नेभिगेशन
समाज
भोटेकोशी कहर–१

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

डेटलाइन धुन्चे

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्तब्ध, निःशब्द अनि बाक्लो सन्नाटा !

Ncell
Extreme Energy

यो अहिले रसुवाको परिचय बनेको छ ।

अहिले पर्यटनको सिजन । दोहोरीलत्तो पर्यटक हुन्थे । ती बाह्यमात्रै हुँदैनथे । आन्तरिक पनि हुन्थे । केही वर्षदेखि मानसरोवर तीर्थाटन जानेको लर्को बढ्न थालेको छ । तिनमा नेपाली मात्र होइन भारतीय पनि उत्तिकै हुन्थे ।

लाङटाङ, गोसाइँकुण्ड पदमार्गको मुख्यद्वार नै रसुवाको धुन्चे भइगयो ।

यी सबै रसुवाको आयस्ता थिए । आम्दानीको दिगो स्रोत थियो ।

पर्यटनको उर्वर भूमि हो, रसुवा ।

केरूङ नाकाको लाभ पनि रसुवाको पोल्टामै पर्ने भयो । यति मात्र कहाँ हो र ! प्रकृतिको अनुपम सौगात जलविद्युत परियोजनाको जिल्ला पनि रसुवा नै हो ।

खोलाको कञ्चन पानीमा फस्टाएको स्वच्छ ऊर्जाले राजधानी काठमाडौंलगायत आसपासको जिल्ला मात्रै होइन देशको अर्थतन्त्र झिलिमिली बनाउने जिल्ला पनि रसुवा नै हो ।

जहाँ चिलिमे, रसुवागढी, लाङटाङ, मैलुङ, हाकुजस्ता ठूला र देशको आम्दानी बढाउन सघाउने जलविद्युत परियोजना सञ्चालित थिए ।

गत भदौ १० गते आएको हिमाली ज्वारभाटाले यी सबैलाई बगरमा मिलाइदिएको छ । भदौ १८ गते मध्याह्नसम्म १२५२ जनाको निधन पुष्टि भइसकेको छ । ४ हजार २१६ अझै सम्पर्कविहीन छन् । यसमध्ये कति बगरमा मिले ? कति जीवित होलान् ? उद्धारको प्रतीक्षामा पनि होलान् ?

प्रश्न अनुत्तरित छ ।

बाढीग्रस्त रसुवामा घरघरै शोक छ । गाउँगाउँ सन्नाटा छ । डाँडैपिच्छे शोकधुन बजेको छ । बाटैपिच्छे आर्तनाद छ । यो गहिरो घाउमा सान्त्वना, सहानुभूति दिने शब्दसमेतको अभाव छ ।

नुवाकोट पनि यस्तै ताडनामा छ । बेत्रावतीपूर्व, त्रिशूली, ढुंगे, देवीघाटलगायत गुलजार बजार बगरमा परिणत भएका छन् । सयौं वर्षअगाडिदेखिको आवादी भूमि, व्यापारिक थलो, आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा त्रिशूलीको भँगालो सोझिएको छ ।  नदीले बाटो बनाएको छ ।

बिदुर नगरपालिकाभित्र मात्रै ३ हजार माथि घर खण्डहर बनेका छन् । मुख्य बजार क्षेत्र, ऊर्जाको मुख्य स्रोत  त्रिशूली जलविद्युत परियोजना भग्न छन् ।

रसुवाको अवस्था त झनै कहालीलाग्दो छ । रसुवाका गाउँ भोटेकोशी, त्रिशूलीको कटानले टापुमा परिणत भएका छन् । पुलले जोडेका गाउँहरू पूर्णतः विच्छेदित छन् । एक ठाउँबाट अर्को ठाउँमा जान हेलिकप्टरबाहेक कुनै विकल्प छैन ।

नागरिकहरूको अवस्था अज्ञात छ । बाँचेकाहरूको अवस्था के छ ? रासनपानीको अवस्था के छ ? बाढीबाट छलिएर उद्धारको प्रतीक्षामा रहेकाहरूले सरकारको उपस्थिति, भरथेग महसुस गर्न पाएका छन् कि छैनन् ?

कसैले यकिन गर्न सकेको छैन । ठम्याउन पनि सकेको छैन ।

रसुवाको शोक सदरमुकामको माथिल्लो भागमा रहेको हेलिप्याडमा पोखिन्छ ।

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले नै बताउँथ्यो– उनको परिवारमा भयानक बज्रपात परेको छ । भोटेकोशी ज्वारभाटाबाट अब उनी र उनको परिवारले गुमाउन बाँकी केही छैन ।

रसुवाको आकाशमा पट्यारलाग्ने गरी हेलिकप्टर ओहोरदोहोर गरिरहेछ । उद्धार–राहतका लागि आउजाउ गरिरहेका हेलिकप्टरको आवाज पनि पीडितहरूलाई अब कर्कश लाग्न थालिसकेको छ ।
उद्धार–राहतका लागि गएको हेलिकप्टर शव बोकेर आउन अभिशप्त छन् । खोँचबाट उड्दै हेलिप्याड भएतिर हेलिकप्टर आउनासाथ उनका आँखा चनाखो बन्छन् ।

धुन्चेमा दुईवटा हेदिप्याड छन् । सशस्त्र प्रहरीको क्याम्पमुनिको हेलिप्याड उद्धार र राहत वितरणका लागि छुट्टयाइएको छ । त्यसो त सैनिक ब्यारेकमै अवतरण हुने हेलिकप्टरहरूले पनि उद्धार र खोजलाई नै प्राथमिकता दिएका छन् ।

तर कारागार भवनको माथ्लोपट्टिको समथर मैदानमा बनाइएको अर्को हेलिप्याडको दृश्य भने दर्दनाक छ । त्यहाँ अवतरण हुने हेलिकप्टरले शब पोको पारेर ल्याउँछ । तुर्लुङ्ग झुण्ड्याउँदै ल्याउँछ ।
दुर्भाग्य ती शब आफन्तले हेर्न पाउँदैनन् ।

दुई दिन त्रिशूली सैनिक तालिम केन्द्रमा भौतारिँदा पनि आफन्तको अनुहार हेर्न नपाएका सिन्धुपाल्चोकका एक प्रियजन सैनिक ब्यारेकदेखि शव ओसार्ने हेलिप्याडसम्म कैयनपटक ओहोरदोहोर गरिरहेका थिए । तल भोटेकोशीले ताछेको खोँच हेर्थे, अनि आकाशमा उडिरहेका हेलिकप्टर नियाल्थे । यी दुवैले उनलाई उस्तै पीडा दिँदा रहेछन् ।

र त, बेलाबेला खुइया.. काढ्थे ।

‘कहाँकहाँ मात्रै चहारिन आफन्तको एक झल्को पनि हेर्न पाइनँ, छोरा पर्खिरहेकाहरूलाई अब म के खबर लैजानू,’ उनले गहिरो निःस्वास छाडे ।

यस्तै मनोदशमा थिइन्, चञ्चली विक ।

चञ्चलीको मात्रै परिवारका ६ जना भोटेकोशीको ज्वारभाटामा बेपत्ता छन् ।

भोटेकोशी भेलले उनका पति रमेश विक, जेठाजु तीलबहादुर विक, ज्वाइँ सञ्जीव कोइराला, ससुरा सुकबहादुर विक बेपत्ता छन् ।

बाढीकै भुँवरीले सोमबहादुर विक, गणेश विकलाई पनि बेपत्ता बनाएको छ ।

उनीहरू पनि चञ्चलीकै परिवारका सदस्य हुन् ।

बेपत्ता सबै गाडी लाइनमा काम गर्थे । चञ्चलीका अनुसार बेपत्ता सबै ज्यालादारी मजदुरजस्तै थिए । मासिक २० हजार रूपैयाँ पनि कमाउन मुस्किल हुन्थ्यो ।

खेतबारीको आयस्ताले हातमुख जोड्नै धौधौ भएपछि उनीहरू केरूङसम्म पुगेर ज्यालामजदुरी गर्थे । 

‘परिवारको एक–दुई जना परेको भए पनि संसार यस्तै हो भनेर चित्त बुझाउन हुन्थ्यो, हाम्रो त कमाएर खुवाउन सक्ने परिवारका कोही पनि बचेनन्,’ चञ्चलीले रूँदै सुनाइन् ।

काखे लालाबाला छन् । कोही हुर्किएर अलिक बुझ्ने भएका छन् । हुर्किएकाहरू आकाशतिर हेर्दै टोह्लाइरहेका छन् । कहिलेकाहीँ ‘आमा हाम्रो बाबा कहिले आउनुहुन्छ ? ऊ त्यो हेलिकप्टरमा आउनुभएको हो कि ? चाइनातिर पुगेर अलमलिनु पो भयो कि ?’ भन्छन् ।

‘यस्तो बेलामा आफैलाई सम्हाल्न बडो गाह्रो हुँदो रहेछ !,’ चञ्चलीले पीडा पोखिन्, ‘हामीलाई सान्त्वना दिने, सहानुभूति दिने मान्छे पनि भएन !’

एकाघरकी तुलसी विकको पीडा पनि उस्तै थियो । उनी पनि श्रीमानको हाल बुझ्न धुन्चे आएकी थिइन् । गाउँबाट धुन्चे आइपुग्न नै चार घण्टा लाग्छ । फर्कन पनि चार घण्टा नै लाग्छ । 

कहिले भोकै, कहिले पानीको भरमा, कहिले एक छाक खाना खाएर उनीहरू आफन्तको अवस्था बुझ्न दिनहुँ भौँतारिइरहेछन् ।

‘अब जिउँदो भेटिने आश मरिसक्यो, लास मात्रै भए पनि हेर्न पाऊँ भन्ने हाम्रो माग हो,’ तुलशीले सुनाइन् ।

तुलशीलाई रित्तै फर्कन मन छैन ।

घरमा बाबु पर्खिरहेका छोराछोरीको चिन्ता छ ।

बाबु बेपत्ता भएपछि उनीहरूलाई आकाशतिर फर्किएर हेलिकप्टर हेर्ने बानी परेको छ ।

‘धारापानी (उनीहरूको गाउँ) हेलिकप्टर आयो भने छोराछोरी भन्छन्, ए ! हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झार्दिनुुस् न, उहाँको घर यहीँ छ । यस्तो भन्ने छोरीहरूलाई के भनेर जवाफ दिनू,’ उनी फेरि भक्कानिइन् ।

बाबु सम्पर्कविहीन भएपछि छोरीहरू अर्धमूर्च्छित छन् । कहिले सुरका कुरा गर्छन्, कहिले बर्बराउन थालेको तुलशीले पीडा पोखिन् ।

सिधाकुरा टिम स्याफ्रुबेँसी पुग्ने ध्येयले धुन्चेबाट उत्तर सोझिएको थियो । तर धुन्चेबाट १३ किलोमिटरअगाडि स्याफ्रु जोड्ने पुल टुटेकाले त्यहाँ पुग्ने प्रयास बिफल भयो । फर्किएर सानो भार्खु आइपुग्दा केही स्थानीय भोटेकोशी नदी हेर्दै टोल्हाइरहेका थिए ।

हामी पुग्दा स्थानीयहरू त्यस गाउँमा पहिलोपटक सञ्चारकर्मी आइपुगेको बताइरहेका थिए ।

पीडाले आक्रान्त उनीहरू फुर्वासिंगी तामाङलाई सान्त्वना दिइरहेका थिए । सानो भार्खुमा फुर्वासिंगीको टिनको छाना भएको एक तले घर रहेछ । स्थानीयहरू त्यही घरमा भेला भएर पेम्बादोर्जेलाई सान्त्वना दिइरहेका थिए । उनीहरू राति पनि त्यहीँ बस्दै छिमेकी हुनुको कर्तव्य र दायित्व निर्वाह गरिरहेका थिए ।

‘हाम्रो र दुःख नपरेको घर छैन, खै कसलाई भन्ने हो, खोला त कसरी आयो आयो, उडेर हो कि, उफ्रिएर हो,’ स्थानीयले आफ्नै लवजमा सुनाइरहेका थिए ।

फुर्वासिंगीका एक मात्र छोरा पेम्बादोर्जे तामाङ टिमुरे क्षेत्रबाट बेपत्ता छन् । ५९ वर्षका फुर्वासिंगी बाढी आएका दिन घरमै थिए । भोटेकोशीको रौद्र स्वरूप देख्नेबित्तिकै माथिल्लो भेगमा केही बाँकी राखेन भन्ने उनले यकिन गरिसकेका थिए । खोलाको निकै माथिमाथिसम्म धूलो उडेको थियो । कुहिरीमण्डल धूलोले छोपिएको भोटेकोशी तीव्र वेगमा तल हुत्तिइरहेको थियो ।

‘महामारी ल्याउने गरी खोलो आएपछि छोरालाई फोन गरेँ । फोन लागेन । फोन लागेन, कतै भीरतिर पुगेर बाँच्यो कि भन्ने ठानेँ,’ उनले भने, ‘आज आउला, भोलि आउला भन्दाभन्दै आजसम्म आएन ।’
गाउँलेहरूले छोरा खोज्न जाउँ भन्दा पनि उनले आँट गरेका छैनन् । छोराको शव देखिइहाल्यो भने कसरी सम्हाल्नु भन्ने भयले उनको मन काँपेको छ ।

‘तलतिर जाऊँ, त्यहाँतिर लास फेला परेको छ भन्छन्, जाने आँट छैन,’ उनले सिधाकुरासँग भने ।

चार दिनसम्म उनले नसुती छोरा कुरेका थिए । हुर्किएको छोरा भएकाले भोक, प्यासले मरेन होला भन्ने उनलाई लागिरहेको थियो । यत्राविधि हेलिकप्टर उड्दा, उद्धारकर्मी घुम्दा र गाउँलेहरू खोज्न जाँदासमेत फेला नपरेपछि अब उनले आश मारेका छन् ।

‘सरकार त आउला । राहत देला । चिन्ता नगर्नु भन्ला । तर मेरो छोरा मैले कहाँ पाउला त होई,’ उनले यति भन्न सके ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

अक्षर काका सिधाकुराका सम्पादक हुन् । उनी राजनीति, समाज, जलवायु, विपद् लगायत मुद्दामा कलम चलाउँछन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।

भर्खरै