नेभिगेशन
सबै कुरा

स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

पाटन (ललितपुर)। गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बसेका छन् । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँचेका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताए । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उनले भने ।

Extreme Energy

बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झरे डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाएनन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देखे, तर उनी घर पुग्नै पाएनन् ।

“पहिरो यति तीव्र गतिमा झर्यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भने ।

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परे ।

“भर्याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भने । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित छन् । उनका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्किएका थिए ।

डुकुमानलाई आश्रय दिएर राखिरहेका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उनले भने ।

बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहेका छन् । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भने ।

मानिखेलमा छको मृत्यु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताए ।

“मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उहाँहरुले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भने, “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।”

वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उनले भने ।

वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एकरदुई दिनमा वितरण गर्नेछौँ”, उनले भने ।

विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताए ।

“विस्तापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरुलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरुप पाउनेछ”, प्रमुख फुयाँलले भने ।

महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

- रासस


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...