काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
भिजिट भिसाको नाममा गैरकानुनी ‘सेटिङ’ मिलाएर यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने कागजात अभिलेख गर्नुपर्नेमा नगरी÷नगराई दुःख हैरानी दिई यात्रुहरूबाट घुस/रिसवत लिने साथै उपहार लिने, मोबाइल लगायतका सामान खरिद गराउने गरेको भन्दै अख्तियारले भट्टराईसहित तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रा.लि का अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेजका सञ्चालक र कर्मचारी राम खड्काविरुद्ध मुद्दा दायर गरिएको हो । भट्टराईकी गाउँले बहिनी कविता पौडैल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ ।
Watch On
भट्टराईसँग ७९ लाख ८० हजार बिगो दाबी गरिएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रूपैयाँ मागदाबी गरिएको छ । कविता र खेमप्रसादलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ ।
अख्तियारका अनुसार भट्टराईले भिजिट तथा पर्यटन भिसामा विदेश जाने यात्रुलाई दुःख दिई घुस असुल्ने जालो सञ्चालन गरेका थिए । भट्टराईले आफ्नो पदसँग प्रत्यक्ष स्वार्थ बाझिने ट्राभल व्यवसायी बालकृष्ण खड्का र दीपक भण्डारीसँग मिलेर यात्रुको नाम, गन्तव्य, र छुट्टै दररेट राखेर घुस लिएको पुष्टि भएको छ ।
उनकै डायरीमा पुरुष यात्रु २० हजार र महिला यात्रुसँग ४० हजार भनेर घुसको हिसाब राखिएको भेटिएको अख्तियारले बताएको छ । अनुसन्धानमा भट्टराईले यात्रु परिचालन गर्ने समूहसँग दैनिक सम्पर्क, भेटघाट, उपहार ग्रहण गर्ने गरेको र घुसबाट उठेको रकमलाई कविता पौडेल र खेमप्रसाद सुवेदीमार्फत जग्गा खरिद गर्ने गरेको प्रमाण खुलेको छ । कविता पौडेलको नाममा रहेको मोबाइल सिम भट्टराईले आफैँ प्रयोग गरी यात्रुको गोप्य सुची आदानप्रदान गर्ने गरेको तथ्य पनि डिजिटल फरेन्सिकबाट पुष्टि भएको अख्तियारको दाबी छ ।
भट्टराईले कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्याललाई घरमै बोलाएर ८ लाख दिएको स्वीकृति बयान पाएको अख्तियारले जनाएको छ । त्यस्तै, रेष्टुरेन्टको झोलामा ‘पार्सल’ दिएझैँ गरी रकम बुझाउने र भट्टराई स्वयं त्यसै झोला लिन आउने गरेको विवरण पनि बयान, सन्देश र डायरीका नोटबाट प्रमाणित भएको अख्तियारको दाबी छ ।
अनुसन्धानका क्रममा विदेश पठाइएका केही यात्रु फिर्ता आएर अख्तियारमा उपस्थित भएका थिए । उनीहरूले नेपालमा झुटा सपना देखाइएको, विदेशमा अर्कै काम लगाइएको, ठगिएको पैसा फिर्ता पाउन नसकेको तथा कैयौँले यातना भोग्नुपरेको भनी बयान दिएका छन् । भिजिट भिसाका लागि अध्यागमनले तोकेको ६ बुँदे अनिवार्य कागजात, राहदानी, टिकट, होटल बुकिङ, खर्च प्रमाण, स्वघोषणा लगायतका विवरण सिस्टममा अपलोड नगरी जानाजानी अवरोध सिर्जना गरी घुस असुल्ने कार्य भएको अख्तियारको ठहर छ ।
भट्टराईको मोबाइल तथा ल्यापटपको फरेन्सिक परीक्षणमा यात्रुको पासपोर्ट, इमेज, घुस हिसाब भएका डायरीका फोटोपछि डिलिट गरिएको डेटा समेत फेला परेको अख्तियारले जनाएको छ ।
कसरी हुन्थ्यो सेटिङ ?
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई अध्यागन कार्यालयमा २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म कार्यरत थिए । कार्यरत रहँदा उनले भिजिट भिसामा विदेश यात्रा गर्दा आवश्यक पर्ने कागजातहरु बिनै भिजिट भिसामा विदेश जाने नेपालीहरुलाई समस्यामा पारी घुस वापत पैसा लिने र त्यसका लागि विभिन्न ट्राभल एजेन्सीका व्यक्तिहरु बाल कृष्ण खड्का र दिपक भण्डारी समेतसँग सेटिङ गर्ने गरेका थिए । भट्टराईले उनीहरुसँग नियमित सम्पर्क भेटघाट गर्ने, निजहरूबाट उपहार लिने, मोबाइल लगायतका सामानहरू खरिद गराउने गरेको देखिएको छ । तिर्थराज भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्का समेतको भेनोलिभा रेष्टुरेण्टमा गई राम खड्काबाट घुसवापतको रकम नै लिने गरेका थिए ।
ट्राभल सञ्चालक बाल कृष्ण खड्का तथा दिपक भण्डारीले विभिन्न माध्यमबाट टिपाएका विदेश जाने यात्रुहरुको नाम आफ्नो डायरीमा पटक–पटक टिपोट गरी सो बापत प्राप्त हुने घुस रकमको हिसाबकिताब भट्टराईले राख्ने गरेका थिए ।
त्यसपछि सेटिङमा विदेश उडाएका यात्रुको विवरण बाल कृष्ण खड्कालाई जानकारी समेत दिने गरेका थिए । साथै तिर्थराज भट्टराईले सेटिङको पैसा ओसारपोसारका लागि अध्यागनकै प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञराज अर्याललाई खटाउने गरेका थिए । उनले अर्याललाई आफ्नो घरमा बोलाई घुसको ८ लाख रुपैयाँ दिएको विवरण अख्तियारले फेला पारेको छ ।
साथै तिर्थराज भट्टराईले यसरी सेटिङका लागि कविता पौडेलको नाममा रहेको मोबाइल सिम प्रयोग गरी यात्रुहरूको नामावली आदानप्रदान गर्न सो सिमलाई प्रयोग गर्ने गरेका थिए । त्यती मात्रै होइन उनले घुसमार्फत संकलन हुने पैसा व्यवस्थापन पनि कविता पौडेल मार्फत गर्ने गरेका थिए । अख्तियारका अनुसार पौडेल उनकी गाँउले बहिनी पर्ने व्यक्ती हुन् ।
भट्टराईले भिजिट भिसामा विदेश जाने यात्रुहरुको पासपोर्टका इमेजहरू आफूले प्रयोग गर्ने ल्यापटपमा समेत राख्ने गरेका थिए । साथै भिजिट भिसामा विदेश जाने महिलाहरुको मात्र एकमुष्ट सूचीलाइ उनले नबुझिने गरी ब्लर गरेर मोबाइलमा फोटो खिचेर राख्ने गर्थे जुन विवरण ट्राभल सञ्चालक बालकृष्ण खड्का र दिपक भण्डारीले पठाएका हुन्थे ।
दुवै जनाको डायरी तथा ल्यापटप र मोवाइलमा भेटिएको विवरणमा एउटै नाम रहेका छन् । साथै उनीहरुले यात्रुको उडान मिति सहितको विवरण एक अर्काले मात्रै बुझ्ने तरीकाले सुरक्षीत राख्ने गरेका थिए । भट्टराईले बाल कृष्ण खड्का, दिपक भण्डारीहरूले पठाएका नामका यात्रुलाई उडाए बापत प्राप्त हुने रकम अध्यागमन अधिकृतहरुबीच बाँडफाँड गर्ने गरेका थिए ।
त्यसमध्ये मोटो रकम भट्टराईले कविता पौडेलको नाममा जग्गा कारोबारी समेत रहेका खेम प्रसाद सुवेदी मार्फत जग्गा खरिद गरेका थिए । यसका लागी भट्टराईले घुसको रकम कविता पौडेलमार्फत खेम प्रसाद सुवेदीलाई दिएका थिए । खेम प्रसाद सुवेदीले कविता पौडेलबाट पटक–पटक नगदै रकम लिएको र उक्त रकम लिन जाँदा तिर्थराज भट्टराईलाई सोधेर मात्र रकम लिन जाने गरेको, खेम प्रसाद सुवेदीलाई नगदै रकम दिँदा कविता पौडेलले आफ्नो कार्यालयमा काम गर्ने मोहन अधिकारीलाई बैङ्कबाट रकम झिक्न लगाएको र बैङ्कमा रकम रहेको स्रोत देखाउनका लागि सोनाम तामाङ्गसँग सरसल्लाह गरी जग्गाको बैना फिर्ता गरेको कागज समेत गराएका थिए ।
अर्थात तिर्थराज भट्टराईले घुस रिसवत वापत प्राप्त रकम कविता पौडेल तथा खेम प्रसाद सुवेदीमार्फत परिचालन गराउने गरेका थिए । भट्टराईले बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेम प्रसाद सुवेदी समेतसँग सेटिङ्ग गरी २५७ जना नेपाली यात्रुहरुलाई भिजिट भिसामा विदेश पठाएको अख्तियारको दाबी छ ।
उनीहरुबीचको फोन संवादको विवरण पनि अख्तियारले उल्लेख गरेको छ । तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा रहेको समयमा कविता पौडेलसँग ८५८ पटक, बाल कृष्ण खड्कासँग ११८ पटक, दिपक भण्डारीसँग २५३ पटक र खेम प्रसाद सुवेदीसँग ५३ पटक फोनकल भएको भेटिएको छ । यस्तै भट्टराईले ट्राभल सञ्चालक बाल कृष्ण खड्का एवं दिपक भण्डारीसँग यात्रुहरुका नामावली टिपोट गर्ने तथा घुस लिने तथा रकम परिचालन गर्ने विषयमा सयौँ पटक म्यासेज गरेको देखिन्छ ।
यस्तै अख्तियारका अनुसार कविता पौडेलले आफ्ना डायरीमा खेम प्रसाद सुवेदीले विभिन्न समयमा लिएको रकमको विवरण टिपेकी थिइन् । अख्तियारले यो चरणको अनुसन्धान उनीहरुमाथी मात्रै केन्द्रित गरेको छ । अख्तियारले २५७ जनालाई भिजिट भिसामा विदेश पठाउँदा घुस लिएको अभियोगमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई, बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल, खेम प्रसाद सुवेदी, यज्ञराज अर्याललाई जनही बिगो र जेल सजाय माग दाबी गरिएको छ ।
कसलाई कति बिगो ?
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईलाई ७९ लाख ८० हजार बिगो माग गरिएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग ८ लाख बिगो माग गरिएको छ । ग्रिनलाइन होलिडेज प्रा.लि. र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार बिगो माग गरिएको छ ।
फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा।लि। र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीविरुद्ध १० लाख ६० हजार बिगो मागदावी गर्दै मुद्दा दायर गरिएको छ ।
ग्रिनलाइन होलिडेज प्रा।लि।का तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार र खेम प्रसाद सुवेदीबाट ७९ लाख ८० बिगो मागदावी गरिएको छ ।त्यस्तै तिर्थ राज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीसँग सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा १ करोड ३ लाख ७९ हजार ६०० का दरले थप बिगो माग गरिएको छ ।
जसलाई अख्तियारले छोएन
भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी चर्चामा रहेको नाम थियो, तत्कालीन गृहमन्त्री रमेश लेखक, उनको सचिवालय, गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्ण मणि दुवाडी तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजाल । गृहमन्त्री लेखककै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो ।
घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।
वर्षौँदेखि अध्यागमनका कर्मचारीले विभिन्न म्यानपावर र मानव तस्करी गर्ने एजेन्सीहरुसँग मिलेर असुली गर्ने र सेटिङबाट आएकाहरुलाई मात्रै विदेश पठाउने धन्दा चलाउँदै आएका थिए । विमानस्थल अध्यागमनमा कमाउनका लागि जान कर्मचाारीको हानथाप हुने गरेको थियो । यसका लागि ठूलो रकम बुझाएर सेटिङमा सरुवा मिलाउनुपर्ने गृह मन्त्रालयकै कर्मचारीहरुले बताउने गरेका छन् ।
त्यसै क्रममा गृहमन्त्री रमेश लेखक आएपछि यसअघि अध्यागमनमा रहेको अधिकारीलाई कार्यकाल भन्दा अघिनै गृह मन्त्रालय तानेर भ्रष्टाचार आरोप तथा विवादित पृष्ठभूमिका तिर्थराज भट्टराईलाई विमानस्थल अध्यागमन कार्यालय पठाएको थियो ।
अध्यागमनका कर्मचारीहरुले सामूहिक रुपमा रकम संकलन गर्ने संयन्त्र नै खडा गरेर मिलेमतोमा पठाएका व्यक्तिहरुको विवरण संकलन गरी रकम असुली गरिरहेको गुनासो हेल्लो सरकारदेखि प्रधानमन्त्री कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुग्दा पनि कुनै समाधान नभएपछि अख्तियारमा पुगेको थियो ।
रमेश लेखक गृहमन्त्री भइसकेपछि त्यो धन्दामा झनै संरक्षण भएको सूचनापछि अख्तियारले अध्यागमन कार्यालयमा निगरानी थालेको थियो । त्यसक्रममा घुस बाँडफाँट गर्ने समिति र रकम हिसाबकिताब राख्ने सफ्टवेयर नै बनाएको फेला परेको थियो ।
अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ । अख्तियारका अनुसार प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराई र तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रि प्रसाद तिवारी र स्वकीय सचिव जनक भट्टसँग अस्वभाविक सम्पर्क भएको देखिएको उल्लेख छ । साथै अख्तियारले नै तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन हेर्ने महाशाखाका प्रमुखबीच गैर कानुनी रकम लेनदेन भएको हुनसक्ने देखिएको उल्लेख गरेको छ । तर उनीहरु माथि अनुसन्धान भने गरेको छैन ।
अख्तियारले उनीहरुमाथि अनुसन्धान भईरहेको दाबी गरेको छ तर सोचनीय विषय के छ भने ७ महिनासम्म अनुसन्धान गरेर अख्तियारले अब के अनुसन्धान गर्न बाँकी छ र कुन चाँही प्रमाण हेर्न बाँकी छ भन्ने विषय भने खुलाएको छैन ।
हो, यो समय निर्वाचनको हो। निर्वाचनका बेला सबैभन्दा बढी मतदानकै चर्चा हुन्छ। मतादाताका अपेक्षा र उम्मेदवारका आश्वासन के हुन् ? दलका प्रतिबद्धता र घोषणापत्रमा के छन् ? यसैबारे...बुधबार, माघ २१, २०८२
सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक...बुधबार, माघ २१, २०८२
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित...बुधबार, माघ २१, २०८२
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सो अवसरमा आपसी द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको जनाइएको छ ।बुधबार, माघ २१, २०८२