काठमाडौँ। कांग्रेसको विशेष महाधिवेशनअघि एउटा समूह निकै चर्चित र सक्रिय थियो– सात भाइ ।
यो समूहमा थिए– प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, शशांक कोइराला, कृष्ण सिटौला र प्रकाशशरण महत ।
विशेष महाधिवेशनअघि गोपालमानले समूह छाडेपछि ६ भाइको समूह बन्यो ।
Watch On
बाँकी ६ भाइ विशेष महाधिवेशनविरुद्ध लागिरहे, उनीहरुलाई साथ दिए– तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले ।
विशेष महाधिवेशन भयो, गगन थापाले आधिकारिकता पाए, गगनले नै टिकट बाँडे । जब त्यसपछि आयो यो समूहमा विग्रह । सिटौला राष्ट्रिय सभा सदस्य छँदै छन्, निधि, महत र गच्छदारले टिकट पाए, शशांक र प्रकाशमानले टिकट पाएनन्। टिकट पाउनेहरु त चुनावमा खटिएकै छन्, नपाउने दुई भाइ शशांक र प्रकाशमान अनि राष्ट्रिय सभा सदस्य रहेका सिटौला के गरिरहेका छन् ? यति मात्रै होइन, विशेष महाधिवेशनबाट अपदस्थ सभापति र कार्यबाहक सभापति कहाँ छन् ?
अहिले सिंगो देशलाई चुनाव लागेको छ। राजनीतिक दलहरुलाई चुनाव लागेको छ।
मतदातालाई चुनाव लागेको छ। सरकार र निर्वाचन आयोगले त चुनाव गराउनुपर्ने नै छ, नलाग्ने कुरै भएन। आम नेपाली, जो घरदेशदेखि परदेशसम्म छरिएका छन्, सबैलाई चुनाव लागेको छ। चुनावले सबैलाई छोएको छ । गाउँमा चुनाव लागेको छ, सहरमा चुनावमा लागेको छ, उद्योगपतिलाई चुनाव लागेको छ, मजदुरलाई चुनाव लागेको छ। भोट हाल्न पाउनेलाई चुनाव लागेको छ, नपाउनेलाई पनि चुनाव लागेको छ। कसलाई चुनाव लाग्न बाँकी छ र ?
सिंगो देश चुनावमय हुँदा केही नेतालाई भने यसपालिको चुनावले पटक्कै छोएको छैन । अझ अचम्म त– जुन पार्टीले आफूलाई सबैभन्दा नयाँ र सबैभन्दा परिष्कृत दाबी गरिरहेको छ, त्यही पार्टीका शीर्ष र वरिष्ठ भनिएका नेताहरुलाई नै चुनाव लागेको छैन । कसकसलाई चुनाव लागेको छैन त ? पहिले चुनावले नछोएका नेताहरुलाई चिनौं ।
शेरबहादुर देउवा
देउवा पत्नी आरजु
पूर्णबहादुर खड्का
प्रकाशमान सिंह
शशांक कोइराला
र
कृष्णप्रसाद सिटौला ।
देउवाले दुई कार्यकाल कांग्रेसको नेतृत्व गर्दा आरजु छाया सभापति नै थिइन् । आरजुले जे चाहन्थिन्, देउवाले त्यही गर्थे, कांग्रेसमा त्यही हुन्थ्यो । यतिसम्मकि चुनावमा टिकट बाँड्ने, मन्त्री बनाउने र गठबन्धन फेरबदल गर्नेसम्म निर्णायक आरजु नै थिइन् । जेनजी आन्दोलनले उनीहरुको त्यो तेजलाई निस्तेज पारिदियो । तै पनि विभिन्न बाहनामा देउवा दम्पत्ति सक्रिय हुन खोजेकै थिए, विशेष महाधिवेशनले ढोका बन्द गरिदियो ।
देउवा जेनजी आन्दोलनपछि मात्रै होइन, पन्ध्रौं महाधिवेशनपछि पनि पार्टीलाई आप्नै कब्जामा राख्न चाहन्थे । त्यसैले गएको असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यबाहक बनाइदिए । कार्यबाहक त दिए, निर्णयको अधिकार आफैंले राखे । त्यसैले त केन्द्रीय समितिको बैठक लामो समय निर्णयविहीन बन्यो ।
फरक विचार समूहप्रति आफूभन्दा पनि अनुदार मानिने पूर्णबहादुरलाई कार्यबाहक दिने देउवाको कदम देउवाका लागि प्रत्युत्पादक त बन्यो नै, स्वयं पूर्णबहादुरका लागि घातक बन्यो । उनकै असफलताले कांग्रेस विशेष महाधिवेशनमा पुग्यो । विशेष महाधिवेशनको माग, नियमित महाधिवेशनको घोषणा अनि विशेष महाधिवेशनको आह्वान– यी घटनाक्रममा कसको स्वार्थ के थियो भनेर केहीबेरमा बताउँछु । जब विशेष महाधिवेशन भयो– त्यसले पूर्णबहादुरको गतिमा पनि ब्रेक लगाइदियो ।
कुनै बेला सात भाइको हप्तैपिच्छे बैठक चल्थ्यो । कहिले चाक्सीबारी, कहिले टोखा त कहिले भीमसेनगोला– भातभान्सा चलिरहन्थ्यो ।
देउवापछि सभापति को बन्ने छलफल हुन्थ्यो । जो भए पनि देउवाको समर्थन लिएर आफूहरु मध्येबाटै एक जना सभापति बन्ने सहमति हुन्थ्यो । यसअघि नै उपसभापति भइसकेका गोपालमान, प्रकाशमान र विमलेन्द्र अनि महामन्त्री भइसकेका शशांक र कृष्ण सिटौला, सभापति बन्न पाइहालिन्छ कि लोभमा थिए । उनीहरुको लोभलाई जेनजी विद्रोहले पनि हल्लाउन सकेन, कांग्रेसमा चलेको शक्ति संघर्षले चलाउन सकेन । उनीहरुलाई हल्लाउन र चलाउन विशेष महाधिवेशन नै चाहियो । अहिले यी मध्ये सिटौला, प्रकाशमान र शशांक चुपचाप छन्, लाग्छ यिनीहरु मौन ब्रतमा छन् ।
अब प्रश्न उठ्छ– मुलुकमा निर्वाचन उत्सव हुँदा, सिंगो देश चुनावमय हुँदा अनि पार्टी नै नयाँ र पुरानाको चपेटामा पर्दा, हिजो पदका लागि मरिहत्ते गर्ने यी नेता कहाँ छन् ? के गरिरहेका छन् ? यिनीहरुको योजना के छ ? अब त्यो पनि जानौं ।
शेरबहादुर देउवाको राजनीतिक योगदान त चर्चा गरिरहनै पर्दैन ।
यतिमात्रै होइन, सत्ता र शक्तिका लागि देउवाले के के गरे, त्यो पनि छर्लंगै छ। देउवाले सत्ता र शक्तिका लागि जे पनि नगरेको भए न उनले आज मुख लुकाउनुपर्ने अवस्था आउँथ्यो, न मुलुक नै यो अवस्थामा आइपुग्थ्यो ।
विशेष महाधिवेशनबाट अपदस्थ भएपछि देउवा अहिले सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । अत्यन्तै निकट नेताहरुसँग बाहेक उनले भेटवार्ता पनि गरेका छैनन् । अन्तिम पटक डडेलधुराबाट चुनाव लड्न चाहेका देउवालाई गगनले टिकट नै दिएनन्, दिएको भए पनि उनलाई गगनको हस्ताक्षर बोकेर चुनाव लड्न नैतिक संकट पर्ने निश्चित नै थियो । तै पनि सुदूरपश्चिममा उम्मेदवार बनेका केही नेताहरुले देउवालाई चुनावी कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिरहेका छन्। तर, देउवा चुनावी कार्यक्रममा जान तयार देखिएका छैनन् ।
देउवासँग भेटेका केही नेताले कांग्रेसलाई जिताउन देउवाले आग्रह गरेको बताए पनि उनले खुलेर केही बोलेका छैनन् । देउवा जसरी मौन छन्, त्यसरी नै चुपचाप छिन् पत्नी आरजु पनि । एकातिर पार्टीमै अपदस्थ, अर्कातिर मुख देखाउनै लाज । त्यसैले उनी चुपचाप छन्, गुपचुप छन् ।
विशेष महाधिवेशनको निर्णयविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का सामाजिक सन्जालमा छिटपुट देखिइनुबाहेक कहीँ कतै भेटिँदैनन् । किन ? कारण हो– उनले न देउवालाई जोगाउन सके, न आफू जोगिन ।
अघिल्लो चुनावमा सुर्खेतबाट निर्वाचित खड्का यसपालि पनि चुनाव लड्ने तयारीमा थिए । तर, गगनसँग टिकट लिन नैतिक अप्ठेरोमा परे । किनभने उनी विशेष महाधिवेशन चाहँदैनथे, विशेष महाधिवेशनलाई अवैध भनेका थिए, महाधिवेशन आह्वानकर्ता गगन र विश्वलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेका थिए ।
नैतिक संकटमा परेका खड्का पनि अचेल आफ्नै निवासमा बस्छन्, कहिलेकाहीँ देउवालाई भेट्छन् अनि आफूलाई भेट्न आउने समर्थकलाई सर्वोच्च अदालतको फैसला पर्खिन आग्रह गर्छन् ।
कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए– प्रकाशमान सिंह ।
दोस्रो चरणको चुनावमा प्रकाशमानले देउवालाई समर्थन गरे । बदलामा प्रकाशमानले ओली सरकारमा उपप्रधानमन्त्री र सहरी विकासमन्त्री पाए । अहिलेको चुनावमा पनि प्रकाशमान काठमाडौं १ बाट चुनाव लड्ने आशमै थिए । गणेशमानको छोराको नाममा टिकट लिन प्रयास पनि गरेकै थिए । आखिर पाएनन् । टिकट नपाएपछि चुपचाप छन् ।
दोस्रो जनआन्दोलनका बेला गिरिजाप्रसाद कोइरालाको आडमा राष्ट्रिय राजनीतिमा उदाएका र सुशील कोइरालाको विश्वासमा स्थापित भएका नेता हुन् कृष्णप्रसाद सिटौला ।
कांग्रेसको महामन्त्री भए, सभापतिमै चुनाव लडे । अन्तिममा देउवालाई समर्थन गरे । अध्यक्ष बन्ने दाउसहित राष्ट्रियसभा सदस्य बनेका सिटौलालाई माओवादीले जिल्याइदियो । देउवाकै समर्थनमा सभापति बन्ने दाउ हेरिरहेका सिटौलाको योजनालाई विशेष महाधिवेशनले चकनाचुर पारिदियो । सिंगो पार्टी चुनावमा होमिँदा सिटौला अहिले कहाँ छन् ? अरु त अरु उनकै जिल्ला झापाका कांग्रेसजनले समेत सिटौलालाई देख्न पाएका छैनन् ।
कांग्रेस संस्थापक नेता विपी कोइरालाका छोरा शशांक कोइराला ।
शशांकले नचाहँदा नचाहँदै विशेष महाधिवेशन भयो, उनले नचाहँदा नचाहँदै निष्कृय बस्नुपर्ने अवस्था आयो । संविधानसभा निर्वाचनदेखि नै नवलपुर १ बाट निर्वाचित हुँदै आएका शशांक अहिले सिनमै छैनन् । किन ? किनभने उनलाई पनि पार्टीमा आएको परिवर्तन चित्त बुझेको छैन। न उनलाई कसैले चुनावी अभियानमा सहभागी हुन बोलाएको छ, न उनले नै चुनावी कार्यक्रममा जान चाहेका छन् । त्यसैले घरमै बस्छन्, भेट्न आउनेसँग भेटघाट गर्छन्, दिन कटाउँछन् ।
पहिले सात भाइ थिए, अहिले पाँच भाइ बने । यी पाँच भाइले न जेनजी विद्रोह स्वीकार गरेका छन्, न कांग्रेसमा आएको परिवर्तन । कांग्रेसभित्रको किचलो उनीहरुको आन्तरिक विषय होला । तर, जेनजी विद्रोहलाई नै अपराध ठान्ने देउवा, खड्का, कोइराला, सिंह र सिटौलाको राजनीति अब कता जाला ?
के प्रश्न यी पाँच भाइप्रति मात्रै छ त ? यो पनि होइन । प्रश्न त कांग्रेस बदल्यौं भन्नेमाथि पनि छ । कांग्रेस कब्जा गर्यौं भन्नेमाथि छ । हिजो आफ्नै पार्टीका शीर्ष नेताहरु सत्ता र शक्तिमा रहँदा चुइँक्क बोल्न नसक्ने, आफ्नो हितमा हुँदा खुसी हुने अनि आफूले भाग नपाउँदा नेतृत्वको विरोध गर्ने नेताहरुमाथि छ । कांग्रेस बदल्ने अभियानको नेतृत्व गरेका गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेसहितका नेताहरुले विगतमा पार्टी सुधारका लागि के के गरे ? अहिले आम नागरिकले यसको पनि जवाफ खोजिरहेका छन् । के गगन र विश्वहरुले अहिले दिइरहेको जवाफबाट जनताले चित्त बुझाएका छन् ? छैनन् ।
अनि हिजो, विशेष महाधिवेशन भए पार्टी फुट्छ, विशेष महाधिवेशन गर्नै हुँदैन भन्ने अभियान सन्चालन गरिरहेका शेखर कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, सुनिल शर्मा सहितका नेताहरु पनि प्रश्नभन्दा माथि छैनन् । कतिपयले त यी नेताहरुलाई दहीचिउरे भनेर व्यंग्य गरिरहेका छन् । हिजो देउवा हुँदा पनि ठीक, आज गगन हुँदा पनि ठीक । के उनीहरुको विश्लेषण ठीक छ ? यसको मूल्यांकन गर्ने जिम्मा तपाईँहरुकै ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।शनिबार, वैशाख १२, २०८३
यसक्रममा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ स्थित...शनिबार, वैशाख १२, २०८३
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...शनिबार, वैशाख १२, २०८३
उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ। थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ।शनिबार, वैशाख १२, २०८३