नेभिगेशन
समाज

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

काठमाडौँ । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ । त्यस उद्योगले खाजाका रुपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट पनि उत्पादन गर्दै आएको छ ।
 
पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र मुलाको सिन्की सुकाइएको पाइन्छ । साग र गुन्द्रुक ओल्टाइपल्टाइ गर्न चार पाँच जना महिला निरन्तर लागि परेको देखिन्छ । उद्योगका सञ्चालक पशुपति भुसाल भन्छन्, “विदेशमा रहेका साथीभाइले हाम्रा पुराना चिजवस्तु ‘च्याख्ला, कोदो, मकै, गुन्द्रुक, तिलको छोप, टिमुर, अकबरे खुर्सानी, मास दालसहितका गेँडागुडी पठाइदेऊ’ भन्ने माग भएपछि छानालाई गुद्रुकमय बनाएको हुँ ।” पुरानो पेसाबाट बाहिरिएको नभई समयअनुरुप पेसा–व्यवसायलाई विविधीकरण गर्ने क्रममा नेपाली गुन्द्रुकको बजारीकरणमा लागेको उनको भनाइ छ ।
 
अहिले रुचाइएको खानपिनले मानिस पुनः पुरानै युगमा प्रवेश गरेको हो की भन्ने भान भएको छ । विगतमा बाआमा र हजुरबाले खाएको कोदो, गुन्द्रुक, जौ र फापरको पीठोको माग अहिले विदेशमा पनि ह्वात्तै बढेको छ । नेपालीको बसोबास बाहुल्य भएका मुलुकमा गुन्द्रुकको माग अधिक छ । गुन्द्रुकको झोल र अचारलाई नेपाली भान्सामा लोकप्रिय परिकारका रुपमा लिने गरिन्छ । पछिल्लो समय चौरासी बेञ्जन थालीमा पनि गुन्दु्रक अनिवार्य मानिएको छ । छिटो झट्पट् तरकारी बनाउन पर्‍यो भने गुन्द्रुक नै खोजिन्छ ।
 
गन्द्रुकका बारेमा विद्यावारिधी गरेका टीकाबहादुर कार्की मुख्यतः गुन्द्रुक नेपालकै स्थानीय उत्पादन भएको बताउँछन् । यद्यपि, जापान र चीनमा विभिन्न साग तथा युरोपलगायतका मुलुकमा बन्दागोभीमा नुन राखेर नेपाली गुन्द्रुकसँग मिल्दोजुल्दा खाद्यवस्तु उत्पादन हुँदै आएको छ ।
 
जिब्रोलाई ट्वाक्क छुने अमिलो र स्वादिलो ‘तिउन’ गुन्द्रुक नै हो । नेपाली भान्सामा जाडो होस् वा गर्मी सदाबहार उमालिने तिउन गुन्दु्रक नै हो । नेपालका गाउँबस्तीदेखि सहरका सुपरमार्केटसम्मका पसलमा प्याकिङमा गुन्द्रुक बिक्री हुने गरेको छ । जाडो वा गर्मी, ढिँडो होस् वा भात गुन्द्रुकको झोलसँग ‘सर्‍याप्प’ मुछेर खाँदाको फूर्ती र आनन्द बेग्लै हुन्छ । स्वादको त बयान नै गर्न सकिन्न ।
 
“नेपाली गुन्द्रुकमा पाइने अमिलोपन स्वादका हिसाबले अनुपम छ, त्यसकारण पनि गुन्द्रुकको लोकप्रियता बढ्दो छ”, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक कार्की भन्छन् ।
 
यस वर्ष काठमाडौँ उपत्यकामा रायो साग निकै सस्तो भयो । त्यसो त भक्तपुर आफैँमा मुलुकभर रायो र काउलीलगायत हरिया सागपात प्रशस्त उत्पादन हुने जिल्लाका रुपमा कहलिएको छ । प्रतिकिलो रु १५ सम्म रायको राम्रो पनि पाइयो ।
 
उद्योगका संस्थापक भुसाल भन्छन्, “महँगोमा उद्योगले केजीको रु ८० सम्ममा खरिद गरेको थियो । खासगरी रायो, तोरी, सस्र्यूं, काउली, मुला आदिको गुन्द्रुक बनाइन्छ । सागको भाउ नेपाली बजारमा खासै चर्को छैन, सस्तै पाइन्छ । त्यस उद्योगले एक पटकमा एक हजार किलोसम्म साग खरिद गर्दै आएको छ । किसानलाई पनि एकै ठाउँमा आफ्नो उत्पादन दिँदा नै सहज भयो । स्थानीयस्तरबाटै पर्याप्त उपलब्ध भइरहेको छ ।”
 
गुन्दु्रक बनाउन कम्तीमा पनि १५ देखि २० दिनको प्रक्रिया पूरा गर्नुपर्छ । साग किन्ने, केलाउने, धोइपखाली गर्ने, सीधा घाममा सुकाउने, थिच्ने र फेरि सुकाउने, तौल गर्ने, प्याकिङ गर्ने र माग आएबमोजिम बजारसम्म पुर्‍याउने काम उद्योगले गर्दै आएको छ । देख्दा सामान्य लागे पनि सबै चरण पूरा गर्ने विषय जटिल नै छ । बाहिर पठाउँदा अझ सचेत हुनुपर्छ ।
 
उद्योग सञ्चालक भुसाल सरसफाइमा विशेष ध्यान पुर्‍याइएको बताउँछन्। “यहाँ उत्पादन गरिएको गुन्द्रुकमा शुद्धता र गुणस्तर कायम छ”, उनले भने । नेपालका सबै जिल्ला र गाउँबस्तीमा गुन्द्रुक बनाइन्छ, पकाइन्छ र मीठो मानेर खाइन्छ ।
       
गुन्द्रुक सहजरुपमा विदेश निर्यात गर्न सञ्चालक भुसालले सरकारका संयन्त्रसँग कुराकानी गरिरहेका छन् । गुन्दु्रक तयार गर्ने प्रक्रिया केही लामो भएको र त्यसमा  खटाउन पर्ने जनशक्तिका कारण लागत मूल्य बढी नै हुने गरेको छ । त्यस उद्योगले दालजन्य गेँडागुडीका अतिरिक्त रायोको गुन्द्रुक र मुलाको सिन्की तयार गर्दै आएको छ ।
 
प्रारम्भमा एक सय किलो रायोको सागबाट सुरु गरेकामा दैनिक एक हजार पाँच सय किलोसम्म साग खरिद गर्न सफल भएको छ । एक सय किलो रायो सागबाट करिब १० किलो गुन्दु्रक तयार हुने सञ्चालक भुसालको भनाइ छ । तोरीको गुन्द्रुकको विदेशमा ठूूलो माग छ । तर काठमाडौँ उपत्यकाले त्यो माग धान्न सक्ने अवस्था छैन । सरकारले त्यसका लागि तराई–मधेसका कुनै क्षेत्र विशेषलाई ‘पकेट’ क्षेत्र घोषणा गर्न आवश्यक देखिएको उनको भनाइ छ ।
 
उद्योगले आफ्ना उत्पादनको विविधीकरण गर्ने उद्देश्यले सुरु गरेको गुन्द्रुकका लागि अहिले सूर्यविनायक, सानोठिमी र बोडे इलाकाबाट साग सङ्कलन भइरहेको छ । गुन्द्रुकका लागि छिप्पिएको र ठूला पात भएको साग राम्रो मानिन्छ । रायोका साग पनि विभिन्न प्रकारको पाइन्छ । मीठो गुन्द्रुक बनाउने र गुणस्तर कायम गर्ने सवालमा पाका पुराना पुस्ता स्वयम् विषय विज्ञकारुपमा रहनुभएको छ– उद्योगी भुसाल भन्छन् । उद्योगले उनै पुराना पुस्ताका कामदारलाई प्रशिक्षक बनाएर गुन्द्रुक र सिन्की तयार गरिरहेको छ ।
 
‘थकाली भान्सामा गुन्द्रुक अनिवार्य नै मानिन्छ । आलु–गुन्द्रुक, गुन्द्रुक–भट्टमास, तितौरा, गुन्दु्रक बोडी, आँपको चानासँग पनि गुन्द्रुक मिसाएर पकाइन्छ । गुन्द्रुकमा पनि हरियो सागमा पाउने गुण छ । विश्वका कयौँ मुलुकले खाद्य परीक्षण गरी गुन्द्रुकलाई खानयोग्य भनेर प्रमाणित गरिसकेको छ । विदेशी साथीभाइले गुन्द्रुकलगायतका यहाँका रुचाउनुभएको छ । गुणस्तरका लागि धन्यवाद नै पाइएको छ ।’, उद्यागी भुसाल भन्छन् ।
 
कलिलो र छिपिएको साग र निर्धारण गरिएको प्रक्रिया पूरा गरेका आधारमा गुणस्तर हुने गर्छ । भाटभटेनी, मार्ट र अन्य स्टोरमा नमूनाका लागि पठाइसकिएको उनको भनाइ छ । गुन्द्रुक प्रतिकिलो सात सयदेखि एक हजार पर्छ । “यसमा काम गर्ने सपनादेखि रहेको छु । त्यो पूरा हुनेमा उत्साहित नै छु । गुन्दु्रकसँग सबै चिजवस्तुमा उत्पादनको लोगो लगाएर गाडीभरि बजारमा पठाउने कोसिसमा छु  । त्यसका लागि रातदिन खटिरहेको छु”, व्यवसायी शान्ता अधिकारी  बताउँछिन् । 
 
कोरोना अघि ऋण लिएर लगानी गरियो, त्योअनुरुपको प्रतिफल त भएन । व्यापार सबै क्षेत्रमा घटेको छ । ब्याज घटेको छैन । त्यसमै रहँदा ऋणबाट उम्कन नसक्ने अवस्था भएपछि गुन्दु्रक र आँटोपीठोतिर लागेको उनको अनुभव छ । व्यापार गर्ने सन्दर्भमा स्वदेशै प्राथमिकता दिए पनि मालसामान बजारमा पठाएपछि पैसा उठिहाल्छ भन्ने सुनिश्चित छैन । बाहिर पठाउँदा पैसा ‘एड्भान्स’मा आउने भएपछि त्यसलाई मध्यनजर गरी अघि बढिरहेको अधिकारीको भनाइ छ ।
 
उद्योगले प्रतिदिन करिब एक सय ५० किलोसम्म गुन्द्रुक निकालिरहेको छ । जाडोयाममा प्रशस्तै साग प्राप्त भए पनि अरु मौसममा त्यसको व्यवस्थापन कसरी मिलाउने भन्ने प्रश्न छ । कसैलाई हेपेर गाली गर्नुपर्‍यो भने ‘यो गुन्द्रुकले केही गर्न सकेन’ भन्दा यसको महत्त्व नबुझेको हो कि भन्ने भान पर्न सक्छ । हुन त नेपाली समाजमा ‘जात फाल्नु गुन्द्रुकको झोलमा’ भन्ने अर्गानिक उखान नै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी,  फेरि बढ्यो अव्यवस्थित पार्किङ  (तस्बिरहरू)

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका...
कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा गरिरहेका छन् ।
पूर्वाधार मन्त्रालयको पत्रपछि भूमि व्यवस्थाले अघि बढायो काठमाडौँका सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया

पूर्वाधार मन्त्रालयको पत्रपछि भूमि व्यवस्थाले अघि बढायो काठमाडौँका सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया

र्षा सुरु भएसँगै सुकुम्वासी तथा अव्यवस्थित बसोबासी राखिएको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा डुवानको समस्या बारम्बार दोहोरिन थालेको छ । शुक्रबार राति पनि एक्कासि बाढी पसेपछि त्यहाँ रहेका सुकुम्बासीहरु डुवानमा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...