नेभिगेशन
सबै कुरा

एमालेले निलम्बन गरेका सांसदले फेसबुकमा लेखेका थिए, ‘रविलाई थुन्ने, मिनबहादुरसँग जग्गा लिने ?’

काठमाडाैँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवको मानहानी हुने अभिव्यक्ति दिएको भन्दै सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो । बाँके एमालेको जिल्ला सचिवालय बैठकले मङ्गलबार चौधरीलाई निलम्बन गरेको हो ।


Dish Home
Global Ime Bank

जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङले चौधरीलाई पठाएको पत्रमा उनले निरन्तर पार्टी र पार्टीका अध्यक्ष, महासचिवको मानहानी हुने गरि सामाजिक सञ्जालमा लेखेको बताइएको छ । ‘२०८१ कार्तिक ५ गतेका दिन पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसायका साथ पार्टीका केन्द्रिय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यता विपरित सार्वजनिक रुपमा गाली गलौज गर्ने, समाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईँलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो ।’ कारबाहीका लागि चौधरीलाई बुझाइएको पत्रमा भनिएको छ ।


त्यस्तै पार्टीको हित विपरित अभिव्यक्ति दिएपछि सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नपाएको एमाले बाँकेका अध्यक्ष गुरुङले लेखेको पत्रमा उल्लेख छ ।‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी, नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु ।’

माओवादी केन्द्र पृष्ठभूमिका सांसद चौधरी २०७९ को निर्वाचनमा नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित भएका थिए । पार्टीको हित विपरित काम गरेको भन्दै उनलाई प्रदेश कमिटीले समेत हटाएको थियो । 

पार्टीबाटै निष्कासन गर्ने त्यो स्टाटस

एमाले बाँके जिल्ला कमिटीले सांसद दुर्गा प्रसाद चौधरीलाई पठाएको निलम्बन पत्रको सुरुमै एक मिति खुलाइएको छ । जहाँ २०८१ कात्तिक ५ गते बसेको पार्टीको जिल्ला कमिटीको बैठकले उनलाई स्पष्टीकरण सोधिएको उल्लेख छ । 

पार्टीका जिल्ला अध्यक्ष गुरुङले सांसद चौधरीलाई पार्टी सदस्यताबाट निलम्बन गर्नुमा विविध कारण रहेको उल्लेख गरेका छन् । गुरुङ चौधरीलाई कारबाही गर्नुपर्ने कारण धेरै रहेको बताएपनि पछिल्लो कारण भने भाटभटेनीका साहु मिनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाबारे उनले फेसबुकमा लेखेको स्टाटस रहेको बुझिएको छ । 

मिनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान दिने घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरे । 

शिलान्यासपश्चात एमाले महासचिव शंकर पोखरेलले सञ्चारमाध्यममा उक्त कार्यक्रमबारे जानकारी दिएका थिए । सोही भिडियो सामाजिक सञ्जाल टिकटकमा नवराज महतरा नाम भएको अकाउन्टबाट अपलोड गरेका थिए । ४५ सेकेन्ड लामो सो भिडियोको लिंक सांसद चौधरीले असोज २९ गते आफ्नो फेसबुक अकाउन्टमा सेयर गर्दै सिंगो प्रवृत्ति र महासचिव पोखरेलमाथि टिप्पणी गरेका थिए ।

सांसद चौधरीले कसैलाई चाँही पार्टीको प्रबन्ध निर्देशक भएकै हिसाबमा सहकारीबाट आएको पैसाका जिम्मा लिनुपर्छ भन्नेले मिनबहादुरले दान कुन मनसायले दिए भन्ने हेक्का राख्नुपर्दैन भन्दै महासचिवमाथि प्रश्न उठाएका थिए । उनले लेखेका थिए, ‘कति मख्ख परेको नेता ज्यु, अस्ति भर्खर त कसैलाई प्रबन्ध निर्देशक भएको हिसाबले सहकारीबाट आयको पैसाको जिम्मा लिनुपर्छ भन्नु हुन्थ्यो त ? यत्रो सम्पत्ति दान कुन मनसायले गरियो विचार गर्न पर्दैन ? ठुलाले गल्ती गर्दा ताली बजाइदिन पर्ने, तलकाले गल्ती गर्दा कारबाहीको तरवार देखाउने । छि छि अनैतिक राजनीति !’


यहि पोस्टलाई आधार मानेर बाँके एमालेले उनलाई कारबाही गरेको छ । 

‘पार्टी क्षयिकरण गर्ने मनसाय राखे, माफी मागे मौका दिन्छौँ’

नेकपा एमाले बाँके जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङ सांसद चौधरीले पार्टी क्षयिकरण गर्ने मनसाय राखेर सार्वजनिक रुपमा उत्रिएको बताउँछन् । पार्टीका गतिविधिमा संलग्न नहुने, गुटबन्दी गर्ने, कार्यक्रममा नआउने, नेता कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा खेदो खन्ने कार्य गरेका कारण उनलाई कारबाही गरिएको उनको आरोप छ । 


‘पछिल्लो ५/६ महिना भयो उहाँ पार्टीका कार्यक्रममा नजाने, पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा पार्टीलाई नै क्षयिकरण हुने गरि सार्वजनिक अभिव्यक्ति दिने, नेता कार्यकर्ता बिरामी भयो भने मादक पदार्थ सेवन गरेर बिरामी भयो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने कार्यमा संलग्न हुनुहुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘एउटा पार्टीबाट जिम्मेवार पदमा पुगेको व्यक्तिले पार्टी, नेताहरुविरुद्ध खुइल्याउने तरिकाले लेख्ने, पार्टी क्षयिकरण हुनेगरि लेख्ने, एमाले पार्टीले केही गरेन भनेर लेख्ने गरेकाले उहाँलाई स्पष्टीकरण सोधिएको थियो । चित्त बुझ्ने जवाफ नपाएपछि कारबाही गर्ने निर्णय गरेका हौँ ।’

त्यस्तै सांसद चौधरी सच्चिएर माफी मागेर पार्टीमा आउँछु भन्ने चाहे पार्टीले मौका दिने उनी बताउँछन् । 

‘पार्टीले किस्तिमा राखेर सांसद पद सुम्पिएको हैन, गलतलाई गलत भन्नु जनप्रतिनिधिको कर्तव्य हो’

पार्टीले निलम्बन गरेको भन्दै प्रचारप्रसार गरेपनि हालसम्म आफूलाई यसबारे जानकारी नभएको सांसद चौधरी बताउँछन् । सञ्चारमाध्यममा विधानको हवला दिँदै कारबाही गरेको बताइएपनि आफूलाई अहिलेसम्म कारबाहीको पत्र नआएको उनको भनाई छ । 

पार्टी र नेताविरुद्ध अभिव्यक्ति किन दिनुभएको भन्ने हाम्रो प्रश्नले उनले आफूले पार्टी र नेताविरुद्ध नभई प्रवृत्तिविरुद्ध अभिव्यक्ति दिएको बताए । त्यस्तै नेताहरुको यस्तै प्रवृत्तिले भोली पार्टीनै नरहने हो कि भन्ने चिन्ताले आफूले सचेत गराएको उनी बताउँछन् । ‘मिनबहादुर गुरुङसँग जुन जग्गा लिनुभएको छ, त्यो लिन मिल्दैन भन्ने मेरो धारणा हो । अझै पनि म आफ्नो धारणामा अडिग छु,’ उनले भने, बालुवाटार जग्गा प्रकरणदेखि लिएर कर छलि गरेका कारण सम्पत्ति शुद्धिकरण, अख्तियार, अदालतमा मुद्दा विचाराधिन रहेको व्यक्तिसँग साँठगाँठ गर्ने निति लिनु गलत हो । यो पार्टीका वा पार्टीका केही व्यक्तिका लागि ठिक भएपनि यो देश र जनताका लागि ठिक छैन भनेर विरोध गरेको हुँ ।’

त्यस्तै कानुन सबैका लागि बराबर हुनुपर्ने उनी बताउँछन् । कसैलाई चाँही प्रबन्ध निर्देशक होस् भन्दै थुनामा हाल्ने कसैलाई चाँही संरक्षण दिएर उसैबाट अर्बौको दान लिने न्यायोचित नहुने उनी बताउँछन् । 

सांसद चौधरी आफूलाई व्यक्तिगत इगो साँधेर कारबाही गरिएको बताउँछन् । कमिटीका पदाधिकारीहरु आफूलाई गिराउनका लागि माफी मागोस भन्ने चेष्ठामा रहेको तर आफू माफी नमाग्ने उनी बताउँछन् । ‘म गलत कुरालाई गलत हो भन्न पछि पर्नुहुँदैन भन्ने व्यक्ति हुँ । यो जनप्रतिनिधिको कर्तव्य पनि हो । कसैको इगोका कारण कारबाही गर्छु भनेर विधानको हवला दिनु कानुनसम्मत हुँदैन । मलाई कमजोर देखाएर माफी मगाउन लागिपरेका छन् तर माफी माग्दिनँ ।’, सांसद चौधरीले भने । 

त्यस्तै उनले आफूलाई पार्टीले टिका लगाएर सांसद पद दिएको नभएर पार्टीले भन्दैमा सांसद पद नजाने र पार्टीको यो कदमविरुद्ध कानुनी उपचारमा जाने बताए । 

एमालेको विधानमा के छ ?

नेकपा एमालेको विधान २०४९ ९(संसोधनसहित) का अनुसार धारा ८१ ले अनुशासनको कारबाहीसम्बन्धी व्यवस्था गरेको छ । एमाले बाँके जिल्ला कमिटीले सांसद दुर्गा चौधरीलाई यहि धाराको उपधारा ७ बमोजिम कारबाही गरेको जनाएको छ । 

सो उपधारामा पार्टी सदस्यताबाट निलम्बन गर्ने अधिकतम् अवधि दुई वर्षसम्म हुनेछ भनि उल्लेख गरिएको छ तर जिल्ला कमिटिलाई एकलैटी निलम्बनको अधिकार सो उपधाराले दिएको छैन । बरु उपधारा ३ र ८ ले कारबाहीको अधिकार तोकेको छ ।


उपधारा ३ र ८ मा पार्टी सदस्यताबाट निस्कासनको कारबाही गर्दा माथिल्लो कमिटीको अनुमोदन अनिवार्य हुन्छ भनिएको छ । तर यो उपधाराले पनि निलम्बनको अधिकार प्रत्यायोजन गरेको छैन् । अझ अनौठो कुरा त के छ भने बाँके जिल्ला कमिटीले कुनै माथिल्लो कमिटीको अनुमोदनबिना नै पार्टीको सदस्यबाट उनलाई हटाएको छ । जुन सरसर्ती हेर्दा विधानविपरित देखिन्छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए, न आफूमाथि छानबिन गर्न आँट देखाए...
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार
अफताब आलमः ज्यूँदै मान्छेलाई इँटाभट्टामा पाेलेको आरोपदेखि उच्चको सफाइसम्म

अफताब आलमः ज्यूँदै मान्छेलाई इँटाभट्टामा पाेलेको आरोपदेखि उच्चको सफाइसम्म

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या...

भर्खरै