काठमाडौं । सोमबार मध्यराति गुण्डुमा भएको घटनाले नेकपा एमाले पंक्ति चिन्तित छ । एमालेभित्र अहिले दुई लाइन संघर्ष चलिरहेको छ । जेनजी आन्दोलन र फागुन २१ को प्रतिनिधि सभाको परिणामपछि पार्टी नेतृत्वदेखि नै पुनर्गठन हुनुपर्छ भन्ने एउटा धार छ । यसको नेतृत्व उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत सचिवालयका बहुमत सदस्यले गरिरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओली नै नेतृत्वमा रहनुपर्छ, उनैले पार्टीभित्र गहिरिँदै गएको संकटको निवारण गर्न सक्छन् भन्ने धार छ । त्यसको नेतृत्व ओली स्वयंले गरिरहेका छन् ।
अहिले त्यो समूह अल्पमतमा छ । सचिवालयमा मतको परीक्षण भइसकेको छ । त्यसको प्रभाव केन्द्रीय कमिटीमा पर्ने निश्चितै छ ।
यद्यपि केन्द्रीय कमिटीमा परीक्षण भएको छैन ।
१९ सदस्यीय सचिवालयमा पुनर्गठनको मुद्दा पेचिलो बनेपछि एक महिनाको समय दिएर कार्यदल बनाइएको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको उक्त कार्यदलले दुई महिना १० दिन बितिसक्दा पनि प्रतिवेदन तयार पारेको छैन । तलबाट आएका सुझावलाई लिपिबद्ध गरे पनि निष्कर्ष के लेख्ने भन्नेमा विवाद छ । कार्यदलका उपाध्यक्ष बादल ओलीको निरन्तरताको पक्षमा छन् । पोखरेल नेतृत्वदेखि नै पुनर्गठन गरेर परिस्कृत र परिमार्जित आन्दोलनको दिशामा जानुपर्ने पक्षमा छन् ।
यही विवादले निष्कर्ष खण्डमा पुग्न दिएको छैन ।
बरु यसबीचमा अध्यक्ष ओलीले नयाँ चाल चलेका छन् । प्रदेश सरकारमा नयाँ समीकरण तयार पार्ने भन्दै ओलीले नेपाली कम्युनिस्ट पार्टीसँग पुनः सहकार्यको हात बढाए । तीन बुँदे सहमति गरेर पाँच वटा मुख्यमन्त्री बाँडे ।
अहिले एमालेभित्र यसैका नाममा रडाको मच्चिएको छ । रडाकोको केन्द्रमा छन्, उनै अध्यक्ष केपी शर्मा ओली ।
बागमती प्रदेशमा मुख्यमन्त्रीमा छलफल गर्ने भन्दै अध्यक्ष ओलीले सोमबार साँझ ७ बजे प्रदेश इन्चार्ज महेश बस्नेत, संसदीय दल नेता जगन्नाथ थपलियासहित सांसदहरूलाई निवासमै बोलाएका थिए । त्यस दिन भक्तपुरस्थित ओली निवासमा २५ मध्ये १८ सांसद भेला भएका थिए ।
एक सदस्यका अनुसार सोमबार ओली सुरूदेखि नै थपलियालाई अपमान गर्ने गरी प्रस्तुत भएका थिए ।
प्रदेश इन्चार्ज बस्नेतसहितका नेताले थपलियाको विपक्षमा १४ सांसद जुटाइसकेका थिए । अघिल्लो शुक्रबार नै बस्नेतले भक्तपुर गठ्ठाघरमा रहेको जर्मन हाउसमा छलफल गर्ने भन्दै बोलाएर हस्ताक्षर गराएका थिए । त्यहाँ १४ सांसदले हस्ताक्षर गरेका थिए ।
बस्नेतलगायत समूह किरण थापामगरको पक्षमा छन् । उनलाई दलको नेता बताएर मुख्यमन्त्री बनाउने उनीहरूको तयारी हो ।
बागमती प्रदेशमा सरकार बनाउन ५३ मत आवश्यक पर्छ । दोस्रो ठूलो दल नेकपासँग २६ र एमालेसँग २५ सांसद भएकाले अझै २ सांसद अपुग हुन्छ ।
बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सांसद छन् ।
यसबीचमा बस्नेत, थापामगरसहितका नेताले राप्रपाका केही सांसदलाई गुण्डुनै बोलाएर छलफल गरेका थिए ।
यसरी भित्री खेल खेलिरहेका ओली थपलियालाई कुनै हालतमा मुख्यमन्त्री बनाउन चाहँदैनन् ।
सोमबार पनि ओली त्यसरी नै प्रस्तुत भएको छलफलमा सहभागी सांसदहरूले बताएका छन् ।
‘अध्यक्ष ओलीले मंगलबार बिहानसम्म बहुमत जुटाउनुस्, राप्रपालाई मिलाउनुस्! सक्नुहुन्छ? तपाईंले सक्नुहुन्न । दल त चलाउन सक्नुभएको छैन, सरकार के चलाउनुहुन्छ? भन्दै अपमान गर्नुभयो,’ एक सांसदले सिधाकुरासँग भने ।
थपलियाले यसबीचमा राप्रपाका नेताहरूसँग भेटेर एक चरण कुरा गरेका थिए । बुधबार राप्रपाको बैठक पनि भएकाले त्यहाँ छलफल हुने र निचोडका आधारमा थप रणनीति बनाउने उनको तयारी थियो ।
तर अध्यक्ष ओली ‘गैरराजनीतिक’ ढंगले आजै, अहिले नै बहुमत जुटाउनुपर्ने, प्रमाणित गर्नुपर्ने भनेर ‘ह्युमिलेट’ गरेपछि थपलियाले प्रतिवाद गरेका थिए ।
‘म ३६ सालको स्ववियू सभापति हुँ । पार्टीका ५० वर्ष योगदान गरेको सिपाही हुँ?म दल नेताबाट पनि राजीनामा दिन्छु, केन्द्रीय सदस्य पनि बस्दिनँ? मलाई गैरराजनीतिक व्यवहार गर्ने भन्दै टेबल ठोक्दै कड्किनुभयो,’ ती सांसदले भने, ‘कुराकानीका क्रममा भावुक र केही ठूलो श्वर निकालेका थपलियालाई हर्टसमेत भयो ।’
‘मलाई केही पनि चाहिएन, म हिँडेँ’ भन्दै थपलिया ढोकानिर पुग्दानपुग्दै ढल्न पुगेका थिए । उनी ढोकैमा ढलेपछि अध्यक्ष ओलीले ‘यहाँबाट उठाएर लगिहाल’ भनेर सदासयता पनि नदेखाएको ती सांसदको दाबी छ ।
‘अध्यक्षको शैली, व्यवहारले हामी निकै चिन्तित भयौं । ढलेका थपलियालाई अध्यक्ष ओलीको सचिवालयको नेतृत्व गर्नुभएको निरूदेवी पाल र सांसद दावा लामाले उठाएका थिए । सुरूमा पालले पानी छ्यापेकी थिइन् । दावा लगायतले अस्पताल पुर्याएका हुन्,’ ती सांसदले भने ।
ढल्दा पनि ओलीले अपमान गर्न नछाडेको ‘मर्ने भए, यस्ताले के सरकार चलाउनू!’ जस्ता वचन लगाएको ती सांसदहरूको दाबी छ ।
थपलियालाई मध्यपुर थिमी अस्पताल पुर्याइएको थियो । त्यहाँ पुर्याउँदा सुगर र रक्तचाप बढेको थियो । त्यहाँ सामान्य उपचार गरेर फर्किएका थपलियाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
‘उहाँको स्वास्थ्यावस्था सामान्य छैन । तनाब बढेको अनुभूति भएको छ,’ ती सांसदले भने ।
उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताका निवासहरू दुःख साट्ने, सुख बाँड्ने किसिमको हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार रातिको घटनालाई लक्ष्य गर्दै लेखेका छन्, ‘पार्टी कार्यालय र नेता (अगुवा)का निवासहरू दुःख साट्ने, सुख बाँड्ने, प्रेमिल अनि भरोसा र विश्वासका केन्द्र बन्न सक्नु पर्दछ । जहाँ पारिवारिक र कमरेडली वातावरणमा छलफल हुन सकोस् । नत्र दुःख पर्दा जाने कहाँ ?,’ उनको भनाइ छ ।