नेभिगेशन
सबै कुरा

हजुरआमा र आमाहरु छोराछोरीसँगै एसइई दिँदै

भक्तपुर । सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुगिन् । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आएकी उनी यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदैछिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन् । सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

Ncell
Extreme Energy

“सानैदेखि पढ्ने इच्छा थियो । रामेछापमै भाइलाई विद्यालय पु¥याउन जाँदा कक्षा ३ सम्म त पढेँ”,  उनले भनिन्, “त्यसपछि छोरी मान्छेले पढ्नुहुदैन भनेर छुटाइदिनु भयो । अठार वर्षमै विवाह भयो । त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो ।” उनका छोराबुहारी र नातिनातिनी अहिले अष्ट्रेलियामा छन् । 

उनी त एउटा उदाहरणीय पात्र मात्रै हुन् । विगतका वर्ष जस्तै यसवर्ष पनि आस्था महिला विद्यालयबाट उनी जस्ता १२ जना हजुरआमा एसइई दिँदैछन् । बिहान र साँझ घरको काम सकाएर उनीहरु बाँकी समय पढाइमा बिताउँछन् । त्यसैमध्येकी एक हुनुहुन्छ,  ३८ वर्षे अम्बिका अधिकारी । उनी घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त हुन्छिन् । 

करिष्माको आँटले साहास दियो

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसइई दिएको समाचारले उत्साहित बनायो । सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आएकी उनको विवाहपछिको पढाइ छुटेपनि पढ्ने रहर भने छुटेको थिएन । 

तामाङ भन्छिन्, “पढ्ने रहर मरेकै थिएन,  कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्नेृ गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसइई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ ।  भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ ।”

उनी विहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्याउन पुग्छिन् । साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्छिन् । सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरु अहिले उनको आँट देखेर प्रशंसा गर्ने गरेको उनले सुनाइन् । “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ । परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ”, उनले भनिन् ।

आमा र छोरीसँगै एसइईको तयारीमा

जिरी दोलखा घरभई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसइई परीक्षा दिने तयारीमा छिन् । कक्षा ५ सम्म माइतीमै पढेकी उनले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईमा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ । 

एसइई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उनले सुरुमा घरबाट पढ्न नजाउ भन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाइन् । आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उनले भनिन्, “परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउछिन्, एसइई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ ।”

खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाएकी छिन् ।  श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उनी पहिला कुरा काट्नेहरु अहिले प्रशंसा गर्न थालेको बताउँछिन् ।

जेठानीले यसै विद्यालयबाट एसइई दिएपछि श्रीमान् आफैले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइपुगेकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाइन् । 

त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ । उमेरले चार दशक कटेपनि उहाँमा पढ्ने जाँगर भने मरेको छैन । साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आएकी उनलाई बैंकबाट अवकाश प्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसइईसम्म आइपुगेको बताउँछिन् ।

विसं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सरेकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउँछिन् । नेपाली सेनामा कार्यरत श्रीमानको सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउँछिन् ।

दोलखा हुदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरुसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नुहुदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउँछिन् । कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउदै उनले एसइईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउँछिन् ।

इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसइईको सङ्घारमा आइपुगेको बताउँछिन् । ओखलढुङ्गाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आएकी उनलाई श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउँछिन्।

सिङ्गो परिवार तरकारी खेतीमा लाग्दै आएकी मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसइईपछि पूरा हुने बताउँछिन् । छोराछोरी स्नातक तहसम्म पढाएकी उनले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरेपनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ । 

सोही विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहेकी राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरुलेनै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसइई परीक्षा उतीर्ण हुने अठोट राखेकी छिन् । विसं २०६९ देखि एसइई परीक्षामा सहभागी हुदै आएका यस विद्यालयका हजुरआमाहरुले अहिलेसम्म १२ औँ समूहसम्म आइपुग्दा एक सय ६२ जनाले एसएलसी तथा एसइई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताइन् ।

अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरुले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताइन् । यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरुको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताइन् । बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरुको मेहनत निकै ठूलो छ । विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताइन् ।

स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मेहनत गर्ने गरेको बताइन् । बच्चालाई पढाउनभन्दा धेरै मेहनत आमाहरुलाई पढाउन हुने उनले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...