नेभिगेशन
कर्पाोरेट

एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनभन्दा लगानीको प्रतिफल तथा पुँजी फिर्ता लैजान झन् ठूलो प्रशासनिक झन्झट रहेको लगानीकर्ताले बताएका छन् । नेपालमा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता र प्रशासनिक सहजीकरणसँगै आन्तरिक लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले विदेशी लगानीलाई रकम भित्रिने तथ्यांकमा मात्र सीमित गरेर हेर्न नहुने बताए । उनीहरूले एफडीआईसँगै प्रविधि, व्यवस्थापन, सुशासन र अन्तर्राष्ट्रिय अभ्याससमेत भित्रिने भएकाले लगानीको वातावरणलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार गत वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको थियो । त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांशका रूपमा बाहिरिएको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हालसम्मको कुल एफडीआई मौज्दात करिब ३४० अर्ब रुपैयाँ छ । त्यसमा भारतको हिस्सा सबैभन्दा धेरै ५६–५७ प्रतिशत रहेको र त्यसपछि चीन, आयरल्यान्ड, अष्ट्रेलिया तथा सिङ्गापुरलगायत मुलुक रहेको तिमिल्सिनाले बताए ।

क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योग, जलविद्युत् तथा बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी एफडीआई आएको छ । यी तीन क्षेत्रले मात्रै कुल एफडीआईको करिब ८० प्रतिशत हिस्सा ओगटेको उनले बताए । उद्योग क्षेत्रमा ५६ प्रतिशत र सेवा क्षेत्रमा ४४ प्रतिशत लगानी रहेको तथ्यांक उनले प्रस्तुत गरे ।

तिमिल्सिनाले एफडीआईलाई केवल विदेशी वित्तीय स्रोतका रूपमा हेर्न नहुने बताए । उनका अनुसार एफडीआईसँगै प्रविधि, व्यवस्थापन, सुशासन र उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्याससमेत नेपाल भित्रिने भएकाले यसको प्रभावलाई रकमको आकारबाट मात्रै मूल्यांकन गर्न हुँदैन ।

नेपालको एफडीआई आकर्षण छिमेकी तथा अन्य मुलुकको तुलनामा कमजोर रहेको तथ्यांकसमेत उनले प्रस्तुत गरे । उनका अनुसार विश्व बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष विश्वभर एफडीआई इन्फ्लो ८४७.८ बिलियन अमेरिकी डलर थियो, जुन विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको करिब ०.७५ प्रतिशत हो । सोही अवधिमा नेपालको एफडीआई इन्फ्लो ७३.८ मिलियन डलर अर्थात् जीडीपीको ०.१८ प्रतिशत मात्र थियो ।

माल्दिभ्समा ७६१ मिलियन, भारतमा २८ बिलियन, पाकिस्तानमा २ बिलियन, बंगलादेशमा १.३८ बिलियन र श्रीलङ्कामा ७११ मिलियन अमेरिकी डलर एफडीआई इन्फ्लो रहेको उनले बताए । ती मुलुकमा जीडीपीको तुलनामा एफडीआईको अनुपात करिब ०.५ देखि ०.६ प्रतिशत आसपास रहेको उनको भनाइ थियो ।

नेपालमा लामो समयदेखि वैदेशिक लगानी गर्दै आएका डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचरले भने नेपालमा पैसा ल्याउनभन्दा लगानी फिर्ता लैजान झन् कठिन रहेको अनुभव सुनाए ।

‘यो देशमा पैसा ल्याउन धेरै गाह्रो छ । देशबाट पैसा बाहिर लैजान त लगभग असम्भव छ,’ गोचरले भने ।

उनले झन्झटिलो प्रशासनिक प्रक्रिया र नीतिगत अस्थिरताले अन्तर्राष्ट्रिय लगानीकर्तालाई निराश बनाउने गरेको बताए । लगानीसम्बन्धी प्रक्रियामा सयौँ कागजपत्र आवश्यक पर्ने गरेको भन्दै उनले बेलायतमा केही क्लिकमै हुने काम नेपालमा लामो कागजी प्रक्रियामा अल्झिने गरेको अनुभव सुनाए ।

उनका अनुसार आफूले कर तिर्न आवश्यक ‘ट्याक्स नम्बर’ प्राप्त गर्न मात्रै चार महिना कुर्नुपरेको थियो । त्यस्तै, लगानी गरेको कम्पनी बिक्री गरी रकम फिर्ता लैजान खोज्दा समेत कम्पनीको बोर्ड बैठकको निर्णय मागिएको उनले बताए ।

सरकार, नेपाल राष्ट्र बैंक र उद्योग विभागले विदेशी लगानीकर्ताको दृष्टिकोणबाट प्रक्रिया हेरेर लगानी सहजीकरण गर्नुपर्ने गोचरको भनाइ छ । आफूहरूले हालसम्म १०० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्धता गरिसकेको भए पनि नेपाललाई आवश्यक पर्ने वैदेशिक लगानीको तुलनामा त्यो पर्याप्त नभएको उनले बताए ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आन्तरिक लगानीकर्ताको मनोबल नबढाएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुने बताए ।

उनका अनुसार अहिले बैंकिङ प्रणालीमा करिब साढे १३ देखि १४ खर्ब रुपैयाँ निक्षेप सरप्लस छ । ब्याजदर एकल अंकमा झरेर एकल बिन्दुमा पुग्दासमेत कर्जाको माग नबढेको उनले बताए ।

असार मसान्तयता मात्रै बैंकिङ क्षेत्रमा कर्जा प्रवाह ३० अर्ब रुपैयाँले घटेको ज्ञवालीले जानकारी दिए । राष्ट्र बैंकले २.७५ प्रतिशतमा निक्षेप खिचेर बैंकहरूलाई राहत दिए पनि अर्थतन्त्रमा वास्तविक समस्या लगानीको माग र विश्वाससँग जोडिएको उनको भनाइ थियो ।

व्यवसायीमा रहेको निराशा हटाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै ज्ञवालीले व्यावसायिक गल्ती र फौजदारी अभियोगलाई एउटै दृष्टिले हेर्न नहुने बताए ।

‘कसैले वित्तीय अपराध गरेको छ भने त्यसलाई आर्थिक रूपमै सजाय दिनुपर्छ । थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ,’ उनले भने ।

वित्तीय अपराध र प्रशासनिक वा फौजदारी अभियोगलाई छुट्याएर कानुनी व्यवस्था स्पष्ट बनाउनुपर्ने उनको भनाइ थियो । नियतवश गल्ती नगरेका व्यवसायीलाई अपराधीको जस्तो व्यवहार गर्दा निजी क्षेत्रको मनोबल कमजोर हुने उनले बताए ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले पनि नेपालमा अहिले सबैभन्दा ठूलो समस्या विश्वासको अभाव रहेको बताइन् । सरकारले निजी क्षेत्रलाई विश्वास नगरे निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने अवस्था आउने उनको भनाइ थियो ।

‘लगानीकर्तालाई शंकाको नजरले हेर्नुको सट्टा स्वागत गर्ने संस्कृति विकास गर्नुपर्छ,’ वैद्यले भनिन् ।

नेपालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको अवसर उपयोग गर्न तुलनात्मक लाभ भएका क्षेत्रमा प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो । सीमित श्रमशक्ति भएकाले नेपालले ठूलो उत्पादनमूलक उद्योगमा ‘इकोनोमी अफ स्केल’ हासिल गर्न कठिन हुने भन्दै उनले सूचना प्रविधि, पर्यटन, उच्च मूल्यका कृषि बाली र जलविद्युत्मा आधारित नवीन उद्योगमा ध्यान दिनुपर्ने बताइन् ।

विशेषगरी सूचना प्रविधि र पर्यटन नेपालका लागि उपयुक्त क्षेत्र रहेको उनको भनाइ थियो । आईटी क्षेत्रमा तयार हुँदै गरेको जनशक्तिलाई रोजगारी खोज्ने मात्र नभई उद्यमी बनाउने वातावरण सिर्जना गर्नुपर्ने उनले बताइन् ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रले पूर्वाधार निर्माणमार्फत ठूलो रोजगारी सिर्जना गर्न सक्ने भन्दै उनले उच्च मूल्यका कृषि बालीतर्फ पनि लगानी र उत्पादनको सम्भावना खोज्नुपर्ने बताइन् ।

जलविद्युत्को क्षेत्रमा पनि विद्युत् निर्यातमा मात्र निर्भर नभई देशभित्रै खपत बढाउने नीति लिनुपर्ने वैद्यको सुझाव छ । ग्रीन हाइड्रोजन र अमोनियाजस्ता प्रविधिमार्फत सिमेन्ट तथा स्टिल उद्योगलाई डिकार्बोनाइज गर्न सकिने उनले बताइन् ।

एफडीआईले पुँजीसँगै ज्ञान, प्रविधि र विकासका नयाँ आयाम भित्र्याउने भएकाले सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा उनले जोड दिइन् ।

आन्तरिक लगानीकर्तामा आत्मविश्वास नभई बाह्य लगानी आउन कठिन हुने भन्दै वैद्यले लगानीमैत्री नीति र नियम बनाउन आग्रह गरिन् । लगानीको वातावरणमा शीघ्र सुधार नभए लगानीकर्ता र सर्वसाधारणको धैर्य टुट्दै जाने र त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्ने उनको चेतावनी थियो ।

DSC04575-1786531556.JPG
 

DSC04531-1786531533.JPG
 

DSC04679-1786531427.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।