नेभिगेशन
समाज

बाढी हेर्न जाँदा आफै भेलमा

त्रिशूली (नुवाकोट) । भदौ १० गते बिहान विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेललाई प्रहरीले माइकिङ गर्दै भन्यो—‘भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्‍याएको छ। ठूलो बाढी तीव्र गतिमा अघि बढिरहेको छ। सुरक्षित स्थानतर्फ लाग्नुहोस्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएका प्याकुरेलले सूचना सुने। प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई नजिकै पुगेर सोधे, ‘बाढी धेरै ठूलो हो?’

Ncell
Extreme Energy

जवाफ आयो, ‘हो, धेरै ठूलो छ।’

तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक आकारबारे उनलाई अनुमान गराउन सकेन। बिहानको खाना खाइसकेपछि नियमित काममा जाने तयारीमा रहेका उनलाई नदीमा बाढी आए पनि आफ्नो घरसम्मै पुग्ला भन्ने लागेको थिएन।

त्यसैबीच त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्न थाल्यो। केही मिनेटमै बाढीले घरलाई चारैतिरबाट घेर्‍यो। ढुङ्गेबजार र आसपासका बस्ती भेलमा परिणत भए। घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे।

‘सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन। बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन,’ प्याकुरेलले भने।

बाढी हेर्न जाँदा आफै भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाएका थिए। केही समयपछि वेत्रावती प्रहरी चौकीबाट पनि माइकिङ भयो—‘बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठूलो बाढी आउँदैछ।’

चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए। उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे।

तर अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे।

‘बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासि चारैतिरबाट आएको बाढीले छोप्यो। केही सेकेन्डले ज्यान बच्यो,’ डङ्गोलले भने।

बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ। तर शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई बढी पीडा दिएको छ।

‘आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो। त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिनँ,’ भावुक हुँदै उनले भने, ‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन।’

अरूलाई खबर गर्न दौडिँदा परिवारका १५ सदस्य गुमाए

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ।

गोरखा भूकम्पपछि विस्थापित भएर पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आएका तामाङले भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारलाई खबर पुर्‍याउन दौडिए।

तर सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो।

तामाङ भेलबाट भागेर ज्यान बचाउन सफल भए। तर उनका बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्यलाई बाढीले लग्यो। उक्त बस्तीका १०० भन्दा बढी मानिस अझै हराइरहेका छन्।

‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो। तर कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन। पोहोर (विसं २०८२ असार २४ गते) को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो। सास फेर्न नपाउँदैमा छोपिहाल्यो,’ तामाङले भने।

सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्र गतिमा फैलिएको थियो। टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगेको थियो। तर त्यसले पुर्‍याउन सक्ने क्षतिको आकार धेरैका लागि कल्पनाभन्दा बाहिर थियो।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार उनका हजुरबुबाले पनि २०१८ सालतिर त्रिशूलीमा ठूलो बाढी आएको सुनाउने गरेका थिए। त्यसबेला मानवीय क्षति नभए पनि भौतिक क्षति सामान्य रहेको उनको स्मरण थियो।

तर यसपटकको बाढीले त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको उनको चार रोपनी धानखेतसमेत बगर बनाइदियो।

‘हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो। अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो,’ श्रेष्ठले भने।

टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायत नदी आसपासका बस्तीमा बाढीले निमेषभरमै ठूलो क्षति पुर्‍यायो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको थियो।

‘सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्,’ रेग्मीले भने, ‘मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ।’

भोटेकोशी–त्रिशूली बाढीले विपद्को पूर्वसूचना पाउनु मात्रै पर्याप्त नहुने देखाएको छ। सूचना समयमै पुगे पनि जोखिमको आकार नबुझ्दा धेरैले सुरक्षित स्थानमा पुग्ने अवसर गुमाए।

त्यसैले विपद्को पूर्वसूचना प्राप्त हुनेबित्तिकै त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानतर्फ जानु र अरूलाई पनि सुरक्षित स्थानमा पुर्‍याउनु उत्तिकै आवश्यक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।