म्याग्दी । घना जङ्गल, अग्ला पहाड र विकट हिमाली भूगोल। महिनौँसम्म गोठमै बिताउनुपर्ने गोठालाको जीवनमा भेँडाबाख्रा जति महत्त्वपूर्ण छन्, त्यति नै अभिन्न छन् भोटे कुकुर। जङ्गली जनावरको आक्रमणबाट पशुधन जोगाउनेदेखि हराएका भेँडाबाख्रा खोज्न र बथान सम्हाल्नसम्म यी कुकुर गोठालाका भरपर्दा सारथि बनेका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा अहिले पाँचवटा कुकुर छन्। संयुक्त अरब इमिरेट्स (युएई) मा २० वर्ष रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि भोटे कुकुर पालेका हुन्।
“घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावरमात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो”, छन्त्याल भन्छन्, “सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन्।”
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन्। सहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको आवश्यकता र बाध्यता दुवै हो।
धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जाका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गर्छन्।
देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन्। यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको पुर्जा बताउँछन्।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेँडापालन गर्दै आएका छन्। उनको अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ।
“जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्”, उनी भन्छन्, “कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ।”
जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन्। साँझ, राति र बिहान गोठवरिपरि रुँगेर बस्ने उनीहरूले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्छ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेँडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन्। बथानका पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन र सबैलाई एकै ठाउँमा राख्न उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।
मनिराम पाइजा पनि कुकुरबिनाको गोठालो जीवन कल्पना गर्न नसकिने बताउँछन्। उनका अनुसार पशु चराउन लैजाँदा कुकुर बथानको पछिपछि लाग्छन्। अप्ठ्यारो भीरमा पशुलाई जान नदिने, साँझ परेपछि खेदेर गोठमा फर्काउने र जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने उनीहरूको विशेषता हो। चितुवा, ब्वाँसो र स्यालजस्ता जनावरले आक्रमण गर्न खोजे प्रतिकार गरेर भगाउनसमेत कुकुरले सघाउँछन्।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेँडाको दूध र मासु खुवाउने गरिन्छ। पशु चरनका लागि किसानले एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राख्छन्। त्यसपछि अर्को खर्कमा सार्छन्। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही घुम्ती जीवनशैलीमा अभ्यस्त हुन्छन्।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन्। हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भनिन्छ। लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला बन्दोबस्तीका सामानसहित क्रमशः तल झर्छन्।
बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा पनि म्याग्दीमा कायमै छ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमा पशुपालन गर्दै आएका छन्। त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यही पेसामा आबद्ध छन्।
आधुनिक जीवनशैली र रोजगारीका अवसरका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ। तर, विकट हिमाली तथा पहाडी क्षेत्रका गोठालाका लागि भोटे कुकुरको महत्त्व अझै घटेको छैन। निर्जन जङ्गल, उकाली–ओराली र कठिन यात्रामा गोठालालाई साथ दिने यी बफादार जनावर पशुधनका रक्षक मात्रै होइनन्, पुस्तौँदेखि चल्दै आएको परम्परागत पशुपालन संस्कृतिका अभिन्न सारथि पनि बनेका छन्।