनमा बस्न आएको, १ बज्न लागिसकेको छ अझै पालो आएको छैन,’ चर्को घाममा नक्सालको लाइनमा बसेका सन्देश चरण सैँजुले पसिना पुछ्दै भने, ‘ कार्टेलिङ गरेर जनतालाई दुःख दिने व्यवसायीलाई कारबाही गर्न नसक्ने सरकारलाई के भन्ने ?'

के कारणले इन्धनको बिक्री वितरण बन्द भएको हो भन्ने समेत थाहा नपाएका उनी सरकार भएको आभास नभएको बताउँछन् ।

त्यस्तै ७ घण्टादेखि पेट्रोल भर्न लाइनमै टट्टिएका रामगोपाल बस्नेत पनि सरकारले दीर्घकालिन योजना बनाएर अघि नबढ्दा आफूहरू जस्ता सर्वसाधारणले समस्या भोग्नुपरेको बताउँछन् । ‘कसले के कारणले पेट्रोल बन्द गर्छ हामीलाई के थाहा रु त्यो त सरकारले बुझ्ने कुरा हो । समस्या समाधान गरेर नागरिकलाई सहज त सरकारले गर्ने हो । हामीलाई दुख दिएर के पाइन्छ ?,’ उनले प्रश्न गरे । 


स्वास्थ्यकर्मीसमेत रहेकी मञ्जली बराल कामका लागि अस्पताल जानका लागि पेट्रोल भर्न भनेर बिहान ७ बजे नै नेपाल प्रहरीले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा पुगेकी थिइन् । तर, दिउँसोको १ बजे हामी पुग्दा उनी त्यही लाइनको बिचमा पेट्रोल भर्न पाइन्छ कि भनेर पालो कुरिरहेकी भेटिइन् । 

‘भोको पेट, पानी समेत पिउन पाएका छैनौँ । काममा जाने त खै के हो हो ?’, उनी आक्रोश पोख्छिन्, ‘हामीलाई दुःख दिएर के पाइन्छ ?’

पेट्रोल पम्पमा इन्धन नपाइएको बारे बुझ्न हामी बालुवाटारको श्री जय गोमा गणेश आयल स्टोरमा पुग्दा बालुवाटारकै राधा कोइराला पम्पमा पुगेकी थिइन् । सोमबारदेखि स्कुटरमा तेल नभएर चलाउन नपाएकी उनी पेट्रोल पाइन्छ कि भनेर बेलाबेला पम्पमा पुग्छिन् तर निराश भएर फर्किन्छिन् । 

‘तेल नपाएर पैदल हिँड्नुपर्ने अवस्था आयो । २ दिन हुन थाल्यो स्कुटर थन्क्याएर राखेको छु । सरकार त छ नि तर के गर्नु, दुःख पाइएको छ । पैदल हिँड्नु परेको छ अहिले ।’, सिधाकुरासँग उनले भनिन् । 


आन्दोलन फिर्ता

सरकारले आन्दोलनकारीको समस्या समाधान गर्न कार्यदल बनाउने निर्णय गरेपछि नेपाल पेट्रोलियम ट्यांकर चालक संघले हड्ताल फिर्ता लिएको छ । ३६ घण्टा लामो हड्तालपछि सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिएको हो । 

संघले उठाएका माग सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ । निगमको बजार विभाग हेर्ने नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिमा मन्त्रालय, आन्दोलनरत श्रमिक संघका प्रतिनिधि रहनेछन् । सहमतिपछि इन्धन वितरण सहज हुने भनिएको छ । 

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापन, जरिवाना घटाउनु पर्ने लगायतको माग अघि सारेका छन् । आफ्नो ट्याङ्करको साहुजीसँग माग्नु पर्ने माग सरकारी निकायसँग राखेर हड्ताल गरिँदा पनि सरकार भने मौन बसेर जनताको दुःख हेर्नमै उद्धत रह्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

चौध वर्षदेखि साउदीमा बेपत्ता बनाइएकी सञ्चमायाको पर्खाइमा परिवार

“आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन”, सञ्चमायाकी छोरी सृजनाले भनिन्, “एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नु भएछ । त्यसपछि साउदी पुर्याएको खबर सुनियो । तर...
बजेट अभावले बागलुङको आधारभूत अस्पताल अधुरै

बजेट अभावले बागलुङको आधारभूत अस्पताल अधुरै

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने देखिन्छ । लामो समयसम्म काम गरेको भुक्तानी...
वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।