नेभिगेशन
सबै कुरा
विमानस्थल भित्रै प्रहरीबाट कुटिएका छायाँलालको बयान :

‘प्रहरीले नियोजित रुपमा विमानस्थल प्रमुख र मलाई कुटे, भिडियो इडिट गरेर बेइज्जत गरियो ’

काठमाडौँ । माघ १२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबिच कुटाकुट भएको एउटा लज्जास्पद सीसीटीभि फुटेज सार्वजनिक भयो । निजामतिको पोशाकमा रहेका अध्यागमनका कर्मचारी र प्रहरीको कुटाकुटको दृश्यले गृह मन्त्रालय मातहतको नेपाल प्रहरी र अध्यागमन विभागका अधिकारी बीचको तिक्तता देशको सबैभन्दा ठूलो विमानस्थल भित्रै छताछुल्ल भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलको प्रस्थान र आगमन बीचमा रहेको चेकिङ पोइन्टमा भएको कुटाकुट भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बिभिन्न पक्ष र बिपक्षमा टिकाटिप्पणी भए । सार्वजनिक भएको भिडियोमा प्रहरीबाट कुटाई खाने निजामति कर्मचारी थिए,अध्यागमन अधिकृत छायाँलाल मोक्तान । सम्पादन गरिएको जस्तो देखिने दृश्यमा जुनियर प्रहरी अधिकृत सञ्जय तामाङ्गसंग विवाद भएपछि छायाँलालले सञ्जयलाई लात्तीले हानेको देखिन्छ । त्यसपछि ति सञ्जयसहितका प्रहरी टोली र छायाँलाल बीच विमानस्थल भित्रै कुटाकुट चल्छ ।    

Extreme Energy
citizen life

घटना भएकै दिन गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले प्रतिवेदन बुझाउँदै कुटपिट घटनामा संलग्न भएको आरोपमा  डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई कारबाहीको सिफारिस गरेको छ भने कुटाइ खाने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाही गर्न भनेको छ । तर, सीसीटीभी फुटेज पहिल्यै सार्वजनिक गरेर प्रहरीले घटनामा आफू निर्दोष साबित हुन प्रयास गरेको विमानस्थलमा कार्यरत निजामति कर्मचारीहरु बताउँछन् । यही शिलसिलामा सिधाकुराले विमानस्थलमा कुटाइ खाएका छायाँलाईलाई त्यो दिन के भएको थियो भनेर साेधेकाे छ । उनको भनाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

माघ १२ गतेको दिन मेरो ड्युटी डिपार्चर (प्रस्थान) मा थियो । तल प्रवेश बिन्दु (इन्ट्री पोइन्ट) मै हाम्रो शारीरिक चेक हुन्छ । त्यहाँबाट मेटल फ्रि भएपछि मात्रै हामी माथि जान पाइन्छ । हाम्रो डिपार्चरबाट अराइभलतिर जाने काम परिराख्छ । डिपार्चरमा चेन्जिङ रुम छैन, हाम्रो हेलमेट लगायतका अन्य सामग्रीहरु हामीले अराइभलपट्टि नै राख्नुपर्ने हुन्छ । अराइभल र डिपार्चरको बिचमा मेटल जाँच गर्ने मेशिन राखिएको छ । म निस्कदा मेटल फ्रि भएर निस्केँ । मेसिनले रिड गरिसकेपछि मान्छेले खानतालासी नगर्ने चलन विमानस्थल भित्र छ । कि सबैलाई (प्रहरी,कर्मचारी) गर्ने कि कसैलाई नगर्ने गरिन्छ । 

त्यो दिन पनि म मेटल फ्रि भएँ । मेसिनले रिड गरिसकेपछि पनि प्रहरी जवान रविरञ्जन गुप्ताले मलाई खानतालासी गर्नुपर्छ भने । म चिया खान निस्कदा त्यो दिन पहिले पनि चेक भईसकेको थियो । खानतालासी गर्न खोजेपछि मैले सोधेँ,‘फेरि गर्नुपर्छ र ?’ मैले राम्रोसँग भनेको थिएँ, ‘अघि पनि गरेकै छ । अहिले पनि मेटल फ्रि भइसकेको छ अब नगर्दा नी हुन्छ होलानी हो सर,’ । तर उनले होइन ‘गर्नुपर्छ’ भने । त्यसपछि मैले भने, ‘ठिकै छ गर्न त गर्नुस् तर अब देखि सबैको गर्नुस् नि प्रहरी निजामति सबैको । कानुनमा त सबैलाई गर्नुपर्ने उल्लेख छ ।’ 

त्यसपछि प्रहरी जवान गुप्ताले ‘हामी यहाँ चेक गर्न बसेको हामीले हाम्रो गर्ने होइन । अरुको गर्ने हो’ भन्ने जवाफ फर्काए । ‘तपाईँलाई थाहा छ यो कुरो ? हाम्रो चाहीँ पर्ने तपाईँहरुको नपर्ने भन्ने कसरी हुन्छ ?’ भनेर मैले सोधेँ । त्यसपछि उनले ‘हामीलाई यही आदेश भएको छ’ भने । त्यसपछि मैले ‘कि सबैको हुनपर्यो कि कसैले हुनुभएन भने’ त्यसपछि उनले किन ठूलो ठूलो कुरा गरेको भन्न थाले । उनले त्यसपछि मलाई ‘तँ’ सम्बोधन गरेर ठूलो स्वरमा कुरा गर्न थाले । 

उसले तँ भनेपछि मलाई रिस उठ्यो । उसले म सँग कुरा गर्दा मेरो ज्यु मा हात हालेर कुरा गर्यो । मेलै मेरो शरीरमा टच नगरी कुरा गर्नुस् भने तर उसले बारम्बार मलाई हात हालिरहेको थियो । मैले मेरो शरीरमा तलासी गर्न दिएर उतापट्टि जान लागेको थिएँ । उसले फेरि मेरो पछि पछि आएर मलाई तान्दै आयो । त्यही समयमा उता मेसिनपट्टि बस्ने एउटा असई केटो (सञ्जय तामाङ) रहेछ । त्यो केटो मलाई कुटम्ला जसरी हानिएर आयो । म सँग के हो ? कसो हो ? किन ठूलो ठूलो कुरा गरेको भनेर थर्काए । अनी ‘मैले त्यस्तो केही भनेको होइन, जाँच गर्दा सबैको प्रहरीको पनि गर्नुस् भनेको’ मैले भने । उसले पनि ‘किन हाम्रो गर्ने ? भन्छ फेरि उसैको जवानलाई सपोर्ट गर्छ ।’ त्यही विषयमा हाम्रो विवाद हुन्छ । विवादकै क्रममा उसले मेरो छातिका हात हालेर धकेल्छ । त्यसपछि मैले किन धकेलेको भन्छु । उसले मलाई उता (नियन्त्रण कक्ष) हिँड भनेर हात लगाउँछ । अनी मैले उसको हात मेरो ज्युबाट हुत्याइदिन्छु । त्यसपछि मलाई त्यसले मुक्का हान्छ । 

बहिर आएको भिडियोमा यस्तो देखिदैन । त्यसपछि ४/५ जना प्रहरी आउँछन् । स्वभाविक रुपमा मलाई त्यो समय निकै रिस उठेको थियो । सबै मिलेर धकेलेर मलाई उता लैजान्छन् । मेरो घाँटिमा भएको आइडी कार्ड पनि उनीहरुले कता फालिदिए थाहा छैन् । त्यसपछि बल्ल मैले लात्ति उठाएको थिएँ । मैले एकपटक लात्ती हानेको हुँ । असई सहितको टोलीले मलाई पिट्दै ल्याउँछन् । केही मानिसहरु आएर छुट्याउँछन् । माहोल केही शान्त हुन्छ । त्यसपछि मैले मेरो बोस (गोगन बहादुर हमाल) लाई घटनाबारे जानकारी गराएँ । मेरो चिफ साब आउनुहुन्छ । त्यहाँ डिएसपी रेवती रमण पोखरेल पनि आईपुग्न हुन्छ । 

उहाँहरु आइसकेपछि एकपटक सीसीक्यामेरा हेरौँ भन्ने कुरा भयो जुन प्रहरीको नियन्त्रणमा छ । चिफसाब, डिएसपी  र म लगायतको टोली सीसीटीभी कन्ट्रोल कक्षमा गयौँ । अन्य २ जना अफिसरहरु पनि प्रत्यक्षदर्शी भएकोले उनीहरुले हामी पनि हेर्छौँ भन्नुभयो । डिएसपीले त मानेका थिएनन् । उनले चिफ साब र मैले मात्र हेर्छु भनेका थिए । तर, साथीहरु पछिपछि गए । प्रहरीले देखाएको फुटेजमा गल्ती उनीहरुकै भएको प्रस्ट देखियो । मलाई घेरेर कुटेको प्रस्ट भयो । त्यसपछि चिफसाब (अध्यागमन प्रमुख गोगन बहादुर हमाल) रिसाउनुभयो । उहाँले हाम्रो अफिसरमाथि यस्तो गर्ने हो भनेर हातले टेबुल ठटाउनुभयो । उहाँले सामान्य आपत्ति जनाउनुभएको थियो । तर, प्रहरीको टोलीले किन टेबल ठटाएको भन्दै कराउन थाले । त्यसपछि हाम्रो एकजना साथीले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव सरसँग त्यसरी कुरा गर्ने हो भनेर प्रतिवाद गरे । उनीहरुले किन नमिल्ने, हाम्रो एरियामा आएर टेबल ठटाउन मिल्छ भनेर भन्न थाले । हाम्रो साथीहरु पनि थपिन्छन् । त्यसपछि उनीहरुले फेरि मलाई मुक्का हाने । त्यो क्रममा चिफसाबले मलाई छेक्नु भएको  थियो तर उनीहरुले चिफसाबलाई नै हाने । खासमा चिफसाबले मैले कुटाई खानबाट बचाउनलाई मलाई छेक्नुभएको थियो । तर, उनीहरुले चिफसाबलाई नै कुट्छन् । मैले चिफसाबलाई कुट्यो भनेर हल्ला गरेपछि अरु साथीहरु आइपुग्छन् र माहोल साम्य हुन्छ । 

त्यो बाहिर आएको भिडियो आधा पनि छैन । सबै भिडियो हेर्नुभयो भने बल्ल गल्ती कसको रहेछ भन्ने प्रस्ट हुन्छ । सीसीटीभी सबै उनीहरुको नियन्त्रणमा छ । उनीहरुले नै त्यसलाई मनिटर गर्छन् । उनीहरुले त्यही कुराको फाइदा उठाएर एडिटेड भिडियो मिडियामा पठाए । उनीहरुको यस्तो गर्छन भन्ने हामीलाई पहिल्यै शंका थियो । काँटछाँट होला, डिलिट होला वा तोडमोड गर्लान भनेर हामीले त्यही दिन भिडियो उपलब्ध गराइपाउँ भनी प्रशासनिक निवेदन दिएका थियौँ । तर, हामीलाई उनीहरुले फुटेज दिएनन् । फुटेज नदिएको कुरा हामीले हाम्रो विभागमा जानकारी गरायौँ । यो भन्दा गम्भिर कुरा मन्त्रालयले त्यही दिन छानबिन समिति बनाएको छ । तर,समिति बनाईसकेपछि भिडियो बाहिर ल्याउन मिल्छ कि मिल्दैन ? पुरा भिडियो नल्याइ इडिटेड भिडियो किन आयो ? त्यो पनि एउटा छानबिनको विषय हुनुपर्छ भन्ने मेरो माग छ । बाहिर आएको भिडियोमा मेले लात्तिले हानेको ठाउँबाट सुरु भएको छ । अगाडिको फुटेज कहाँ गयो ? भिडियो लिक गराउनेलाई पनि कारबाही गर्नुपर्छ ।  

(अध्यागमन अधिकृत छायाँलालसँग सिधाकुराका लागि विष्णु ढु‌ंगानाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिल तिर्न नसक्दा अस्पतालमै बन्धक भए १७ वर्षीय शिव, पैसा जुटाउन हिँडेकी आमा तीन दिनदेखि बेपत्ता

बिल तिर्न नसक्दा अस्पतालमै बन्धक भए १७ वर्षीय शिव, पैसा जुटाउन हिँडेकी आमा तीन दिनदेखि बेपत्ता

“हामी जस्ता गरिब, दलितले के गर्ने? उपचार नगरे मर्ने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिने ?” भीमसरियाले प्रशन गरिन् ।
संसदीय समितिमा हेरफेर, को कता पुगे ?

संसदीय समितिमा हेरफेर, को कता पुगे ?

सांसद राम लामा र सांसद गणेश कार्की राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध...
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग गरे तीन घण्टा छलफल

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग गरे तीन घण्टा छलफल

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाए । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता...
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ । बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती,...

भर्खरै