काठमाडौँ । दुई दिनपछि, साउन ६ गते नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवस मनाउँदै छ। संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को सम्झनामा कांग्रेसले हरेक वर्ष साउन ६ गते स्मृति दिवस मनाउँछ। विविध कार्यक्रम गरी आफ्ना दिवंगत नेतालाई सम्झन्छ। श्रद्धाले शिर झुकाउँछ।
तर, यसपालि कांग्रेसले फरक ढंगले बीपी स्मृति दिवस मनाउँदै छ। पार्टी एउटै छ, तर पुस अन्त्ययता कांग्रेसका नेताहरू घोषित रूपमा दुई समूहमा विभाजित छन्– नियमित महाधिवेशन पक्षधर समूह र विशेष महाधिवेशन पक्षधर समूह। यी दुवै समूहले फरक-फरक रूपमा बीपीको सम्झना गर्दै छन्। अर्थात् बीपीको स्मृति दिवस पनि विभाजित बनेको छ।
संस्थापक नेतालाई श्रद्धाञ्जलि दिने र उनले प्रतिपादन गरेको नीति तथा सिद्धान्तलाई मूर्त रूप दिने प्रण गर्ने दिनमा कांग्रेस विभाजनको ‘साइत’ जुराइँदै छ।
खासगरी गएको पुस अन्त्यमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका तथा विशेष महाधिवेशन नै हुनुहुँदैन भन्ने नेताहरूको एक समूहले विधिवत् रूपमा पार्टी विभाजनको आरम्भ साउन ६ गते गर्दै छ भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (समूह) ले देशैभर कार्यक्रम गरेर वैशाख १ गतेदेखि सञ्चालित ‘जरा अभियान’ समापन गर्दै छ।
झट्ट हेर्दा एक समूहले एउटा अभियानको समापन गर्दै छ, अर्को समूहले नयाँ अभियानको सूत्रपात गर्दै, त्यो पनि बीपी स्मृति दिवसकै दिन।
चौधौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित र विशेष महाधिवेशनबाट अपदस्थ शेरबहादुर देउवा पक्षीय नेताहरूले बीपी स्मृति दिवसको दिन प्रज्ञा भवनमा औपचारिक कार्यक्रम गरेर नयाँ पार्टी निर्माणको तयारी गर्दै छन्।
प्रस्तावित नाम– राष्ट्रिय कांग्रेस
विशेष महाधिवेशनबाट अपदस्थ सभापति (निवर्तमान सभापति) शेरबहादुर देउवा उपचारका क्रममा केही महिनादेखि सिंगापुरमा छन्। निकट नेताहरूका अनुसार, उनी साउन २९ मा नेपाल फर्किने तयारीमा छन्।
जेनजी आन्दोलनपछि गत असोज २८ गते बसेको तत्कालीन केन्द्रीय समितिको बैठकमा उनले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएयता उनी पार्टीमा सक्रिय छैनन्। उनको तर्फबाट खड्काले नै नेतृत्व गरिरहेका छन्। विशेष महाधिवेशन बदर गर्न माग गर्दै उनै खड्का निर्वाचन आयोग र सर्वोच्च अदालत पुगे। आयोग र अदालत दुवैले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि केही समय मौन रहेका खड्का फागुन २१ को चुनावपछि फेरि सक्रिय भए र आफ्नै नेतृत्वमा देउवा पक्षधर नेताहरूको साथ लिएर ‘समानान्तर पार्टी सञ्चालन’को नेतृत्व गरिरहे।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व सानेपा जान थालेपछि कहिले घरमा त कहिले होटल र पार्टी प्यालेसमा बैठक/भेला गरिरहेको खड्का नेतृत्वकै समूहले गत साता काठमाडौँको चुनदेवीमा ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ खोल्यो र त्यही कार्यालयमा आइतबार बसेको बैठकले ‘पार्टी एकताका लागि ५ बुँदे प्रस्ताव’ सार्वजनिक गर्दै साउन ६ गते प्रज्ञा भवनमा कार्यक्रम गर्ने निर्णय गर्यो। कार्यक्रम संयोजकको जिम्मेवारी लिए– पूर्वउपसभापतिसमेत रहेका गणेशमान सिंहपुत्र प्रकाशमान सिंहले।
यी हुन् देउवा पक्षधर नेताहरूको प्रस्ताव:
१. चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।
२. सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने।
३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।
४. वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने।
५. महाधिवेशनका लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुअघि नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने। डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने-नपाउने विषयसँग नजोड्ने।
यो प्रस्ताव सार्वजनिक गर्दै प्रचार समितिको नेतृत्व गरिरहेका प्रचार विभागका पूर्वप्रमुख मीन विश्वकर्माले भने– ‘पार्टी एकताको सम्भावना निकै कमजोर बनिसक्यो, हाम्रा प्रस्ताव स्वीकार गरे एकताबद्ध हुन सक्छ, होइन भने परिस्थितिले अर्कै मोड लिन्छ।’
विश्वकर्माले ‘एकताको सम्भावना कमजोर बनिसक्यो’ भन्नुले फरक पार्टी घोषणाको तयारीमा यो समूह निकै अगाडि बढिसक्यो भन्ने अर्थ लाग्छ।
पार्टीको वर्तमान संस्थापन माथि उल्लेखित ५ प्रस्तावमा सहमति जनाउन तयार छैन। इतर पक्षले ती प्रस्तावमा सहमति नभएसम्म पार्टी एक हुन नसक्ने घोषणा गरिसकेको छ।
विश्वकर्मा भन्छन्– ‘बीपी स्मृति दिवसमा हामी छुट्टै कार्यक्रम गर्छौँ, त्यसअघि नै कुनै सहमति भयो भने भयो, होइन भने पछाडि फर्किन मुस्किल हुन्छ।’
खड्का नेतृत्वको देउवा समूह यति अगाडि बढिसकेको छ कि, उसले नयाँ पार्टी गठनको तयारीसमेत गरिसकेको छ।
एक नेताका अनुसार, पार्टीको नाम टुंगो लागिसकेको छ। नेतृत्व र चुनाव चिह्न मात्रै तय हुन बाँकी छ। विधान र सांगठनिक खाका पनि तयार भइसकेको छ।
स्रोतका अनुसार पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने तयारी छ। ‘नाम करिब-करिब टुंगो लाग्यो, अब चुनाव चिह्न तय गर्न बाँकी छ’, ती नेताले भने, ‘त्यो पनि राष्ट्रिय भेला अगाडि टुंगो लाग्छ।’
सम्भवतः साउन ६ गते नै राष्ट्रिय भेलाको मिति घोषणा गरिने छ। राष्ट्रिय भेलामा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरू, प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरूलाई बोलाउने तयारी छ। ‘सोही भेलामा नयाँ पार्टी र नेतृत्वको घोषणा हुन्छ’, ती नेता भन्छन्।
देउवाको प्रतीक्षा
इतर पक्षले राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरे पनि मिति भने तोकिसकेको छैन।
भेलामा निवर्तमान सभापति शेरबाहदुर देउवालाई पनि सहभागी गराउने योजना छ। एक नेताका अनुसार, देउवाले पनि त्यसमा सहमति जनाइसकेका छन्। तर, देउवा फर्किने मिति निश्चित नहुँदा राष्ट्रिय भेलाको मिति घोषणा भएको छैन।
फागुन १३ देखि विदेशमा रहेका देउवा साउन २९ मा नेपाल आउने तयारी छ। निवर्तमान कार्यबाहक सभापति पूर्णबाहदुर खड्काले नै समूहको बैठकमा यसबारे जानकारी गराएका हुन्। यो मिति पनि प्रस्तावित हो, यकिन भइसकेको छैन।
साउनभित्रै राष्ट्रिय भेला गर्ने, भेलाबाट नयाँ पार्टीको घोषणा गर्ने र असोजमा १५औँ महाधिवेशन नै गर्ने देउवा पक्षको तयारी छ। विशेष महाधिवेशनबाट निर्वाचित समितिले पनि असोज तेस्रो साता महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ।
त्यसैलाई काउन्टर दिन १५औँ महाधिवेशन नै गर्ने देउवा पक्षको रणनीति छ। विधिवत् पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ४० प्रतिशत नपुग्ने भएकाले नाम नयाँ राख्ने तर, पुरानै ‘लिगेसी’ देखाउन १५औँ महाधिवेशन नै भन्ने निष्कर्षमा पुगेको एक नेताले बताएका छन्।
शेखर कता ?
मीन विश्वकर्माले आइतबार चुनदेवीमा पत्रकार सम्मेलन गर्दा सँगै थिए– शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत। उनीहरू सबै यसअघि पटक-पटक पदाधिकारी भइसकेका नेता हुन्।
पत्रकार सम्मेलनअघि भएको बैठकमा पूर्णबाहदुर खड्का, विजयकुमार गच्छदार, एनपी साउद लगायत नेता पनि थिए। उनीहरू पत्रकार सम्मेलनअघि निस्किए।
तर, इतर समूहलाई यसअघि साथ दिइरहेका शेखर कोइराला र उनी पक्षधर नेताहरू मीनेन्द्र रिजाल, जीवन परियार, बद्रि पाण्डे लगायत नेता भने आइतबार चुनदेवी पुगेनन्। आइतबारभन्दा अगाडि भएका केही बैठकमा पनि शेखर र उनी पक्षीय नेताहरू सहभागी थिएनन्।
शेखर कोइरालासहितका नेताहरू किन सहभागी भएनन् ? जब इतर समूहमा नयाँ पार्टी निर्माणको दिशामा छलफल सुरु भयो, शेखर र उनी पक्षका नेताहरू क्रमिक रूपमा सहभागी हुन छाडे।
अहिले शेखर र उनी पक्षका केही नेताहरूले पार्टी विभाजन हुन नदिने प्रयत्न गरिरहेका छन्।
‘नयाँ पार्टी घोषणा हितकर हुँदैन, जसरी पनि सहमति गर्नुपर्छ र १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ’, शेखर निकट एक नेताले भने।
निवर्तमान बद्री पाण्डेले पनि सहमतिको प्रयास भइरहेको बताए। ‘औपचारिक, अनौपचारिक छलफल र संवाद भइरहेको छ, हामी कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन भन्ने पक्षमा छौँ’, पाण्डेले भने, ‘केही दिनमा नतिजा आउला।’
संस्थापन भन्छ– सहमति हुन्छ
पूर्णबाहदुर खड्कासहितका नेताहरूले समानान्तर गतिविधि चलाइरहेपछि गएको जेठ १६ गते कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ‘सबै सँगै बढौँ यसरी’ शीर्षकमा ७ बुँदे प्रस्ताव खड्कासहितका पाँच नेतालाई पठाए। तर, उनीहरूले जवाफ पठाएनन्।
दुई साता बित्दा पनि जवाफ नपाएपछि शर्माले इतर पक्षलाई पठाएको प्रस्ताव सार्वजनिक गरिदिए। आइतबार मीन विश्वकर्माले सार्वजनिक गरेको ५ बुँदे प्रस्ताव त्यसैको जवाफ हो।
संस्थापनको ७ र इतर पक्षको ५ प्रस्तावमा मुख्य नमिलेका दुई विषय छन्–
१. चौधौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय समितिमा समायोजन गर्ने वा नगर्ने, र
२. क्रियाशील सदस्यता अद्यावधिक गर्ने वा पहिल्यैको सदस्यतालाई मान्यता दिने।
इतर पक्ष भन्छ– गगन थापाको बहुमत हुने गरी चौधौँ महाधिवेशनको समिति र विशेष महाधिवेशनबाट चुनिएको समितिबीच समायोजन गर्नुपर्छ। तर, संस्थापन पक्ष यो प्रस्ताव स्वीकार्न तयार छैन। सभापति गगन थापाले त सार्वजनिक रूपमै यस्तो प्रस्ताव स्वीकार्न नसकिने जवाफ दिइसकेका छन्।
क्रियाशील सदस्यतासम्बन्धी विषयमा पनि दुवै समूह टाढा छन्। इतर पक्ष ‘डिजिटल सिस्टम’बाट क्रियाशील सदस्यता अद्यावधिक गर्न बाध्य पार्न नहुने र विशेष महाधिवेशनअघि जो-जसले सदस्यता लिए वा नवीकरण गरे, उनीहरूलाई सूचीकृत गर्नुपर्ने अडानमा छ। संस्थापन पक्ष यो प्रस्ताव पनि मान्न तयार छैन। करिब ७ लाख क्रियाशील सदस्यले आफ्नो सदस्यता अपडेट गरिसकेको अवस्थामा नयाँ व्यवस्था अपनाउन नसकिने संस्थापनको अडान छ।
तर, सोमबार पत्रकार सम्मेलन गरेर उपसभापति विश्वप्रकाश शर्माले भने सहमतिका लागि प्रयास भइरहेको जनाए। उनले इतर पक्षसँग संवाद र छलफल भइरहेको र त्यो सकारात्मक ढंगले टुंगिने दाबी गरे।
‘पन्ध्रौँ महाधिवेशनमा सबै सहभागी बन्ने वातावरण सहज बनाउनुपर्छ भनेर संवाद-छलफल भइरहेको छ, सकारात्मक ढंगले टुंगिन्छ भन्नेमा विश्वस्त छौँ। आन्तरिक जीवनका सन्दर्भमा स्पष्ट पार्न चाहन्छु’, शर्माले भने।
इतर पक्षका मुख्य मागमा संस्थापन पक्ष सकारात्मक छैन, स्वीकार्न तयार छैन। ती माग पूरा नभएसम्म असोजमा तोकिएको पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन नसक्ने र छुट्टै महाधिवेशन गर्ने इतर पक्षको तयारी छ।
यस्तो अवस्थामा, दुई दिनभित्र कुनै सहमति भएन भने कांग्रेस फुट्ने निश्चितप्रायः छ। २०५९ सालमा शेरबाहदुर देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए जस्तै अहिले उनै देउवाको आडमा उनी पक्षीय नेताहरूले ‘राष्ट्रिय कांग्रेस’ बनाउने सम्भावना बढ्दै गएको छ।