नेभिगेशन
मुख्य समाचार

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगको पुनरुत्थानका लागि सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा, समन्वय, कानुन कार्यान्वयन र ‘टिमवर्क’लाई प्राथमिकता दिएको उल्लेख गर्दै त्यसको परिणाम केही उद्योगमा देखिन थालेको दाबी गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा कमाएको उनले बताएका छन् । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।

Ncell
Extreme Energy

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको भन्दै शाहले यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यअनुसार २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

त्यस्तै, लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको उनले बताएका छन् । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको शाहको भनाइ छ ।

नेपाल वायुसेवा निगमको आम्दानी पनि बढेको उनले उल्लेख गरेका छन् । गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको उनले बताएका छन् । सो अवधिमा निगमको सीट अकुपेन्सी ८६ प्रतिशत पुगेको थियो । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको उनले उल्लेख गरेका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको दूधको बक्यौता भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको प्रधानमन्त्री शाहले बताएका छन् । यसका लागि ७२ करोड रुपैयाँको बक्यौता चक्रलाई ३५ करोड रुपैयाँमा झारिएको र किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको उनले बताएका छन् ।

सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको शाहको दाबी छ । कानुनविपरीत कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको उनले बताएका छन् । डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यातको तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागेको पनि उनले जानकारी दिएका छन् ।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको प्रधानमन्त्री शाहले बताएका छन् । गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको भनाइ छ ।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा १५० प्रकार पुर्‍याउने लक्ष्य राखिएको छ । निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढेको पनि शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन् । देशलाई उत्पादन बढाएर आत्मनिर्भर बनाउने अभियानमा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।