नेभिगेशन
सबै कुरा

चन्द्रागिरि दुर्घटना : घुम्तीको एउटा ढुङ्गोले खोसेको डा.सृष्टिको सर्वश्व

काठमाडाैँ । डा. सृष्टि तिवारी नेपाल क्यान्सर अस्पताल हरिसिद्धीकाे विशेषज्ञ चिकित्सक हुन् । उनका श्रीमान डा.महेश कुमार गौतम बच्चाको आस्थमा र एलर्जीका विशेषज्ञ डाक्टर । महेश विभिन्न अस्पतालका अलवा लाजिम्पाटमा आफ्नै क्लिनिक पनि चलाउँथे । निकै व्यस्त डा.दम्पतीलाई आफ्ना ६ वर्षकी छोरी र ४ वर्षका छोराका लागि पनि खटाएरै समय निकाल्नुपर्थ्याे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाडोका कारण बच्चाको स्कुल बिदा भए पनि उनीहरुलाई घुमाउन डा. दम्पतीलाई केही सातादेखि समय मिलिरहेको थिएन । तर, शुक्रबार साँझ उनीहरुले चित्लाङ जाने निधो गरे । शनिबारको छुट्टीमा छोरी र छोरा घुमाउन डा. दम्पतीले बनाएको योजनामा डा. सृष्टिका बाबु ओमकार तिवारी र आमा कल्पना तिवारी पनि थपिइन् । 

Ncell
Extreme Energy

दुर्घटनामा मृत्यु भएका सृष्टिका बाबु आमा, तस्विर : फेसबुक

डा.महेशले सासु, ससुरा, श्रीमती र दुई छोराछोरी भएको फोर्डको इको स्पोर्ट गाडी हाँकेर शनिबार बिहान साढे ११ बजे मैतिदेवीबाट निस्किए । थानकोटबाट चन्द्रागिरि पहाड चढेर चित्लाङ ओर्लने र केहीबेर घुमफिर गरेर साँझ घर फर्किने उनीहरुको योजना थियो । तर, दिउँसो साढे एक बजे उनीहरु सवार कारलाई चन्द्रागिरिको सेतो भिरले निल्यो । 

शनिबार दिउँसो काठमाडौँबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार सडकबाट ६ सय मिटर तल खस्दा  ५ जनाको ज्यान गयो । दुर्घटनामा डा. सृष्टिका बाबु  ओमकार तिवारी, आमा कल्पना गौतम र श्रीमान् महेश कुमार गौतम, ६ वर्षीय छोरी स्मारिका गौतम र ४ वर्षिय छोरा श्रीयन्स गौतमको मृत्यु भयो । 

दुर्घटनास्थल

चित्लाङ पुगेर छोरी–छोरा, बाबु र आमालाई घुमाएर बेलुका घर फिर्ने योजना बनाएकी सृष्टि यतिबेला मैतिदेविको घरमा अचेत र अर्धमुर्छित अवस्थामा छिन् । आँखै अगाडि भएको भयानक दुर्घटनामा बाबु–आमा, श्रीमान् र छोरा–छोरी गुमाएकी डा.सृष्टि घरमा उपस्थित भएका आफन्त र परिवारसँग बेला–बेला सोध्छिन् ‘मेरा मुटुका टुक्राहरु खोई ? म मात्रै किन गाडीबाट निस्किएँ ?’ 

कसरी भयो दुर्घटना ? 

दुर्घटनामा बिक्षिप्त रहेकी सृष्टि आफ्नो फूपू उमा तिवारीलाई घटनाबारे  बताएकी थिइन् । सिधाकुरासँग कुरा गर्दै तिवारीले दिएको जानकारी अनुसार सडकको दुरावस्थाका कारण आजको दुर्घटना भएको हो । 

थानकोट चेकपोष्टबाट उकालो लागेको कार चन्द्रागिरिको उकालो उक्लदै गर्दा धुलो, खाडल र ढुंगा छिचोल्दै अघि बढीरहेको थियो । सेतो पहरा पुगेपछि कार उकालो उक्लिएर मोडिनु पर्ने भयो । तर, मोडमा एउटा ठूलो ढुङ्गाले कारलाई अघि बढेर मोडिन दिएन । कार हाँकिरहेका डा.महेशले ढुङ्गालाई छिचोलेर कारलाई मोड्न खोजे तर सकेनन् । 

उनले श्रीमती सृष्टिलाई कारबाट ओर्लिएर कारलाई छेकेको ढुङ्गा निकालिदिन आग्रह गरे । श्रीमानले चलाइरहेको कारमा बाबु आमा, छोराछोरीलाई छोडेर उनी ओर्लिइन् । अगाडि बढेर कारलाई छेकेको ढुङ्गा सृष्टिले झिकिन् । श्रीमान् महेशले कारलाई अघि बढाएर मोड्न खोजे तर कार ब्यग्र गतिमा पछाडी हट्यो । सृष्टि चिच्याउन थालिन्, कारको पछाडीको टायरमा ढुङ्गाको ओट राख्न खोजिन तर सकिनन् उनकै आँखा अगाडी कार पछाडी गुड्दै भिरबाट झर्यो । 

उनी दौडिदै कराउँदै गुहार गाग्न थालिन् । गाडी झरेकोतर्फ हामफालिन् । कार माथिल्लो भीरबाट झरेर तल्लो सडकमा बजारियो । श्रीमान्, बाबु, आमा, छोरा र छोरी सडकमा बजारीए । कार सो सडकबाट पनि ५ सय मिटर तल भिरबाट खस्यो । दौडिदै कार बजारीएको सडकमा आइपुगेकी तिवारीले छटपटाउँदै गरेकी छोरी स्मारिका गौतमलाई उचालिन र गुहार मागिन् । सो सडक भएर यात्रा गरीरहेकाहरु यात्रुहरुले तत्काल प्रहरी र एम्बुलेन्स बोलाए । इलाका प्रहरी कार्यालय चित्लाङ र चेकपोष्टबाट प्रहरी पुग्यो । दुर्घटनामा सकुसल रहेकी सृष्टि र गम्भिर घाइते छोरी स्मारिकालाई प्रहरीले बयोधा अस्पताल बल्खु पठायो ।  

फुपु उमाका अनुसार गम्भिर घाइते स्मारिकाको पनि साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको जानकारी अस्पतालले गराएको छ । 

‘एउटै दुघर्टनाले सबै परिवार उजाडियो,’ उमा तिवारीले सिधाकुरासँग  भनिन्, ‘आँखै अगाडि भयावह दुर्घटना भोगेकी बहिनी भावबिह्वल छिन् । उनको सर्वस्व गुम्यो ।’

सृष्टि, उनका श्रीमान् र छोराछोरी। तस्विर : फेसबुक

सडककै कारण दुर्घटना

दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी वरिष्ठ नायव निरिक्षक विकास कार्की शनिबारको दुर्घटनाको कारण सडकको दूरावस्था भएको बताउँछन् । उनका अनुसार ठाडो उकालो र ओरालो, तथा दर्जनबढी घुम्ती र भिर भएको थानकोट–चित्लाङ सडकमा पछिल्लो केही वर्षदेखि बिग्रिएको ग्राभेलका कारण यात्रा गर्न निकै कठिन छ । 

‘धुलोले छोपेको खाल्डो, ग्राभेल उप्किएर सडकमा टक्रक्क बसेका ढुंगाले साना ठूला दुर्घटना गराइरहेका छन्,’ कार्की भन्छन्, ‘झन भिर र घुम्तीले चालकहरुलाई असहज गराएकै हुन्छ । आजको दुर्घटनामा पनि यस्तै देखिन्छ ।’ चित्लाङ घुम्न आउने र हेटौंडा जानेका लागि समेत अहिले यो कच्ची सडक निकै प्रयोग भएको उनले बताए । इलाका प्रहरी कार्यालयकाअनुसार गत वर्ष पनि यही मोडमा एउटा पिकअप भ्यान दुर्घटनामा परेको थियो । सेतो पहराको भीरबाट मोड्न नसकेर खसेको सो भ्यानमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

चित्लाङमा होटल व्यवसाय गर्ने अर्जुन ठकुरी पनि सडकको दुरावस्थाका कारण शनिबारको दुर्घटना भएको बताउँछन् । मानिसहरुको चाप बढी रहेको सडक झण्डै एक दशकदेखि अलपत्र रहेको उनको भनाई छ । चित्लाङ र चन्द्रागिरि नगरपालिकालाई सडक सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको उनले बताए । 

‘आज चिकित्सकसहित ५ जनाको अकालमा ज्यान गयो, गत वर्ष २ जनाले सोही ठाउँमा ज्यान गुमाए,’ ठकुरी भन्छन्,‘बाटो बन्न अझै कतिले ज्यान गुमाउनु पर्ने हो ? सरकार र स्थानीय तहले कहिले सोच्छन ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन, धितो सुन चोरीमा राहत नपाएको गुनासो

जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरुले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय...
बन्द सत्र सुरु नभएपछि प्रदर्शनी हल भित्रको एसीमा आराम गर्दै रास्वपा पदाधिकारीहरु (तस्बिरहरु)

बन्द सत्र सुरु नभएपछि प्रदर्शनी हल भित्रको एसीमा आराम गर्दै रास्वपा पदाधिकारीहरु (तस्बिरहरु)

बिहान ८ः३० बजेदेखि सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिले सम्म पनि सुरु हुन सकेको छैन् ।
प्रवक्ता मनिष झाको पदाधिकारीमा चाहना

प्रवक्ता मनिष झाको पदाधिकारीमा चाहना

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा झाले पदाधिकारीमा उम्मेदवारी दिने संकेत समेत गरेका छन् । उनले महामन्त्रीमा चाहना राखेको निकटस्थहरुलाई बताउने गरेका छन्।
प्रतिनिधि विवादले सुरु हुन सकेन बन्दसत्र

प्रतिनिधि विवादले सुरु हुन सकेन बन्दसत्र

आयोगलाई प्राप्त भएका दाबी विरोधको अध्ययनपछि फेरि प्रदेशगत रुपमा नै नामावली प्रकाशन गर्ने तयारी छ ।