भर्जिनिया । चर्चित ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टले अदालतमा आफ्नो बयान फेर्दै सनसनीपूर्ण खुलासा गरेका छन् । यसअघि ममता स्वेच्छाले घर छाडेर न्युयोर्क वा टेक्सस गएको दाबी गर्दै आएका भट्टले अदालतको इजलासमा भने ममता आफ्नै बेडरुममा मृत फेला परेको र त्यसपछि आफूले शव व्यवस्थापन गरेको बयान दिएका छन् ।
भर्जिनियाको मनासस पार्कस्थित आफ्नै घरमा दुई वर्षभन्दा बढी समयअघि भएको भनिएको यस घटनाले हाल अमेरिकी अदालतमा नयाँ मोड लिएको छ । मुद्दाको सुनुवाइको क्रममा अदालतमा प्रस्तुत गरिएको विवरण अनुसार नरेश भट्टमाथि पहिलो डिग्रीको हत्या, शव क्षतविक्षत र शव लुकाएको गम्भीर अभियोग लगाइएको छ । यद्यपि, ममताको शव भने अहिलेसम्म फेला परेको छैन ।
‘आत्महत्याको अवस्थामा फेला पारेँ’
अदालतको इजलासमा आफ्नो सफाइ पेस गर्दै भट्टले जुलाई २९, २०२४ को राति आफू दम्पतीको बच्चासँग अर्को कोठामा सुतेको बताए । जुलाई ३० को बिहान करिब ४ बजे बच्चाको हेरचाहका लागि उठ्दा मुख्य बेडरुमतर्फ जाँदा ममता भुइँमा उत्तानो परेको अवस्थामा भेटिएको उनले बताए ।
उनका अनुसार ममताको शरीर र वरिपरि वान्ता (भमिट) थियो जसमा केही चक्की (औषधि) हरू तथा नजिकै औषधिको बोतल र कीटनाशक औषधिको खुला केसहरू समेत थिए । वान्तामा कीटनाशक रासायनिक गन्ध वा अंश जस्तो देखिएको उनको दाबी छ । ममतालाई जीवित पार्न आफूले ४५ मिनेटदेखि १ घण्टासम्म प्रयास गरे पनि उनले कुनै सास नफेरेको र अचेत रहेको उनले बताए ।
९११ मा फोन किन गरिएन?
अदालतमा न्यायाधीश र वकिलहरूले प्रहरी वा अस्पताललाई किन खबर गरिनौ भनी सोधेको प्रश्नमा भट्टले आफू अत्यधिक डराएको प्रतिक्रिया दिए । 'मलाई साँच्चै डर लाग्यो । किन कल गरिनँ, मलाई थाहा छैन । मलाई लाग्यो कि ममाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्न सक्छ,' उनले भने । आफूले जीवनमा ३,५०० घण्टाभन्दा बढी ध्यान गरेको भए पनि त्यो समय किन ९११ मा फोन गर्न सकिनँ भन्ने जवाफ आफूसँग नभएको उनले बताए ।
आरा प्रयोग गरेर शव व्यवस्थापन
बच्चालाई बेबीसिटरकहाँ पुर्याएपछि होम डिपोट गएर केही सामग्रीहरू किनेर ल्याएको उनले स्वीकार गरे । त्यसपछि अर्को डेढ दिनभित्र घरभित्रै आराको प्रयोग गरी ममताको शवलाई टुक्राटुक्रा पारेर ब्यागमा हाली घरकै फोहोर फ्याँक्ने कन्टेनरमा हालेको उनले सनसनीपूर्ण खुलासा गरे ।
सरकारी वकिल म्याथ्यु स्विटले यसअघि प्रहरी र मिडियालाई झूटो बोलेको विषयमा प्रश्न गर्दा भट्टले आफूले यसअघि दिएका बयानहरू झूटो भएको र आफू 'झुटो बोल्ने व्यक्ति' भएको कुरा अदालतमा स्वीकार गरे ।
अदालतमा तनाव
नरेश भट्टले अदालतमा आरामार्फत शवका टुक्रा पारेको विवरण दिँदै गर्दा इजलासमा उपस्थित मानिसहरूले चर्को आवाज निकालेर आक्रोश व्यक्त गरेका थिए भने ममताकी आमा रुँदै अदालत कक्षबाट बाहिरिएकी थिइन् । कतिपय ज्युरी सदस्यहरूले उनको बयानप्रति अविश्वास प्रकट गर्दै आँखा घुमाएका थिए । यति गम्भीर अपराधको बयान दिँदा पनि भट्टको अनुहारमा कुनै पनि प्रकारको मानवीय संवेदनामा देखिने भाव वा पश्चाताप नदेखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
फोरेन्सिक प्रमाण र साक्षीहरूको बयान
अभियोजन पक्षले पेस गरेका प्रमाण र साक्षीहरूको बयानले भट्टको दाबीलाई कडा चुनौती दिएका छन् ।
फरेन्सिक विशेषज्ञहरूले मुख्य बेडरुमको कार्पेटमा भेटिएको रगत ममताकै भएको ‘सम्भावना अत्यधिक’ रहेको र बेडको स्थान सारेर रगतका दागहरू सफा गरी मेटाउने प्रयास गरिएको प्रमाण प्रस्तुत गरेका छन् ।
प्रहरीले बरामद गरेको विद्युतीय आरामा भेटिएको रगत र डिएनए परीक्षण गर्दा त्यो ममताकै रहेको पुष्टि भइसकेको छ । सो आरा भट्टले घटनाको केही महिनाअघि किनेका थिए ।
ममताका भाइ महेश काफ्ले अदालतमा उपस्थित भई रुँदै बयान दिए । घटनाको केही महिनाअघि ममताले आँखामा नीलडाम भएको तस्बिर पठाएर नरेशले कुटपिट गरेको जानकारी दिएको र पछि प्रमाणको रूपमा सुरक्षित राख्न आग्रह गरेको उनले खुलाए ।
ममता बेपत्ता हुनुभन्दा ७–८ महिना अघिदेखि नै नरेशले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको र घटनापछि ममताका सम्पूर्ण गरगहना र आफ्नै विवाहको औँठी एक साथीलाई जिम्मा लगाएको खुलेको छ ।
घटनासम्बन्धी कानुनी प्रक्रिया र ज्युरी समक्ष बहस अझै जारी रहेको छ । ममताका न्यायका लागि आवाज उठाउँदै आएका उनका साथीहरू र परिवारले नरेशले दिएको यो बयान पूर्ण रूपमा पूर्वायोजित र बनावटी रहेको दाबी गरेका छन् ।