काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शाहीकालमा बन्दुकधारी सेनाले रोक्न नसकेको नेपाली पत्रकारितालाई सडकमा अवरोध खडा गरेर गलाउँछु भन्नु दिवास्वप्न मात्र हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक परियारले सञ्चारगृह घेरेर सत्यको आवाज थुन्न नसकिने पनि बताए । हिजो केही सञ्चारगृहका गेटमा सवारी साधन तेर्स्याइएको प्रसंगमा उनले भने– ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने— सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नुू जस्तै हो। सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन भन्नेमा मलाई विश्वास छ।’
उनले कयौं ठूला आँधीबेहरीको सामना गरेर नेपाली पत्रकारिताले आजको आजको उचाइ हासिल गरेको बताउँदै भने– ‘इतिहास साक्षी छ, हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र?’
परियारले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैँ उभिएको दल भएको बताउँदै उनले भने– ‘सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् ।’
सचेतक परियारले संसदमा दिएको अभिव्यक्ति
सम्माननीय सभामुख महोदय,
आज म यस गरिमामय सदनमा एउटा सांसद र आमसञ्चारको विद्यार्थीको रूपमा मात्र उभिएको छैन, नेपालको संविधानले प्रस्तावनामै ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको पहरेदार र वकालतकर्ताका रूपमा उभिएको छु।
सभामुख महोदय,
हिजो राजधानीका अग्रणी सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर, भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु।
सभामुख महोदय, सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने— सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नुू जस्तै हो। सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन भन्नेमा मलाई विश्वास छ।
हामीले बिर्सिएका छैनौँ, यो देशमा पत्रकारिताले कति ठूला आँधीबेहरीको सामना गरेर आजको उचाइ हासिल गरेको हो। इतिहास साक्षी छ, हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई(चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र?
‘ओखलीमा टाउको हालेपछि मुसलको के डर’ भने झैँ, जस्तोसुकै संकटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भूल्न सकिन्छ र? हिजो शाहीकालका बन्दुकधारी सेनाले रोक्न नसकेको नेपाली पत्रकारितालाई आज कसैले सडकमा अवरोध खडा गरेर गलाउँछु भन्नु दिवास्वप्न मात्र हो।
सभामुख महोदय,
हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैँ उभिएको दल हो। हामी सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस । 'आफू नमरी स्वर्ग देखिँदैन' भने झैँ, लोकतन्त्रको रक्षाका लागि हामी आफैँ अग्रसर भएर प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्न तयार छौँ।
समस्या कहाँ छैन र ? हो सञ्चार माध्यममा समस्या छन्, महात्मा गान्धीले भनेका थिए– प्रेस एउटा ठूलो शक्ति हो, तर जसरी अनियन्त्रित पानीको भेलले सम्पूर्ण गाउँ डुबाउँछ र बाली नष्ट गर्छ, त्यसैगरी अनियन्त्रित कलमले विनाश मात्र गर्छ।’ हो प्रेस सच्चिने ठाँउमा सच्चिनै पर्छ, यो हाम्रै दायित्व हो।
त्यसैले, म यस गरिमामय सदनमार्फत गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु— सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति तत्काल गरियोस् र पत्रकारितालाई त्रासरहित वातावरणमा काम गर्न दिइयोस्।
अनि प्रेस एक्सप्रेस हैन जिम्मेवार प्रेस बनोस्, स्वतन्त्र प्रेस जति जिम्मेवार त्यति संबृद्धिको आधार।