अहिले पर्यटनको सिजन । दोहोरीलत्तो पर्यटक हुन्थे । ती बाह्यमात्रै हुँदैनथे । आन्तरिक पनि हुन्थे । केही वर्षदेखि मानसरोवर तीर्थाटन जानेको लर्को बढ्न थालेको छ । तिनमा नेपाली मात्र होइन भारतीय पनि उत्तिकै हुन्थे ।
लाङटाङ, गोसाइँकुण्ड पदमार्गको मुख्यद्वार नै रसुवाको धुन्चे भइगयो ।
यी सबै रसुवाको आयस्ता थिए । आम्दानीको दिगो स्रोत थियो ।
पर्यटनको उर्वर भूमि हो, रसुवा ।
केरूङ नाकाको लाभ पनि रसुवाको पोल्टामै पर्ने भयो । यति मात्र कहाँ हो र ! प्रकृतिको अनुपम सौगात जलविद्युत परियोजनाको जिल्ला पनि रसुवा नै हो ।
खोलाको कञ्चन पानीमा फस्टाएको स्वच्छ ऊर्जाले राजधानी काठमाडौंलगायत आसपासको जिल्ला मात्रै होइन देशको अर्थतन्त्र झिलिमिली बनाउने जिल्ला पनि रसुवा नै हो ।
जहाँ चिलिमे, रसुवागढी, लाङटाङ, मैलुङ, हाकुजस्ता ठूला र देशको आम्दानी बढाउन सघाउने जलविद्युत परियोजना सञ्चालित थिए ।
गत भदौ १० गते आएको हिमाली ज्वारभाटाले यी सबैलाई बगरमा मिलाइदिएको छ । भदौ १८ गते मध्याह्नसम्म १२५२ जनाको निधन पुष्टि भइसकेको छ । ४ हजार २१६ अझै सम्पर्कविहीन छन् । यसमध्ये कति बगरमा मिले ? कति जीवित होलान् ? उद्धारको प्रतीक्षामा पनि होलान् ?
प्रश्न अनुत्तरित छ ।
बाढीग्रस्त रसुवामा घरघरै शोक छ । गाउँगाउँ सन्नाटा छ । डाँडैपिच्छे शोकधुन बजेको छ । बाटैपिच्छे आर्तनाद छ । यो गहिरो घाउमा सान्त्वना, सहानुभूति दिने शब्दसमेतको अभाव छ ।
नुवाकोट पनि यस्तै ताडनामा छ । बेत्रावतीपूर्व, त्रिशूली, ढुंगे, देवीघाटलगायत गुलजार बजार बगरमा परिणत भएका छन् । सयौं वर्षअगाडिदेखिको आवादी भूमि, व्यापारिक थलो, आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा त्रिशूलीको भँगालो सोझिएको छ । नदीले बाटो बनाएको छ ।
बिदुर नगरपालिकाभित्र मात्रै ३ हजार माथि घर खण्डहर बनेका छन् । मुख्य बजार क्षेत्र, ऊर्जाको मुख्य स्रोत त्रिशूली जलविद्युत परियोजना भग्न छन् ।
रसुवाको अवस्था त झनै कहालीलाग्दो छ । रसुवाका गाउँ भोटेकोशी, त्रिशूलीको कटानले टापुमा परिणत भएका छन् । पुलले जोडेका गाउँहरू पूर्णतः विच्छेदित छन् । एक ठाउँबाट अर्को ठाउँमा जान हेलिकप्टरबाहेक कुनै विकल्प छैन ।
नागरिकहरूको अवस्था अज्ञात छ । बाँचेकाहरूको अवस्था के छ ? रासनपानीको अवस्था के छ ? बाढीबाट छलिएर उद्धारको प्रतीक्षामा रहेकाहरूले सरकारको उपस्थिति, भरथेग महसुस गर्न पाएका छन् कि छैनन् ?
कसैले यकिन गर्न सकेको छैन । ठम्याउन पनि सकेको छैन ।
रसुवाको शोक सदरमुकामको माथिल्लो भागमा रहेको हेलिप्याडमा पोखिन्छ ।
गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले नै बताउँथ्यो– उनको परिवारमा भयानक बज्रपात परेको छ । भोटेकोशी ज्वारभाटाबाट अब उनी र उनको परिवारले गुमाउन बाँकी केही छैन ।
रसुवाको आकाशमा पट्यारलाग्ने गरी हेलिकप्टर ओहोरदोहोर गरिरहेछ । उद्धार–राहतका लागि आउजाउ गरिरहेका हेलिकप्टरको आवाज पनि पीडितहरूलाई अब कर्कश लाग्न थालिसकेको छ ।
उद्धार–राहतका लागि गएको हेलिकप्टर शव बोकेर आउन अभिशप्त छन् । खोँचबाट उड्दै हेलिप्याड भएतिर हेलिकप्टर आउनासाथ उनका आँखा चनाखो बन्छन् ।
धुन्चेमा दुईवटा हेदिप्याड छन् । सशस्त्र प्रहरीको क्याम्पमुनिको हेलिप्याड उद्धार र राहत वितरणका लागि छुट्टयाइएको छ । त्यसो त सैनिक ब्यारेकमै अवतरण हुने हेलिकप्टरहरूले पनि उद्धार र खोजलाई नै प्राथमिकता दिएका छन् ।
तर कारागार भवनको माथ्लोपट्टिको समथर मैदानमा बनाइएको अर्को हेलिप्याडको दृश्य भने दर्दनाक छ । त्यहाँ अवतरण हुने हेलिकप्टरले शब पोको पारेर ल्याउँछ । तुर्लुङ्ग झुण्ड्याउँदै ल्याउँछ ।
दुर्भाग्य ती शब आफन्तले हेर्न पाउँदैनन् ।
दुई दिन त्रिशूली सैनिक तालिम केन्द्रमा भौतारिँदा पनि आफन्तको अनुहार हेर्न नपाएका सिन्धुपाल्चोकका एक प्रियजन सैनिक ब्यारेकदेखि शव ओसार्ने हेलिप्याडसम्म कैयनपटक ओहोरदोहोर गरिरहेका थिए । तल भोटेकोशीले ताछेको खोँच हेर्थे, अनि आकाशमा उडिरहेका हेलिकप्टर नियाल्थे । यी दुवैले उनलाई उस्तै पीडा दिँदा रहेछन् ।
र त, बेलाबेला खुइया.. काढ्थे ।
‘कहाँकहाँ मात्रै चहारिन आफन्तको एक झल्को पनि हेर्न पाइनँ, छोरा पर्खिरहेकाहरूलाई अब म के खबर लैजानू,’ उनले गहिरो निःस्वास छाडे ।
यस्तै मनोदशमा थिइन्, चञ्चली विक ।
चञ्चलीको मात्रै परिवारका ६ जना भोटेकोशीको ज्वारभाटामा बेपत्ता छन् ।
भोटेकोशी भेलले उनका पति रमेश विक, जेठाजु तीलबहादुर विक, ज्वाइँ सञ्जीव कोइराला, ससुरा सुकबहादुर विक बेपत्ता छन् ।
बाढीकै भुँवरीले सोमबहादुर विक, गणेश विकलाई पनि बेपत्ता बनाएको छ ।
उनीहरू पनि चञ्चलीकै परिवारका सदस्य हुन् ।
बेपत्ता सबै गाडी लाइनमा काम गर्थे । चञ्चलीका अनुसार बेपत्ता सबै ज्यालादारी मजदुरजस्तै थिए । मासिक २० हजार रूपैयाँ पनि कमाउन मुस्किल हुन्थ्यो ।
खेतबारीको आयस्ताले हातमुख जोड्नै धौधौ भएपछि उनीहरू केरूङसम्म पुगेर ज्यालामजदुरी गर्थे ।
‘परिवारको एक–दुई जना परेको भए पनि संसार यस्तै हो भनेर चित्त बुझाउन हुन्थ्यो, हाम्रो त कमाएर खुवाउन सक्ने परिवारका कोही पनि बचेनन्,’ चञ्चलीले रूँदै सुनाइन् ।
काखे लालाबाला छन् । कोही हुर्किएर अलिक बुझ्ने भएका छन् । हुर्किएकाहरू आकाशतिर हेर्दै टोह्लाइरहेका छन् । कहिलेकाहीँ ‘आमा हाम्रो बाबा कहिले आउनुहुन्छ ? ऊ त्यो हेलिकप्टरमा आउनुभएको हो कि ? चाइनातिर पुगेर अलमलिनु पो भयो कि ?’ भन्छन् ।
‘यस्तो बेलामा आफैलाई सम्हाल्न बडो गाह्रो हुँदो रहेछ !,’ चञ्चलीले पीडा पोखिन्, ‘हामीलाई सान्त्वना दिने, सहानुभूति दिने मान्छे पनि भएन !’
एकाघरकी तुलसी विकको पीडा पनि उस्तै थियो । उनी पनि श्रीमानको हाल बुझ्न धुन्चे आएकी थिइन् । गाउँबाट धुन्चे आइपुग्न नै चार घण्टा लाग्छ । फर्कन पनि चार घण्टा नै लाग्छ ।
कहिले भोकै, कहिले पानीको भरमा, कहिले एक छाक खाना खाएर उनीहरू आफन्तको अवस्था बुझ्न दिनहुँ भौँतारिइरहेछन् ।
‘अब जिउँदो भेटिने आश मरिसक्यो, लास मात्रै भए पनि हेर्न पाऊँ भन्ने हाम्रो माग हो,’ तुलशीले सुनाइन् ।
तुलशीलाई रित्तै फर्कन मन छैन ।
घरमा बाबु पर्खिरहेका छोराछोरीको चिन्ता छ ।
बाबु बेपत्ता भएपछि उनीहरूलाई आकाशतिर फर्किएर हेलिकप्टर हेर्ने बानी परेको छ ।
‘धारापानी (उनीहरूको गाउँ) हेलिकप्टर आयो भने छोराछोरी भन्छन्, ए ! हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झार्दिनुुस् न, उहाँको घर यहीँ छ । यस्तो भन्ने छोरीहरूलाई के भनेर जवाफ दिनू,’ उनी फेरि भक्कानिइन् ।
बाबु सम्पर्कविहीन भएपछि छोरीहरू अर्धमूर्च्छित छन् । कहिले सुरका कुरा गर्छन्, कहिले बर्बराउन थालेको तुलशीले पीडा पोखिन् ।
सिधाकुरा टिम स्याफ्रुबेँसी पुग्ने ध्येयले धुन्चेबाट उत्तर सोझिएको थियो । तर धुन्चेबाट १३ किलोमिटरअगाडि स्याफ्रु जोड्ने पुल टुटेकाले त्यहाँ पुग्ने प्रयास बिफल भयो । फर्किएर सानो भार्खु आइपुग्दा केही स्थानीय भोटेकोशी नदी हेर्दै टोल्हाइरहेका थिए ।
हामी पुग्दा स्थानीयहरू त्यस गाउँमा पहिलोपटक सञ्चारकर्मी आइपुगेको बताइरहेका थिए ।
पीडाले आक्रान्त उनीहरू फुर्वासिंगी तामाङलाई सान्त्वना दिइरहेका थिए । सानो भार्खुमा फुर्वासिंगीको टिनको छाना भएको एक तले घर रहेछ । स्थानीयहरू त्यही घरमा भेला भएर पेम्बादोर्जेलाई सान्त्वना दिइरहेका थिए । उनीहरू राति पनि त्यहीँ बस्दै छिमेकी हुनुको कर्तव्य र दायित्व निर्वाह गरिरहेका थिए ।
‘हाम्रो र दुःख नपरेको घर छैन, खै कसलाई भन्ने हो, खोला त कसरी आयो आयो, उडेर हो कि, उफ्रिएर हो,’ स्थानीयले आफ्नै लवजमा सुनाइरहेका थिए ।
फुर्वासिंगीका एक मात्र छोरा पेम्बादोर्जे तामाङ टिमुरे क्षेत्रबाट बेपत्ता छन् । ५९ वर्षका फुर्वासिंगी बाढी आएका दिन घरमै थिए । भोटेकोशीको रौद्र स्वरूप देख्नेबित्तिकै माथिल्लो भेगमा केही बाँकी राखेन भन्ने उनले यकिन गरिसकेका थिए । खोलाको निकै माथिमाथिसम्म धूलो उडेको थियो । कुहिरीमण्डल धूलोले छोपिएको भोटेकोशी तीव्र वेगमा तल हुत्तिइरहेको थियो ।
‘महामारी ल्याउने गरी खोलो आएपछि छोरालाई फोन गरेँ । फोन लागेन । फोन लागेन, कतै भीरतिर पुगेर बाँच्यो कि भन्ने ठानेँ,’ उनले भने, ‘आज आउला, भोलि आउला भन्दाभन्दै आजसम्म आएन ।’
गाउँलेहरूले छोरा खोज्न जाउँ भन्दा पनि उनले आँट गरेका छैनन् । छोराको शव देखिइहाल्यो भने कसरी सम्हाल्नु भन्ने भयले उनको मन काँपेको छ ।
‘तलतिर जाऊँ, त्यहाँतिर लास फेला परेको छ भन्छन्, जाने आँट छैन,’ उनले सिधाकुरासँग भने ।
चार दिनसम्म उनले नसुती छोरा कुरेका थिए । हुर्किएको छोरा भएकाले भोक, प्यासले मरेन होला भन्ने उनलाई लागिरहेको थियो । यत्राविधि हेलिकप्टर उड्दा, उद्धारकर्मी घुम्दा र गाउँलेहरू खोज्न जाँदासमेत फेला नपरेपछि अब उनले आश मारेका छन् ।
‘सरकार त आउला । राहत देला । चिन्ता नगर्नु भन्ला । तर मेरो छोरा मैले कहाँ पाउला त होई,’ उनले यति भन्न सके ।
नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...बिहीबार, भदौ १८, २०८३
सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...बुधबार, भदौ १७, २०८३