नेभिगेशन
नेताका कुरा

फेरि 'स्वर्गनर्क'को यात्रामा ओली–प्रचण्ड

काठमाडौं । क्याप्टेन रामेश्वर थापाको घरमा नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर भोलिपल्ट बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भन्दै थिए– किन सुर्ता मान्नुहुन्छ कमरेड ! स्वर्ग–नर्क जता गए पनि सँगै जाउँला ।

बाँचुञ्जेल सहकार्य त छँदै छ, मृत्युपश्चातसमेतको यात्रा गर्ने ओठेवचन दिएका ओलीको कपट पटाक्षेप हुन समय लागेन । २०८१ असार १८ गते छरपष्ट भइहाल्यो । ओली प्रचण्डसँगको स्वर्ग/नर्कको यात्रामा होइन 'पुस्तैनी प्रतिस्पर्धी'का रूपमा रहेको नेपाली कांग्रेससँगको दिगो सहकार्यमा पुगिसकेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८१ असार १७ गते मध्यरात नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सात बुँदे सहमति भएको थियो । सहमतिअनुसार २०८३ असारसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने, त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने ।

Ncell
Extreme Energy

संविधान संशोधनलाई मूल कार्यसूची बनाइएको उक्त सत्ता बाँडफाँड लामो समय टिकेन । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सत्तापलट गरेसँगै समाप्त भयो ।

असार १७ गतेको मध्यरातको समझदारीले कांग्रेससँगको सहकार्यको ढोका मात्रै खुलेको थिएन, एमाले र तत्कालीन माओवादी केन्द्र तथा अहिलेको नेकपाबीच तिक्ततालाई कहिल्यै नमेटिने घाउको तहमा पुर्‍याएको थियो । नेकपा तितरवितर बनेपछिको लामो समयसम्मको बेमेल र तिक्तता चिरेर २०८० फागुनमा ओली–प्रचण्ड पुनः सहकार्यको ढोका खोल्न तयार भएका थिए ।

तर पाँच महिना नपुग्दै ओलीले राजनीतिक बदला लिएर आफूलाई सरकारबाट हटाउन भूमिका खेलेको प्रचण्डको बुझाइ थियो ।

तर राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भन्ने मदन भण्डारीको भनाइलाई पुनः चरितार्थ गर्दै एमाले र नेकपाले प्रदेश सरकारको नवीन समझदारीमार्फत् सहकार्यको ढोका खोलेका छन् ।

नेकपानिकट एक नेताका अनुसार अध्यक्ष ओली र संयोजक प्रचण्डले यसलाई पार्टी एकताकै आधारविन्दु बनाएका छन् ।

‘प्रदेश सरकार गठनमार्फत सहकार्यको ढोका खोल्ने र आगामी स्थानीय र प्रदेश तहको निर्वाचनपछि पार्टी एकताकै तहमा यो कार्यगत एकतालाई निष्कर्षमा पुर्‍याउने योजनाअनुरूप तीन बुँदे सहमति भएको हो,’ नेकपाका एक नेताले भने ।

ती नेताका अनुसार यो सहमतिको आधार तयार पार्न अध्यक्ष ओली र प्रचण्ड धेरैअघिदेखि छलफलमा थिए । पृष्ठभूमिका वर्षमान पुन लगायत नेताहरूले गृहकार्य गरिरहेका थिए ।

दुई नेताबीच शुक्रबार साँझ नै हस्ताक्षर गर्ने तयारी थियो । ठाउँसमेत तय गरेका थिए । 

तर दुवै पार्टीमा आन्तरिकरूपमा सहमति जुटिसकेको थिएन । फागुन २१ को चुनावी परिणाम यता एमाले पुनर्गठनको बहसमा छ ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन लेखनको अन्तिम गृहकार्यमा छ ।

तर त्यहाँ पनि निष्कर्ष के लेख्ने भन्ने विवाद छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत पुनर्गठन पक्षधर नेताहरूले ओलीको विकल्प खोज्ने गरी प्रतिवेदन तयार पार्नुपर्ने र बहसमा लैजानुपर्ने अडानमा छन् । प्रदेश, जनसंगठन, केन्द्रीय निकायबाट त्यही सुझाव आएकाले त्यसबाट दायाँबायाँ हुन नहुने उनीहरूको मत छ ।

तर बादल नेतृत्व पुनर्गठनको निष्कर्षसहित प्रतिवेदन तयार पार्न नहुनेमा उभिएका छन् । जसले प्रतिवेदनलाई अन्तिम रूप दिन ढिलाइ भइरहेको छ ।

यसको प्रभाव ओली र प्रचण्डबीच हुने भनिएको सहमतिमा पनि परिरहेको थियो ।

पुनर्गठनको मुद्दा ओझेलमा पर्ने गरी अहिले सहकार्यको सहमति गर्न नहुने पौडेल–पोखरेलको अडान थियो । 

त्यसैले यसबीचमा ओलीले पोखरेल र पौडेलसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए । बिहीबार अध्यक्ष ओलीले पार्टी कार्यालयबाट आफ्नै गाडीमा राखेर पोखरेल र पौडेललाई छलफलका लागि लगेका पनि थिए ।

प्रदेशहरूमा सरकार गठन, बजेट कार्यान्वयनको गाँठो फुकाउने गरी मात्रै सहकार्यमा सहमति गर्ने ओलीको आस्वासनपछि शनिबार नेकपा नेता वर्षमान पुनको नखिपोटस्थित निवासमा भएको सहमतिको साक्षी बस्न उपाध्यक्ष पौडेल राजी भए । महासचिव पोखरेल भने देखा परेनन् ।

यो सहमतिबारे उनको धारणा सार्वजनिक भइसकेको त छैन । तर उनी त्यति सन्तुष्ट छैनन् ।

उता नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि सहमत छैनन् ।

ओलीसँग एउटै मञ्चमासमेत बस्न हिच्किचाउने नेपाल उनीसँग सहकार्यको सहमति गर्न इच्छुक नरहेको एक नेताले बताए ।

‘एमालेले नै ओलीको विकल्प खोजिरहेको छ । ओलीकै कारण मुलुकमा यो अवस्था सिर्जना भयो । फेरि उनैसँग सहमति गर्ने कुरा उपयुक्त होइन,’ नेता नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

उनले बरू प्रदेशहरूमा कांग्रेससहितको सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् । उनी कांग्रेसका नेताहरूसँग छलफलमा पनि थिए ।

एमालेमा ओलीको विकल्प खोज्न थालेपछि नेकपाभित्र आफ्नो पनि भविष्य सुरक्षित नदेखेका प्रचण्ड नेता नेपाल असन्तुष्ट हुँदाहुँदै सहमति गर्न तम्सिए ।

त्यसैले शनिबार अपराह्नको सहमतिमा पूर्व एकीकृत समाजवादीका कोही पनि नेता देखिएनन् । यद्यपि झलनाथ खनाल, वामदेव गौतमसहितका नेता भने वाम सहकार्यप्रति सन्तुष्ट नै छन् ।

कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने, लुम्बिनी, बागमती, कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक भएकाले ऊसँग छलफल गर्ने ओली–प्रचण्डले बताएका छन् । मधेस प्रदेशमा भने उपेन्द्र यादव नेतृत्वको जसपालाई सरकारको नेतृत्व दिन ओली प्रचण्ड सहमत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...