नेभिगेशन
समाज

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । दसैँमा अभिभावक र मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर सबैलाई हुन्छ। वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने प्रतीक्षा हुन्छ। तर, बर्दियाका केही परिवारका लागि यस वर्ष दसैँ आए पनि खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूका निधार टीकाविहीन रहे, मनमा भने आफन्त फर्किने आशा र पीडा मात्रै छायो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस वर्षको दसैँ विगतका वर्षजस्तो भएन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ। दसैँमा छोरासँगै बसेर टीका लगाउने र खुसी साट्ने उनको आशा यस वर्ष अधुरै रह्यो।

Ncell
Extreme Energy

“दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गर्थ्यौं। यस वर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो। तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” भगिरथीले भनिन्।

डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन। घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र प्रतीक्षा मात्रै छ। छोरा फर्किएर आउने आशा अझै मरेको छैन। तर, यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बित्यो।

राजापुर नगरपालिका–९ तिनघरवाकी सिर्जना थारुको पीडा पनि उस्तै छ। भोटेकोशी बाढीमा श्रीमान् प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको छ। हरेक वर्ष श्रीमान्सँग टीका लगाएर आशीर्वाद साट्ने सिर्जनाले यस वर्ष उनको अनुपस्थितिमै दसैँ बिताउनुपर्‍यो।

“दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो। बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन। श्रीमान् कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन। यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु?” उनले भनिन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए। त्यसैगरी, राजापुर नगरपालिका–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए।

बेपत्ता आफन्तको अवस्था पत्ता नलाग्दा उनीहरूका परिवारले डेढ महिनादेखि फर्किने आशामा दिन बिताइरहेका छन्। आफन्तको अवस्थाबारे जानकारी नपाएकाले परिवारले अन्तिम संस्कार तथा काजक्रियासमेत गर्न सकेका छैनन्।

गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस वर्ष दसैँको खुसी छाउन सकेन।

“बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन्। दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्। यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र?” उनले भने।

भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहँदा परिवारका सदस्यहरू अनिश्चित प्रतीक्षामा छन्। अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला उनीहरू भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन्।

चाडपर्व आएको छ, घरमा दसैँको वातावरण पनि बनेको छ। तर, आफन्तको अनुपस्थितिले उनीहरूको मनमा खुसी फर्किन सकेको छैन। यस वर्ष उनीहरूका लागि दसैँ टीका र जमराको उत्सवभन्दा पनि बिछोडको पीडा, आफन्तको सम्झना र पुनर्मिलनको आशाबीच बितेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।